मिचिएको भूमिमाथिको बहस

मिचिएको भूमिमाथिको बहस

भाइबहिनी हो, तिमीहरूले पढ्ने पुस्तकमा कस्तो नक्सा छ। हालै भारतले नेपालको भू—भाग समेटेर आफ्नो नयाँ नक्सा बनाएको विषयमा तिमीहरूले विभिन्न सञ्चारमाध्यममार्फत सुनेकै होलाऊ।

हाम्रो पश्चिमको सीमा दार्चुला जिल्लाको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतको नक्सामा पारिएको छ। यो हाम्रो लागि साह्रै दुःखको कुरा हो।

हाम्रो देशको लिम्पियाधुरामा तीन सय ३५ र कालापानी लिपुलेकको ६० वर्गकिलोमिटर गरी जम्मा तीन सय ९५ वर्गकिलोमिटर क्षेत्रफल भारतले अतिक्रमण गरेको छ। कालापानीमा उसले भारतीय सेना नै राखेर हाम्रो देशको भूमि कब्जा गरेको छ। २०१८ सालसम्म जनगणना भएका नेपालका गाउँहरू कुटी, नाबी र गुञ्जी भारतले आफ्नो बनाएको छ। कुनै पनि नेपालीलाई त्यहाँ जानुप¥यो भने भारतीय सेनाको पास लिनुपर्ने व्यवस्था छ।

नेपालको पूर्वको सीमा मेची नदी हो भने पश्चिमी सीमा महाकाली नदी हो। तिमीहरूले आफ्ना पाठ्यपुस्तकमा यही पढ्दै आएका होलाऊ। महाकालीको माथिल्लो भागलाई काली नदी पनि भन्छिन्। त्यसलाई नै भारतले परिवर्तन गरिदिएको छ। लिपिम्याधुरा काली नदीको मुहान हो। तर भारतले त्योभन्दा ३० किलोमिटर पूर्व अर्थात् कालापानीभन्दा पनि यतै नक्कली काली नदी बनाइदिएर सीमा भन्दै आएको छ।

तिमीहरूको सामाजिक शिक्षालगायतका पुस्तकमा नेपालको नक्सा छ। त्यसैगरी तिमीहरूले पठनपाठनमा प्रयोग गर्ने अन्य सामग्रीमा पनि नेपालको नक्सा होला। त्यो नक्सा ठिक छ कि गलत ? कुन गलत हो र कुन सही भन्ने थाहै नपाई तिमीहरूले पनि नक्साको बारेमा पढिरहेका त छैनौं।

तिमीहरूका अधिकांश पाठ्यपुस्तकमा लिपुलेक र कालापानी पनि नभएका नक्सा छन्। पश्चिम उत्तरको दार्चुलाको भारत र चीनको सीमावर्ती क्षेत्रमा नक्सामा खाल्डो छ भने त्यो नक्सामा लिपुलेक र कालापानी गायब छ। नक्सामा उठेको छ भने त्यो नक्सामा कालापानी र लिपुलेक छ। तिमीहरूले लिम्पियाधुरा समेत भएको नक्सा भेट्दैनौ नि। नेपालले त्यो नक्सा अहिलेसम्म बनाएकै छैन। केही समय अगाडि मात्रै नेपाल सरकारले लिम्पियाधुरा समेतलाई समेटेर नयाँ नक्सा बनाउने तयारी गरेको छ।सन् १८१६ को सुगौली सन्धिअनुसार काली नदीसम्मको भूमि नेपालको हो। काली नदीको मुहान लिम्पियाधुरा हो। भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकका साथै सुस्तालगायतका ७१ स्थानको ६० हजार ६ सय ६२ हेक्टरभन्दा बढी भूभाग अतिक्रमण गरेको सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक सीमा संग्राममा उल्लेख छ।

सीमा विवादका कारण नेपाल भारतको सीमाको दूरी यकिन छैन। तर कतिपय पुस्तकमा नेपाल भारतको सीमाको दूरी एक हजार आठ सय ८० किलोमिटर भन्ने जनाइएको छ। कालापानी क्षेत्रबाहेक आठ हजार पाँच सय ५३ सीमा स्तम्भ छन्। नेपालको पूर्व, पश्चिम र दक्षिण गरी तीनतिर भारत छ भने उत्तरतर्फ चीन छ भन्ने त तिमीहरूलाई थाहै होला। भारतले नेपाललाई सानो देश भएकै कारण हेपेको सीमाविद्हरूको भनाइ छ।

भारतले जस्तो उत्तरको छिमेकी चीनले नेपाली भूभाग मिचेको छैन। तर उसले पनि मिच्दै नमिचेको भने चाहिँ होइन। उत्तर चीन सीमासम्बन्धी खासै विवाद नभए पनि सगरमाथा उचाइ र (५७ नम्बर पिलर) दोलखाको लामाबगरमाथि कोत्लाङ पारको डाँडामा केही विवाद छ। चीनतर्फ नेपालको सीमाको लम्बाइ एक हजार चार सय १४ किलोमिटर छ। चीनतर्फ ६९ वटा सीमा स्तम्भ छन्।

तिमीहरूले सानैदेखि विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर हो भनेर पढ्दै आएका छौ। तर चीनले उक्त उचाइलाई मानिरहेको छैन। उसले सगरमाथाको उचाइ आठ हजार आठ सय ४४ हो भन्न थालेको छ। सन् २००५ सालमा सगरमाथाको उचाइ नाप्दा त्यति आएको चीनको दाबी छ। नेपालले भने आठ हजार आठ सय ४८ नै भन्दै आएको छ। अहिले सगरमाथाको उचाइ निक्र्योल गर्न नेपालले सगरमाथाको उचाइ नाप्ने काम गरिरहेको नापी विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले जानकारी दिए।

सिमाना मिचिएका कारण नेपालको क्षेत्रफल पनि एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर छ कि छैन, त्यसको यकिन गर्ने अवस्था छैन। नापी विभागका पूर्वमहानिर्देशक तोयानाथ बरालले भारतले नेपालकै धेरै भूमि मिचेको बताए। ‘भारततिरै धेरै सीमा मिचिएको छ, चीनमा सगरमाथाको उचाइमा समस्या छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.