मनास्लुको तेस्रो शिविरमा आरोहीको मृत्यु
गोरखा : मनास्लु हिमाल आरोहणको क्रममा तेस्रो शिविर पुगेकी पोल्यान्डकी आरोहीको शनिबार मृत्यु भएको छ। ६०८६७०४ नम्बरको राहदानी बाहक महिला आरोही रीता डोनेटा ब्लाड्यको (Rita Donata Bladyko) को लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
५० वर्षकी उनी सेभेन समिट ट्रेक्स प्रालिबाट मनास्लु आरोहणका लागि गएकी थिइन्। उनको शव अहिलेसम्म पनि तेस्रो शिविरमै रहेको सेभेन समिटका मिङ्मार शेर्पाले जानकारी दिए।
‘तेस्रो शिविरबाट शिखरतर्फ जाँदै गर्दा बिरामी हुनुभयो। शेर्पाहरूले तल शिविर ल्याउँदै गर्दा मृत्यु भएको जानकारी प्राप्त भएको छ’, उनले भने, ‘खराब मौसमका कारण उद्धार गर्न सकिएको छैन। शव शिविरमै छ। अब एकदुई दिनमा ल्याउँछौं।’ उनको टिममा १४ जना आरोही थिए।
किलर माउन्टेन नामले चिनिने ८,१६३ मिटर अग्लो मनास्लु हिमाल यस बर्ष अहिलेसम्मकै धेरै २५ टिमका आरोहीले आरोहण गर्दैछन्।
मनास्लुका केही फोटो जहाँ तपाईँ हिमाल चढ्दै गरेका आरोही र आधार शिविर देख्न सक्नुहुन्छ।




प्रतिक्रिया दिनुहोस !