नदेखिएको थाइल्यान्ड
थाइल्यान्ड भन्नेबित्तिकै जोकोहीको मनमा पट्टाया र फुकेटका सुनौला समुद्री बिचहरू र बैंककका आलिसान सपिङ मलहरू आउँछन्। तर म भने नेपालीहरूले सायदै कहिल्यै सुनेकोमध्ये थाइल्यान्डको उत्तरादित प्रदेशको बान हाड सङ् ख्वे भन्ने गाउँमा जाँदै थिएँ। ‘थाइल्यान्ड भिलेज एकाडेमी’ प्रतियोगिताअन्तर्गत हामी २२ जना अन्तर्राष्ट्रिय र २२ थाई प्रतियोगीलाई थाइल्यान्डभरिका गाउँहरूमा पाँच दिनका लागि लगिने निर्णय भएको थियो र त्यो गाउँलाई हामीले सामाजिक सञ्जालमा प्रोमोट गर्नुपर्ने थियो। एउटा गाउँमा एक विदेशी र एक थाईलाई पठाइएको थियो। म र मेरो थाई साथी मेनको भागमा उत्तरादितको बान हाड सङ् ख्वे परेको थियो।
बान हाड सङ् ख्वे। बान अर्थात् गाउँ, हाड अर्थात् तट, सङ् अर्थात दुई र ख्वे अर्थात खोला। ‘नान’ र ‘ख्लोङ् ट्रोन’ (दुई खोलाको दोभानमा स्थित गाउँ भएका हुनाले त्यस गाउँको नाम हाड सङ् ख्वे भएको रहेछ। हाम्रो मुख्य उद्देश्य हाड सङ् ख्वे गाउँमा बसोबास गर्ने लाओ विएङ् समुदायका बारेमा जान्नु र उनीहरूसँग समय बिताउनु थियो।
हामी बैंककबाट चियङ् मई हुँदै उत्तरादित पुगेका थियौं। चियङ् मईदेखि उत्तरादितसम्मको बाटोले मलाई झापा मोरङको सम्झना गराइरहेको थियो। बाटो उस्तै लागे पनि धेरै कुरा फरक थिए। भाषा, मौसम, मानिसहरू ... सबै फरक। नौलो परिवेश र संशयले (व्याकुलता)ले गर्दा मन निकै अशान्त थियो। तर लाओ विएङ् समुदायको सँघारमा टेकिसक्दा मेरो मनको मौसमको बदली भयो। भेनबाट ओर्लिन नपाउँदै हामीलाई समुदायका मानिसहरूले घेरिहाले। मेन र मलाई समुदायका आमाहरूले चमेली फूलको माला लगाइदिए। मालाबाट आइरहेको मगमग बास्नाले फूलको ताजापन पस्किरहेको थियो। सबैको अनुहारमा मुस्कान थियो।
समुदायका पुरुषहरूले ड्रम बजाउँदै थिए भने महिलाहरू आफ्नो पारम्परिक गीत गाउँदै नाच्दै थिए। अघिसम्म रुन रुन आँटेको मेरो मनले अचानक नाचौं नाचौं गर्न थाल्यो। उनीहरूको खुसी देख्दा लाग्थ्यो- कुनै पर्यटक नआएर कैयौं वर्षदेखि बिदेसिएका छोराछोरी फर्की आएका छन्। साँझमा हामीलाई गरिएको स्वागतले मलाई पनि धेरै वर्षपछि घर आएजस्तो अनुभव भइरहेको थियो। आखिर मानिसहरूका मन जोड्ने प्रेम र स्नेह नै रहेछ।
कुरा गर्दा थाहा पायौं- य र ल व देखि मात्र भिन्न सुनिँदो रहेछ नत्र भने नेपाली र थाई वर्णमालाका अक्षरहरूको उच्चारण एउटै हिसाबले हुने रहेछ।
लाओ मानिसहरूले हाड सङ् ख्वे गाउँलाई घर भन्न थालेको कयौं दशक भइसकेको रहेछ। हाम्रो स्वागत कार्यक्रममा समुदायका नेतृत्वकर्ताले लाओ मानिसहरूले कसरी हाड सङ् ख्वेमा घर बसाउन पुगे भन्ने कुरा हामीलाई बताए। १८औं र १९औं शताब्दीको बीचमा अहिले लाओ देश भएको लाओ क्षेत्रमा अवस्थित लान चाङ् राज्य टुक्रिएर तीन राज्यमा विभाजित भयो (लौआङफ्राबाङ्, वियनचान र छमपासाक। थाइल्यान्ड त्यति बेला ‘सियाम’ नामले परिचित थियो।
राजा ‘राम घ’ नांक्लाओको शासनका बेला सियामले वियनचानमा (जुन अहिले लाओ देशको राजधानी छ) पहिलोपटक कब्जा गरेको थियो र त्यही बेला ‘वियनचान’ क्षेत्रबाट थुप्रै लाओ मानिसहरूलाई सिआम अर्थात् थाइल्यान्डको इसान क्षेत्रमा सारिएको थियो। त्यति बेला उनीहरूलाई बन्दी बनाएर दास बनाइन्थ्यो। राम ५ चुललंकर्नको शासनका बेलामा मात्र उनीहरूले स्वतन्त्रता पाएका थिए। अहिले उत्तरादितमा बसोबास गर्ने र हामीलाई यति न्यानोपन (स्नेह)का साथ स्वागत गर्ने मानिसहरू तिनै लाओ मानिसका सन्तति थिए। आफ्नो देशबाट अलग भए पनि उनीहरूले थाई संस्कृतिलाई र थाइल्यान्ड देशलाई आफ्नोपनको अँगालामा बाँधेका रहेछन् र आफ्नो देश थाइल्यान्ड भन्न पाउँदा उनीहरू गर्व गर्दा रहेछन्।
डिनरको बेला भएको थियो। हातमुख धोएपश्चात् डिनरका लागि म कोठाबाट तल झरेँ। घरका मानिसहरू सँगसँगै पूरै समुदाय डिनर टेबलमा मेरो प्रतीक्षा गरिरहेको थियो। मलाई छक्क परिरहेको देखेर मेरा गाइड पोङ्ले मलाई बुझाए, ‘हरेक दिनको लन्च र डिनर छुट्टा छुट्टै घरमा गरिनेछ र पूरै समुदायले तिमीहरूसँगै भोजन गर्नेछ।’
डिनरमा मैले नाम नजानेका र सोचेभन्दा धेरै खानेकुरा थिए। म अण्डामात्र खाने शाकाहारी भएका कारण अरू देशमा जाँदा खानेकुराको खुब चिन्ता गर्नुपर्ने हुन्थ्यो। थाइल्यान्डका लागि भने म ढुक्क थिएँ, अर्थोक रुचेन भने भात खाएरै भए पनि बस्न सक्थेँ। थाईहरू पनि भातका पारखी भएका कारण भातचाहिँ बिहान, दिउँसो, बेलुकी कुनै बेला पनि छुट्दैनथ्यो। तर उनीहरूको भात खाने तरिका हाम्रोभन्दा निकै भिन्न थियो। मलाई दिएको भातमा मैले तोम-यम (थाई सुप)लाई दाल र अर्को एउटा परिकारलाई तरकारीका रूपमा मिसाएर मुछेर खाँदै थिएँ। यसरी खाएको देखेर सबै जनाले मतिर छक्क परेर हेरेका थिए। उनीहरू भने निस्तो भातसहित अन्य परिकारहरू पनि छुट्टाछुट्टै खाँदा रहेछन्।
सबै समुदायले लन्च र डिनर सँगै गर्ने भएकाले एउटा घरमा मात्र भार नपरोस् भन्ने उद्देश्यले हरेक पटक सबै घरबाट मीठो मीठो पकवान बनाएर ल्याइएको हुन्थ्यो। मैले अन्डाबाहेक अरू केही मासुका परिकार खाँदिनँ भन्ने पहिल्यै थाहा भएका कारण उनीहरूले मेरा लागि छुट्टै हटकेसमा खानेकुरा ल्याउँथे। मैले नजानेर केही मासु भएको खानेकुरा खान खोजेँ भने सबैभन्दा छिटो आत्तिने उनीहरू नै हुन्थे। पहिलो दिन डिनरमा परिचयको क्रममा सबै जनाले आआफ्नो नाम भनेर परिचय गर्यौं। समुदायमा एक जना (मेरी लोकल गाइड) बाहेक कसैलाई अंग्र्रेजी बोल्न आउँदैनथ्यो। मेरा लागि सबै कुरा मेरो गाइड र अनुवादक र हाम्रो लोकल गाइडले अनुवाद गरिदिन्थे। उनीहरूले स्वागतका क्रममा लगाइदिएका मालाहरू मेनले असहज लागेर उतारिसकेको थियो तर मलाई चमेलीको बास्ना धेरै मीठो लगेकाले मैले उतारेकी थिइनँ। उल्टै उनीहरूलाई भनिरहेकी थिएँ, ‘कति सुन्दर माला ! मलाई त उतार्नै मन लागेन।’ मलाई चमेली फूल मन परेको देखेर उनीहरूले पहिलो दिन नै मेरो न्वारन गरिदिए र मलाई थाई नाम ‘मली’ भनेर बोलाउन थाले। थाई भाषामा ‘मली’ भनेको चमेलीको फूल हो।
नाम दिएपछि र त्यही नामले सबैले आफूलाई बोलाउन थालेपछि झनै आफ्नोपनको महसुस हुँदो रहेछ। लाओ विएङ् समुदायमा बसुन्जेल मलाई सबैजनाले मली, मली भन्दै बोलाउँथे। न उनीहरू अंग्रेजी बोल्न जान्दथे, न म थाई बोल्न जान्दथेँ, तर अनौठो तरिकाले हृदयको नाता जोडिएको थियो सबैसँग। यस उमेरमा नयाँ नाममा अभ्यस्त हुन वा बानी पर्न गाह्रो हुन्छ, तर मलाई भने पटक्कै गाह्रो भएन। कसैले ‘मली’ भन्यो भने मेरो कान ठाडो भइहाल्थ्यो र म फर्केर हेरिहाल्थेँ, ‘हजुर ? ’ ‘यस ? ’
हामीलाई गाउँवरिपरि घुमाउन एउटा ‘सालेङ्’को व्यवस्था गरिएको थियो। सालेङ् मोटरसाइकलमा एउटा पांग्रा थपेर छानोसमेत लगाई तीन जना यात्रा गर्न सक्ने सवारी साधन रहेछ। सालेङ् कुदाउने आमा ४० वर्षकी हुनुहुन्थ्यो र ठ्याक्कै नेपालीजस्ती देखिनुहुन्थ्यो। उहाँ मलाई निकै माया गर्नुहुन्थ्यो। सालेङ्मा बसेर हामी उहाँसँग गफ गर्दै यात्रा गथ्र्याैं। उहाँले बोलेको कुरा मलाई र मैले बोलेका कुरा उनलाई मेनले बुझाउँथ्यो। पाँच दिन उहाँसँग सालेङ्मा यात्रा गर्दा उहाँ, मेन र म त झन्डै ‘बेस्ट फ्रेन्ड्स’ भइसकेका थियौं। उहाँले मेरो देश, घर, परिवार, पढाइ र परम्परा सबैका बारेमा सोध्नुभो। दोस्रो दिन उहाँले मलाई भन्नुभो, ‘एक्ली छोरी थाइल्यान्ड घुम्न निस्कँदा निकै चिन्तित भएकी होलिन् तिम्री आमा। आमालाई छोरी राम्रो ठाउँमा बसेकी छ भनेर भनिदेऊ।’ उहाँको यो आफ्नोपन र स्नेहले मेरो मन भरिएर आयो।
एक दिन मैले उहाँसँग इसाराले बिन्ती गरेँ, ‘आमा, एक चोटि म सालेङ् चलाऊँ ? प्लिज ? ’ उहाँ मलाई चोट लाग्ला कि भनेर नाइँनास्ती गर्दै हुनुहुन्थ्यो तर मैले उहाँलाई मनाइछाडेँ। सुरुमा सोध्नुभयो, ‘पहिला चलाएको छ कि छैन ? ’ म जवाफ नदिई हतारहतार सालेङ्को ड्राइभिङ सिटमा बसेँ। मलाई थाहा थियो, कहिल्यै मोटरसाइकल चलाएकी छैन भन्दा पक्कै चलाउन पाउने थिइनँ। आमा बस्ने ठाउँमा म बसेँ र म बस्ने ठाउँमा आमा बस्नुभयो। हामीसँग एत नाम गरेकी अर्की दिदी पनि हुनुहुन्थ्यो। मोटरसाइकल स्टार्ट गरेँ र एक्सिलरेटर घुमाएँ। सालेङ् हुइँकियो।
म, आमा र एत पनि बसेकै ठाउँबाट अलि पछाडि हुत्तियौं। मैले कहिल्यै मोटरसाइकल चलाएकी छैन भन्ने कुरो उनीहरूले थाहा पाए तर धन्न, ‘रोक’ भनेरचाहिँ भनेनन्। बरु डराएर मलाई ‘स्लो, मली ! स्लो !!’ भनी कराए। दुई नम्बर गियरमा चलिरहेको रहेछ सालेङ्। बिस्तारै चलाउन खोज्दाखोज्दै छिटो कुदिहाल्थ्यो र पनि सम्हालेरै चलाएँ र लड्न दिइनँ। आमाले मलाई गियर चेन्ज गर्न नजानेको देखेर सिकाइदिनुभयो। सुरुमा डराएका आमा र एत पछि मैले कुदाएको देखेर हाँस्न थाले र भिडियो पनि खिचे। सालेङ् चलाउन सिकेको दोस्रो दिन साँझतिर हामी डेट पामको बगान हेर्न जाने भएका थियौं। त्यहाँबाट डिनर गर्ने घरसम्म तीनजनालाई मैले नै सालेङ्मा हाँकेर ल्याएँ। अहो, कति खुसी भएका थिए त्यस दिन एत दिदी र आमा।
समुदायमा कपडाको ब्याग बनाउने प्रक्रिया अप-साइकलको एउटा राम्रो उदाहरण थियो। मानिसले लगाउने लुगा अथवा पर्दा सिलाउने क्रममा काटेर बाँकी भएको कपडा पनि क्लोथ ब्याग बनाउन प्रयोग गरिँदो रहेछ। हामीलाई पनि ब्याग बनाउने प्रक्रिया सिकाउन लगियो। सुरुमा हामीले ब्याग बनाउने कपडामा लाओ विएङ् समुदायको लोगो वा प्रतीकचिह्न चित्र रङले छाप्यौं। त्यो चित्र बूढो मानिसले सारेक बोकेको चित्र थियो। लाओ विएङ् समुदायमा सारेकको बडो महत्व रहेछ। तराजुका पल्लाजस्तो दुईतिर झुन्ड्याउने भएको सारेक जेसुकै राख्न मिल्ने गरी पनि बनाउन सकिँदो रहेछ- बोतल, बटुका, थाल आदि। लाओ विएङ् समुदायमा सारेकको मुख्य प्रयोजन भिक्षुहरूलाई खानेकुरा दान गर्न घरबाट त्यसमा खाना राखेर लैजानका निम्ति हो। लाओ विएङ् समुदायलाई प्रतिनिधित्व गर्ने त्यो चित्र कपडामा छापेपछि हामीले त्यही चित्रको रेखामाथिमाथि सिलाई गर्यौं। सिउन धेरै समय लागेकाले ब्याग सिउने ठाउँकी आमाले हामीलाई बेलाबेला भन्दै गर्नुहुन्थ्यो, ‘सिलाइ-बुनाइको काममा धैरै धैर्य गर्नुपर्छ नत्र सबै मेहनत खेर जान्छ।’ यस्ता कुरा सुन्दा लाग्थ्यो, समुदायका मानिसहरूको आफूले गर्ने काममा जीवनका कति पाठहरू पढेका रैछन्।
दोस्रो दिनको हाम्रो कार्यक्रम मन्दिरमा भिक्षुहरूलाई खाना ख्वाउने थियो। भिक्षुहरूलाई खाना ख्वाउनका लागि म निकै उत्साहित थिएँ। यो परम्परा यस समुदायमा वर्षौंदेखि चलिआएको रहेछ। आफूहरू बस्ने मन्दिरबाट हरेक बिहान भिक्षुहरू खाली खुट्टा गाउँका घरघरमा गई भिक्षा माग्दा रहेछन्। उनीहरूलाई प्रायः पकाएको भात दिइँदो रहेछ तर कसैकसैले अरू परिकार पनि दिँदा रहेछन्।
हामी पनि यही परम्पराअनुसार बिहान भिक्षुहरूलाई पछ्याउँदै उनीहरू बस्ने मन्दिरमा पुग्यौं। त्यहाँ पुगेपछि समुदायका हरेक घरबाट बनाएर ल्याएका परिकारहरू भिक्षुहरूलाई भाग लगायौं। सुरुमा देख्दा त चौरासी व्यञ्जनभन्दा पनि बढी लाग्ने धेरै खानेकुराहरू ल्याइएको थियो। भिक्षुहरूले त्यति धेरै कसरी खाइसक्लान् जस्तो लागेको थियो। पछि थाहा भयो- भिक्षुहरूले त आफूलाई पुग्नेजति थोरै मात्र खाँदा रहेछन् र अरू सबै त प्रसादका रूपमा हामीले खानुपर्ने रहेछ।
एक दिन हामी उत्तरादितको बाँस खेती हेर्न गयौं। उत्तरादितको यो सानो गाउँमा ग्राफ्टिङ् प्रविधि प्रयोग गरेरे बाँस खेती गरिँदो रहेछ र त्यहाँबाट धेरै फाइदा बटुलिँदो रहेछ। बाँसको खुत्रुके, कि-रिङ, टेबल-कुर्सी बनाएर बिक्रीवितरण गरिँदो रहेछ। बाँसलाई त्यति कुशलताले नगदे बालीका रूपमा प्रयोग गरेको मैले त्यहाँ देखेँ। समुदायको आम्दानी बढाउन बाँसका अनेक उपयोगहरू पत्ता लगाई त्यसका लागि सामान बनाइँदो रहेछ। बाँसघारी अवलोकनपछि मेन र मलाई तामा काट्न लगियो। मैले एउटा आलो तामा काटेँ र मेनले नान नदीबाट एउटा माछा समात्यो। हामी फेरि सिनेमाको दृश्यजस्तै देखिने ठाउँमा लन्च गर्न पुगेका थियौं। नजिकै माछा पोल्ने बार्बिक्यु बनाइएको थियो। मैले काटेको तामा त्यहीँ काटेर आमाहरूले उसिनेर साँध्नुभयो। मेन र म नान नदीको दृश्यावलोकन र नरिवल पानीमा रमाउँदै गफिइरहेका थियौं। परबाट हेर्दा यो दृश्य कुनै चलचित्रको दृश्यझैं देखिन्थ्यो। हामीले गफ गर्दा आएको आवाज पनि कलकल बगिरहेको नान नदीको आवाजसँगै मिसिएर आइरहेको थियो।
हामी सबै जनाले त्यहीँ नदी किनारमा भोजन गर्यौं। खाइनसक्दै हामीलाई सालेङ्मा घुमाउने आमाले मेन्गोस्टिन ल्याइदिनुभयो। पहिलो पटक जिब्रोले नितान्त नौलो स्वाद मन परायो। आखिर जिब्रोले पनि जीवनमा कहिल्यै नभेटेका फलफूलको संगत पाएको थियो।
उत्तरादितको बसाइमा मेरा अर्का प्रिय पात्र थिए पी बोई। बोई उनको निकनेम थियो र पी अर्थात् आफूभन्दा ठूलो दाजु। म उनलाई पी बोई भनेर बोलाउँथेँ। पी बोइ मभन्दा उमेरमा अलिकति मात्र ठूला थिए। उनलाई अंग्रेजी बोल्न आँउदैनथ्यो तर मसँग कुरा गर्न धेरै मन गर्थे। कति कुरा सोध्न खोज्थे उनी अंग्रेजी बोल्ने प्रयास पनि गर्थे तर उनले बोलेको अंग्रेजी म फिटिक्कै बुझ्दिनथेँ, न त मैले बोलेको अंग्रेजी उनी बुझ्थे। उनको फोनमा एउटा एप रहेछ, जसले उनले बोलेको थाईलाई अंग्रेजीमा अनुवाद गरेर वाचन गर्दो रहेछ। मसँग बोल्नु पर्यो कि उनी आफ्नो गोजीतिर फोन खोज्न थालिहाल्थे। उनले मलाई आफू कोरिया घुम्न गएका तस्बिरहरू देखाए। उत्तरादित सहर हाड सङ् ख्वे गाउँबाट ३० किलोमिटर टाढा भए पनि उनले मलाई सहर हेर्ने इच्छा लागेको हुनाले आफू काम गर्ने अफिसको गाडीमा राखेर सहर घुमाए, फलफूलको राजा मानिने महँगो ‘डुरियन’ ख्वाए।
कहिलेकाहीँ त एकअर्काको भाषा नजान्दा हामी दिक्क भएर आआफ्नै भाषामा संवाद गथ्र्याैं। म नेपालीमा सोध्थेँ भने प्रश्न नबुझे पनि मेनले थाईमा जवाफ दिन्थ्यो। इङ्लिस भिङ्ग्लिस चलचित्रमा भएको एउटा फ्रेन्च पात्र र श्रीदेवीको फ्रेन्च र हिन्दीमा एकअर्कासँगको कुराकानीजस्तै भएको थियो।
बिदावारीको कार्यक्रम नजिकिँदै थियो। हाम्रो बिदाइका लागि थुप्रै कुरा ठीक पारिएको थियो। विभिन्न परिकार, संगीत, नृत्य, उपहार र बिछोडका आँसुसमेत। त्यस रात गाउँको एक ज्येष्ठ व्यक्तिले केही मन्त्र पढी हाम्रा हातमा धागो बाँधिदिनुभयो। यस समारोहलाई थाईमा बाई श्री सु क्वान भनिँदो रहेछ, जहाँ कसैलाई बिदा गर्नु छ भने उसको हात समाएर उसको आत्मालाई ‘जहाँ पुगेका छौ फिर्ता यही शरीरमा आऊ’ भनी बोलाइँदो रहेछ।
हिँड्ने दिन मनसँगै मौसम पनि घमाइलो थियो। बान हाड सङ् ख्वेमा लाओ विएङ् सांस्कृतिक पर्यटन समुदायसँग बिताएका यी पाँच दिनले मलाई मानवीय सम्बन्ध, कृतज्ञता र विनम्रताको बारेमा धेरै कुरा सिकायो। एकअर्काको भाषा नबुझ्दा पनि, बोलेर संवाद गर्न असम्भव भए पनि मलाई यस समुदायले आफ्नो ठानेर अपनाएको थियो। हिँड्ने बेलामा समुदायका मानिसहरूसँग मलाई धेरै कुरा भन्नु थियो तर मैले केही व्यक्त गर्न सकिनँ। फेरि आउने वाचाका साथ हामी बिदा भयौं।
विनम्रता र उदारता लाओ विएङ् समुदायको जीवनको अभिन्न अंग हो अर्थात् सो समुदायमा यो परम्परा नै बनिसकेको छ। समुदायका मानिसहरू यति विनम्र र स्वागतार्थी नभइदिएका भए त्यहाँ पाँच दिन बिताउन मेरा लागि निकै कठिन हुन्थ्यो। एकैसाथ भोजन गर्नु, एकआपसमा हाँसखेल गर्नु, पर्यटकलाई आफ्नो परिवारझैँ बिनासर्त माया गर्नु- यी जुनसुकै गाउँ वा समुदायले सजिलैसँग गर्ने काम होइनन्। एक जनाबाहेक समुदायका कोही पनि अंग्रेजीमा नबोल्ने हुँदा समेत मलाई कहिल्यै अनुवादकको आवश्यकता महसुस भएन। संवाद गर्नु परेमा अथवा उनीहरूलाई माया, सम्मान र कृतज्ञता व्यक्त गर्नु परेमा इसारा र हाउभाउले कति ठूलो भूमिका खेल्दा रहेछन्, मैले चाल पाएँ। मानिसले मानिससँग संवाद गर्न एकअर्काको भाषा नै जान्न आवश्यक हुँदैन भन्ने कुरा बुझ्न मलाई मेरो जीवनको २२ वर्ष लाग्यो। उत्तरादितमा कुनै थाई मानिससँग एक्लै भएका बेला मलाई कहिल्यै पनि अप्ठ्यारो महसुस भएन। उनीहरूले भनेका कुरा र उनीहरूको भावना म इशाराले नै भए पनि जतिसक्दो बुझ्ने प्रयास गर्थें। यसको सम्पूर्ण श्रेय लाओ विएङ् समुदायलाई जान्छ।
यी पाँच दिन उत्तरादित घुम्न त हामीलाई पर्याप्त भए, तर लाओ विएङ् समुदायका मानिससँग समय बिताउन भने समय अत्यन्त कम भएको अनुभव भयो। त्यही कारणले उनीहरूसँग बिदा हुन निकै कठिन भयो। नाम नजानेका तर स्वादिला खानेकुरा, सालेङ्को रमाइलो यात्रा, पारम्परिक लाओ गीतमा गरेको नृत्य, आमाको स्नेह, बाँसझ्याङको निकटता, ...नदीको सुसाइ, मेनको हँसिलो अनुहार, भिक्षुहरू, मन्दिरहरू...। यस ठाउँका हरेक चीज मेरो मनमस्तिष्कमा छापिएका छन् तर सबैभन्दा अधिक यहाँका मानिसहरूले मेरो हृदयमा घर बनाएका छन्।
मलाई लाओ विआङ् समुदायसँग कति लगाव भएको थियो भन्ने मैले बैंकक फर्किसकेपछि पनि अनुभव गरेँ। बैंकक फर्किनासाथ मलाई एउटा भ्रम हुन थाल्यो- हिँड्दा वा होटलमा बस्दा, कोठामा एक्लै हुँदा वा बाहिर निस्कँदा, मलाई कसैले मली अथवा नङ् मली (बहिनी मली) भनी बोलाएको आभास हुन थालेको थियो।
बैंकक आएपछि हामी थाइल्यान्डको दोस्रो राजधानी अयुत्थाया गयौं। अयुत्थायाको वाट महाथाट, बैंककको वाट अरुण, ग्रान्ड प्यालेसभित्रको मन्दिर, सबै ठाउँको भ्रमण गर्दा मलाई एउटै कुराले सदा चकित बनाइरहन्थ्यो- थाई मानिसहरूको बुद्धप्रतिको श्रद्धा। ग्रान्ड प्यालेसभित्रको मन्दिरमा सुनको लुगामा सजाइएका एमेराल्ड बुद्धको सुन्दर मूर्ति थियो, जति हेर्यो हेरिरहूँजस्तो लाग्ने। नेपालमा कुनै मन्दिरभित्र भगवान्न्को मूर्ति हेरेर पाँच मिनेट पनि नबसेकी म त्यहाँका बुद्धलाई हेरेर १५ मिनेट बसेँ। १५ मिनेटको त्यो बसाइले मलाई धेरै कुरा अनुभव गरायो। हामी बुद्ध नेपालमा जन्मिएका हुन् भनेर घमण्ड गर्न जान्दछौं, मानिसहरूलाई सानले बुद्ध वाज बर्न इन नेपाल भन्न जान्दछौं तर उनको खास इज्जत र श्रद्धा गर्न त थाईहरूले जानेका रहेछन्। हरेक मूर्तिको भौतिक रूप इँटा, सिमेन्ट र अन्य सामग्रीले बनेको देखिन्थ्यो तर तिनै मूर्तिमा थाई मानिसहरूको श्रद्धा, आदर र माया प्रतिविम्बित हुन्थ्यो। मूर्ति दर्शन गर्ने व्यक्तिले त्यहाँ अनौठो आभा अनुभव गर्न सक्थ्यो।
ग्रान्ड प्यालेसको भित्री क्षेत्रको भित्तामा रामायणको थाई रूपान्तर रामाकियनको चित्रण गरिएको थियो। राम, सीता र रावणका भिन्न रूप। रामायण मात्र नभएर हिन्दू धर्मसँग धेरै समानता रहेछ थाइल्यान्डको धर्मसंस्कृतिको। उनीहरू आफ्नो राजालाई भगवान्न्को रूप मानेर राम भन्ने गर्छन् र उनीहरूको सांस्कृतिक मन्त्रालयको लोगो पनि गरुड हो। तर उनीहरू गरुडलाई क्रुट भनेर उच्चारण गर्दा रहेछन्। विभिन्न ठाउँमा गणेशको मूर्ति पनि थिए। नेपालमा हरेक घरमा तुलसाको मठ भएझैं हरेक थाई घरमा पूजास्थल हुँदो रहेछ। पूजास्थलमा स्थापित भगवान्ले घरपरिवार र जग्गा सुरक्षित राख्छन् भन्ने विश्वास थाईहरूको रहेछ। एक दिन मेन र म कुरा गर्दै गर्दा वर्णमालाको कुरा पनि निस्कियो। मैले नेपालीमा वर्णमालाका अक्षरहरू कस्ता सुनिन्छन् भनेर उसलाई क, ख, ग को उच्चारण सुनाउँदा उसले अचम्भित हुँदै भन्यो- थाई वर्णमालाका अक्षरहरू पनि यस्तै सुनिन्छन्। कुरा गर्दा थाहा पायौं कि य र ल व देखि मात्र भिन्न सुनिँदो रहेछ नत्र भने नेपाली र थाई वर्णमालाका अक्षरहरूको उच्चारण एउटै हिसाबले हुने रहेछ।
जति रमाइलो गरे पनि आखिरमा यो प्रतियोगिता थियो र अन्तिम दिन निर्णयको दिन थियो। बैंककको होटलमा हामी सबैजना विजयीको नाम सुन्न आतुर थियौं। म विजयी भइनँ तर पनि मलाई पटक्कै दुःख लागेन। प्रतियोगिता नजिते पनि मैले लाओ विएङ् समुदायका मानिसहरूको माया जितेकी थिएँ, उनीहरूको स्नेह जितेकी थिएँ। नेपालबाट थाइल्यान्डको भ्रमण गर्न एक्लै निस्केकी थिएँ तर फर्किंदा मसँग अमूल्य सम्पत्ति थियो। ज्ञानमात्र नभएर मित्रता, स्नेह, प्रेम, आफ्नोपनका अविस्मरणीय कोसेलीहरू लिएर म नेपाल फर्किएँ।
@nehasharma1224