वनैभरी केराखेती

वनैभरी केराखेती

तानसेन : वनमा जता हेर्‍यो त्यतै केरा छ। कतै केरा पाक्न लागेको छ। कतै भर्खर पसाएको छ। वनैभरी ठूलाठूला केराका बगैंचाले मनै आनन्द हुने गर्दछ। हरियाली केरा बगै‌चाले वनको सुन्दरता पनि बढाएको छ। वनका चराचुङगीदेखि जीवजन्तुसमेत केराखेतीमा आआफ्नो तरीकाले रमाएका छन्। तराईका फाँटमा जस्तै पहाडी जंगल पनि केरा खेतीको बगैंचाले भरिएको छ।

वनैभरी केरा बगैंचा निस्दी गाउँपालिका ७ ज्यामिरेका जनताले निर्माण गरेका हुन्। दुई वर्ष अघि गाई चराउने जंगल थियो। जंगल बनामाराले ढाकेको थियो। कुनै उपयोग बिनै गौचरनमा परिणत भएको वन दुई वर्षमै हराभरा बनाए। अघि स्याल कराउने डाँडा अहिले रुपैयाँ कमाउने डाँडामा परिणत भएको छ। मिहिनेत गरे के हुँदैन र? भन्ने उदाहरण ज्यामिरेवासीले दिएका छन्। यस वर्ष मात्र केरा बेचेर ज्यामिरेवासीले ३ लाख रुपैयाँ कमाइसेका छन्। अझै ३ लाखको केरा बिक्रीको तयारी अवस्थामा छ।

१७ हेक्टर जंगलमा अहिले २५ हजार केराको बोट लगाइएको छ। हाल ८ हजार केराको बोटले फल दिएको छ। यस वर्ष छेउछाउँमा ४ हजार कागतीका बिरुवा लगाउने तयारीमा समुदाय जुटेको छ। गाउँका २७ घरपरिवारका लागि यो नै प्रमुख आय स्रोतका रूपमा सावित भएको छ। मगर समुुदायको बस्ती रहेको ज्यामिरेमा खेती किसानी र पशुपालनबाहेक अर्को आम्दानीको बाटो थिएन।

कामको खोजीमा कोही तराई झर्ने, कोही भारत जाने अवस्था थियो। वनमा केरा खेती सुरु भएपछि अहिले सबैजना गाउँमै बसेर काम गरेका छौं, परिवारसँग बिछोड हुनु नपरेको गाँडादी कबुलियती वन समूहका अध्यक्ष रमनबहादुर सारुले बताए। ‘गाउँमा केही दु:ख कष्ट हँदा सबै जना जुटेका छा, आम्दानी पनि सुरु भएको छ’, उनले भने, ‘२७ घरपरिवार अहिले एउटै परिवारमा जस्तै भएको छ। विहानदेखि साझसम्म सबै घरपरिवार एकै ठाउँमा काम गरेका छौं।’ कम्तीमा पनि प्रतिपरिवार केरा र कागतीखेतीबाट वर्षको एक लाखसम्म आम्दानी गर्ने सोचका साथ काममा लागेको सारुले बताए। समूहले गर्त वर्ष ३ लाखको केरा बिक्री गरेको समूहले यस वर्ष ५ लाखको केरा बिक्री गर्ने जनाएको छ।

राम्रो जंगलका रूपमा पनी फैलिन नसक्ने, बस्ती नजिक प्रयोगविहिन अवस्थामा रहेका बन जंगलको व्यवस्थापन गरी विपन्न घरपरिवारलाई आयआर्जनको गतिलो माध्यम भएको छ कबुलियती वन। गाउँमै आयआर्जन गराउने, कृषि तथा पशुजन्य उत्पादनमा वृद्धि गराउने, बढ्दै गएको बसाइँसराइ नियन्त्रण गर्ने, वातावरण स्वच्छ बनाउने, वन जंगलप्रति जनताको अपनत्व जगाउने अभियानका साथ कबुलियती बन कार्यक्रम सञ्चालन गरेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहनप्रसाद पौडेलले बताए।

वनमा केराखेतीबाट उत्साहित बनेका ज्यामिरेवासीको लागी मोटरबाटो नहुँदा भने समस्या परेको छ। अहिले गाउँकाबाट १ घण्टा पैदल हिँडेर मात्र बगैंचामा पुग्न सकिन्छ। उत्पादन भएको केरा डोकोमा बोकेर ल्याउँदा दाग बसेको, बिक्रीगर्न समस्या भएको, धुवानी बढी लाग्ने, बगैंचासम्म मल लैजानसमेत कठिनाइ भएको सारुले बताए।

खोरिया फडानीदेखि समूह निर्माण, मल तथा बिरुवामा डिभिजन वन कार्यालयले सहयोग गर्दै आएको र उनीहरूलाई प्राविधिक सहयोगसमेत प्रदान गर्दै आएको डिभिजन वन कार्यालय पाल्पाका रेञ्जन यमलाल पोखरेलले बताए। पाल्पामा एक सय १४ वटा कबुलियती वन कार्यक्रममार्फत टिमुर, तेजपात, अम्रिसो, केराखेतीमार्फत विपन्न परिवारमा आयआर्जनको काम हुँदै आएको रेञ्जर पोखरेलले बताए। हाल निस्दी गाउँपालिका, र रिब्दीकोट गाउँपालिका भित्र डिभिवन वन कार्यालयले आयआर्जनको काम गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.