भत्कन थाले सौर्य बत्ती
इलाम : मेची राजमार्गको सडकमा राखिएका सोलार ट्राफिक बत्ती केही महिनामै भत्किएका छन्। कतिपय ठाउँमा फुटाइएका छन् भने कतिपय ठाउँका खम्बा नै हराएका छन्।
इलाम र झापाको सीमा क्षेत्र मेची राजमार्गको चिहाने डाँडादेखि राँकेसम्म राख्ने लक्ष्यसहित सोलार डेनिएटर पोस्ट राख्ने काम अन्तिम चरणमा पुग्दा पहिलेका पोस्ट भत्कने र हराउने क्रम बढेको छ।
सूर्योदय नगरपालिकामा अटो चलाउने रविन आचार्यका अनुसार फिक्कल–करफोक खण्डमा ५० भन्दा धेरै बत्ती बिग्रिएका छन्। उनले भने, ‘पोलको बत्ति नै चोरिएको छ, कतिपय ठाउँमा खम्बा नै उखेलिएको छ।
मेची राजमार्गमा ३ हजार सोलार जडान गर्न जन्मेजय निर्माण सेवाले ठेक्का लिएको थियो। कम्पनीले पुससम्म काम सक्ने सम्झौता भएको डिभिजन सडक कार्यालय इलामका इन्जिनियर मिलन श्रेष्ठले जानकारी दिए। पोस्ट गाड्दा सिमेन्टको प्रयोग कम भएकोलगायत गुनासा आएपछि कम्पनीलाई सचेत गराएको इन्जिनियर श्रेष्ठले जानकारी दिए।
पहिले राखिएका पोस्ट चोरिने र हराउने क्रम बढेपछि प्रहरीलाई जानकारी गराएको उनले बताए। उनले सडक सुपरभाइजरहरूलाई पोस्टको अवस्था जानकारी गराउन निर्देशन दिएको बताए। एक जना सुपरभाइजरले १५ किलोमिटर सडक नियमित अनुगमन गर्छन्। बिग्रिएका सबै पोस्टको विवरण आइनसकेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !