गुम्बा पुनिर्निर्माण अन्योलमा, भारतीय बैंकको ऋण सहयोग अस्वीकार
गोरखा : २९ जिल्लाका ९ सय गुम्बा पुनर्निर्माण अन्योलमा परेको छ । भारतीय एक्जिम बैंकको ऋण अस्वीकार गरिएपछि पुनर्निर्माणको स्रोत सुनिश्चित नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गुम्बा शाखाले जनाएको छ ।
‘हामीले भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण असजिला सर्त राखेपछि अस्वीकार ग¥यौं’, शाखाका उपनिर्देशक निर्मलदर्शन आचार्यले टेलिफोनमा भने, ‘अब मर्मत गर्न नेपाल सरकारबाट विनियोजन भएको ५७ करोड रुपैयाँको मात्र काम अगाडि बढ्छ । पुनर्निर्माणका लागि चाहिँ स्रोत सुनिश्चित भएन ।’ सरकारले बजेट दिए पुनर्निर्माणमा लाग्ने उनको भनाइ छ ।
भूकम्पले भत्किएका १ हजार २ सय ९७ गुम्बा बनाउन बैंकले ४ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ सहुलियतपूर्ण ब्याजदरमा दिने भनेको थियो । त्यसको १३ प्रतिशतका दरले हुन आउने ५७ करोड रुपैयाँबाट ४ सय गुम्बा मर्मत गर्न सरकारले बजेट निकासा गर्ने तयारी थियो ।
बैंकले निर्माण सामग्री भारतबाटै ल्याउनुपर्ने र कम्पनी पनि भारतीय हुनुपर्ने सर्त राखेको उपनिर्देशक आचार्यले सुनाए । ‘गुम्बा पुनर्निर्माण गर्न ७० प्रतिशत निर्माण सामग्री पनि भारतबाटै ल्याउनुपर्ने र कन्ट्र्याक्टर पनि भारतकै हुनुपर्छ भन्ने सर्त राखे’, उनले भने, ‘हामीले उपभोक्ता समितिमार्फत काम गर्ने योजना बनाएका थियौं । उनीहरूको सर्त र हाम्रो नीति मिल्दोजुल्दो नभएपछि ऋण नलिने निर्णय ग¥यौं ।’
मर्मतको बजेट दोस्रो चौमासिकका लागि चाँडै निकासा दिइने उनले बताए । प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये १, २ र ३ ग्रेडका मर्मत गर्ने र ४ र ५ ग्रेडका पुनर्निर्माण गर्ने निर्णय गरेको थियो । बैंकको ऋण अस्वीकारपछि गोरखाका १०४ मध्ये ९१ वटा गुम्बाको पुनर्निर्माण पनि अनिश्चित भएको छ । मर्मत गर्नुपर्ने १३ वटाको स्रोत सुनिश्चित भएको प्राधिकरणको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ प्रमुख रामशरण आचार्यले बताए ।
‘भूकम्पले क्षति पु¥याएका १ सय ४ वटामध्ये यसपटक ५० गुम्बा पुनर्निर्माण र १३ वटा मर्मत गर्ने कार्यक्रम थियो’, उनले भने, ‘तर, १३ वटा मर्मतको काम गर्नू, ५० वटाको पुनर्निर्माण प्रक्रिया अघि नबढाउनू भनेर निर्देशन आएको छ ।’
डीपीआर तयार भए पनि गुम्बा पुनर्निर्माण अगाडि बढेको छैन । भूकम्पबाट क्षतिग्रस्त १ सय ४ मध्ये ७१ वटा गुम्बा चुमनुब्री गाउँपालिकाका छन् । ७ सय वर्ष, १ हजार वर्षसम्म पुराना गुम्बा क्षतिग्रस्त भएको चुमनुब्री गाउँपालिका–७ का वडाध्यक्ष पासाङ फुञ्जो लामाले बताए । उनका अनुसार केही गुम्बा स्थानीय लामाले दान दक्षिणा संकलन गरी पुनर्निर्माण गरेका छन् । केहीमा स्थानीयले सहयोग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !