जाममै गयो ज्यान

जाममै गयो ज्यान

धादिङ : दुवै मिर्गाैला फेल भएका रौतहट गरुडा नगरपालिका–२ का रूपलाल साह जनकपुरमा उपचार गराइरहेका थिए। उनको स्वास्थ्यमा थप समस्या देखिएपछि आमा श्रीजनदेवीले तत्काल काठमाडौं लैजाने निर्णय गरिन्।

एम्बुलेन्स रिजर्भ गर्न पैसा थिएन। रौतहटमै रहेका कान्छा छोरालाई सीधै काठमाडौं बोलाएर श्रीजनदेवीले बिहीबार साँझ ६ बजे ना.७ ख ५३६४ नम्बरको बसमा रूपलाललाई काठमाडौं ल्याउँदै थिइन्। तर, उनीहरू चढेको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ हुलाक डाँडामा जाममा रोकियो।

थाक्रे गाउँपालिका–८ चार किलामा दुइटा मालवाहक कन्टेनर आपसमा ठक्कर खाएर राजमार्ग अवरुद्ध भएको थियो। जाममै रहेका बेला साहले बिस्कुट र पानी खाए। तर, रातभर जाम खुलेन। साहको अवस्था गम्भीर बन्यो। चालक र यात्रुले एम्बुलेन्स खोज्न थाले। एम्बुलेन्स पाए पनि सडक खुलेको थिएन।

साहको बसमै ज्यान गयो। बसचालक भगवान् न्यौपानेले बिहान ६ बजे साहको मृत्यु भएको बताए। उनले भने, ‘बिरामीलाई धेरै गाह्रो भएपछि हामीले एम्बुलेन्स खोज्दाखोज्दै बसको सिटमै उनको मृत्यु भयो।’

बसको सिटमा मृत्यु भएका रुपलाल साह र छेउमा उनकी आमा श्रीजनदेवी साह ।

अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्ड ठाउँ–ठाउँमा अवरुद्ध थियो। रूपलालका भाइ रामबाबुले भने, ‘दाइलाई बिमारले धेरै च्यापेको थियो। समयमै काठमाडौं पुर्‍याउन सकिएको भए बचाउन सकिन्थ्यो कि !’

जाममा परेर बसभित्रै मृत्यु भएको छोरालाई रौतहट नै पठाउन शववाहनमा राख्न लाग्दा भावविह्वल बनेकी श्रीजनदेवी शाह।

अर्को गाडीमा रौतहटबाटै काठमाडौं जाँदै गरेका मृतकका भाइ रामबाबु साह महादेवबेसी आइपुगेपछि धादिङ प्रहरीले मुचुल्का गरेर शव रौतहट पठाइदिएको छ।

अत्यासलाग्दो जाम

धादिङबेंसीदेखि काठमाडौं ३ घण्टामा पुगिन्छ। तर, बिहीबार सुरेन्द्र श्रेष्ठ धादिङबाट हिँडेको १३ घण्टामा कलंकी पुगे। उनका अनुसार यात्रु ६ घण्टासम्म एकै ठाउँमा जाममा थिए।

शुक्रबार दिउँसो १ बजे नौबिसेमा भेटिएका नवलपरासीका जीवन भट्ट हतास देखिन्थे। उनले भने, ‘मेरो आज ६ बजेको कतारको फ्लाइट छ। ४ बजे एयरपोर्ट छिरिसक्नुपर्छ। अझसम्म नौबिसेको जाममा छु।’ भट्टले चढिरहेको गाडीबाट उत्रेर साइरन बजाउँदै गुडिरहेका एम्बुलेन्स र मोटरसाइकल रोक्ने प्रयास गरिरहेका थिए।

ठगिँदै यात्रु

जाममा परेका यात्रुलाई राजमार्ग आसपासका साना होटलले ठगिरहेका छन्। एक बोतल पानीको ५० रुपैयाँ तिरेको बसचालक रामेश्वर शाहले बताए। उनले भने, ‘जाम बिस्तारै सरिरहेको हुन्छ। होटलमै गएर खाजा खाँदा गाडी छुट्ने डरले यात्रुलाई झर्नै दिएका हुँदैनौं। झोलेपोके व्यापारीले दोब्बर भाउ लिएर बेचिरहेका हुन्छन्।’ चाउचाउ र बिस्कुट पनि ५०/५० रुपैयाँ बिक्री भइरहेको थियो।

साना होटलले पनि जाम भएका बेला साविकभन्दा दोब्बर पैसा लिएको यात्रु शकुन्तला भट्टले बताइन्। उनले भनिन्, ‘अघिपछि ५० रुपैयाँमा एक प्लेट चना पाइन्थ्यो, आज ८० रुपैयाँ तिरें।’

सडकको दुरवस्था

नौबिसे भएर काठमाडौं पस्ने देब्रे लेन ठाउँ–ठाउँमा खाडल पर्दा निकै जीर्ण छ। मालवाहक हेभी गाडी यही लेन भएर काठमाडौं छिर्छन्। हेभी गाडीको चाप थेग्न नसकेपछि सडकको यो लेन ठाउँ–ठाउँमा धसिँदा खाल्डो परेर पानी बग्ने कुलोजस्तै बनेका छन्। दसैं–तिहारका बेला भने हतारहतार टालटुल गर्ने काम सुरु हुन्छ। गत असारभित्र सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मत जारी छ।

सडकमा सवारी जाम गराउने ठूला मालवाहक सवारीसाधन हुन्। व्यापारिक सामग्री बोकेर आउने १२ देखि २२ चक्के मल्टिएक्सल कन्टेनर र लरी खानीखोलाबाट उकालो लाग्न थालेपछि जाम सुरु हुन्छ। त्यसैले बिहीबारदेखि दिउँसोको समयमा लामा गाडीलाई धार्के बजारभन्दा तलतिरै रोक्ने गरिएको खानीखोला प्रहरी कार्यालय धादिङका प्रमुख रुक खड्काले बताए।

जाम हटाउन र सवारी आवागमन सुचारु गराउन प्रहरीले विशेष टोली खटाएको छ। तर, अत्यधिक भार बोकेका सवारीसाधन बिग्रने र लामा सवारीसाधनलाई मोड नपुग्ने भएपछि जाम हुने गरेको धादिङका प्रहरी प्रमुख राजकुमार बैदरवार बताउँछन्। पृथ्वीराजमार्गको अधिकतम भार १५ टन हो। तर, हरेक दिन ४२ टनसम्म सामान बोकेका साधन राजधानी भित्रिन्छन्। दसैंतिहार लक्ष्य गरी दैनिक १२ हजार सवारीसाधन र मालवाहक गाडी राजधानी भित्रिने उनले बताए।

त्यस्तै, १८ हजारभन्दा बढी सानाठूला सवारीसाधन राजधानीबाट बाहिरिन्छन्। तीमध्ये ७ सयभन्दा बढी १८ चक्केदेखि २२ चक्के भारतीय मालवाहक साधन आउन थालेका छन्। राजधानीमा राति मात्रै गुड्ने अनुमति पाएका टिपर पनि साँझ एकै पटक धेरै प्रवेश गरेपछि राजमार्ग झन् व्यस्त हुन्छ।

बढी भार बोकेका लामा सवारीसाधनलाई कारबाही फितलो हुँदा जामका बेला सवारी आवागमन सहज बनाउन प्रहरीलाई हम्मे–हम्मे पर्छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक नेत्रप्रसाद भट्ट भन्छन्, ‘बढी भार बोक्नेलाई हामीले जरिबाना गराउने हो, रोक्ने अधिकार हुन्न। उनीहरू जरिबाना तिर्छन, सवारी गुडाइरहन्छन्।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.