बालबालिकाको साथी चाखुरा
बैतडी : चाखुरा एक जातको चरा हो। मध्यपहाडी क्षेत्रमा पाइने यो चरा बैतडीका विभिन्न स्थानमा पनि पाइन्छ। टाटे तथा खैरो रङको यो चरा बैतडीको प्रसिद्ध चरा हो। उच्च पहाडी क्षेत्रहरूमा पाइने यो चरा मानिससँग सजिलै घुलमिल हुने प्रजातिको चरा हो।
यो चरा समुद्री सतहबाट करिब २२ सय मिटरको उचाइसम्म पाइने गरेको छ। १२ सय मिटरदेखि २२ सय मिटरसम्मको उचाइमा यो चरा बढी पाइने गरेको छ।
यो चराले ओखर, बदाम, पिठो, धान र पिठोभित्र मिसाएको घिउ खाने गर्छ। घरमा पालिएको चाखुरालाई यस्ता खानेकुरा दिने गरिन्छ। वनमा भएका चाखुराहरूले पनि सकेसम्म यस्तै खालको खानाको खोजी गर्ने गर्छन्।
चाखुरा जंगलमा पाइने प्रजातिको चरा भए पनि यसलाई घरमा ल्याएर पाल्ने चलन रहिआएको छ। पहिले धेरैजसोले यो चरालाई पाल्ने गरेको भए पनि पछिल्लो समयमा यो चरा पाल्ने चलन हराउँदै गएको छ।
परापूर्वकालमा राजारजौटा र खानदानी घरका मानिसले चाखुरा पाल्ने गरेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताए। उनले भने, ‘चरा सौखिनहरूले चाखुरा पाल्ने गर्दथे। बैतडीको प्रसिद्ध चरा के हो भन्दा चाखुरा भन्ने गरिन्थ्यो। तर पछिल्लो समयमा चाखुरा लोप हुँदै गएको छ।’
वनमा पाइने प्रजातिको चरा भए पनि मानिससँग सजिलै र छोटो समयमा घुलमिल हुने चरा भएकाले यसलाई घरमा ल्याएर पाल्ने चलन रहिआएको सुर्नया ४ का गणेशसिंह भाटले बताए। उनले भने, ‘ठूलठूला पहाडका बीचमा पाइने यो चरा पछिल्लो समयमा लोप हुँदै गएको छ। चोरी शिकारी र बासस्थान नष्ट हुँदै गएका कारण यो चरा लोेप हुने स्थितिमा पुगेको छ।’
चाखुराको भाले र पोथीमा थोरै फरक रहेको पाइन्छ। भाले चाखुराकोे पञ्जा हुन्छ भने पोथी चाखुराको पञ्जा हुँदैन। भाले चाखुराको गलामा पोते आकारको गाढा रङ हुन्छ भने पोथीको फिक्का रङ हुन्छ। विशेष गरेर भाले चाखुरा पाल्ने चलन रहिआएको दशरथ चन्द नगरपालिका १ का वीरबहादुर टेरले बताए। उनले भने, ‘चाखुरा सुन्दर देखिने चरा भएकाले यसलाई सौखको रूपमा पाल्ने गरिन्छ। चाखुराहरूको लडाइँ गराउने प्रचलन रहिआएको छ। तर पछिल्लो समयमा यो चरा धेरै कम पाइने गरेको छ।’
चाखुरा सुन्दर चरा भएकाले यसलाई पाल्ने गरिएको हो। पहिले गाउँघरदेखि सहर बजारसम्म चाखुरा पाल्ने चलन रहेको भए पनि पछिल्लो समयमा यो चलन हट्दै गएको छ। ‘मैले सानो छँदा सदरमुकाम क्षेत्रकै धेरै घरमा चाखुरा पालेको देखेको थिएँ। तर अहिले चाखुरा देख्नै मुस्किल छ। अहिले मैले मुस्किलले एउटा चाखुरा पालेको छु’, उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले भने। चाखुरा मानव र प्रकृतिबीचको सम्बन्ध दर्शाउने चरा हो। वनबाट ल्याएको चाखुरा एक दुई दिनमै घुलमिल हुन्छ।
लोप हुँदै चाखुरा
बिहानी पख पाखापखेरामा चाखुराको आवाज अचेल सुनिन छाडेको छ। दशरथचन्द नगरपालिका २ का रमेश बोहराले भने, ‘चाखुराका बासस्थान नष्ट हुँदै गएको छ। चोरी शिकारीका कारण पनि यो लोप हुने अवस्थामा पुगेको छ। बैतडीको चिनारीको रूपमा रहेको चाखुरा लोप हुने अवस्थामा पुगेको छ।’
चाखुराको बासस्थान नष्ट भएको र चोरी शिकारीकै कारण यो चरा लोप हुने अवस्थामा पुगेको दशरथचन्द नगरपालिका १ का मदनराज भाटले बताए। उनले भने, ‘चाखुरा लडाउन एकअर्का घरका चाखुराहरू एक ठाउँमा राखिने गरिन्थ्यो। उनीहरू लडाइँ हेर्ने निकै रमाइलो हुन्थ्यो। तर अहिले चाखुरा देख्नै मुस्किल छ।’
चाखुरा सुन्दर चरा र लड्ने कला भएको चरा भएकाले यसलाई धेरैले सौखको रूपमा पाल्ने गर्थे। तर पछिल्लो समयमा यो चरा पाइन छोडेपछि पाल्नेहरूको संख्या कमी हुँदै गएको छ। ‘चाखुरोको बासस्थान मात्रै नष्ट भएन। चिललगायतका प्रजातिहरूले यसका अन्डाहरू खोजीखोजी खाने गरेकाले यो लोप हुँदै गएको छ’, बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष भट्टले भने, ‘चाखुरा पिँजडामा पाल्ने गरे पनि मानिससँग सजिलै घुलमिल हुने चरा हो। यसलाई संरक्षण गर्ने तर्फ सबैले लाग्नुपर्ने हुन्छ।’
बालबालिकाको साथी चाखुरा
चरा देख्नेबित्तिकै बालबालिका हुरुक्क हुने गर्छन्। तर सबै चरा मानिससँग घुलमिल हुन सक्तैनन्। चरा उड्ने प्राणी भएकाले सबै चरा मानिससँग बस्दैनन्। तर चाखुरा यस्तो प्रजातिको चरा हो जो मानिसले समातेपछि एकदुई दिनमै घुलमिल हुने गर्छ। चाखुरा खेल्न रमाउने चरा भएकाले बालबालिकाको साथीको रूपमा पनि लिन सकिन्छ।
चाखुरा आफ्नो ठुँडले टोकेजस्तो गर्ने, कहिले उडे जस्तो गर्ने भएकाले बालबालिकाहरू खुसी हुने गर्दछन्। ‘चाखुरा मानिससँग घुलमिल हुने प्रजातिको चरा हो। त्यसमा पनि बालबालिकाका लागि यो साथी जस्तै हुन्छ’ दशरथ चन्द नगरपालिका १ गुरुखोलाका पुष्कर भट्टले भने।