दार्जिलिङका चिया मजदुरलाई २ किस्तामा बोनस
दार्जिलिङ : चिया बगानले बोनस नदिएपछि आमरण अनसनमा बसेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले अनसन तोडेका छन्। २० प्रतिशत बनोस दिने सहमति भएपछि उनले अनसन तोडेको मोर्चाले जनाएको छ।
मजदुर, बगान व्यवस्थापन र बंगाल सरकारका प्रतिनिधिबीच कलकत्तामा भएको वार्तामा दुई सबै पक्षबीच मजदुरलाई २ किस्तामा २० प्रतिशत बोनस दिने सहमति आइतबारदेखि सुरु भएको अनसन तोडिएको हो। दसैं अघिबाट नै बोनस माग्दै आन्दोलनमा उत्रिएका मजदुरको माग सम्बोधन भएको मोर्चाका नेता फुर्वा छिरिङले जानकारी दिए।
असोज १९ देखि आमरण अनसनमा बसेका तामाङको स्वास्थ्य कमजोर बन्दै गएपछि दबाबमा परेको बंगाल सरकारको आह्वानपछि वार्ता सम्पन्न भएको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन (जिटिए) का प्रमुख अनित थापाले बताए।
‘दाजीलिङमा उत्पादित चियाले विश्वमा नाम कमाएपनि श्रमिकले अधिकार नपाएको जिटिए प्रमुख थापाको भनाई छ। उनले आसाम र तराईका श्रमिकले बोनस पाउँदा पहाडका श्रमिकलाई विभेद गरेकाले आन्दोलनको कार्यक्रम सुरु गरेको प्रष्ट पारे।
दार्जिलिङका श्रमिकहरुले बोनसका लागि प्रत्येक वर्ष व्यवस्थापनसँग आन्दोलन गर्नु परेको श्रमिकको गुनासो छ। प्लानटेशन लेवर ऐन १९४८ र न्युनतम मजदुरी ऐन १९५१ समेतमा भएको व्यवस्था कार्यान्वायन नभएको श्रमिकको गुनासो छ।
प्रतिक्रिया दिनुहोस !