व्यापारीले खोले 'स्वरोजगार मिनी मार्केट'
दमौली : व्यास नगरपालिकाका लागि टाउको दुखाई बनेको दमौलीको फुटपाथ व्यापारको समाधान व्यापारीले नै निकालेका छन् । दमौली बजारका विभिन्न भागमा सडक छेउ व्यापार गर्दै आएका स्वरोजगार श्रमिकले आफ्नो विकल्प आफै खोजेका हुन् ।
स्वरोजगार श्रमिक संघका केन्द्रीय सदस्य एवं व्यास नगर अध्यक्ष विष्णु नेपालीले लामो समययता व्यापार गर्ने वातावरण नभएपछि विकल्प खोज्नुपरेको बताए । 'नगरपालिकाले सडकमा नदिने अनि दिएको विकल्प हाम्रा लागि उपयुक्त नभएकाले आफै ठाउँ खोजेका हौं,' उनले भने, 'पुष महिनाबाट बजार चलाउने योजना छ ।'
नेपालीका अनुसार व्यास २ उत्तरशीला टोलमा करिब दुई रोपनी जग्गामा खुल्ने बजारलाई 'स्वरोजगार मिनि मार्केट' नाम दिइएको छ । दमौलीका व्यवसायी वृषराज श्रेष्ठको जग्गामा करिब १ सय २५ व्यापारिक स्टल छ ।
सोही स्टल श्रेष्ठसँग सम्झौता गरेर संघले मासिक भाडामा व्यवसायीलाई लगाउने योजना बनाएको छ । यसका लागि हाल सडकमा व्यापार गरिरहेकालाई प्राथमिकता दिने योजना संघको छ । 'सडकमा व्यापार अब पूर्ण रुपमा हटोस् भनेर उहाँहरुलाई प्राथमिकता दिन्छौं,' नेपालीले भने, 'बाँकी स्टल अरुलाई खुला हुनेछ ।'
मार्केटमा सस्तो मूल्यका तरकारीसहित विभिन्न उपभोग्य वस्तुको बिक्री गर्ने योजना छ । 'हाम्रो चाहना अब बजारमा हामीले दुःख नपाइकन व्यापार गर्न पाऊँ भन्ने हो, 'उनले भने, 'नगरपालिकाको टाउको दुखाई पनि हट्नेछ ।'
उनले यसपछि बजारमा पूर्णरुपमा फुटपाथ व्यापार हटाउन नगरपालिका लाग्नुपर्ने बताए । मार्केटका लागि जग्गा भाडामा दिएका व्यवसायी श्रेष्ठले श्रमिकले आफै बजार चलाउन जग्गा माग गरे पछि दिएको बताए । 'नगरपालिकाको समस्या पनि समाधान हुने देखेपछि जग्गा दिएको हुँ,' उनले भने, 'स्टल तयार गरेर हस्तान्तरण गर्नेछु ।'
यसअघि पटकपटक सडक व्यापारलाई हटाउन बजारका व्यवसायीले जोड दिँदै आएका थिए । व्यास नगरपालिकाले सडक व्यापार हटाउन भन्दै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको नेतृत्वमा समिति बनाएर जिल्ला समन्वय समितिको जग्गा पनि उपलब्ध गराएको थियो ।
तर सो जग्गा व्यापारिक हिसाबले उपयुक्त नभएको भन्दै व्यापारी पछि हटेपछि उनीहरु आफैले निजी जग्गाको खोजी गरेर मार्केट स्थापना गरेका हुन् । हाल बिहान र बेलुका मात्र सडक छेउमा व्यापार गर्ने अनुमति पाएका व्यवसायीले अब आफ्नै मार्केटमा सहजतापूर्वक व्यापार हुने अपेक्षा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !