किन हुन्छ अस्पतालभित्र विवाद ?
१८ कात्तिकको बिहान त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा दुर्घटनामा परेका बिरामी आउँदै थिए। आपत्कालीन कक्षका स्वास्थ्यकर्मीले वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रज्ज्वलमान श्रेष्ठलाई खबर गरे। उनी भने चार दिनदेखि मुड अफमा थिए। श्रेष्ठको मुड अफ हुनुको कारण अस्पतालमा उपचारका लागि ल्याइएका शेरबहादुर खत्रीको मृत्यु थियो। खत्रीको उपचारका क्रममा १५ कात्तिकमा ज्यान गएपछि आफन्तले चिकित्सकको लापरबाही भएको दाबी गरे। विरोधमा उत्रिए। अस्पताल प्रशासन र आफन्तबीच शवमाथि डिल भयो। १६ कात्तिकमा अस्पतालका सदस्य-सचिव रजत श्रेष्ठ र मृतककी पत्नी प्रतिभाबीच चार लाख १७ हजार रुपैयाँ बुझेको लिखित सहमति गरियो। मृतक खत्रीको तेह्रौं दिन सकिएपछि नाबालक छोराको अध्ययनका लागि आवश्यक सहयोगका लागि दुवै पक्ष पुनः छलफल बस्ने सहमति भयो।
उपचार शुल्क मिनाहा गरेको बताउने श्रेष्ठले खुलेर कुरा गर्न चाहेनन्। उनले टेलिफोनमा भने, ‘सात÷आठ लाख रुपैयाँ उपचार शुल्क थियो। आफन्तलाई शोक परेको देखेर सामाजिक उत्तरदायित्वको भावनास्वरूप सबै छुट गरियो।’
लेनदेनको खेल
शुल्क मिनाहासँगै खत्रीका तीन वर्षीय छोरालाई पढाइमा सहयोग गर्ने उधारो प्रतिबद्धता व्यक्त गरेको छ। खत्रीकी छोरी देवी भने अस्पतालले बुवाको मृत्यु हुँदा पनि समयमै जानकारी नदिएको बताउँछिन्। मृत्यु भइसकेको व्यक्ति फर्केर नआउने भएकाले मिलापत्र गरेको खत्री परिवार बताउँछ। अस्पताल प्रशासनसँग मिलापत्रको कागज गरेपछि आफन्तले दाहसंस्कार गरे। बिरामी पक्ष र अस्पतालबीच गुपचुप मिलापत्र भएको यो पछिल्लो उदाहरण हो। यस खालको मिलापत्र काठमाडौंका विभिन्न अस्पतालमा महिनैपिच्छे हुन थालेका छन्। यस्तो प्रवृत्ति प्रदेशका अस्पतालमा पनि देखिएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना भएकी शिशुको मृत्यु प्रकरण पनि आपसी लेनदेनमा टुंगिएको छ। सुनसरीको बर्जु गाउँपालिका- ६ की माण्डवी राईले गत मंगलबार शल्यक्रिया नगरी तीन किलोको छोरा जन्माएकी थिइन्। छोरा जन्मिएको खुसीयाली २४ घण्टा नबित्दै शोकमा परिणत हुन पुग्यो। बुधबार बिहान ५ बजे शिशुको ज्यान गयो।
मध्यराति ११ बजेदेखि रुन थालेको शिशुलाई चिकित्सक र नर्सको बेवास्ताले ज्यान गएको दाबी पीडित पक्षको छ। चिकित्सकले भने खुवाउन नजानेका कारण ल्याक्टोजिन सर्किएर मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन्। चिकित्सकको लापरबाहीले मृत्यु भएको दाबी गर्दै पीडित पक्षले आन्दोलन गरेपछि अस्पतालले दुई लाख ५० हजार रुपैयाँमा मिलापत्र गरेको थियो। त्यस्तै घटना १३ असोज ०७६ मा पनि भयो। ओम अस्पतालमा बिरामीको ज्यान गएपछि आफन्तले अस्पतालमा प्रदर्शन गरे। अस्पतालसँग लेनदेनमा कुरा टुंगिएपछि विवाद थामथुम भयो।
अस्पतालमा मृत्यु भएका घटनामा चिकित्सकको त्रुटि, हेलचेक्र्याइँ वा लापरबाही छैन भने पीडित पक्षसँग किन लासमाथि बार्गेनिङ हुन्छ ? यसको प्रस्ट जवाफ दिन चिकित्सक एवं अस्पताल सञ्चालक चाहँदैनन्। उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णु तिमिल्सेना भन्छन्, ‘डाक्टरहरूको लापरबाही वा हेलचेक्र्याइँका कारण ज्यान गएको हुन्छ। मुद्दामामिलामा जाँदा झन् धेरै क्षतिपूर्ति व्यहोर्नुपर्ने र विश्वास पनि गुम्ने भएकाले मिलापत्र गरेर टुंग्याउन रुचाउँछन्।’
डाक्टरलाई डर
९ जेठ ०६३ सालमा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा इमरजेन्सीमा बिरामीको उपचारमा कार्यरत डा. श्रीकृष्ण गिरीमाथि हातपात भयो। बिरामीका आफन्तले हातपात गर्दै अस्पताल तोडफोड गरे। उनै गिरी यतिबेला राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनेका छन्। यस घटनापछि अस्पतालका मृत्युका घटना शृंखलाबद्ध रूपमा बढिरहेका छन्। १० जेठ ०६३ मा काठमाडौं बानेश्वरस्थित एभरेस्ट नर्सिङहोममा तोडफोड भयो। २ असार ०६३ मा जनकपुर अञ्चल अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टलगायतका स्वास्थ्यकर्मीमाथि हातपात भयो। दुर्घटनामा सख्त घाइतेको उपचार हुँदाहुँदै मृत्यु भएपछि अस्पतालमा तोडफोड भयो। १२ भदौ ०६३ मा वीर अस्पतालको इमरजेन्सीमा कार्यरत चिकित्सकमाथि हातपात भयो।
वीर अस्पतालमा कार्यरत चिकित्सक डा. जैनेन्द्र चौधरीमाथि बिरामीका कुरुवाबाट हातपात भयो। २५ भदौ ०७२ मा कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र झाको निजी सवारीमा आगजनी भयो। २४ भदौ ०७२ भदौमा पाटन अस्पतालमा तोडफोड भयो। देशका विभिन्न अस्पतालमा यस्ता धेरै घटना भएका छन्।
पछिल्लो १३ वर्षको यो अवधिमा अस्पतालमा शृंखलाबद्ध तोडफोड र चिकित्सकहरूमाथि हातपात भइरहेको छ। तर, पीडित पक्षले डाक्टर र अस्पतालमाथि उजुरी गर्ने क्रम नगन्य देखिएको छ। अधिवक्तासमेत रहेका तिमिल्सेनाका अनुसार एकातिर आफन्त गुमाउनुपरेको शोक र अर्कोतर्फ प्रक्रियागत कानुनी झण्झटले उजुरी नगरेको बताउँछन्। उनी भन्छन्, ‘समयमा सुनुवाइ हुँदैन। झण्झटिलो प्रक्रिया पूरा गर्नुभन्दा मिलेमतो गरेर घटना गुपचुप राख्ने प्रवृत्ति छ।’
पीडित पक्षले नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्ने र काउन्सिलले छानबिन गर्ने व्यवस्था भएपछि सार्वजनिक घटनाको पनि उजुरी पर्दैनन्। काउन्सिलका नवनियुक्त अध्यक्ष डा. भगवान् कोइराला भन्छन्, ‘काउन्सिलमा उजुरी गरेको खण्डमा तत्काल छानबिन गर्न सहज हुन्छ। बिरामी पक्षलाई पनि सचेत गराउनुपर्ने खाँचो छ।’ ब्लुक्रसमा बुवाको मृत्यु भएपछि कानुनी उपचार दिन नलाग्नुको कारण उल्लेख गर्दै खत्री परिवारले कानुनी उपचारमा लाग्दा मुद्दाको झण्झट हुने भएकाले मिलापत्र गरेको बताएको छ।
चिकित्सा पेसामा निरन्तर अध्ययन र सीपको आवश्यकता पर्ने भएकाले नेपाल मेडिकल काउन्सिलले निरन्तर पेसागत उन्नयन (कन्टिन्यु प्रोफेसनल डेभलपमेन्ट) कार्यक्रम अघि सारेको छ। चिकित्सकलाई दक्ष बनाउन सीपीडी कार्यक्रम अघि सारिएको हो। काउन्सिलका अध्यक्ष एवं वरिष्ठ मुटु शल्य चिकित्सक डा. कोइराला चिकित्सकको ज्ञान, सीप र पेसागत विषयलाई निरन्तर अभिवृद्धि गरि निरन्तर प्रशिक्षित भइरहनुपर्ने बताउँछन्। ‘डाक्टरले पनि आचारसंहिताको पालना गर्दै सेवा तल्लीन हुन आवश्यक छ। बिरामीले उपचार प्रक्रियामा लापरबाही भएको भए तोडफोड र हातपात गर्नुको साटो कानुनी उपचारमा जानुपर्छ। त्यस्तै उपचारका मुद्दालाई समयमै टुंगो लगाइदिने हो भने आरोप-प्रत्यारोप खेप्नु पर्दैन। त्रिपक्षीय सम्बन्ध समधुर हुन्छ’, अध्यक्ष कोइरालाले भने।
चिकित्सक र बिरामी तथा बिरामीका आफन्तबीचको संवाद बढाउन, समन्वयात्मक सम्बन्ध बलियो बनाउन र नेपालमा चिकित्सा सेवालाई गुणस्तरीय, प्रभावकारी र सेवाउन्मुख बनाउन सीपीडी कार्यक्रमले टेवा पुग्ने अपेक्षा लिइएको छ। विश्वका अन्य मुलुकमा झैं नेपालमा पनि सीपीडी कार्यक्रम अनिवार्य लागू गरी कार्यान्वयनमा ल्याइने डा. कोइरालाको दृढता छ। मेडिकल काउन्सिलमा दर्ता भएका सम्पूर्ण चिकित्सकहरू यस कार्यक्रममा अनिवार्य समावेश गराइने डा. कोइरालाले बताए। ‘स्वास्थ्य सेवालाई विकृतिबाट मुक्त गराउन उत्पादक, प्रदायक, नियामक र उपभोक्ताले सेवाभावका साथै कर्तव्य, स्वअनुशासन र आचारसंहिताको पालना गर्नुपर्छ’, उनले भने। के भन्छन् नसा रोगविशेषज्ञ डा. प्रज्ज्वलमान श्रेष्ठ
साँझ ८ बजे शेरबहादुर खत्रीको शल्यक्रिया सकियो। बिरामीलाई पोस्ट अपरेटिभ वार्डमा सारियो। नसालाई खुलाएर प्लेट राखिएको थियो। भोलिपल्ट बिहान बिरामी एकदमै राम्रो अवस्थामा हुनुहुन्थ्यो। बिहान ८ बजे दुईजना भिजिटरले पनि कुराकानी गर्नुभयो। बिरामीलाई पोस्ट अपरेटिभ एक्सरे गरियो। अचानक बिरामीलाई श्वासप्रश्वासमा गाह्रो भयो। वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसिस्ट डा. प्रदीप आएपछि तुरुन्तै भेन्टिलेटरमा राखियो। आईसीयुमा लगियो। उहाँको शरीरमा कम्पन हुन थाल्यो। न्युरो फिजिसियन डा. डीबी शाह र क्रिटिकल केयर स्पेसलिस्ट डा. आएर हेर्नुभयो। बिरामीको रक्तचाप र मधुमेह रोगको कारणले रगतको सानोसानो ढिक्का (माइक्रोइम्बोलिज्म) मस्तिष्कमा गएर समस्या भएको ठहर गरियो। लट्याउने औषधि दिएर कम्पन शान्त गरियो।
भोलिपल्ट मस्तिष्कको सिटिस्क्यानमा केही देखिएन। लट्याउने औषधि बन्द गरियो। आशाअनुरुप उहाँको होस फर्किएन। तीनचार दिनपछि डिप पेनमा आँखा खोल्ने र हात खुट्टा थोरै चलाउने र मुख विस्तारै खोल्ने गर्न थाल्नुभयो। सात दिनपछि हेड र सर्भाइकल स्पाइनको एमआरआई गरियो। त्यसमा हामीले सोचे झंै मस्तिष्कका केही भागमा क्षति देखियो। यसैकारण होस नआएको पत्ता लाग्यो। हामीले गरेको उपचार सही छ कि छैन भनेर र अन्य नयाँ उपाय केही छ कि भनेर वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. प्रकाश विष्ट र वरिष्ठ न्युरो फिजिसियन डा. सुनिलराम कोइरालालाई बोलाएर देखायौं। बिरामी पक्षसँग सल्लाह गरियो। उहाँहरूले हामीले गरेको उपचारमा समर्थन जनाउनुभयो। उपचारलाई निरन्तरता दिन सहमति जनाउनुभयो। सोहीअनुरूप उपचार जारी राख्यौं।
शल्यक्रिया गरेको १० दिनपछि शरीरका नसाबाट औषधि दिन नसकेको हुनाले क्रिटिकल केयर समूहबाट घाँटीमा सेन्ट्रल लाइन राखियो। शल्यक्रियाको १४ औं दिनमा घाँटीमा वरिष्ठ कन्सल्टेन्ट डा. किरण राई र डा. सुमन डंगोलले ट्र्याकियोस्टोमी गरी श्वास फेर्नका लागि सजिलो बनाइयो। यसबीचमा भेन्टिलेटर एसोसिएटेड निमोनिया भएकाले कल्चरको रिपोर्टअनुसार एन्टिबायोटिक चलाएर नियन्त्रण गरियो। ३५ दिनसम्म पनि थोरैथोरै सुधार देखिँदै आए पनि उल्लेख्य सुधार भएन।
४० दिनसम्म मैले बिरामीलाई सही काउन्सिलिङ गरेको थिएँ। जब बिरामीको मृत्यु भयो, त्यसलाई बिरामी पक्षले स्वीकार गर्नुभएन। त्यसको बदलामा विभिन्न लाञ्छना लगाउँदै शारीरिक क्षति गर्नेसम्मको अवस्थामा पुग्नुभयो। यसबाट धेरै दुःख लागेको छ। संसारको कुनै पनि उत्कृष्ट अस्पतालमा कुनै पनि शल्यक्रिया गर्दा दुई प्रतिशत बिरामीको मृत्युसम्म पनि हुन सक्छ। जतिसुकै क्षमतावान् डाक्टरको समूहले गर्दा पनि यो तथ्यसत्य हो। हजारौंमा हुने शल्यक्रियासँग संलग्न नभएको दुःखद घटना उहाँमा हुन आयो। अस्पतालका चिकित्सक र उत्कृष्ट नर्सहरूको अथक् प्रयास हुँदाहुँदै पनि बचाउन नसकिएकोमा म र अस्पताल परिवार दुःख व्यक्त गर्न चाहन्छौं।