गाउँमै आँखाको शल्यक्रिया, स्थानीय उत्साही
सिमरा : भैँसी गोठालोमै दैनिकी बिताउने ६१ वर्षीय बद्री चौधरीको आँखाले प्रष्ट देख्न नसकेको वर्षौँ भयो ।
एउटा आँखाले स्पष्ट देख्दा उनको अर्को आँखाले धमिलो देखिन्थ्यो । तर पनि जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहका उनी जसोतसो आफ्नो काम टार्दैआएका थिए । आँखाले धमिलो देखे पनि चौधरी आर्थिक अभावका कारण अस्पताल जान सकेनन् ।
स्थानीय ठाउँमै निशुल्क आँखा परीक्षण शिविरमा समेत पुग्ने समय उनले मिलाउन सकेनन् । आँखाको समस्या बढ्दै जान थालेपछि चिन्तित चौधरीले आइतबार गाउँमै आयोजना गरिएको निशुल्क शल्यक्रियासहितको शिविर भने छुटाएनन् ।
उनै चौधरीको मोतियाविन्दुको अपरेशन समेत गरियो । जीतपुरसिमरा उपमहानगरपालिका–४ को कार्यालय र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले संयुक्त रुपमा आयोजना गरेको तीनदिने शिविरमा निशुल्क अपरेशन भएको हो । ‘एउटा आँखामा कालो बादल छाएको जस्तै थियो, तर उपचारपछि अब भैँसी चराउन सजिलो हुने भयो,’ चौधरीले खुसी साटे ।
चौधरीसँगै शिविरको पहिलो दिन २१ जनाको आँखामा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । आँखा अस्पतालका मेडिकल डाइरेक्टर कमल खड्काले शल्यक्रिया गरेका थिए ।
शिविरका लागि खड्काको नेतृत्वमा ९ जना प्राविधिकको टोली सिमरा आएको हो । टोलीले स्थानीय विद्यालय भवनलाई अस्पतालजस्तै बनाएको थियो । भवनमा आँखाको सामान्य जाँचदेखि ओपिडी र अपरेशन कक्ष समेत बनाइएको थियो । अस्पतालका प्राविधिकले आँखा जाँच गर्ने क्रममा मोतियाविन्दु देखिए तुरुन्तै शल्यक्रिया कक्षमा पठाउने गरेको छ ।
शिविरको पहिलो दिन तीन सय ५० भन्दा बढीले आँखा जाँच गराएका छन् । जसमध्ये २१ जनामा मोतियाविन्दु देखिएको मेडिकल डाइरेक्टर खड्काले बताए । ‘हामीले अस्पतालमा जाँच गरिए जसरी नै प्रविधिको प्रयोग गरी आँखा परिक्षण गरिरहेका छौँ,’ खड्काले भने ।
दक्ष प्राविधिकसहित शिविर घरआँगनमै आएपछि स्थानीय उत्साही छन् । शल्याक्रियाको पर्खाइमा बसेका स्थानीय रुद्रप्रसाद धमलाले भने ‘गंगा घरमै आएको छ, स्नान गर्न छुटाउनु हुन्न ।’
केही वर्षयता आँखाको समस्या झेलिरहेका धमलाले शिविरबाट ठूलो राहत मिलेको बताए । शिविरबाट खर्च, समय र धेरै दुख हट्ने उनको भनाइ छ । जीतपुरसिमरा उपमहानगरपालिका–४ का वडाध्यक्ष भोजबहादुर खत्री (ईश्वर) ले ग्रामीण भेगका नागरिकलाई लक्षित गरी शिविरको आयोजना गरिएको बताए ।
‘गाउँका मानिस सामान्य समस्यामा पनि आँखा जाँच गराउन अस्पताल पुग्दैनन् । तर त्यही समस्यापछि ठूलो हुँदै जान्छ । त्यसैले सुविधासहितको शिविर गाउँमै ल्याइएको हो,’ खत्रीले भने ।