रोगै छल्ने आत्मविश्वास
काठमाडौं : सोमबार राति १ बजे प्रधानमन्त्री केपी ओलीलाई पेट दुख्यो। दुखाइ बढ्दै गयो। निको भइहाल्छ कि भन्दै उनी चुपचाप सहिरहे। पत्नी राधिका शाक्यलाई बिहान साढे चार बजेमात्र सुनाए। राधिकाले निधार र जिउ छामिन्। हल्का ज्वरो पनि रहेछ। सिटामोल खुवाइन्। दुखाइ अलि कम भयो। राधिकाले सोधिन्, ‘डाक्टरलाई बोलाउने कि ? ’ प्रधानमन्त्री ओली बोले, ‘यतिबेला डाक्टर साबलाई दुःख नदिऊँ।’
मंगलबार बिहान साढे आठ बजे निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले फोन गरिन्। ‘केही परीक्षण गर्नुपर्ने थियो। सम्झाउन फोन गरेकी थिएँ। फोन उठेन। म्यासेज पठाएँ। दाहिनेतिर दुखेको जस्तो छ भन्नुभयो’, शाहले भनिन्।
डा. शाह प्रधानमन्त्री निवास बालुवाटार पुगिन्। अवस्था हेरेपछि डा. शाहले एपेन्डिसाइटिसको शंका गरिन्। उनले आग्रह गरिन्, ‘जाऔं प्रधानमन्त्रीज्यू, अब भर्ना हुनुपर्छ।’ शाहको आग्रहलाई प्रधानमन्त्री ओलीले पन्छाउन खोजे। उनले भने, अल्ट्रासाउन्डको मान्छे बोलाउनुस्। यहीं हेरौंला। एन्टिबायोटिक्स चलाउनुपर्ने भए यही चलाऔं।’
डा. शाहले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीलाई फोन गरिन्। सायमीले २५ वर्षदेखि प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच गर्दै आएका छन्। त्यस्तै डा. शाहले वरिष्ठ सर्जन प्रा.डा. रमेशसिंह भण्डारीलाई तयारी अवस्थामा रहन भनिन्।
प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा लैजाने कि निजी अस्पतालमा लैजाने भनेर फोनमा छलफल भयो। डा. सायमीले मनमोहन सेन्टरमा लैजान सल्लाह दिए। ओलीलाई बिहान ९ बजे मनमोहन सेन्टरमा लगियो।
चिकित्सकीय सुझबुझ
मनमोहन सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको उपचारका लागि व्यवस्थापकीय प्रबन्ध मिलाए। त्रिवि शिक्षण अस्पतालका सर्जन डा. भण्डारी, डा. पलेश्वा जोशी लाखे, डा. सुनिता शल्यक्रियाका लागि आइहाले। एनेस्थेसिस्ट एवं क्रिटिकल केयरका डा. विश्वास प्रधान डा. सुवास आचार्य, डा. प्रवेशसुन्दर श्रेष्ठ, डा. विभु श्रेष्ठ, डा. हेम पनेरू तयारी अवस्थामा रहे।
ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका कारण शल्यक्रिया जटिल थियो। उनी मिर्गौलाको औषधि खाइरहेका छन्। मिर्गौलाको कार्यक्षमतामा पनि ह्रास आइरहेकाले चिकित्सक चिन्तित थिए। बीचबीचमा मिर्गौलाको डायलासिस गरिरहेको अवस्था थियो।
एनेस्थेसिस्टहरूले सामान्य बेहोस गराए। सर्जन डा. भण्डारी अघि सरे। अर्की सर्जन डा. लाखे पनि जुटिन्। तत्कालै शल्यक्रिया गरियो। पेटको संक्रमण हटाइयो। ‘एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा सामान्य बिरामीलाई भन्दा अलि बढी जोखिम त थियो’, डा. शाहले भनिन्।
डा. भण्डारीले प्रधानमन्त्री ओलीलाई रातिदेखि नै समस्याले च्यापेका कारण पेटमा संक्रमण भएको बताए। उनले भने, ‘पेटमा संक्रमण (पेरिटोनाइटिस) थियो। सिकिस्त हुनुहुन्थ्यो। ठिक समयमा छिटो निर्णय भयो। शल्यक्रिया सफल भयो।’ डा. शाहका अनुसार प्रधानमन्त्री ओली अहिले खतरामुक्त छन्।
प्रधानमन्त्री ओलीलाई अझै केही दिन सघन उपचार कक्ष (आईसीयू) मै राखिने क्रिटिकल केयरका डा. सुवास आचार्यले बताए। ‘पेटको आलो घाउ छ। आगन्तुक भेट्न चाहिरहेका छन्। बाहिर सार्दा वार्डका अन्य बिरामी र आगन्तुकबाट संक्रमण हुन सक्ने भएकाले आईसीयूमा राखिएको हो’, आचार्यले भने।
प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्या भण्डारी र पत्नी राधिका शाक्यले भेट गरेका छन्। अन्य प्रधानमन्त्रीलाई भेट्न आउने आगन्तुक चिकित्सक र परिवारका सदस्यलाई भेटेर फर्कने गरेका छन्।
कस्तो छ स्वास्थ्य ?
प्रधानमन्त्रीको केपी ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। उपचार टोलीका संयोजक प्रा.डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीको आत्मविश्वास बलियो छ। ‘फुल्ली कन्फिडेन्ट हुनुहुन्छ। उपचारका क्रममा निको हुनका लागि कन्फिडेन्टले शतप्रतिशत त होइन, ८०–९० प्रतिशत सहयोग गर्छ। कत्ति पनि आत्तिनुभएको छैन। यति आत्मविश्वास भएको व्यक्ति देखेको छैन’, सायमीले भने।
निजी चिकित्सक डा. शाहका अनुसार प्रधानमन्त्री ओलीको शारीरिक र बायोकेमिकल मापदण्डमा सुधार भइरहेको छ। रक्तचाप, नाडीको धडकन (पल्स), श्वासप्रश्वास राम्रो छ। रगत र पिसाबमा गरिने जाँच पनि अपेक्षाअनुरुप सुधार देखिएको छ।
डा. शाह भन्छिन्, ‘पाचनक्रिया बिस्तारै सामान्य अवस्थामा फर्कंदै छ। बिस्तारै हिँडाउन थालिएको छ। ठोस खाद्य पदार्थ मुखबाट दिन थालिएको छ। आहार पचाउन थाल्नुभएको छ।’
मुख्य समस्या एपेन्डिसाइटिस भएर पेटमा फैलिएको संक्रमण थियो। त्यसको उपचार भएर नियन्त्रणमा आइसकेको डा. शाहले जानकारी दिइन्। उनले भनिन्, ‘पेट चिरेपछि घाउ त भइहाल्छ। घाउ निको हुन समय लाग्छ होला। त्यसपछि सामान्य अवस्थामा फर्कनुहुन्छ।’
प्रधानमन्त्रीको अवस्था सुधारोन्मुख भएपछि सघन उपचार कक्षमा बसिरहँदा दिक्क लाग्न सक्ने अवस्था देखेर पत्नी राधिकाले चिकित्सकसँग परामर्श गरेकी थिइन्। ‘किताब पढेर सुनाउने वा सानो स्वरमा म्युजिक सुनाउन सकिने सल्लाह दिएका छौं’, डा. सायमीले भने।
एक सातापछि डिस्चार्ज
उपचार टिमका संयोजक डा. सायमीका अनुसार सबै कुरा सामान्य हुँदै गएमा एक साताभित्र डिस्चार्ज गर्न सकिने बताए। उनले भने, ‘घाउ बिस्तारै निको हुन थालेको छ। सबै चिज नियन्त्रणमा रह्यो भने अर्को सातासम्म डिस्चार्ज गर्न सकिन्छ।’
प्रत्यारोपण धकेलिन सक्ने
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि पुनः प्रत्यारोपण गर्ने योजना अहिले छलफलमै सीमित छ। मिर्गौला प्रत्यारोपणका लागि दुईजना नातेदार तयारी अवस्थामा छन्।
आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले प्रत्यारोपणको समय धकेलिएको हो। निजी चिकित्सक डा. शाह भन्छिन्, ‘सबैकुरा सोचे जस्तो भयो र एपेन्डिक्सको घाउ पनि छिटो निको हुँदै गएको अवस्थामा शल्यक्रियाकै कारण प्रत्यारोपण पछाडि सर्दैन। तैपनि अलि पछाडि जान सक्छ।’
मिर्गौला बिग्रेको अवस्थामा सातामा दुईतीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको एक महिना अवधिमा पाँच पटक मात्र डायलासिस गरिएको छ।
नेपालमा पनि मिर्गौला प्रत्यारोपण गर्न भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमै ६ सयभन्दा बढीको प्रत्यारोपण भइसकेको छ। ‘प्रत्यारोपणका लागि हामी सक्षम छौं। कहाँ गर्ने भन्ने टुंगो लागेको छैन’, डा. शाहले भनिन्।