जर्नल : खुर्पाको बीँड होइन

जर्नल : खुर्पाको बीँड होइन

कस्तो नीति बनाउने, किन बनाउने, कसका लागि बनाउने, कुन नीतिको प्रभाव कसलाई कति पर्छ, किन पर्छ, कस्तो अवस्था वा कस्तो सन्दर्भमा के प्रभाव पर्छ र कसरी प्रभाव पर्छ जस्ता कुराहरू अनुसन्धानात्मक लेखनीबाटै थाहा हुने हो। नेताहरूले जर्नल आर्टिकल पढ्ने भन्न खोजेको हैन। नेताहरूको विज्ञ समूहले उनीहरूलाई जानकारी दिने हो। त्यसैले त विकसित देशहरूमा जर्नल लेखहरूका आधारमा तयार पारिएका छोटा खालका पोलिसी ब्रिफहरू प्रकाशन गर्ने र तिनको उपयोग गर्ने गरिन्छ।


अन्नपूर्ण पोस्ट्को फुर्सदमा २०७६ वैशाख २८ मा देवराज हुमागाईंको ‘पर्दाभित्रको प्राज्ञिक कसरत’ र सफल घिमिरेको ‘जर्नल लेख छाप्ने जोस’ नामक दुई लेख पढ्ने अवसर पाइयो। पछि २०७६ जेठ ३२ गते यिनै दुई लेखको केन्द्रमा लेखिएको कोमल भट्टको लेख ‘ज्ञानको प्रत्यूष आरन’ पनि पढेँ। अखबारमा यति ओजपूर्ण विषय कभर स्टोरीका रूपमा आउन थालेछ, क्रमश : पनि आउन थालेछ, पढेर निकै खुसी लाग्यो। अनि मलाई पनि आफू यही विषयमा केन्द्रित भएर लागिपरेकाले होला, थप केही लेख्न खसखस र सकसक लाग्यो।

म आफैंले जर्नलमा दर्जनौं आर्टिकलको प्रकाशन र दर्जनौं आर्टिकलको रिभ्यु गर्दा सिकेका अनुभवहरू पाठकलाई उपयोगी हुन सक्ला भनेर यो लेख्ने दुस्साहस गरेको छु। माथि उल्लेख गरिएका तीन लेखमा धेरै कुरा आइसकेको हुँदा सकेसम्म नदोहोर्‍याउने प्रयास गरेको छु। म ती तीनै लेख पढ्न सिफारिस पनि गर्छु।

जर्नल आर्टिकल कुनै निश्चित विषयमा निश्चित प्रश्नको उत्तर खोज्न वैज्ञानिक विधिहरू उपयोग गरी खोजमूलक अध्ययन गर्दै प्राप्त नतिजा वा प्रश्नको जवाफ पस्कन निश्चित ढाँचामा लेखी प्रकाशन भएको वैज्ञानिक लेख हो। यी आर्टिकलहरू परिवर्तनशील संसारमा विज्ञानमा आधारित तथ्यपरक नयाँ र ताजा ज्ञानका उत्पादन वा स्रोत हुन्। यस्ता आर्टिकलले सम्बन्धित विधा र सन्दर्भमा ज्ञानको विकास कुन अवस्थासम्म विकास भएको रहेछ भन्ने कुरा पाठकले जान्न पाउनुपर्छ। यस्ता आर्टिकलहरू विज्ञहरूद्वारा विज्ञहरूका लागि लेखिएका हुन्छन्।

विधा र जर्नलको किसिम हेरी आर्टिकलहरू सम्बन्धित खोज गर्न लागेको विषयको ताजा तथ्यमा आधारित हुन्छन्, जसलाई साधारणतया ओरिजिनल रिसर्च आर्टिकल पनि भन्ने गरिन्छ। साथै कतिपय लेखमा ऐतिहासिक जानकारी वा डाटाको विश्लेषण गरिएका पनि हुन्छन्। केही लेख भने अरूले गरेका अनुसन्धानका नतिजा वा उपलब्धिहरू गहन रूपमा अध्ययन गरी रिभ्यु आर्टिकल पनि लेखिन्छन्। कहिलेकाहीँ कुनै निश्चित विषयवस्तुमा आफ्नो विचार वा धारणा वा अरूले लेखेका किताब रिभ्यु गरी त्यस किताबमा पस्केको विषयमा आफ्नो विचार वा धारणासहित बुक रिभ्यु आर्टिकल लेख्ने चलन पनि छ। साथै प्रकाशित भइसकेका लेखहरूमा अरू विज्ञहरूले गरेका अनुसन्धान-अध्ययनको प्रक्रिया वा नतिजा वा सिद्धान्तमा आफ्नो विचार बाझ्यो भने पनि त्यस्ता आर्टिकलबारे आफ्ना विचार वा धारणासहितका त्रिटिकल रिभ्यु वा कमेन्ट्री पनि लेख्ने चलन छ। तर कस्ताकस्ता आर्टिकल छाप्ने भन्ने कुरा जर्नलको आफ्नो प्रकाशन नीतिमा भर पर्छ।

 जर्नल आर्टिकल किन ?

जर्नल आर्टिकल ताजा ज्ञानको स्रोत हो। विकसित देशहरूमा त जर्नल आर्टिकलहरूले शिक्षा, अनुसन्धान, नीति तर्जुमा तथा विकासमा विशिष्ट स्थान ओगटेका छन्। जर्नल आर्टिकलको उपयोग धेरै किसिमले गरिएको हुन्छ।

सवप्रथम त यी लेखहरू विश्वविद्यालयको पठनपाठनमा अति नै धेरै उपयोगी हुन्छन्। विशेषत : ग्य्राजुएट स्कुलका पठनपाठनमा जर्नल आर्टिकलहरू त जीवन नै हुन। यस्ता आर्टिकलहरू समावेश नभएको पाठ्यक्रम त रद्दीको टोकरीमा फ्याँकिन्छ। समाज परिवर्तनशील छ, त्यसैले ज्ञान पनि समय वा समाजको परिवर्तनसँगसँगै बदलिइरहन्छ। त्यसैले नयाँ नयाँ ज्ञानको उत्पादन तथा ती ज्ञानहरू विद्यार्थीलाई पढाउन र सिकाइरहन एकदमै महत्र्वपूर्ण हुन्छन्। नयाँ ज्ञानका स्रोतहरू भनेकै यिनै आर्टिकलहरू त हुन्। किताबको उपयोग त कमै हुन्छ ग्य्राजुएट स्कुलमा। पाठ्यक्रम सम्बन्धित शिक्षकले नै तयार पार्छन् र उस्तै परे हरेक सेमेस्टर वा वर्षमा ती पाठ्यक्रमहरू परिमार्जन भइरहन्छन् र हुन पनि जरुरी छ। त्यसैले यस्ता देशहरूमा शिक्षक, शिक्षार्थी र अनुसन्धानकर्ताहरू किताब लेख्नभन्दा यस्ता आर्टिकलहरू लेख्नतिर बढी तल्लीन हुन्छन्। यसको मतलब किताबको महत्र्व कम छ भन्न खोजेको चाहिँ हैन। किताबको आफ्नै स्थान छ, जुन विशेषगरी अनुभवले खारिएपछि वा अनुसन्धानमा खारिएपछि मात्र लेख्ने चलन छ।

अनुसन्धानमा केन्द्रित आर्टिकलहरूमा प्रकाशित नतिजाहरूले त सम्बन्धित देशको नीति निर्माणमा प्रत्यक्ष प्रभाव राख्छन्। त्यसैले यस्ता लेखहरू ज्ञानको स्रोत मात्र नभई नीति निर्माणमा एकदमै उपयोगी हुन्छन्। कस्तो नीति बनाउने, किन बनाउने, कसका लागि बनाउने, कुन नीतिको प्रभाव कसलाई कति पर्छ, किन पर्छ, कस्तो अवस्था वा कस्तो सन्दर्भमा के प्रभाव पर्छ र कसरी प्रभाव पर्छ जस्ता कुराहरू अनुसन्धानमा केन्द्रित ताजा आर्टिकलहरूको अध्ययनबाटै थाहा हुने हो।

प्राध्यापन तथा अनुसन्धानमा सक्रिय प्राज्ञ वा विज्ञहरूका लागि जर्नल आर्टिकलको प्रकाशन उनीहरूको करिअरका लागि नभई नहुने कुरा हो। कस्ता किसिमका जर्नलहरूमा कतिवटा आर्टिकल प्रकाशन गरियो भन्ने कुराले व्यक्तिको वृत्तिविकासमा ठूलै मान्यता राख्छ। अचेल त जर्नलमा पठाउनभन्दा पहिले उक्त जर्नलको इम्प्याक्ट फ्याक्टर हेरेर मात्र रिभ्युका लागि पठाउने चलन छ। (प्रकाशनका लागि उपयुक्त नभए सम्बन्धित लेखकलाई नै फर्काइन सकिने हुनाले रिभ्युमा पठाउने भन्ने चलन छ।)

आफूले लेखेको आर्टिकल कति धेरैले सन्दर्भसामग्रीका रूपमा उपयोग गरे भन्ने कुरा पनि निकै महत्र्वपूर्ण हुन्छ। यी कुराहरू लेखकहरूको व्यक्तिगत गुगल स्कलर एकाउन्टमा गएर हेर्न पनि सकिन्छ। त्यस्तै कतिपय लेखकको यस्तो जानकारी रिसर्च गेटमा पनि पाइन्छ। आर्टिकल प्रकाशनले व्यक्तिको वृत्तिविकासमा ठूलै भूमिका खेल्ने भएकाले विकसित देशहरूमा उच्च गुणस्तरीय आर्टिकलहरू उच्च गुणस्तरीय जर्नलहरूमा प्रकाशन गर्न सधैं मानसिक दबाब भई नै रहन्छ।

चौथो, यी आर्टिकलहरू नयाँ ज्ञान र प्रविधिहरूका जीवन्त स्रोत भएकाले प्रविधि तथा यन्त्रहरू वा सामग्रीहरूको उत्पादन र वितरण गर्ने उद्योग तथा कम्पनीहरूका लागि पनि यी आर्टिकलहरू निकै उपयोगी हुन्छन्।

नेपालमा पनि विभिन्न विधाहरू जस्तै- स्वास्थ्य, कृषि, इन्जिनियरिड, समाजशास्त्र, जनसंख्या, अर्थशास्त्रलगायत विविध विषयमा जर्नल प्रकाशन गर्ने प्रयास धेरै भएका छन्। यो आफैंमा उत्साहवर्धक कुरा हो। तर ती जर्नलहरूको निरन्तरता र गुणस्तर कस्तो छ भन्ने कुरामा भने सधैं अन्योल नै देखिन्छ। साथै जर्नल आर्टिकलहरू सबै विधामा माथि भनेजस्तै गरी उपयुक्त ढंगले प्रयोग भएको पनि देखिँदैन। तर उपयोग गर्ने चलन पनि बिस्तारै बढ्दै छ क्यारे।

विशेषगरी ग्य्राजुएट तहको पठनपाठनमा जर्नल आर्टिकलहरू बढीभन्दा बढी उपयोग हुनुपर्ने हो। किनकि जर्नल आर्टिकलहरू शिक्षक तथा विद्यार्थी दुवैका लागि नयाँ ज्ञान र सीपका मुख्य स्रोत हुन्। तर नेपालमा भने ती पठनपाठनको व्यावहारिक पाटो भने अलि फरक छ। तिनै पुराना र उपयोग मिति सकिएका भन्ने कि किताबी ज्ञान साथै शिक्षकका दशकौं पुराना नोटबुकको रटाइ नै गराउन लगाउने हाम्रो पुरानो चलन (केही अपवादबाहेक) जस्ताको तस्तै सुनिन्छ। त्यसमा पनि गाइडबुकको प्रयोग र तिनमा भएका उत्तर घोक्ने चलनले त विद्यार्थीको नयाँ कुरा सोच्न सक्ने तथा तर्क गर्न सक्ने क्षमतामै नराम्रो असर पारेको हुन्छ। यतिसम्म कि विद्यार्थीलाई ती उपलब्ध ज्ञानहरूबारे उनीहरूको विचार तथा उनीहरूलाई आलोचनाताक तरिकाले सोच्न सक्ने बनाउन हामीले चाहेकै छैनौँ जस्तो। एकाध शिक्षकको प्रयास र विद्यार्थीको मेहनत भने बेग्लै हो। विद्यार्थीले शिक्षकको भन्दा वा किताबमा लेखेको भन्दा भिन्न विचार प्रस्तुत गर्नासाथ उसको भविष्य नै अन्धकार हुने वा सकिने अवस्था आएका त केही उदाहरण नै भेट्न सकिन्छ।

कतिसम्म सुनिन्थ्यो भने कुनै कुनै शिक्षकले त मैले त यति ल्याएको भन्नसम्म भ्याउँछन् रे। अझ त्योभन्दा बढी त विद्यार्थीले कति ज्ञान सिके र सिकेको ज्ञान प्रयोगमा ल्याउन सके कि सकेनन् भन्ने जाँच्ने एउटा कसी विद्यार्थीले लेखेको थेसिसको गुणस्तर नै हो। अनि विद्यार्थीलाई उनीहरूले गरेको रिसर्चको गुणस्तर जँचाउन विज्ञहरूको कन्फ्रेन्समा प्रस्तुत गर्न लगाउने र पछि जर्नलमा प्रकाशन गर्न लगाउने हो। अब त थेसिस नै चोरी गर्ने, किनबेच गर्ने चलन सुन्नुपर्दा त वैज्ञानिक अनुसन्धान गर्ने र वैज्ञानिक लेख लेख्न सिकाउने प्रक्रियामै बिर्को लगाइसकिएको हो कि जस्तो पनि लाग्छ।

हाम्रो देशका नेता पदमा पुग्नासाथ नयाँ कार्यक्रम वा नीति घोषणा नगरे त नेतै नहुने ! चाहे त्यो गरिबसँग विश्वेश्वर होस् वा हालको प्रधानमन्त्री रोजगार कार्यक्रम, गुठीसम्बन्धी विधेयक होस् वा वृद्ध भत्ता, रेल होस् वा पानीजहाजकै सपना, कुनै पनि कार्यक्रम वा योजना आउँदा ती विषयमा केही पनि अध्ययन नभई हचुवाको भरमा आएका वा आउन थालेका कार्यक्रम तथा नीतिहरू भएकाले आउन नपाउँदै तुहिने वा विफल भएको देखिन्छ। जबकि यी कुराको बारेमा जानकारी पाउने महत्र्वपूर्ण स्रोत भनेकै अनुसन्धानमा आधारित लेख नै हुन्। यसको मतलब नेताले जर्नल आर्टिकल पढ्ने भन्न खोजेको हैन। नेताहरूको विज्ञ समूहले उनीहरूलाई जानकारी दिने हो। त्यसैले त विकसित देशहरूमा त्यस्ता लेखहरूका आधारमा तयार पारिएका छोटा खालका पोलिसी ब्रिफहरू प्रकाशन गर्ने र तिनको उपयोग गर्ने गरिन्छ।       

व्यक्तिगत भविष्य निर्माणको त झन् कुरै नगरौं। एकाध वैज्ञानिक, अनुसन्धानकर्ता वा प्राध्यापकहरूबाहेक अधिकांश त जागिर खाएको दिनगन्तीले प्राध्यापक वा वरिष्ठसम्म बढुवा हुन पाइने। शैक्षिक प्रतिस्पर्धा भन्ने नै छैन। खासगरी विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति होस् वा शिक्षक भर्ना गर्ने प्रक्रिया नै गलत छन्। शैक्षिक योग्यताभन्दा कुन पार्टीको सदस्य हो भन्ने योग्यताले माथिका सबै कुराहरूले हावा खाइरहेका छन्। विडम्बना, यस्तै यस्तै थुप्रै कारणले होला जर्नल आर्टिकलको महत्व नबुझिएको, फुटनोटै फुटनोटका चाङ, काम छैन भनेर उडाइएको-पन्छाइएको। अनि, विद्वान्हरू कोट काट्ने मुसा हुन्, धेरै पढे बहुलाइन्छ भन्ने गरेको !

जर्नल आर्टिकलको तयारी

सबैभन्दा पहिले आफ्नो विषयसँग सम्बन्धित जर्नल खोज्ने। उक्त जर्नलमा कुन कुन विधाका वा कस्ताकस्ता आर्टिकल समावेश गर्ने भन्ने कुरा उक्त जर्नलको लेखकका लागि आर्टिकल तयार पार्ने निर्देशिकामा प्रस्टसँग लेखिएको हुन्छ, त्यो पढ्ने। आपूmले लेख्न थालेको आर्टिकल उक्त जर्नलको दायरा वा स्कोपभित्र पर्छ कि पर्दैन भन्ने कुरा थाहा पाउने। त्यसपछि आर्टिकलभित्र समावेश गरिने खण्ड वा उपखण्डहरू पनि जर्नलअनुसार फरक पर्ने भएकाले सो हेर्ने। उदाहरणका लागि मोटामोटी रूपमा एउटा आर्टिकलमा परिचय, पृष्ठभूमि, सैद्धान्तिक वा व्यावहारिक रिभ्यु वा सैद्धान्तिक फ्रेमवर्क, अनुसन्धानको विधि वा तरिका, अनुसन्धानबाट प्राप्त नतिजाहरू, छलफल तथा निष्कर्ष र सन्दर्भसामग्री आदि खण्ड हुन्छन्।

यीबाहेक अन्य खण्ड वा उपखण्डहरू पनि हुन सक्छन्, त्यो पनि हेर्ने। विधाअनुसार यी खण्ड फरकफरक हुन्छन्। यी खण्डहरूभित्र पनि आवश्यकताअनुसार उपखण्डहरू पनि हुन्छन्। जस्तै : आर्टिकलको परिचयभित्र आर्टिकलको उद्देश्य वा महत्र्व आदि उपखण्डहरू हुन सक्छन्। त्यस्तै एउटा आर्टिकल कति शब्दको हुनुपर्ने, त्यसमा कुन कुन खण्ड वा उपखण्डहरू समावेश गर्ने, एब्स्ट्र्याक्ट र की वर्डहरूमा कति शब्द हुने, के के लेख्ने, सन्दर्भसामग्री कसरी प्रस्तुत गर्ने आदि पनि निर्देशिकामा प्रस्टसँग खुलाइएको हुन्छ। ती जानकारी हेर्ने। यति हेरेपछि उक्त जर्नलमा प्रकाशित नयाँ आर्टिकल हेर्दा पनि केही जानकारी पाइन्छ। (आर्टिकल कसरी लेख्ने वा हरेक खण्ड वा उपखण्डहरूमा के के समावेश गर्ने र कसरी लेख्ने भन्नेबारे पछि कुनै लेखमा छलफल गरौंला।)

आफ्नो आर्टिकल जर्नलमा रिभ्युका लागि पठाउनुअघि उक्त जर्नलको लेखकका लागि आर्टिकल तयार पार्ने निर्देशिका राम्रोसँग अध्ययन गरी त्यसको अक्षरश : पालना गर्दै आफ्नो आर्टिकल तयार पार्नुपर्छ। निर्देशिकाअनुसार लेख तयार पारेको छैन भने मान्नुस्, धेरै जर्नलले तपाईंको आर्टिकल नपढी निर्देशिकाअनुसार लेख तयार पार्नू भनेर फर्काउन सक्नेछ, जसलाई डेस्क रिजेक्सन पनि भनिन्छ। त्यस्तै तपाईंको आर्टिकलको विषय जर्नलको दायराभित्र परेन भने पनि तपाईंको आर्टिकल यो जर्नलका लागि उपयुक्त छैन भनी तुरुन्तै फर्काउने (डेस्क रिजेक्सन गर्ने) चलन छ। तपाईंको विषयवस्तु जर्नलका लागि उपयोगी लाग्यो भने सम्पादकद्वारा उक्त आर्टिकल जाँचकीकहाँ कमेन्टका लागि पठाइन्छ (आर्टिकलसम्बन्धी विज्ञहरूबाट जँचाउन पठाउने काम, जसलाई पियर रिभ्यु भनिन्छ। किताब लेखन काम यो प्रक्रियाबाट वञ्चित हुन्छ। पियर रिभ्युको विधिबारे पछि अर्को लेखमा लेख्ने विचार छ। जर्नल आर्टिकल प्रकाशन गरिसकेका विज्ञहरूका लागि भने यो जानकारी कुनै नौलो होइन। तर नयाँ जिज्ञासुका लागि भने उपयोगी होला कि भन्ने लागेको छ।)

अन्त्यमा

जर्नल आर्टिकल लेख्ने वा प्रकाशन गर्ने काम ज्ञान र कला दुवै हो। त्यसैले यो काम त्यति सजिलो छैन तर आत्तिनु पनि पर्दैन। लेख्ने बानी बसाल्दै जाँदा अनुभवले खारिँदै जाने हो। त्यसैले सुरुसुरुमा आपूmभन्दा अनुभवीसँग मिलेर लेख्न सुरु गर्दा यो काम केही सहज बन्दै जान्छ। सबैभन्दा गाह्रो भनेको आपूmले गरेको काम सिलसिलेवार ढंगले प्रस्तुत गर्न जान्नु वा सक्नु हो। त्यसमा पनि अधिकांश जर्नलको माध्यम अंग्रेजी भएकाले हामीलाई झनै गाह्रो हुन्छ। हुन त नेपालजस्तै कतिपय विकासशील देशहरूबाट प्रकाशित हुने जर्नलहरूमा त साथीले प्रकाशनका लागि तयार पार्दै गरेको कुरा थाहा पाएर मेरो नाम पनि यसो राख्देन है भन्ने चलन पनि छ। त्यो आर्टिकल केबारे हो, के लेखिएको छ, त्यसमा अनुसन्धान विधि के हो, के नतिजा निस्कियो, यसको महत्र्व के हो, केही नबुझी नाम थपिदिने पनि चलन छ। यस्तो गरेर सिक्दा पनि सिकिँदैन। त्योभन्दा बढी यो एकदमै घृणित र अनैतिक काम हो।       

[email protected]  समाजशास्त्र तथा जनसंख्याका विद्यार्थी हुन्। हाल अमेरिकाको मिचिगन विश्वविद्यालयमा नेपालको जनसंख्या तथा रोजगारका लागि बसाइँसराइसम्बन्धी अनुसन्धानमा संलग्न छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.