बमको हल्लाले जनकपुरमा त्रास
जनकपुरधाम : बम राखिएको हल्ला र बम विस्फोटको घटनाले आइतबारदेखि सोमबार साँझसम्म धनुषामा त्रास फैलियो। जिल्ला प्रहरी कार्यालयमा आइतबार राति ९ बजे फोन आयो। ‘संकट मोचन नजिकै बस्तीमा बम छ, आइदिनुपर्यो।’
स्थानीयको खबरलगत्तै प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीको कमान्डमा प्रहरी टोली पुग्यो। त्यति बेलासम्म भनिएका शंकास्पद वस्तु बम हेर्नेको बाक्लो भीड लागेको थियो।
त्रासका कारण घरघरबाट मानिस निस्केर सडकमा भेला भए। भीडले आवत-जावतसमेत बन्द गरिएको थियो। त्यत्तिकैमा प्रहरी टोली आएर शंकास्पद वस्तुलाई चारैतिरबाट घेरा हाल्यो। नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलायो।
नेपाली सेनाको टोलीले बम भनिएको क्षेत्रको चारैतिर सुरक्षा रणनीति बनायो।
डिफ्युजमा समस्या भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो बाटो पूर्ण सिल गर्न लगाइयो। रातभरि प्रहरीले त्यही बम भनिएको वस्तुलाई सुरक्षा दियो। काठ्यांग्रिँदो जाडोमा उत्तरदक्षिण बाटो बन्द गरेर प्रहरीले पहरा दियो।
आइतबार बिहान करिब १० बजे नेपाली सेनाको टोली निष्क्रिय पार्ने प्रयासमा जुट्यो। तर उक्त बम भनिएको शंकास्पद वस्तु राइसकुकरमा, माटो तथा तारलाई बेरेर राखेको वस्तु भेटियो। भेटिएको वस्तु बम नभएको समेत पुष्टि भयो। प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार कुकरभित्र कागज, माटो र केही तार मात्र भएको भेटिएको छ।
लगत्तै अर्को बम भएको खबर आयो। एउटा बम भेटिएको झन्डै अढाइ सय मिटर पर अर्को शंकास्पद वस्तु बम भेटियो। जनकपुरधामको बाह्रबिघा रंगभूमि मैदानको उत्तरपूर्वी ढोकाको फोहर फाल्ने ठाउँमा सेनाको डिस्पोजल टोली पुग्यो। त्यहा पनि बम भनिएको स्थानमा कागजको पोका भेटियो।
धनुषाकै धनुषाधाममा ५ स्थित पर्वताको मावि स्कुलमा अर्को बम भेटिएको खबर आयो। विद्यालय भवनको झ्यालमा प्लास्टिकको झोलाभित्र शंकास्पद वस्तु भेटिएपछि विद्यार्थीमा त्रास छायो। स्कुल बिदा भयो, प्रहरीलाई खबरलगत्तै नेपाली सेनाका क्याप्टेन ज्ञानेन्द्र जैसीको टोलीले शंकास्पद वस्तु प्लास्टिकको झोलामा फोहरमैला भेट्यो। जैसीले भने, ‘शंकास्पद भनिएको झोलामा फोहरमैला मात्र भेटियो। विद्यालयमा किन कसैले फोहरमैला झुन्ड्याएर राख्छ ? विद्यालय क्षेत्रमा आतंकित पार्ने योजना मात्र रहेछ।’
यसअघि गत शुक्रबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा बम विस्फोट हुँदा एक प्रहरी निरीक्षक सहित तीनजनाको मृत्यु भएको थियो।