‘सरकार कम्युनिष्ट हो, सत्ता होइन'
दमौली : कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षसँग सहकार्य गरे सरकारको विरोध नगर्ने बताएका छन्। कांग्रेस तनहुँका संस्थापक नेता गोवद्र्धन शर्मा पोखरेलेको आत्मवृतान्तको लोकार्पण कार्यक्रममा सभापति देउवाले सरकारले राम्रो काम गरे कुनै आपत्ति नहुने स्पष्ट पारे।
‘विपक्षी भनेको आगामी सरकारको हो। हामीसँग सहमति नगरी अघि बढे विरोध हुन्छ’, उनले भने। यस्तै उनले सरकार कम्युनिष्ट भए पनि राज्य कम्युनिष्ट भइनसकेको बताए। ‘नेपाल सरकार कम्युनिष्ट हो, तर राज्य होइन’, उनले भने, ‘कम्युनिष्ट राज्य जसरी निरंकुशता लाद्न पाइँदैन। त्रास देखाएर अभिव्यक्ति स्वतन्त्रता खोस्ने काम भएको छ। नागरिकका हक नियन्त्रण गर्दै गए कांग्रेसले विरोध गर्न छोड्दैन।’
इतिहासदेखि नै कांग्रेस प्रजातन्त्रका लागि लड्दै आएको भन्दै उनले प्रजातन्त्र र नागरिक स्वतन्त्रतासँग कुनै पनि हालतमा सम्झौता नहुने जिकिर गरे। यस्तै, देउवाले कास्की उप-निर्वाचनको टिकट सहमतिमा टुंग्याउने बताए। कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार र अदालत देखाएर तर्साउने काम भएको आरोप लगाए। ‘अख्तियार र अदालत देखाएर तर्साउने काम नहोस्। हामी निर्धा र स्वतन्त्रताको पक्षमा छौं’, पौडेलले भने, ‘विभिन्न बाहनामा हाम्रा नेता कार्यकर्तालाई फसाउने काम भएको छ। फसाउने खेल नरोके प्रतिरोधमा उत्रिन्छौं।’
कांग्रेसलाई सिध्याउने खेल चलिरहेको भन्दै सबै कार्यकर्ता सचेत हुनुपर्ने उनको भनाइ थियो। यस्तै महामन्त्री शशांक कोइरालाले पार्टीभित्रको गुट-उपगुटकै कारण सबै सिध्याउने खेलमा सक्रिय भएके बताए। सक्षम नेतृत्व भएमा पार्टीले कहिल्यै हार्नु नपर्ने उनको जिकिर छ।
स्वर्गीय पोखरेलका पुत्र तथा सांसद रामचन्द्र पोखरेलले गोवद्र्धन शर्मा पोखरेल स्मृति ट्रस्टमार्फत पुस्तक प्रकाशित गरेर उनको योगदानको कदर भएको बताए।
प्रतिक्रिया दिनुहोस !