विश्वभर आज : मलेसियामा खराब वायुको आतंक, भारतले अवैध आप्रवासीलाई निकाल्दा के होला ?

विश्वभर आज : मलेसियामा खराब वायुको आतंक, भारतले अवैध आप्रवासीलाई निकाल्दा के होला ?

काठमाडौँ : अमेरिकासँगको वार्ता भंग भएपछि नै तालिबानी समूहले अफगानिस्तानमा हमला तिव्र बनाएको छ । यतिसम्म कि यहाँ हरेक दिन जस्तो हमला हुँदैछ । यस्तै तनाब इरानसँग पनि जारी छ । खासगरी प्रभावशाली मुलुकको राजनीतिक खिचातानीले विभिन्न क्षेत्रमा तनाब कायम छ । आज कुन ठाउँमा के भयो त ? विश्वभरका प्रमुख खबर यहाँ प्रस्तुत छन् :


अफगानिस्तानमा फेरि तालिबानी आक्रमण

काबुल : दक्षिणी अफगानिस्तानस्थित तालिबानी समूहले फेरि हमला गरेको छ । जहाँ ३० जना मारिएका छन् । अरु ९५ जना घाइते छन् । अमेरिकाले वार्ता स्थगित गराएपछि हरेक दिन तालिबानी समूहले आक्रमण गर्दैआएको छ ।

बिहीबार जाबुल प्रान्तको राजधानी कलातमा ट्रक बम हमला भएको हो । रक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार तालिबानी लडाकुहरुले सरकारको सुरक्षा निकायमाथि आक्रमण लक्षित गर्दैथिए । घाइतेहरुलाई नजिकैका अस्पतालमा उपचारका लागि लगिएको स्थानीय मिडियाले जनाएका छन् । घाइतेमा बालबालिका र महिलाहरु पनि छन् ।

अवैध रुपमा भारत बस्ने आप्रवासीलाई निकाल्ने घोषणा


नयाँदिल्ली : भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका नेता अमित शाहले अवैध रुपमा बस्दैआएका आप्रवासीलाई देशनिकाला गर्ने चेतावनी दिएका छन् । एक कार्यक्रममा उनले भारतमा अवैध रुपमा बस्ने विदेशीलाई देशबाट निकाल्ने बताएका हुन् । इंग्ल्याण्ड, नेदरल्याण्ड, अमेरिका लगायत मुलुकको कानुनको प्रसंग कोट्याउँदै भारतमा पनि त्यस्तो सम्भव नहुने बताए ।

साथै सबै नागरिकको नाम दर्ता हुनुपर्ने पनि उनले बताएका छन् । भारतमा ‘नेश्नल रजिस्टर फर सिटिजन (एनआरसी)’को लागु गर्ने सवाल चलिरहँदा शाहले यस्तो बताएका हुन् । आसाममा हालै यस्तो व्यवस्था लागु गर्ने सन्दर्भमा नागरिकहरु छुटेको भन्दै विवाद भएको थियो ।

शाहले पनि एनआरसी लागु गर्नेबारे जोड दिएका हुन् । बंगलादेश, पाकिस्तान लगायत मुलुकबाट भारत आइ अवैध रुपमा बसोबास गर्नेहरुलाई लक्षित गरी यहाँ आप्रवासीमाथि कडाइ गर्न थालेको टिप्पणी हुन थालेको छ ।

शाहको यस्तो घोषणाले भारतमा बस्दैआएका नेपालसहित छिमेकी मुलुकका नागरिकलाई अप्ठ्यारो पर्ने आशंका गरिएको छ । खासगरी लामो समयदेखि भारतमा बस्दैआएका तथा व्यवसाय गर्दैआएका छिमेकी मुलुकका नागरिकलाई यस्तो नियमले कडाइ गर्नसक्ने टिप्पणी हुने गरेको छ ।

गल्फ तनाबबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री अबुदभीमा

दुबइ : अमेरिकी विदेशमन्त्री माइक पोम्प्यो साउदी हमला, इरानको प्रतिक्रिया लगायत विषयमा वार्ता गर्न अबुदाभी आएका छन् । यसबारे ‘गल्फ गठबन्धन’ सरकारसँग विस्तृतमा छलफल गर्ने बताइएको छ ।

गल्फ क्षेत्रमा पछिल्लो समय बढ्दो तनाब कसरी कम गराउने भन्नेबारे छलफल केन्द्रित हुने स्थानीय मिडियाले जनाएका छन् । पोम्प्योले साउदी राजकुमार मोहम्मद बिन सलमानसँग यसअघि नै भेटवार्ता गरिसकेका छन् ।

भारतमा सवारी चालक आन्दोलित


नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीमा सार्वजनिक सवारी साधन चालकहरु आन्दोलित बनेका छन् । सरकारले ट्राफिक नियम उल्लंघन गर्ने सवारीका लागि जरिवानाको रकम बढाएपछि चालकहरु आन्दोलित बनेका हुन् ।

बिहीबार दिनभर उनीहरुको आन्दोलनका कारण यात्रुहरु अलपत्र परे । यातायात सम्बन्धी युनियनले बिहीबार हड्तालको आह्वान गर्दा दिल्लीमा अधिकांश सवारी साधन बन्द भए । सवारी दुर्घटनाबाट एक वर्षमै मृत्यु हुनेको संख्या एक लाख भन्दा धेरै रहेको र ५ लाख घाइते भएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ ।

मलेसियामा घातक वायु प्रदुषण, हजारौँ स्कुल बन्द


क्वालालाम्पुर : मलेसियामा पछिल्लो केही दिनयता वायु प्रदुषणका कारण आम जनजीवनमा असर पर्ने देखिएपछि शतर्क रहन सचेत गराइएको छ । घातक वायुबाट आम जनजीवनमा असर पर्ने भन्दै केही सहरमा शतर्कता अपनाइएको हो ।

वायु प्रदुषणको स्तर नाप्ने ‘एयर पोलुसन इन्डेक्स, एपिआई’का अनुसार २ सय पनि नाघिसकेको बताइएको छ । जुन ‘अति अस्वास्थ’ अवस्था भएको अधिकारीहरुले जनाएका छन् ।

वायु प्रदुषणका कारण सात राज्यका १४ सय ८४ वटा स्कुल बन्द गरिएको छ । लाखौं प्राथमिक तहका विद्यार्थीलाई स्कुल पठाइएको छैन । यस्तै युवा तथा खेलकुद मन्त्रालयसहित प्रभावित क्षेत्रका केही कम्पनी र संस्थानका कर्मचारीहरुलाई पनि घरबाटै काम गर्न भनिएको छ । वायुको बिग्रँदो अवस्थासँगै यहाँका प्रधानमन्त्री महाथिर मुहम्मदले यस्तो समस्या समाधान गर्नुपर्ने भन्दै चासो देखाएका छन् ।

१८ वर्षअघिको गल्तीमा माफी मागे क्यानेडियन प्रधानमन्त्रीले

क्यानडा : क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले १८ वर्षअघि रंगभेदी गतिविधि गरेकोमा माफी मागेका छन् । जस्टिनले १८ अघि पढाउने स्कुलमा भएको साँझको पार्टीमा विरोधी पार्टीलाई विरोध जनाउने क्रममा रंगभेदी स्वरुपको ‘मेकअप’ गरेका थिए ।

‘टाइम म्यागजिन’ले ट्रुडोको तस्बिर प्रकाशन गरेको थियो । ४७ वर्षीय ट्रुडोले २९ वर्षको छँदा अनुहारमा रंग पोतेर रंगभेदी व्यवहार देखाएका थिए । सोही व्यवहारलाई लिएर उनले माफी मागेका हुन् । तस्बिरमा छापिएको व्यक्ति आफैँ भएको भन्दै उनले त्यस व्यवहार गरेकोमा आत्मग्लानी भएको बताएका छन् ।

‘म भन्न सक्छु कि, म युवावस्थामा छँदा गल्ति गरेँ । मैले त्यसो गर्नु हुँदैनथ्यो, तर मलाई थाहा थिएन । म यसको लागि हृदयदेखि नै माफी चाहन्छु । अहिले मैले बुझेँ कि, यो रंगभेदी थियो,’ उनले भनेका छन् ।

जस्टिनले आफैँदेखि दुख लागेको पनि बताए । ट्रुडोले त्यसबेला रंगभेदी व्यवहार झल्किने ‘मेकअप’ गर्दै सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । जस्टिन ट्रुडो आधुनिक क्यानडाका पिताको रुपमा चिनिने क्यानडाका पूर्व प्रधानमन्त्री पिर्रे ट्रुडोका छोरा हुन् ।

हामी युद्ध चाहँदैनौँ : इरान


तेहरान : इरानी विदेशमन्त्री जाबद जरिफले आफूहरुले युद्ध नचाहेको प्रतिक्रिया दिएका छन् । उनले इरान सैनिक टकराबमा सामेल हुन नचाहेको पनि बताए । ‘म गम्भीर अभिव्यक्ति दिन चाहन्छु कि, हामी युद्ध चाहँदैनौँ, हामी सैनिक टकराबमा सामेल हुन चाहँदैनौँ...तर हामी आफ्नो क्षेत्रको रक्षा गर्न चुक्दैनौँ,’ जरिफले भने ।

जरिफले बिहीबार सिएनएनसँग अन्तर्वार्ता दिने क्रममा यस्तो बताएका हुन् । पछिल्लो समय इरान र अमेरिकाबीच विवाद चर्कँदैगएको छ । अमेरिकी प्रतिनिधि भने गल्फ गठबन्धनसँग छलफलमा छन् । इरान त्यसको विपरीत छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.