सडकले पदमार्ग संकटमा

सडकले पदमार्ग संकटमा

गोरखा : सडक निर्माण हुन थालेपछि मनास्लु क्षेत्रको पर्यटन पदमार्ग संकटमा परेको छ। बेनिघाट–आरुघाट–लार्के सडकका कारण पर्यटन व्यवसाय नै संकटमा पर्ने मनास्लु क्षेत्रका व्यवसायीको गुनासो छ। यो सडक नेपाली सेनाले २०७४ सालदेखि निर्माण गरिरहेको छ।

माछाखोलाभन्दा तल पर्यटक हिँडिरहेका बेला गाडी कुदेर समस्यामा पार्ने गरेको स्थानीयबासी बताउँछन्। ‘जहाँ पर्यटन पदमार्ग छ, त्यही ठाउँमा सडक निर्माणको काम पनि भइरहेको छ’, मनास्लु पर्यटन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्कीले भने, ‘पर्यटक हिँडिरहेका हुन्छन्, त्यति नै बेला ट्रक, ट्र्याक्टर, जिप कुद्छ। पर्यटक धुलोले ढपक्कै ढाकिन्छन्। कोही मुख छोप्दै हिड्छन्।’ अहिले धमाधम पर्यटक हिँड्ने बेला भएको छ तर बम बिस्फोट गरेर सडक निर्माण गर्ने काम पनि सँगसँगै भएको छ। ढुंगा झरेर उनीहरूलाई लाग्ने सम्भावना पनि छ।’

माछाखोलाभन्दा माथिको खण्डमा बम बिस्फोट गरेर सडक निर्माण गर्दा सोही बाटो भएर हिड्ने पर्यटक असुरक्षित हुने गरेको स्थानीयको गुनासो छ। ‘पहरो फुटाउन बम बिस्फोट गर्ने बेलामा पदमार्ग अवरुद्ध पार्छन्। केही समयपछि बाटो खुल्ला त हुन्छ तर ढुंगा खसेर लाग्ने जोखिम हुन्छ’, कार्कीले भने, ‘सर्वसाधारण जनतालाई विकास त चाहिन्छ तर सडकले पर्यटन व्यवसायी निराश छन्।’ सडक निर्माण भइसकेपछि हिँड्न चाहने पर्यटक आउन छाड्ने उनले चिन्ता व्यक्त गरे।

मनास्लु क्षेत्रमा अघिल्लो वर्ष आठ हजार पर्यटक आएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ। यस वर्ष अघिल्लो वर्षभन्दा धेरै पर्यटक आउने सम्भावना रहेको एमक्यापका प्रमुख नरेन्द्र लामाले बताए। असोज महिनामा मात्र दुई हजारभन्दा धेरै पर्यटक आएका र कात्तिकको यो समयमा अघिल्लो वर्षभन्दा धेरै पर्यटक आएका उनले बताए।

तर सडक निर्माण भएपछि पैदल हिँड्ने पर्यटक कम हुने अर्का पर्यटन व्यवसायी सुजन गुरुङ बताउँछन्। ‘सडक निर्माण भएपछि आन्तरिक पर्यटक आउँछन्। विदेशी पर्यटक पनि आउलान् तर उनीहरू हिँड्ने बाटो, बास बस्ने स्टेसन फेरिन्छ। हिँड्ने, बस्ने अवधि छोटो हुन्छ। जसले गर्दा अहिले झैँ बाटोमा होटल व्यवसाय सञ्चालन गरेका व्यवसायी समस्यामा पर्छन्।’

अहिले चुम र नुब्री उपत्यका भ्रमणका लागि २२ दिन, लार्के पासका लागि १५ दिन, चुम उपत्यका भ्रमणका लागि १३ दिन र रुपिङ्ला पासका लागि १० दिनको यात्रा गर्ने गर्छन्। सडक निर्माणका कारण मनास्लु क्षेत्रमा पदमार्ग मासिएर खच्चड र पर्यटक तथा स्थानीयबासी हिँड्नसमेत समस्या हुने गरेको यात्रु बताउँछन्। पर्यटन व्यवसायलाई जोगाइराख्न बैकल्पिक पदमार्ग बनाउनुपर्ने मनास्लु पर्यटन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्की बताउँछन्। ‘यस क्षेत्रका विकास भनेको नै पर्यटन विकासबाट सम्भाव छ’, उनले भने, ‘पर्यटन व्यवसायलाई धराशयी हुन नदिन बैकल्पिक पदमार्ग बनाउनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.