जनकपुरमा शंकास्पद वस्तु भेटियो
जनकपुरधाम : धनुषाको जनकपुरधाममा शंकास्पद वस्तु भेटिएको छ। जनकपुरधाम उप-महानगरपालिका-९ स्थित बागवानी-संकटमोचन मार्गमा शंकास्पद वस्तु भेटिएको हो। आइतबार राति करिब ९ बजे नै स्थानीयले बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीकाअनुसार हालसम्म बमको यकिन गर्न नसकेको तर शंकास्पद वस्तु बम हुन सक्ने आशंका गरिएको छ। उनले भने, ‘बम नै हो भन्ने किटान गर्न सकिने अवस्था छैन्, तर बम जस्तो वस्तु देखिएको छ, कुकर वा राईस कुकर जस्तो देखिने सेतो भाँडोमा शंकास्पद वस्तु देखिन्छ।’
बम भएको हल्लापछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले संकटमोचनदेखि बागवानी जाने मार्गमा आवत जावत पूर्णरुपमाा प्रतिबन्ध लगाएको छ। बम भएको आशंकामा नेपाली सेनाको टोली डिस्पोजको प्रयासका लागि आवश्यक सामाग्री जुटाउन लागि परेको छ।
यसअघि धनुषाकै क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा बम विस्फोटमा परी एक प्रहरी निरिक्षकसहित तीन जनाको मृत्यु भएको थियो। सो घटना भएको दुई दिन नबित्दै शंकास्पद वस्तु भेटिएपछि सुरक्षा निकाय पूर्ण सुरक्षा तयारीमा जुटेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले सुरक्षा निकायको संवेदनशिलतालाई तथा स्थानीयहरुको सुरक्षालाई ध्यानमा राखी सम्पुर्ण तयारीका साथ बम डिस्पोज गर्न लागिएको हो।