घडी घर
![घडी घर](https://annapurnapost.prixacdn.net/media/albums/ghar-ghadi_20191208050306_oIUb7j6H9V.jpg)
‘यो लोसे छ। म योसँग बस्न सक्दिनँ’, कान्छाले दर्गुदै भन्यो।
‘त छिटो हिँडे पनि कहीँ पर पुगेको त छैनस् नि। हरेक पटक किन मेरो छेउमै आएको त कान्छा ? ’, ठूलेले सानो स्वरमा सोध्यो।
‘कान्छा छिटो छिटो दगुर्छ, ठूले दाजु हिँडेकै चाल पाइँदैन। ठिक्कको चाल त मेरै छ नि। म न ढिलो हिँड्छु न छिटो। सधैं एउटै रफ्तार हुन्छ। फेरि मानिसले सबैभन्दा बढी पटक मलाई हेरिरहेका हुन्छन् ’, माइलाले सर्टको कलर मिलाउँदै भन्यो।
ठूले उही मुद्रामा शान्तसँग बसेको छ। कान्छालाई माइलाको कुरा चित्त बुझेन।
‘तलाई किन हेर्छन् मानिसले ? मेरो जाँगरलाई सम्मान गर्दै हेरेका हुन् नि।’
‘भो भो फूर्ती नलगा। तँ दिनमा कतिपटक कहाँ कहाँ पुग्छस् भन्ने कुरा मानिसले कसरी ख्याल गर्न सक्छन् ? फेरि तँ जस्ता फिटफिटेको विश्वास पनि गर्नुपर्यो नि मानिसले’, माइलाले मुख बङयाउदै भन्यो।
‘ओहो हेर न यो बोलेको ? त्यही मेरो रफ्तार हेरेर त हो नी उनीहरूले थाहा पाउने। तिमीहरू त तलाउ जस्ता हौ। जमेका पानी। सधैं बासी। जिन्दगी त नदी जस्तो निरन्तर बग्ने पो हुनुपर्छ।’
‘कान्छा तेरा आँखामा समस्या छ की के हो ? ’ ठूलेले अलि ठूलो स्वरमा बोलेको सुनेर, कान्छो एकै छिन चुप भयो।
अनि ठूलेतिर हेर्दै भन्यो, ‘किन र ? मेरो आखा ठीक छ ठूले दाजु।’
‘तेरो आँखा ठीक भएको भए त हामी हिँडेको देख्नुपर्ने नी। तलाउ जस्तै जमेर बसेका छौ भन्छस त।’
माइलाले ठूलेलाई सही थाप्दै भन्यो, ‘यो त खहरे हो क्या।’
ठूलेले टाउको हल्लायो।
‘भो ठूला कुरा नगर, तिमीहरूको आँखै अघि लेउ लागेको देख्दैनौ ? यसो हिँडिरहेका भए तिमीहरूको खुट्टाले कुल्चेरै भए पनि त्यो लेउ त मथ्र्यो नि। कही नभाका अल्छेहरू। बसीबसी शरीर पनि बिगारेका छन् ’, कान्छाले ओठ लेपार्दै भन्यो।
उनीहरूको हल्लाखल्ला सुनेपछि घरबेटी बा भित्रैबाट कराए , ‘हैन यो बिहान बिहानै के को हल्ला हो ? किन झगडा गरेका ? ’
कान्छो भन्यो, ‘अब म यो भुन्टे चिन्टेसँग बस्दिन।’
माइलोले जवाफ फर्कायो, ‘तँ जस्तोे छिटपिटे किन बस्नु त हामीसँग ? जाँ जहाँ जानुपर्छ। त सँग बस्न हामीलाई पनि रहर छैन। कही नभाको सुइखुट्टे।’
‘ओइ के भनिस रे ? ’, कान्छो बुरुक्क भयो।
माइलो नडराइ बोल्या, ‘सुइखुट्टे। कानै दुख्ने गरी नकरा है। बरु निस्केर गइहाल।’
कान्छो चिच्यायो, ‘म बस्दिनँ। जान्छु।’
तीन जनाको झगडा बढ्दै गएपछि घरबेटी बा बाहिरै आउनुभयो। ‘हैन तिमीहरूले किन कुरा नबुझेका। तीनै जनाको काम फरक छ, आकार फरक छ, जिम्मेवारी पनि केही फरक नै छ। तर उद्देश्य एउटै हो, समय बताउने। त्यसैले त मानिसले महत्व दिन्छन्।’
घरबेटी बाले सम्झाउँदै भन्नुभयो, ‘तिमीहरू तीनैजना ठूला हौ। सेकेन्ड सुई नचले घडी चल्छ चल्दैन भन्ने तुरुन्त थाहा हँुदैन। मिनेट सुईले हरेक मिनेटको जानकारी दिन्छ। घन्टा सुईले दह्रो गरी नबसे कति बज्यो भन्ने नै थाहा हँुदैन। तिमीहरू तीनै वटाको काम उत्तिकै महत्वपूर्ण छ। मानिसले तिमीहरूको कामको उच्च सम्मान गरेर उच्च स्थानमा राखेका छन् नि। तीनजना एकै स्थानमा नबसे कसैले गरेको कामको पनि परिणाम देखिँदैन। अनि तिमीहरूको अस्तित्व पनि हराउँछ। त्यसैले मिलेर बस।’
ठूलेले मुसुक्क हाँस्दै भन्यो, ‘थाहा पाइस् कान्छा ? मैले यो कुरा बुझिसकेको थिएँ। तँलाई बुझाउन खोजेको भए झन् बुरुक्क गर्थिस्। त्यसैले अघिदेखि चुप लागेको, अब घरबेटी बाको कुराले त हामी कसरी धेरै वर्षदेखि उत्तिकै उच्च सम्मानका साथ हरेक महादेशका हरेक स्थानमा कसैको हातमा, टेबलमा, भित्तामा, कोठामा कसरी बस्न सक्यौं भन्ने थाहा पाइस् होला नी।’ उसले फेरि पनि भन्यो,‘ हामी तीन एकसाथ छौं, कामको उद्देश्य एउटै हो संसारलाई समय बताउने, काम गर्ने तरिका केही फरक छ। कोही चाँडो हिँड्छौं, कोही ढिलो। तर हामी तीनै जना हिँड्ने बाटो त एउटै होे नि। त्यही भएर त हामी एकअर्काका पूरक बनेका छौं। संसारमा हामी तीन जना दाजुभाइको जोडी उदाहरणीय छ, यसलाई बचाइरहनु पर्छ है।’
‘ठूलेको कुरा मनासिव छ। ल अब तिनै जना मिलेर बस है’, घरबेटी बाले भन्नुभयो।
कान्छोले भन्यो, ‘हो, दाजुको कुरा ठीक हो।’ घन्टा, मिनेट र सेकेन्ड सुईले एक अर्कालाई अँगालो हाले। घरबेटी बा मुसुक्क हाँस्दै भित्र पस्नुभयो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)