मोबाइल बज्नासाथ तर्सन्छन् मेयर

मोबाइल बज्नासाथ तर्सन्छन् मेयर

भानु (तनहुँ) : भानु नगरपालिकाका प्रमुख उदयराज गौली साँझ फोन बज्नासाथ तर्सन्छन्। साँझ पर्न थालेपछि बज्ने मोबाइलको घण्टीले मनमा त्रास फैलाउँछ’ गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङसामु नगरप्रमुख गौले भने, ‘घण्टी बज्यो कि चितुवाले केही गर्‍यो कि भन्ने डर लाग्छ।’

भानु नगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा १८ महिनायता चितुवा आक्रमणबाट ६ जना बालबालिका ज्यान गइसकेको छ। चार चितुवा नियन्त्रणमा आइसक्दा पनि आक्रमणको श्रृंखला रोकिएको छैन। ‘हामीले सक्ने प्रयास गरेकै हौं,’ नगरपालिकामा आयोजित समस्या समाधान बैठकमा उनले भने, ‘तर समस्या हटेन।’

चितुवा नियन्त्रण अभियान परिचालन गर्न गण्डकी प्रदेश सरकारले ३० लाख दिने निर्णय गरेको थियो। प्रदेशका आर्थिक मामिलामन्त्री गुरुङले समस्या स्थानीय रूपमै समाधान हुने अपेक्षा राखे पनि नभए पछि प्रदेश सरकार तातेको बताए। ‘उहाँहरूले नै काम गरिरहनुभएको छ। चितुवा पनि समातिएको छ भनेर बस्यौं’, उनले अन्नपूर्णसँग भने, ‘तर क्षति कम नभए पछि सघाउन आएका छौं।’

वन डिभिजन प्रमुख केदार बरालले न्यूनीकरणमा धेरै प्रयास गरे पनि सफल नभएको गुनासो गरे। ‘घटना न्यूनीकरणका लागि गस्ती, फुट ट्रयापसँगै पासो पनि राख्यौं,’ उनले भने, ‘तर चितुवा नियन्त्रणमा आएन।’

चितुवा आक्रमणका कारण कलिला बालबालिकाले ज्यान गुमाइरहे पनि नियन्त्रणका उपाय प्रभावकारी नभएको भन्दै भानु–१ का विष्णु अधिकारीले आक्रोश पोखे। ‘हामीसँग हतियार छैन, गस्तीमा छौं,’ उनले भने, ‘हतियारबन्द सुरक्षाकर्मी ब्यारेकमा छन्। कसरी नियन्त्रणमा लिन सकिन्छ ? ’

स्थानीय अगुवा विद्यानाथ ढकाल र आनन्दराज त्रिपाठीले चाँडो प्रभावकारी उपाय अपनाउन माग गरे। ‘विशेष दस्ता गठन भएको त सुन्यौं,’ ढकालले भने,‘तर हामीले फेला पार्न सकेनौं।’

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नियन्त्रणका लागि हरसम्भव उपाय अपनाइएको र सुरक्षाकर्मीलाई अधिकार दिइएको बताए। ‘घटना हुनासाथ सकेसम्म नियन्त्रण र नभए गोली हानेर मार्नेसम्मको अधिकार दिएर सुरक्षाकर्मी परिचालन गर्‍यौं,’ उनले भने।

‘दुई महिनाभित्र चितुवा नियन्त्रण’

स्थलगत अवलोकनका लागि आएका वन्यजन्तु विभागका जनावर नियन्त्रणसम्बन्धी विज्ञ नरेश सुवेदीले चितुवाको संख्या बढी तर आहाराको अभाव भएकाले बढी क्षति भएको बताए।

‘जंगलमा अझै सातवटा चितुवा रहेको अनुमान गरेका छौं,’ उनले भने, ‘ती सक्रिय छन्।’ वनमा केही पनि आहारा नपाएकाले चितुवा आक्रामक भएको उनको भनाइ छ। वन डिभिजन प्रमुख बरालले आक्रमणमा संलग्न अधिकांश पोथी चितुवा भएको बताए।

‘हामीसँग विज्ञ विशेष टोली छ,’ उनले भने, ‘दुई महिनाभित्र नियन्त्रण लिन्छौं।’

आक्रमण रोक्न पूजा

चितुवा नियन्त्रणका लागि भन्दै भानु–२ थप्रेकमा कालिका देवीको पूजा गरिएको छ। ‘देवी रिसाएर आक्रमण गरेकी हुन् कि जस्तो लाग्यो’, स्थानीय तोरण अधिकारीले भने, ‘त्यही भएर देवीलाई खुशी पार्न पूजा गरेका हौं।’ पूजामा भानु–२ का विभिन्न ठाउँबाट नागरिक भेला भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.