निमोनियाबाट बच्न खोप
काठमाडौं : निमोनियाबाट बालबालिका बढी प्रभावित हुने गर्छन्। बर्सेनि सयौंको ज्यानसमेत जाने गरेको पाइन्छ। निमोनियाबाट बच्न खोप लगाउनुपर्ने चिकित्सकको भनाइ छ।
जाडोमा निमोनियाले बढी पिरोल्छ। मुलुकका विभिन्न भागमा बस्ने करिब डेढ लाख बालबालिका निमोनियाबाट प्रभावित भएको स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ। शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार गत वर्ष नेपालमा रहेका पाँच वर्षमुनिका करिब १७ लाख बालबालिका रुघाखोकी एवं श्वासप्रश्वासजन्य समस्याबाट पीडित भएका थिए। निमोनियाबाट प्रभावित भएका पाँच वर्षमुनिका डेढ लाखमध्ये करिब ३ सय बालबालिकाको ज्यान गएको थियो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये करिब १६ प्रतिशतको मृत्यु निमोनियाका कारण हुने गरेको छ। नेपालको अवस्था योभन्दा झन् बढी चिन्ताजनक रहेको डा. शर्मा बताउँछन्।
निमोनियाविरुद्ध सरकारले खोपको व्यवस्था गरेको छ। खोप लगाएका बालबालिकाको निमोनियाको संक्रमणबाट जोगाएको र मृत्युदरमा सुधार आएको डा. शर्माको भनाइ छ। नेपाल जनसांख्यिक सर्वेक्षण , २००१ अनुसार बालमृत्युदर एक हजार जीवित जन्ममा ९१ रहेको थियो। सन् ०१६ मा गरिएको जनसांख्यिक सर्वेक्षणअनुसार बालमृत्युदर ३९ मा झरेको छ। दुर्गम क्षेत्रका साथै र गरिबी र अशिक्षाका कारण अपेक्षाअनुरूप बालमृत्युदर घटाउन नसकिएको डा. शर्मा बताउँछन्।
कारण
– संक्रमणको समस्या
– कुपोषण
– न्यून रोग प्रतिरोधात्मक क्षमता
– स्तनपानको कमी
– दूषित वातावरण
रोकथामको उपाय
निमोनियाबाट जोगिन खोप लगाउनुपर्छ। हेमोफिलस एन्फलुएन्जा, न्युमोकोकस, दादुरा, लहरेखोकीविरुद्ध खोप लगाउँदा बालबालिकालाई निमोनियाबाट जोगाउन सकिने डा. शर्मा बताउँछन्। यी खोप सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ। पर्याप्त मात्रामा पोषणयुक्त खानेकुरा खाँदा पनि निमोनिया हुन पाउँदैन।
पोषणयुक्त खानेकुराले बालबालिकालाई रोगसँग लड्ने क्षमता प्रदान गर्छ। जसले गर्दा निमोनियाबाट जोगाउन सकिन्छ। बालबालिकालाई धुवाँ–धुलो र चिसोबाट जोगाउँदा पनि निमोनिया लाग्ने सम्भावना न्यून हुन्छ। डा. शर्मा भन्छन्, ‘बालबालिकाकै सामुन्ने अभिभावकले धूमपान सेवन गर्दा पनि त्यसको असर बालबालिकामा पर्छ, निमोनियाको जोखिम हुन्छ।’