अझै पूरा भएन डोलेश्वर मन्दिर
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर अझै पूरा हुन सकेको छैन। ०७२ साल जेठ १८ गते तीन वर्षमा पूरा गर्ने गरी मन्दिर पुनर्निर्माण थालिएको थियो। तर, चार वर्ष बित्दा पनि मन्दिरले पूर्ण आकार लिन पाएको छैन।
भूकम्पले गुम्बज शैलीको मन्दिर भत्काएको थियो। मल्लकालीन दुईतले प्यागोडा शैलीको मन्दिर १९९० सालको भूकम्पले भत्काएपछि गुम्बज शैलीमा मन्दिर निर्माण गरिएको थियो।
भूकम्पले उक्त गुम्बज शैलीका मन्दिर भत्काएपछि डोलेश्वर महादेव मन्दिर विकास तथा संरक्षण समितिले पुनः मल्लकालीन शैलीमै पुनर्निर्माण गर्ने गरी गुरुयोजना बनाएको थियो। उक्त मन्दिर पुनर्निर्माण गर्न संखुवासभा निवासी कृष्णगोपाल श्रेष्ठले पाँच करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका थिए। दुईपटक गरेर दुई करोडभन्दा बढी रकम दिएर दाता श्रेष्ठ प्रतिबद्धताबाट पछि हटेपछि दुई वर्षदेखि डोलेश्वर महादेव मन्दिर पुनर्निर्माण अधुरै रहेको हो।
अहिले मन्दिरको पहिलो तलासम्म कंक्रिटको संरचना निर्माण सकिएको छ। त्यसमाथि काठ ठोकेर कलात्मक बनाउने कार्य बीचैमा रोकिएको छ।‘समितिसँग पर्याप्त बजेट नहुँदा मन्दिर निर्माण पूरा गर्न पाएको छैन’, समितिका अध्यक्ष बालहरि चालिसेले भने, ‘त्यसमाथि मन्दिर निर्माणको लागत बढेको बढ्यै छ।’
उनका अनुसार सुरुमा इस्टिमेट गर्दा पाँच करोडमा मन्दिर बन्ने अनुमान थियो। तर, अहिले १७ करोड पुग्ने देखिएको उनले सुनाए।‘९ करोडको त सुन र चाँदी मात्रै लाग्ने देखियो’, अध्यक्ष चालिसेले थपे, ‘तैपनि हामी दाताको खोजीमा छौं। एक÷दुई करोड सहयोग गर्ने दाता सम्पर्कमा आउनुभएको छ।’
समितिले मन्दिरको दुइटै तलाको छानामा तामाको पाता राख्ने योजना बनाएको छ। जसमा सुनको जलप लगाउने सचिव विश्वराम थापा बताउँछन्।
‘छाना र गजुरमा सुनको जलप लगाउने तथा मन्दिरका चार दिशाका भित्री र बाहिरी गरी आठ वटा ढोकामा चाँदीले मोल्ने इस्टिमेट गरेका छौं’, उनले भने, ‘चाँदी मात्रै तीन करोडको लाग्ने इस्टिमेट भएको छ।’
सचिव थापाले पुराना दाता पछि हटेपछि नयाँ दाता आएकाले चालु वर्षभित्र डोलेश्वर महादेव मन्दिरको मूल मन्दिरको पुनर्निर्माण सम्पन्न गर्ने समितिको लक्ष्य रहेको सुनाए।
मूल मन्दिर पुनर्निर्माण सम्पन्न हुँदा अरू मठमन्दिर तथा भौतिक संरचना निर्माणसमेत प्रभावित भएको समितिका पदाधिकारी बताउँछन्। डोलेश्वर महादेव मन्दिर मात्र होइन, मन्दिर परिसरमा चौबन्दी सत्तल, धर्मशाला, पुजारी घर, तलुसीमठ तथा पारिजात बगैंचा, गणेश मन्दिर, कुमार मन्दिरसमेत निर्माणाधीन अवस्थामा छन्।
गुरुयोजनाअनुसार १० करोड र ५ करोड लागत पर्ने भनिएका दुई छुट्टाछुट्टै धर्मशाला, २ करोड लागतको जुत्ता व्यवस्थापन तथा बैंक रहने भवन, २५ लाख लागतको यज्ञशालाको जगसमेत राख्न सकिएको छैन।
गुरुयोजनामा डोलेश्वर महादेव मन्दिर परिसरमा मुख्य मन्दिरसँगै विष्णु, गणेश, कुमार, देवी, कृष्ण, राम, सरस्वती, नारायण, श्रीस्वस्थानी, हनुमानलगायत देवदेवीका मन्दिर, धर्मशाला, कुटी, यज्ञशाला, तुलसीमठ, पूजा सामग्री कक्ष, शौचालयलगायत ३९ वटा भवन तथा भौतिक पूर्वाधार निर्माण गरिने उल्लेख छ।