पत्थरीको उपचारमा पीसीएनएल
काठमाडौं : मिर्गौला र मूत्र प्रणालीको असामान्य ठूलो र जटिल पत्थरीको उपचारका लागि मिनी पीसीएनएल उत्कृष्ट प्रविधि हो। यो तुलनात्मक रूपमा सुरक्षित, भरपर्दो, बिनाठूलो चिरफार उपचार गर्न सकिने (अर्थात् दागरहित) प्रविधि हो। यसको प्रयोगबाट बिरामीमा रगतको क्षति अत्यन्तै न्यून हुने, दुखाइ कम हुने, घाउ चाँडै निको हुने, प्रायः सबै पत्थरी हटाउन सकिने र बिरामीको अस्पताल बसाइ पनि थोरै दिन हुन्छ। यो प्रविधि विश्वसनीय छ।
सन् १९९७ डा. हेलालरको टोलीले एक शिशु बिरामीको मिर्गौलाका पत्थरी हटाउने कार्यमा यसको प्रयोगमा ल्याएका थिए। त्यतिबेला उक्त शिशु बिरामीको मिर्गौलाको जम्मा पत्थरीमध्ये ८५ प्रतिशत सहजै हटाइएको थियो। तत्पश्चात् मिनी पीसीएनएलको प्रयोगमा व्यापकता आउन थाल्यो। लगत्तै युरोपेली एसोसिएसन अफ युरोलोजीले मूत्र प्रणाली (मिर्गौला, मूत्रनली र मूत्र थैलीको) पत्थरीको उपचारमा मिनी पीसीएनएल विधि र उपकरणलाई पहिलो रोजाइको विधिका रूपमा सिफारिस गर्दै निर्देशिकासमेत तयार ग¥यो।
यो विधि नाबालकदेखि सबै उमेर समूहका बिरामीका लागि पनि उपयुक्त विधिका रूपमा स्थापित भइसकेको छ। यद्यपि, मूत्र प्रणालीका पत्थरीको उपचारका लागि यो एक मात्र निर्विकल्प विधि होइन। मूत्र प्रणालीको स–सानादेखि लिएर ठूला–पत्थरी पनि यस विधि सहजै हटाउन सकिन्छ।
पत्थरीका उपचार गर्ने अन्य परम्परागत विधि असहज हुने वा गर्न नसकिने अवस्थामा यो विधि अपनाइन्छ। पत्थरीका बिरामी यदि मधुमेहका रोगी वा मुटुरोगी पनि छन्। रगत पातलो पार्ने औषधि खाइरहेका छन् भने यो प्रक्रिया अपानाइने सात दिनपहिले नै उक्त औषधि बन्द गर्नुपर्छ।
साथै, बिरामीमा पिसाबसम्बन्धी रोग भए, बिरामी गर्भवती भए, बिरामीका आन्तरिक अंगमा वा प्रक्रिया अपनाइने अंगमा ट्युमर भए वा मूत्र प्रणालीमै सम्भावित अर्वुदरोग वा ट्युमर भए सावधानीपूर्वक यो विधि अपनाइनुपर्छ।
यो विधि अपनाउन बिरामीको पेटमो एउटा सानो प्वाल पारिन्छ। उक्त प्वालबाट एउटा सानो पाइप (क्याथेटर) छिराएर मिर्गौलाभित्रको पत्थरीलाई भाइब्रेसनका माध्यमबाट फुटाई पाइपबाटै तानेर बाहिर निकालिन्छ। प्रकिया सम्पन्न हुन करिब आधा घण्टा लाग्छ। साधारणतया वा कुनै जटिलता आइनपरेको अवस्थामा प्रक्रिया सम्पन्न भएको २४ घण्टामा बिरामी घर जान सक्छन्।