फेमिनिस्ट ब्युटी पार्लर !

फेमिनिस्ट ब्युटी पार्लर !

सहरले महिलालाई कमजोर मात्र ठान्दैन, उनीहरूलाई ‘ज्ञान’ र ‘सभ्यता नभएको’ मानिसका रूपमा चित्रित गरेको पाइन्छ।


सानो हुँदा ‘सहर’ शब्द बडा मज्जाको लाथ्यो। सपना, प्रगति र सुविधाको संगम नै लाग्थ्यो। शिक्षा, सभ्यता र संस्कारको बेजोड ‘स्पेस’ हो भन्ने लाग्थ्यो, सहर। काठमाडौं र जिल्ला सदरमुकामा बसेर गाउँ फर्केका दाइ–दिदी र काकाहरूले कथा सुनाउँदा लाग्थ्यो— सहर साँच्चिकै सुन्दर छ। लाग्थ्यो— सहर ज्ञानको खानी हो, दुःख हँदैन सहरमा। सहर सभ्य र चेतनशील समाज निर्माणको नमुना हो भन्ने कल्पना गरिन्थ्यो। मनमा सहर कहिले पसौंजस्तो लाग्थ्यो। चिल्ला सडकमा गुड्ने गाडी चढ्दा कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो। आज राजधानी सहर काठमाडौं छिरेको डेढ दशक काटेछ। यहीँ पढियो, जागिर पनि खान थालियो। देशविदेश घुमियो, यहीँबाट घुमियो। धेरै साथी बनाइयो सहरमा। एक हिसाबले काठमाडौं कर्मथलो बन्यो। तर विगत पाँच वर्षदेखि मैले ‘सहर’लाई अलिक गहिराइमा बुझ्ने कोसिस गर्न थालेको छु।

‘सहर’का रूप र संकेतहरूले दिने सामाजिक र राजनीतिक अर्थहरू खोतल्न यसको ‘सिमिअटिक्स’लाई खोतल्ने प्रयास गर्दैछु। यसका लागि झोलामा एउटा क्यामेरा बोकेर कहिले स्कुटरमा त कहिले पैदल सहरका नयाँ र पुराना तथा सामान्य र असामान्य ‘स्पेस’हरूको अवलोकन गर्न थालेदेखि सहरको बारेमा गहिरो अध्ययनको खाँचो भएको महसुस भएको छ। कहिले कपाल काट्ने निहुँमा ‘इङ्लिस हेयरकट’मा पसेर त कहिले ‘क्रेजी बिन्ज’ क्याफेका भाइहरूसँग गफ गरेर सहरमा नयाँ ‘स्पेस’हरूबारे जान्न खोजियो। ‘सहर’ अध्ययन गर्ने मेरो एथ्नोग्राफिक विधिका विभिन्न रमाइला पाटा छन्। ठमेलमा देखिने चाइनिज साइन बोर्डहरूको फोटो खिच्दै हिँड्दा ‘चाइनिज टुरिस्ट’ सम्झेर चाइनिज भाषामा नेपाली व्यापारीहरूले बोलाउँदा धेरै पटक हाँस्दै हिँडेको छु। वसन्तपुर, पाटनढोका र भक्तपुर दरबार स्क्वायरमा ठेलामा फलफूल बेच्नेहरूको फोटो खिच्दा अंग्रेजीमा ‘हन्ड्रेड रुपिज प्लिज’ भनेर पैसा माग्दा नबोली सय रुपैयाँ पनि दिएको छु। टुरिस्ट बनी अंग्रेजीमा बात मार्दाको क्षणहरू कम रमाइला छैनन्। काठमाडौंबाहेक कहिले विराटनगर–इटहरी त कहिले धनगढी–महेन्द्रनगर, कहिले नेपालगन्ज–घोराही त कहिले बुटवल–भैरहवा, कहिले फिदिम–इलाम त कहिले वीरगंज–सिमरा कहिले पोखरा त कहिले भरतपुर। विभिन्न सहरका गल्ली–गल्ली घुम्दै फोटो खिचेको पाँच वर्ष पुग्दै गर्दा हजारौं फोटोको संग्रह भएछन्। यो आलेखमा ‘सहर’ बुझ्न यिनै फोटोहरूलाई मनावशास्त्रीय भाषा वैज्ञानिक पक्षबाट विश्लेषण गरिएको छ।

‘सहर’ बुझ्ने मनावशास्त्रीय भाषाविज्ञान

‘सहर’ बुझ्न मानवशास्त्रीय भाषाविज्ञान महत्त्वपूर्ण विचार–पद्धति हो। यसलाई भाषिक मानवशास्त्र र समाज भाषाविज्ञानको नामले पनि चिनिन्छ। यो विचार–पद्धति मुख्यतः बीसौं शताब्दीको मध्यतिरबाट आदिवासी रैथाने समुदायले बोल्ने भाषा र उनीहरूको संस्कृतिबीचको सम्बन्ध अध्ययन गर्ने पद्धतिका रूपमा सुरु गरिएको पाइन्छ। फ्रान्ज बोआस, डेल हाइम्स, विलियम फोली, सुसन गेल, जुडिथ इर्भाइन, माइक सिल्भरस्टाइन र क्याथ्रिन वुलार्डजस्ता विद्वान्हरूले भाषाको प्रयोगलाई मानवशास्त्रीय दृष्टिकोणबाट अध्ययन गर्ने पद्धतिको विकासमा ठूलो योगदान गरेका छन्। सुरुका दिनहरूमा भाषा प्रयोगको सांस्कृतिक पक्षहरूलाई जोड दिइएको भए पनि अहिले मानवशास्त्रीय भाषाविज्ञानको दायरा फराकिलो भएको छ। भाषालाई सामाजिक, सांस्कृतिक र राजनीतिक संकेतका रूपमा हेर्दै यो पद्धतिले भाषा प्रयोग र यसले बनाउने भाष्यलाई समग्र सामाजिक तथा राजनीतिक संरचना र चिन्तन बुझ्न प्रयोग गर्छ। यो पद्धतिले भाषालाई निरपेक्ष होइन सापेक्ष माध्यमका रूपमा लिन्छ। मानवशास्त्रीय भाषाविज्ञहरूले भाषालाई मानवीय अनुभवहरूको प्रतिनिधित्व गर्ने एउटा प्रमुख संकेत र आमसामाजिक संरचनाको प्रतिनिधिका रूपमा लिन्छन्।

आधुनिक समाजको निर्माणसँगै बढिरहेको सहरीकरण र स्थानहरूको पहिचान निर्माणमा भाषाको भूमिका महत्त्वपूर्ण हुन्छ। ‘सहर’को सार्वजानिक स्थलहरूमा प्रयोग हुने भाषाहरूले गहिरो सामाजिक र राजनीतिक चिन्तन र संस्कृति बोकेको हुन्छ। साइनबोर्ड, पम्प्लेट, भित्ते लेखन तथा चित्र र होर्डिङ बोर्डहरूमा प्रयोग गरिएका भाषा र अन्य संकेतहरूले ‘सहर’ कस्तो छ र यसले कस्तो सामाजिक–राजनीतिक चिन्तन बोकेको छ भन्ने कुरा चित्रण गर्छन्।

महिलालाई हेर्ने ‘सहर’का भाषा

सहरमा महिलाको पहिचान कस्तो छ ?  महिलालाई कुन चिन्तनले हेरिन्छ ?  महिलाप्रति सहरको आमचिन्तन के हो ?  यस्ता प्रश्नको जवाफ खोज्न कुनै नीतिनिर्मातासँग छलफल गरिरहनु पर्दैन। सहरका सार्वजनिक स्थानहरूमा प्रयोग भाषा र सम्बन्धित संकेतको गहिरो अध्ययन गरे पुग्छ। सार्वजनिक स्थानहरूमा प्रयोग हुने भाषालाई समाज भाषाविज्ञानमा ‘भाषिक भू–दृश्य’ (लिंग्विस्टिक ल्यान्डस्केप) भनिन्छ। भाषिक ल्यान्डस्केपको अध्ययनले भाषाको सांस्कृतिक, राजनीतिक, सामाजिक र आर्थिक पक्षहरू बुझ्न सहयोग गर्छ। सहरको भाषिक ल्यान्डस्केपको खोजी गर्दा खिचिएका सयौं फोटाको अध्ययन गर्दा देखिएको एउटा मुद्दा भनेको सहरको भाषाले महिलालाई हेर्ने चिन्तन हो। यस्ता चिन्तनहरू मुख्यतः सार्वजनिक यातायातका साधन, ब्युटी पार्लर, भित्तेचित्र तथा लेखन र व्यापारिक प्रयोजनका लागि गरिने विज्ञापनहरूमा प्रयोग हुने भाषाहरूमा भेट्टाउन सकिन्छ। यस्ता भाषाहरूको विश्लेषणले महिलाहरूलाई ‘अविश्वासी’, ‘फेसनवाला’ र ‘दोषी’जस्ता अनेक पहिचानले चिनाइन्छन्। जस्तैः एउटा सवारी साधनमा लेखेको ‘गर्ल अल्वेज क्रिएटेड प्रब्लेम फर ब्वाइज’ लाइनले महिलालाई पुरुषका लागि ‘समस्या सिर्जना गर्ने व्यक्ति’का रूपमा लिइएको छ। त्यसैगरी एउटा सार्वजनिक बसको पछाडि लेखिएको ‘तिम्रै छोरी तरुनी, हाम्रो के गल्ती भो ? ’ भन्ने वाक्यले महिलालाई ‘तरुनी’को रूपमा चित्रण गरेको छ। र ‘तरुनी’सँग गरिने जस्तोसुकै व्यवहारका लागि पनि पुरुष दोषी हुनु नपर्ने सन्देश दिएको छ।

त्यसै सहरका भाषाले महिलालाई ‘अर्थ’ (पैसा) र ‘जागिर’सँग तुलना गरेको पाइन्छ। ‘घरमा बस्यो आर्थिक चाप, विदेश गयो बूढी टाप’ र ‘दुईमा एक छोड, श्रीमती अथवा जागिर...’ जस्ता ‘ श्रीमती’लाई होच्याउने भाषाहरूको प्रयोग सार्वजानिक यातायातहरूमा यत्रतत्र पाइन्छन्। यस्ता भाषाहरूमा हाम्रो पितृसत्तात्मक संरचना र यसले बोकेको ‘ह्याबुटस’, फ्रेन्च समाजशास्त्री पिअरे बोर्दुले भनेजस्तो, लाई प्रतिविम्बित गर्छ। यस्ता भाषाहरूले पुरुषहरूलाई ‘कमाउन विदेश जाने’ पात्र र महिलाहरूलाई ‘टाप ठोक्ने’ अवसरवादीका रूपमा प्रस्तुत गरेको छ। यसको अर्थ  श्रीमान्हरू विदेश जाँदा ‘ श्रीमती’हरू घर छोडेर परपुरुषसँग भाग्छन् भन्ने हो। त्यतिमात्र सार्वजनिक रूपमा प्रयोग हुने यस्ता भाषाहरूले ‘ श्रीमती’ हरूलाई पुरुषहरूका लागि ‘जागिर’ खान पनि समस्याको रूपमा लिइएको पाइन्छ। पुरुषका लागि ‘जागिर’ र ‘ श्रीमती’ दुवै हुन सक्दैनन् भन्ने सन्देश दिने भाषाहरू सहरमा सर्वत्र पाइन्छ।

सहरका यस्ता भाषाहरूले महिलालाई ‘अमानवीकृत’ गर्छ। महिलामा पुरुषभन्दा कम मानवीय गुण र चरित्र छ भन्ने यस्ता भाषाहरूलाई हाम्रो सहरले सार्वजनिक रूपमा स्वीकारेको मात्र होइन प्रवर्द्धनसमेत गरेको छ। यसले वास्तवमा सहरले महिलालाई कसरी अमानवीकृत गर्छ र उनीहरूको पहिचानलाई कसरी कमजोर बनाएको छ भन्ने कुरा प्रस्ट हुन्छ।

सहरले महिलालाई कमजोर मात्र ठान्दैन, उनीहरूलाई ‘ज्ञान’ र ‘सभ्यता नभएको’ मानिसका रूपमा चित्रित गरेको पाइन्छ। एउटा ट्याक्सीको पछाडि लेखिएको यो लाइन हेरौं, ‘नारी तिमी महान् छौ। फेसन नगर’ त्यस्तै ‘नारी सुन्दर हुन मन सफा र सहनशील चाहिन्छ’, ‘ श्रीमान्को भलो चिताउने  श्रीमती भएको घरमा ईश्वरको बास हुन्छ’। यस्ता लाइनले नारीमा कस्तो गुण हुनुपर्छ भन्ने सामाजिक चिन्तनलाई प्रतिनिधित्व गरेको छ। ‘मन सफा’, ‘सहनशील’ र ‘ श्रीमान्को भलो चिताउने’ जस्ता वाक्यांशले महिलालाई कसरी ‘सुन्दर’ र घरबार चलाउने भन्ने कुरा पनि नजान्ने भएकाले सिकाइरहनुपर्ने अज्ञानी व्यक्तिका रूपमा प्रस्तुत गर्छन्। मुख्यतः यस्ता भाषाहरूले महिलाहरूको पहिचान आज्ञापालक, शक्तिहीन र पुरुषको सहयोगीका रूपमा सार्वजनिकीकरण गर्छ। महिलामा हुनुपर्ने ‘सहनशीलता’को आशय पुरुषले जे भन्यो महिलाले मान्नुपर्छ भन्ने हो। उनीहरूले प्रश्न गर्न हुन्न भन्ने हो। प्रश्न गर्न नपाएपछि न्यायका लागि आवाज उठ्ने कुरै भएन। सार्वजनिक रूपमा महिलाको ‘अमानवीकरण’को अर्को उदाहरण यसप्रकार छ :

हाई भन्दा बाई रे,

नम्बर देऊ भन्दा नाइँ रे

रिस उठेर आई लभ यु भन्देको

ठट्टा नगर न दाइ रे

सार्वजनिक यातायातमा भेटिएका यस्ता भाषा पढ्दा रमाइलो लाग्ला। हाँसो लाग्न सक्छ। तर लैंगिक हिसाबले हेर्दा यस्ता भाषाले महिलालाई रिस पोख्ने र जे मन लाग्यो त्यही भन्न पाइने निरीह व्यक्तिका रूपमा चित्रित गर्छन्। यसले बिनाकारण एउटा महिलालाई ‘हाई’ भन्ने र फोन ‘नम्बर’ माग्न सक्ने शक्ति पुरुषहरूसँग छ भन्ने सन्देश दिएको छ। एउटा महिलाले ‘नाइँ’ भन्दा त्यसको उत्तर ‘रिस’ले दिनुपर्ने ‘दाइ’हरूको ‘आई लभ यु’ले पुरुष हेजेमोनी र सत्तालाई प्रतिनिधित्व गर्छ। ‘सहर’का यस्ता भाषाले महिलाले ‘अस्वीकार’ गर्न पनि हुन्न भन्ने सन्देश सार्वजनिक रूपमा दिन्छन्।

सहरले परिभाषा गरेको नारी सौन्दर्य

सहर अध्ययन गर्ने क्रममा गल्ली–गल्ली चहार्नु सिकाइको ठूलो अवसर हो। सहरको रूप जति परिवर्तनशील हुन्छ, त्यति नै यसले नयाँ विचार र चिन्तनको निर्माण गर्छ। मेरो अध्ययनको सिलसिलामा देखेको अर्काे अलिक नयाँ विषय भनेको ‘महिला सौन्दर्य’ हो। काठमाडौं, ललितपुर र भक्तपुरका गल्लीहरूमा देखिने सानाठूला साइनबोर्डका भाषिक भूदृश्यले सौन्दर्य के रहेछ भन्ने प्रश्नको उत्तर खोज गर्न सहयोग गर्छ। सानाठूला गल्लीहरूमा देखिने ‘ब्युटी पार्लर’हरूका भाषिक भूदृश्यले सहरले महिलाको सौन्दर्यबारे कस्तो चिन्तन र धारणा राख्छ भन्ने कुरा बुझ्न सहयोग पु¥याउँछ। ‘ब्युटी पार्लर’हरूका भाषिक भूदृश्यहरूले मुख्य रूपले दुइटा चिन्तन बोकेको छ। पहिलो ‘रंगभेदी’ सौन्दर्यशास्त्र। दोस्रो, जातिभेदी सौन्दर्य बजार।

ब्युटी पार्लरका आकर्षक साइनबोर्डहरूलाई विश्लेषण गर्दा प्रायः सबैतिर ‘गोरो’ अनुहार मात्र देखिन्छ। सयौं पार्लरमा प्रयोग गरिने भाषा र अन्य संकेतहरूले ‘गोरोपना’लाई नारी सौन्दर्यको मानक बनाइएका छन्। सहरले ‘फेयर’, ‘चम्किलो’, र ‘पोचारहित’ अनुहार नै ‘सुन्दरता’को रूप बनाएको छ। ब्युटी पार्लरका सार्वजानिक रूपमा प्रयोग गरिने भाषाहरूले आमसार्वजनिक वृत्तमा महिलाहरूको पहिचानलाई उनीहरूको सुन्दरतासँग जोडेर हेर्ने चस्माको काम गरेका छन्। जस्तैः ‘हेयर कटिङ’, ‘हेयर कलरिङ’, ‘हेयर स्ट्रेट’, ‘हाइलाइट’, ‘थ्रेडिङ’जस्ता शब्दहरू सहरका खुला सौन्दर्य बजारमा चल्तीमा छन्। यस्ता शब्दहरूले नारी सौन्दर्यमाथि सहरले राख्ने चिन्तनलाई देखाउँछ। कुनै पनि ब्युटी पार्लरमा प्रयोग गरिएका फोटोहरूमा ‘कालो’ वा ‘डार्क’ छाला भएको अनुहार भेटिन्नन्। यसले ‘कालो’ हुनु भनेको राम्रो, आकर्षक वा सुन्दर नहुनु हो भन्ने सन्देश दिन्छ।

सहरका ब्युटी पार्लरहरू मल्टिनेसनल कम्पनीका व्यापारिक स्पेस पनि भएका छन्। पोन्ड, निभिया र फेयर–लभ्लीजस्ता कम्पनीका व्यापारिक नाराहरू यस्ता ब्युटी पार्लरमा देखिन्छन्। यी कम्पनीहरूले ‘गोरो’ र ‘फेयर’ अनुहारलाई सौन्दर्यको मानक बनाएका छन्। रमाइलो त के छ भने महिला सौन्दर्यको व्यापार गर्ने सहरले ‘फेमिनिस्ट ब्युटी पार्लर’ पनि जन्माएको छ। नारीवादी चिन्तनले महिलाहरूको समानता र पँजीवादी बजारमा महिलाको शरीर र सौन्दर्यको व्यापारलाई आलोचना गर्छ। रेसिस्ट गर्छ। तर हाम्रा सहरका सार्वजनिक भाषिक भूदृश्यले नारी सौन्दर्यको राजनीतिलाई आलोचना गर्ने नारीवादी दर्शनलाई नै कता–कता जिस्क्याइरहेको संकेत गर्छ। ‘फेमिनिस्ट’लाई ‘ब्युटी पार्लर’ बुझाउने विशेषणका रूपमा गरिएको प्रयोगले नारी चेतना र आवाजप्रति सहरले राख्ने नकारात्मक चिन्तनको प्रतिनिधित्व गर्छ।

नारी सौन्दर्यको व्यापारले जातिभेदलाई पनि प्र श्रय दिएको छ। प्रायः मल्टिनेसनल कम्पनीका सौन्दर्यसँग सम्बन्धित विज्ञापनहरूले ‘ककेजीअन’ र ‘इन्डोयुरोपियन’ जातिका गोरा अनुहार, ठूला आँखा र मिलेको लामो नाकलाई नारी सौन्दर्यको संकेतका रूपमा प्रयोग गरेका पाइन्छन्। सहरमा सार्वजनिक रूपमा देखिने सुन्दरताको यस्तो सिमिओटिक्सले कुनै जातिविशेषलाई सौन्दर्यको हिसाबले ‘राम्रो’ वा ‘नराम्रो’ भनेर एउटा शक्तिशाली डिस्कोर्स निर्माण गरिदिन्छ। यो डिस्कोर्सले व्यावहारिक रूपमै सौन्दर्यप्रति आमसार्वजनिक वृत्तको सोचमा प्रभाव पारेको छ।

काठमाडौंको एउटा अस्पतालमा ‘कस्मेटिक उपचार’ गर्ने पद्धति रहेछ जहाँ महिलाको अनुहार देखाएर उपचारको सफलता देखाउन ‘बिफोर’ (अघि) र ‘आफ्टर’ (पछि) भन्ने संकेतहरू देखाइएका छन्। सो अस्पतालको मुख्य जोड भनेको ‘मंगोलियन आँखा’लाई ‘डबल क्रिज (मुन्द्री)’ गरेर ठूलो बनाउने रहेछ। अस्पतालका भित्ताभरि नारी अनुहार र आँखाहरूमा जोड दिइएको छ, जसमा कोरिएको एउटा आँखा चिम्सो र सानो छ। यसलाई ‘मंगोलियन’ आँखाको रूपमा देखाइएको छ। अस्पतालको कस्मेटिक उपचारमा यो ‘मंगोलियन’ आँखालाई डबल क्रिज लगाएर ठूलो बनाएर ककेजियन रूप दिइने रहेछ। यो कुरा उपचार पछि’ (आफ्टर) भनेर देखाइएको आँखाको चित्रले देखाएको छ। सार्वजनिक रूपमा प्रयोग सौन्दर्य बजारका यस्ता भाषाहरूले ‘मंगोलियन’ जातको आँखालाई स्वीकार गर्न सकेको छैन।

भाषा र चिन्तनको सम्बन्ध

‘सहर’ निर्मम पनि हुँदो रहेछ। बाल्यकालको सपनाको सहर र वास्तबिक सहरबीच धेरै फरक रहेछ। सहरले लिंग, जात र वर्गका आधारमा असमान शक्ति र त्यसलाई मलजल गर्ने संरचना बनाउँदो रहेछ। ‘सहर’का भाषिक भूदृश्यहरूले यस्ता असमान शक्ति संरचनालाई जोगाइराख्न भाष्यिक ‘हेजोमोनी’ निर्माण र प्रसारण गर्छ। सहरले जन्माएका सार्वजानिक यातायात र ब्युटी पार्लरजस्ता स्पेसहरूले असमान सामाजिक सोच र चिन्तनको प्रवर्द्धन गरेको छ। खुला बजारमुखी सहरका भाषाहरूले महिलाहरूको पहिचानलाई अमानवीकृत गरेको छ। भाष्यिक शक्तिको माध्यम प्रयोग गरी सहर महिलाहरूलाई जिस्क्याउने, होच्याउने र शक्तिहीन बनाउने गर्ने रहेछ।

सहरले महिलाले आफूलाई स्वीकार्य नहुने कुरामा रेसिस्ट गर्न पनि नदिने रहेछ। मनावशास्त्रीय भाषा वैज्ञानिक दृष्टिकोणबाट हेर्दा सहरले महिलालाई कमजोर र पुरुषको सेवक ठान्ने हाम्रो आमसामाजिक चिन्तनलाई बोकेको छ। साथै यसले महिलालाई रंगभेदको माध्यमका रूपमा प्रयोग गरेको देखिन्छ। सहर कतिसम्म विभेदकारी छ भने महिलालाई छालाको रङका आधारमा मूल्यांकन गर्छ। यसको भाषिक भूदृश्य र समग्र सिमिअटिक्सले महिलालाई किनारीकृत गर्ने काम गरेको छ। सहरमा महिला अधिकार र समानतासँग जोडिएका भाषिक भूदृश्यहरू नभएका होइनन् तर ती क्षणिक र नगन्य छन्। खुला बजारमुखी पुँजीवादी सहरले महिलालाई आफ्नो सौन्दर्यमाथि निर्णय गर्न पाउने अधिकार पनि खोसेको छ।

@premphyak


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.