देवकोटा आफैं मिथक !

देवकोटा आफैं मिथक !

देवकोटालाई देवत्वकरण नगरौं। कहिल्यै यो नभनौं कि उनका कृति श्रीमद्भागवतसरह छन्। यो उनीप्रति गरिएको बेइमानी ठहरिनेछ।


सृष्टिको बिहानीको आगमन तब मात्र हुन सक्यो जब एक अनुपम सुन्दरीले लोभ्याउँदै आफ्नो वक्षस्थल उघारिन्। उनी कुनै अप्सरा थिइनन् इन्द्रलाई रिझाउने। न थिइन् डरपोक इन्द्रको आदेशअनुसार कामवासना र उत्तेजना जागृत गराउने मेनका नै। ऋषि विश्वामित्रको तपोज्ञान आर्जित उन्नयनको यात्रा बिगार्ने मेनका निश्चितरूपमा थिइनन्। उनी त तपोज्ञानमा ऊर्जा थप्ने अलौकिक सुन्दरताको पुञ्ज थिइन्। उनको मुस्कुराहटमा कोटी सूर्यको किरण विद्यमान थियो। को हुन् त ती ?    ती हुन् पूर्वाहुती। हामी उनलाई चिन्छौं उषा भनेर। प्रत्येक बिहान उनी चेतनाको पुञ्ज बनेर आउँछिन्। हामीलाई जगाउँछिन् नयाँ-नयाँ ज्ञान दिन। बुद्धि, विवेक र नयाँ ज्ञानको अमृत चखाउन। यसरी असीम चेतनाको प्रस्फुटन गरेर हाम्रो आवाजलाई बलियो पार्न। त्यो आवाजलाई प्रतिध्वनित गर्न परसम्म, अझ परसम्म। यस्तो संवेदनशीलताले ओतपोत भएकी उषासँग जसले समागम गर्न सक्यो त्यो एउटा तारा बनेर चम्किन सक्छ।

मैले जे वर्णन गरें त्यो एउटा मिथक हो। अनि यो पनि हो कि यस्तै मिथकसँग खेल्न सक्ने, सहवास गर्न सक्ने, समागम गर्न सक्ने व्यक्ति नै साहित्यिक आकाशमा चम्किलो तारा बनेका छन्। नेपाली साहित्यिक आकाशमा जब म हेर्छु, त्यहाँ एउटा यस्तै तारा चम्किरहेको देख्छु। ती हुन् महाकवि लक्ष्मीप्रसाद देवकोटा। अनि प्रश्न गर्छु आफैंसँग। यो कसरी ?    के धेरै किताब लेखेर हो ?    लाग्छ धेरै किताब लेख्ने त अरू पनि छन्। यहाँनिर यति भनिहाल्नुपर्छ कि धरतीमा मान्छेले जे जानेको छ त्योभन्दा असंख्य गुना उसले नजानेको कुरा छन्। अझ आफ्नो सन्दर्भमा भन्नुपर्दा मैले आफैंसँग प्रश्न सोध्न त पाउँछु नै तर उत्तरको जमर्को गर्दा अन्धो मान्छेले हात्ती छामेजस्तो पनि हुन सक्छ।

यसरी उत्तर खोज्दा मेरो ठम्याइ मिथकमै आइपुग्छ। मिथक भनेको के हो ?    जसरी देवकोटाले प्रश्न गरेका थिए जीवनको उद्देश्यबारे। उनले त उत्तर पनि सहज र स्वस्फूर्त रूपले सँगै दिए। यसरी उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ?    मिथक के हो, भन्नेको उत्तर खोज्न अलिकति भौंतारिनै पर्छ। मानव सभ्यतालाई हेर्दा मान्छेको जन्मिने र मर्ने क्रमजस्तै सभ्यताको नियति पनि त्यही नै रहेको देखिन्छ। एउटा ठूलो फरकचाहिँ छ। त्यो हो- मान्छेको आयुको तुलनामा सभ्यताको आयु धेरै बढी छ। सभ्यताको यस जन्म-मरणका क्रममा कति कुरा सधैंका लागि मरे, केही बाँचे परसम्म अनि हराए। र, केही अहिलेसम्म बाँच्दै आएका छन्। यसरी अहिलेसम्म बाँचेकोमा मान्छे र मिथक छन्। अनि यसरी दुवै सँगै बाँच्न सक्नुको कारण एकले अर्कालाई बचाउने अन्तरसम्बन्धले गर्दा हो। यो सम्बन्धका बारेमा अलिकति हेरौं।

मान्छे विभिन्न आवेगको एउटा सँगालो हो। यी आवेग हाम्रो चेतन र अचेतन मनमा भित्र-बाहिर गरिरहेका हुन्छन्। अनि यो सँगालोबाट नै ऊर्जा निस्कने होस् ,जसले हामीलाई चलायमान गराउँछ। यो सँगालोमा के छैन ?    सम्पूर्ण भावना निरन्तर स्पन्दित छन्- क्रोध, घृणा, आक्रोश, छटपटी, लोभ, माया, विवेक, स्नेह, प्रेम, पाप, धर्म, परपीडन। यी आवेग बनेर हाम्रा आचार, विचार र सामाजिक कृयाकलापलाई प्रभावित र निर्देशित गरिरहेका हुन्छन्। र, यसलाई हाँकेको हुन्छ अहम्ले। अहम् छैन, मान्छे बाँच्न सक्दैन। सामूहिकताविना ऊ क्रियाशील हुन सक्दैन। सन्तुलनको काम मान्छेको समझदारी वा विवेकले गरेको हुन्छ।

विवेकले गर्दा ऊ असल मान्छे बन्न चाहन्छ आफ्नो हितका लागि र समाज हितका लागि। लोभ जहिले पनि बलियो हुन्छ। यसलाई नियन्त्रण गरेर यसबाट नै ऊर्जा निकाल्नुपर्ने हुन्छ। कुनै पनि मुलुकमा व्यक्तिगत लाभ र सामाजिक लाभको सन्तुलन मिलाउने काम नियम, कानुन र प्रणालीले गर्ने हो। व्यक्तिगत लाभ र सामाजिक लाभको अन्तरसम्बन्धबारे गहिरो अध्ययन गरेर गेरी बेकरले भ्रष्टाचारको उद्गमस्थल देखाए। उनले अर्थशास्त्रमा नोबेल पुरस्कार नै पाए। यो हाम्रो चासोको विषय होइन अहिले। तर, परिवार र समाजले गरेको त्यो प्रयास जुन मिथकसँग जोडिएको छ त्यो भागचाहिँ पक्कै हो।

मान्छेसँग जोडिएर सधैं बाँच्दै आएको यो मिथक के हो ?    अब यसलाई हेरौं। पौराणिक कथा,    श्रुति, किम्वदन्ती, मान्यता र कतिपय धार्मिक कर्मकाण्ड जसले मान्छेका विभिन्न आवेगलाई असल मान्छे हुनेतर्फ प्रणालीकृत गर्छन्, ती नै वास्तविक अर्थमा मिथक हुन्। त्यस्तै मान्छेको सामूहिक रूपमा बाँच्ने लामो संघर्षको यात्रा, विजय-पराजय, धर्मका ठेकदार र शासकको मिलोमतोबाट निस्केको शोषण, एउटा मान्छे अर्को मान्छेका लागि आमोदप्रमोदको वस्तु बन्नुपर्ने स्वीकृत सामाजिक परिपाटी र शासकको लहडबाट पनि केही मिथक निस्केका हुन्छन्। तर, कतिपय ती मिथक राजनीतिक परिवर्तन नि :सृत सामाजिक परिवर्तनको क्रमसँगै सकिएका वा धुमिल हँुदै गएका छन्।

मान्छेको शाश्वत अभिव्यक्तिलाई असल मान्छे बनाउनेतर्फ केन्द्रित भएका मिथकहरू नै मान्छेसँग सधैं बाँच्दै आएका छन्। बच्चाबच्चीलाई बाबुआमाले असल मान्छे बनाउन राम्रो संस्कार दिन चाहन्छन्। उनीहरूको कथा सुन्ने, रमाउने र कौतुहलयुक्त यो बेलामा त्यस्ता कथा सुनाइन्छ, जसले चरित्र निर्माणमा मद्दत पु‌र्‍याउँछ। उनीहरूले देखेका वा सुनेका जीवजन्तुलाई प्रयोग गरिएको हुन्छ। यसरी नै हाम्रो पञ्चतन्त्रमा माछा, भ्यागुता, सर्प आदिलाई प्रयोग गरेर नैतिक शिक्षा दिइएको छ। यस्ता मिथक हरेक देशमा छन् र हरेक समाजमा छन्। हाम्रो समाजमा विद्यमान मिथकहरू पुराण, महाभारत, रामायण र वैदिक वाङ्मयबाट मूलत : आएका छन्। त्यस्तै पश्चिमी समाजमा पनि धर्मग्रन्थ र मूलत : ग्रीक सभ्यताको प्रधानता पुनर्जागरण युग भएर यो निर्माण हँुदै आएको छ।

मिथकको प्रयोगबाटै साहित्य जन्मिने हो। अर्को शब्दमा भन्दा मिथक छैन, साहित्य छैन। मिथकलाई फूलबुट्टा भर्ने काम शब्दहरूले गर्छन्। शब्दसँग खेल्न सक्ने र मिथकलाई प्रयोग गर्न सक्ने जोसँग शिल्प छ, त्यो नै शिल्पकार हो। कवि तथा साहित्यकार वास्तविक अर्थमा शिल्पकार हुन्। मान्छेका विभिन्न आवेगलाई यत्नसँग उपयुक्त मिथकबाट समाजलाई दर्पण देखाउन सक्छ कविले। अन्याय र अत्याचारविरुद्ध आवाज उठाउन सक्छ कविले, बलियो पार्न सक्छ कविले। जनतालाई सम्झाउन सक्छ र बुझाउन सक्छ कविले। यस अर्थमा ऊ समाजको नेतृत्वकर्ता हो।

अब हेरौं देवकोटा कसरी आफंै मिथक बने त ?    साँच्चिकै भन्ने हो भने एक वाक्यमा नै उत्तर आई नै सकेको छ। त्यो हो- सुन्दर र सार्थक ढंगबाट शब्द र मिथक प्रयोग गरेर निश्छल बालकको जस्तो मायालु स्वभावको नेता बन्न सके देवकोटा, नेपाल र नेपालीलाई माया गर्ने। यसलाई अथ्र्याउन हामीले दुइटा पाटोबाट हेर्नुपर्ने हुन्छ। पहिलो हो- उनले कसरी प्रयोग गरे भरपूर मिथकहरू। दोस्रो हो- नदीलेजस्तो प्रवाहित भएर अनवरत देखाउन सके काव्य रचना वा सिर्जना क्षमता।

पहिलो पाटोबाट अगाडि बढ्दा सुरुमै भनिहालौं कि देवकोटाले आफंै रम्न-रमाउन सके मिथकसँगको सहवासमा। मिथकसँग आल्हादित भएर खेल्न सके। काव्य भावको उडानमा परीसरहका उनका अगाडि आएका शब्दहरूको छनोट गर्न जति सुझबुझ देखाउँथे, त्योभन्दा धेरै बढी उनी मिथकको प्रयोग गर्ने कलामा सिपालु थिए। पूर्वीय र पश्चिमी दुवै मिथकको ज्ञान थियो उनमा। ‘सीता हरण’ मा सीताको रूप वर्णन गर्न जति सुन्दर ढंगबाट पूर्वीय मिथकको प्रयोग गरेका छन्, उनले त्यति नै राम्रोसँग ‘प्रोमिथस’ मा पश्चिमी मिथकको।

अब देवकोटाका समकालीन नाटककार बालकृष्ण समको यो भनाइ हेरौं। उनी भन्छन्, ‘साहित्यमा देवकोटा तीनपटक जन्मे। पहिलोपटक मुनामदनसँग, दोस्रोपटक शाकुन्तलसँग र तेस्रोपटक पागलसँग।’ देवकोटाको पागल कविताबाट सुरु गरौं। उनको तेस्रो जन्मबाट। उर्लिएको नदीको भेलजस्तो शक्तिशाली छ यो कविता। आक्रोश, चुनौती, विद्रोह, ललकार, प्रेम, रोम्यान्टिसिजम र बुद्धत्व-यात्राको अनुपम सम्मिलन हो यो। कन्फेसनल मोडमा लेखिएको नेपाली साहित्यको पहिलो यस कवितामा कविले पागलको पर्सोनाबाट भयंकर ऊर्जा उत्पत्ति गरेर असमानजनक सामाजिक बनावट र शक्ति संरचनालाई ध्वस्त पार्ने अठोट देखाएका छन्। नेतृत्वलाई लल्कार्छन् को हौ तिमीहरू मेरो अगाडि भनेर गन्दै नगन्ने शैलीमा। उनी आफूले राजालाई गरिब र सिकन्दरलाई गाली गरिसकेको कुरा बताउँछन् र साधारणभन्दा साधारण जनतालाई सातौं आसमानमा पुर्‍याएको कुरा गर्छन्। आगो बनेका छन् उनी। यस्तो ऊर्जाको उत्पत्ति, स्वभाव र वेग लिएर। यसका लागि उनले भरपूर मिथकको प्रयोग गरेका छन्, दुवै पूर्वीय र पश्चिमी मिथकको। मलाई यसमा ‘स्वर्गाग्नि-चोर’ को प्रयोग सुन्दर लाग्छ।

तिनको प्रयोग कसरी भएको छ यी पंक्तिहरूमा

‘जब मानवले मानवलाई मानव ठान्दैन साथी !

तब कडकडाउँछन् मेरा बत्तीस दन्ते बंगारा,

दुवै !

जस्तो भीमसेनको दात !

म बनखाने आगो झैं बहुला हुन्छु !

बहुला, साथी !

काँचै निलु झैं विश्वविशाल !

म सुन्दर चकोर, आसुन्दर-फोर !

कोमल-क्रूर

चिडिया, स्वर्गाग्नि-चोर

तुफान-पुत्र !

पागल ज्वालमुखीको उद्गार

भयंकर व्यक्तित्वपाल !

यसरी उनी आगो हुन्छन् किनकि प्रजातन्त्र आएपछि पनि सोझा निमुखा जनतालाई प्रयोग, उपयोग र दुरुपयोग गरी नै राखिएको जब उनी देख्छन्। नेतृत्वमा बसेकाहरूले आफ्नो लोभको तृप्तिका लागि ती गरिब जनताप्रति गरेको बेइमानीबाट आगो भएपछि यसरी आक्रोशित हुन्छन् कवि-

निर्लज्ज नेतृत्वको निरस रसनाको

रण्डीको नाच हेर

जनअधिकारको डँडाल्नोको भाँच हेर !

जब भँगेरे-टाउके छापाको कालो मिथ्याले

मेरो विवेक-वीरलाई जाली झूटले ललकार्छ

तब हुन्छन् मेरा गाला राता साथी !

सल्केको गोल झैं राता !

जब निमुखा जनता कालो जहर पिउँछ

पिउँछ कानले

र अमृत भनी ठानेर

र मेरा आँखाअगाडि साथी

तब हुन्छन् मेरा रांै, रौं

गर्गनको सर्पकेश झैं

अब देवकोटाको दोस्रो जन्म शाकुन्तल हेरौं। यो महाभारतको कथा हो। इन्द्रले ऋषि विश्वामित्रको तप भंग गर्न अप्सरा मेनकालाई स्वर्गबाट मत्र्यलोकमा पठाउँछन्। सम्भोगका लागि आफ्नो कामुक सौन्दर्य देखाएर गरेको नृत्यबाट विश्वामित्रमा जागृत कामवासनाको प्रतिफल शकुन्तलाको जन्म हुन्छ। मेनका नवजात शिशुलाई वनमै छाडेर स्वर्ग फर्कन्छिन्। कण्डव ऋषिको आ श्रममा हुर्किएकी शकुन्तलाको सिकार खेल्न जंगल पुगेका राजा दुष्यन्तसँगको भेट प्रेममा प्रस्फुटित हुन्छ। अकस्मात युद्ध लड्न जानुपरकाले उनी शकुन्तलालाई त्यहीं छाडेर फर्कन्छन्। दुष्यन्त युद्ध जितेर फर्केको थाहा पाएपछि ऋषिले शकुन्तलालाई दरबार पठाउँछन्। ऋषि दुर्वासाको    श्रापका कारण दुष्यन्तले शकुन्तलालाई चिन्दैनन्। दुष्यन्तले दिएको चिनाउने औंठी शकुन्तलाले पोखरीमा हराएकी हुन्छिन्। नचिनिएर फर्कनुपर्दाको वियोगको पीडा खप्तै बसेकी शकुन्तलालाई राजाले लिन पठाउँछन्, त्यो बेलामा जब हराएको औंठी पाएको एउटा किसानले राजाको औंठी चिनेर उनीकहाँ पुर्‍याइदिन्छ। त्यो औंठी देखेपछि उनले शकुन्तलालाई सम्झन्छन् र वियोगमा डुब्छन्। कश्यप ऋषिको आ श्रम पुगेका बेला आफ्नो बालक छोरा भरतसँग दुष्यन्तको भेट हुन्छ। यसरी परिवारको मिलन हुन्छ।

यो कथा सम्पूर्णरूपमा नै मिथक हो। संस्कृतमा कालिदासले लेखेका हुन्। नेपालीमा देवकोटाले। नेपालको पहिलो महाकाव्य। देवकोटाको शब्दमा ‘आइसल्यान्डको सर्प।’ उनको चाहना, नेपाली साहित्यमा महाकाव्यको अभाव पूरा गर्ने। र, उनलाई ‘मीठो लाग्छ यो प्रियकथा प्राचीन संसारको।’ यो एकलाइन मात्र पनि फलले झुकेको वृक्षको हाँगोजस्तो मिथकले झुकेको छ। विभिन्न छन्दमा लेखिएको यो महाकाव्य २४ सर्गमा बाँडिएको छ। बगैंचामा जताततै सुन्दर फूलहरू फुलेजस्तै यो महाकाव्य जताततै मिथकले भरिएको छ। मलाई मनपर्ने यो शार्दूलविक्रिडित छन्दमा लेखिएको मंगलचरण हेरौं।

चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका।

नाची सुन्दर तालले पवनमा देखि फुलेकी लता।।

बिर्से झैं ‘भन को तिमी’ यति भनी गौरी रुलाईकन।

मुस्कुराएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन।।

यो मंगलचरणमा भन्दा सुन्दर सिल्पजडित मिथकको प्रयोग अरू के हुन सक्ला र ?     

अब देवकोटाको पहिलो जन्म मुनामदन। त्यतिबेलाको अभावको जिन्दगानी गाँसिएको सामाजिक परिवेशलाई कवितामा चित्रण गरिएको वियोगान्त मीठो लोकगीतको काव्य नाटक हो यो। दबाइएका मान्छेको इज्जतलाई सधैं हिफाजत गर्ने देवकोटा लेखनीले जनजिब्रोको तर हराउँदै गएको झ्याउरे लय समातेको छ यसमा। यस्तो कृति बन्यो यो जसलाई देवकोटाले अत्यधिक रुचाए। त्यसैले यतिसम्म भने कि मुनामदन राखेर उनका बाँकी अरू सबै कृति जलाइदिए पनि हुन्छ। आर्थिक अभावमा रहेको मदन आफ्नी प्यारी    श्रीमती मुनालाई छाडेर पैसा कमाउन भोट जान्छन्। कमाएर फर्कंदा उनी मरिसकेकी हुन्छिन्। यस कृतिमा तुलनात्मक रूपमा मिथकको प्रयोग निकै कम छ। तर अहिले मुनामदन एक शक्तिशाली मिथक बनेको छ। मुनामदनभित्रका चरित्र र तिनका कार्य, संवाद र भावहरू जीउको मिथक बनेका छन्।

अब अर्को पाटोबाट अगाडि बढौं। देवकोटा पचास वर्ष पनि बाँचेनन्, ४९ वर्ष ८ महिना मात्र। तर उनको प्रकाशित कृति नै ८४ छन् र अप्रकाशित करिब ३० छन्। यसरी हेर्दा उनले सरदर एक वर्षमा दुईभन्दा बढी कृतिको रचना गरेका छन्। यो कसरी सम्भव भयो ?    प्रस्ट छ- उनको सामथ्र्य। उनको फतफत नै साहित्य बन्थे। उनले आफैंले भनेका छन्, ‘दिनभरि श्लोकमा फतफताइरहन सक्छु।’ दिउँसो जागिर खाएर राति लेखें शाकुन्तल महाकाव्य। तीन महिनामा पूरा गरें। देवकोटाकै शब्दमा  : ‘लेखें तीन महिनामा रातिराति बसेर फुर्सदमा... कलम बिजुली झैं दौड्थ्यो’... ‘६ सय पेज पुगनपुग, तीन महिनाको फुर्सदको काम।’ यसरी जन्म्यो नेपालको पहिलो महाकाव्य। त्यस्तै कविता उपन्यास जन्म्यो ‘दस दिनको गर्भधारणबाट’- सुलोचना। त्यो पनि घडी हेरेर कार्यालय समयभित्र मात्र। उनी भन्छन्, ‘कविताले मलाई टिपेर लग्यो।’ यो क्रममा एकै दिनमा करुण रसप्रधान खण्डकाव्य लेखे- कुञ्जिनी। यसरी नै जन्मिँदै गए महाकविका महान् कृतिहरू।

सरस्वतीपुत्र देवकोटा अनवरत साहित्य सिर्जनामा लागे। उनले लेख्दा कहिल्यै केरमेट गर्नुपरेन, न थपघट नै। स्वस्फूर्त आउँथ्यो। सरासर लेखेर जान्थे। ईश्वर बरालको ठम्याइ समग्रमा यही नै हो। शंकर लामिछानेको एउटा रोचका वर्णन यस्तो छ- भोलिपल्ट बिहानै बनारस जानु थियो  : त्यो अघिल्लो साँझ मैतीदेवी पुगें देवकोटाका घरमा। देवकोटा भन्दै जान्थे म लेख्तै गएँ। यसरी एक सिटिङमा लगालग तीन कथा जन्मे। नेपालमा पुनर्जागरणको सूत्रपात गर्ने पहिलो व्यक्ति महाकवि लक्ष्मीप्रसाद देवकोटा भएको ठहर छ विश्वेश्वरप्रसाद कोइरलाको। भारतका महापण्डित डा. राहुल सांकृत्यायनले ‘भारतका प्रसिद्ध कवि पन्त, प्रसाद र निराला जोडेर एउटा देवकोटाकवि बन्छ’ भनेर गरेको मूल्यांकनले हाम्रा कविलाई एउटा उच्च आसनी दिलायो।

कल्पनाको उडानमा उनी बादलपारि घुमिरहेका हुन्थे। त्यहाँको स्वाद लिन्थे, दृष्यमा रम्थे र आल्हादित हुन्थे। तर आफू बाँचेको परिवेशको गुरुत्वाकर्षणले झारिदिन्थ्यो उनलाई त्यही अस्तव्यस्त कोठाको भुइँ ओछ्यानमा जहाँ दुवै खुट्टा धसेर छरिएका कागजका टुक्राहरूमा लेखिरहेका हुन्थे। बाया हातका दुई औंलाले निभिसकेको ठुटो चुरोट अझै च्यापिएको हुन्थ्यो। अभाव र दायित्वको दोभानबट निस्किएको भेल तर्दै गर्दा उनी कताकता पुग्थे। त्यसको ज्ञान उनी स्वयंलाई हुँदैनथ्यो। यस क्रममा उनलाई कतिपय बेला दायित्वको हेक्का नै रहेन। कतिपय बेला अभाव टार्न खोज्दा झन् गहिरो अभावमा पर्नुपर्‍यो। कतिपय बेला देवकोटालाई छाक टार्नुपर्‍यो कविता बेचेर। त्यो पनि विदेशमा। दोभानको भेलभन्दा प्रचण्ड थियो- देवकोटाको काव्य वेग। अनवरत रह्यो। काव्य पढेर हामीलाई आनन्द हुन्छ, काव्यको रसबाट। देवकोटाले जिन्दगीको आनन्द लिए काव्य सिर्जनाको रसबाट।

बाँचेको परिवेश न बदलिन सक्थ्यो। काव्यको प्रचण्ड वेग न रोकिन सक्थ्यो। यी दुईबीचको सन्तुलन नमिल्दा देवकोटाले अनेक छटा देखाए। यो छटा शाकुन्तल महाकाव्य लेखिरहेको बेला उनका मनमा उर्लिरहेको भावलाई अलि गहिरिएर हेर्‍यो भने छर्लंग देखिन्छ। काव्यको वेगबाट निस्केको उर्जाको उज्यालोमा सुन्दर देखिएको शिल्प हेरेर आफैं दंग पर्छन्। कृतिले नोबेल प्राइज प्राप्त गर्ने कल्पनामा लहरिँदै जान्छन्। यो लहर मिसिन्छ जिन्दगीको अभावसँग। त्यतिबेला उनी भन्छन्, त्यत्रो पैसा आएपछि त सब दु :ख दूर हुन्छ। यो भाव मनोवैज्ञानिकको भाषा ‘सिरियल थिंकिङ’ को नजिक-नजिक छ।

जहाँ जसरी लेख्दा पनि जिन्दगी देखाए, काव्य सिर्जना देखाए उनले। कहिले पागल बनेर राँची पुगे। अनि शक्तिशाली कविता लेखे- पागल। कहिले रूसमा साहित्यको जादु छरे। कहिले थोत्रो साइकल चढेर गएको मान्छे पेय पदार्थले मात्तिए। तर मुलुकको सबभन्दा राम्रो गाडीमा घर फर्के। कहिले रोएरै बसे त कहिले एकै दिनमा खण्डकाव्य लेखे। कहिले आफ्नै पाण्डुलिपिले सिँगान पुछे त कहिले बारुलोले टोकेकोमा उजुर गर्न पुलिस थाना पुगे। कहिले ठाँटिएका हुन्थे त कहिले महाकवि भन्नै नसुहाउने अवस्थामा हुन्थे। उनको समकालीन कविहरूको यो धारणा रहेको छ कि उनी ‘मान्छेका रूपमा असफल’ भनिए पनि ‘देवकोटा एक विशाल आत्मा भएका व्यक्ति थिए।’ अन्तत : यस्ता अनगिन्ती छटाहरूले मिथकको स्वरूप लिए। मिथकीय स्वरूप र देवकोटा स्वरूपको यो सम्मिलन समयको प्रवाहसँग लयबद्ध हुँदै जाँदा देवकोटालाई मिथक बनाउँदै लग्यो। यसरी देवकोटा आफंै मिथक बने। तर खुसी भएनन् उनी। दु :खी भए।

मान्छे स्वभावत : आफू जे छ त्योभन्दा बढी हुन चाहन्छ। अरूले वाहवाह गरिदियो भने दंग पर्छ। ठूला कवि, ठूला प्राध्यापक, ठूला विद्वान्, ठूला डाक्टर। जो जे भए पनि अरूले ‘ठूला’ भनेर थपडी मारिदिएमा ऊ दंग पर्छ। आफ्नो विषयमा ठूला हुन चाहनु र त्यसका लागि परि श्रम गर्नु राम्रो हो। तर आफू जे छ त्योभन्दा बढी अरूले गरोस् भन्ने चाहना राख्नु वा त्यस्तो चाहनाको परिपूर्तिका लागि मरिहत्ते गर्नु त सायद विकृति भयो। खहरे भनेको खहरे मात्र हो। खहरेले ठूलो नदीको जस्तो गडगडाहट देखाउँदैमा ठूलो हुने त होइन। यहाँनिरबाट देवकोटाको दुखेसो ती व्यक्तिप्रति हुन्छ, जो उनलाई मिथक बनाउन मरिहत्ते गरिरहेका छन्। कतिपय ती उनीबारेका कथाहरू, उनी भन्छन्, ठाडै गलत छन्। उनको भनाइलाई एउटा उदाहरणबाट अथ्र्याउँदा यस्तो बन्छ-पाँच फिटको मान्छेको कद पाँच फिटमात्र हो। अजंगको आठ फिट कदको बनाउन त भएन नि।

इल ज्भबचष्लन ीभनभलमक बदयगत इलभकभाि अर्थात् ‘आफ्नै चर्चा आफैंले सुन्दा’ भन्ने छोटो टिप्पणीमा देवकोटाले आफ्नो यो चित्तदुखाइ जाहेर गरेका छन्। उनी भन्छन्- जिन्दगीमा तीनचार रात पूरै लेखेर मैले बिताएँ होला तर कथा बन्यो देवकोटा रातभर कविता लेखिरहन्छन् मानौं कि मेरो घर अहोरात्र कविता उत्पादन गर्ने कारखाना हो। कोही आँशुकवि भन्ने, कोही स्विच थिच्नेबित्तिकै फोन घुमेजस्तो घुमेर कव्य निकाल्न सक्ने बिजुली कवि भन्ने। कविता लेखेको बेला चुरोटले पोलेकै थाहा नपाउने कवि पनि भने मानौं मलाई आगोले पोल्दै पोल्दैन। कविताको एनेस्थेसिया पाएपछि आगो निल्न सक्ने भन्ठान्छन्। शारीरिक रूपबाट डरपोख मान्छे मलाई एपोलोसरह बनाएका छन्। संस्कृत र अंग्रेजीको महापण्डित ठान्छन्, जबकि आफूले कालिदासको शकुन्तला पढेको छैन। न अंग्रेजीमा वाल्ट विटम्यान। यतिसम्म कि स्नातक भएपछि नयाँ किताब पढ्ने फुर्सद पाएको छैन। यसरी नै त भोलि सूर्यमाथि उड्न सक्ने कवि भन्ने पनि कोही आए भने के गर्ने ?     

आम जनताले कसरी लिन्छन् त्यसबाटै मिथक जन्मिँदै जाने हो। यहाँनिर जर्ज बर्नाड सको ‘चकलेट ‘क्रिम सोल्जर’ को कुरा सान्दर्भिक हुन आउँछ। सिपाही भनेपछि सबैले बुझ्छन् हिम्मतवान् र वीर भनेर। यो आम जनधारणा हो। यो धारणालाई बर्नाड सले ‘आम्र्स एन्ड द म्यान’ भन्ने उनको धेरै सफल मानिएको नाटकबाट भत्काएका छन्। सबै सिपाही वीर हुन्छन् भन्ने होइन। उनले एउटा यस्तो सिपाहीलाई देखाएका छन्, जो लडाइँबाट भागेर डराउँदै लुक्न खोजिरहेको थियो एउटा केटीको सुत्ने कोठाभित्र छिरेर। र, जो गोलीगठ्ठा राख्ने पकेटहरूमा रक्सी राख्ने गर्दथ्यो। डराएर लुक्न खोजिरहेको सिपाही त्यो मानसिकतालाई कसरी वर्णन गर्ने ?    ‘चकलेट क्रिम सोल्जर’ भनेर लेखाए बर्नाड शले त्यो केटी पात्रबाट।

देवकोटा बारेका मिथकहरू सबै सही छैनन्। यसको पुष्टि देवकोटा आफैंले दुखेसो पोखेरै गरिसकेका छन्। त्यसैले जुन गलत छन्, ती भत्कानुपर्छ। कमसेकम तिनीहरू जुन देवकोटा आफैंले गलत भनेर लेखिसकेका छन्। अन्त्यमा भन्नैपर्छ, देवकोटाको महानता यहाँनिर अझ बढी देखिन्छ। धेरै हामी छौं, जो आत्मरतिको खोजीमा नै भांैतारिरहका हुन्छौं। र, जिन्दगानी सक्छौं पनि। देवकोटा यस्तो एक्लो मान्छे परे जोस त्यो कद नै चाहँदैनन् जुन कद आफ्नो होइन। नभएको पगरी गुथ्याउँदा उनलाई दुख्छ। त्यसैले देवकोटालाई देवत्वकरण नगरौं। कहिल्यै यो नभनौं कि उनको कृति    श्रीमद्भागवतसरह छ। यो उनीप्रति गरिएको बेइमानी ठहरिनेछ। देवकोटाको त कुरै छाडौं, यसरी नै सामान्य कृतिमा पनि देवत्व दिने विशिष्ट विद्वान्हरू छन् यो मुलुकमा। सायद त्यो मानसिकता अझै बाँकी छ जुन वैजनाथ सेढाई र जगन्नाथ सेढाईले चन्द्रशमशेरप्रति यसरी व्यक्त गरेका थिए।

बत्तीस लक्षण युक्त भै हजुरले ली अंश इन्दादिका,

बत्ती झैं कुलमा प्रकाश हुनु भो    श्री धीर शम्शेरका।

अग्नीको झञि तेज भै वदनामा वशमा त छन् सर्वजात,

सक्तैनन् रिपु सामु पर्न प्रभुको ठूलो छ नाथको प्रताप।

देवकोटाले धेरै नै विनम्रता देखाए उनीबारेको मिथक गलत छन् भन्न। यति नै पर्याप्त छैन र देवकोटा आफैं मिथक बनेको ?  र, यो पनि कि यदि देवकोटाका कृतिहरूबाट उनले प्रयोग गरेका मिथक हटाइदिने हो भने देवकोटा नै अनि के बाँकी रहन्छन् र ? 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.