बैठक छाडेर नेकपा नेताहरु राष्ट्रपति कहाँ पुगेपछि...

बैठक छाडेर नेकपा नेताहरु राष्ट्रपति कहाँ पुगेपछि...

काठमाडौं : सत्तारुढ नेकपा स्थायी समिति बैठकमा शनिबार नेताहरू पातलिए। धेरैको अनुपस्थितिलाई औंल्याउँदै नेताहरूले प्रश्न उठाए, ‘यो के गरेको ? विधि/पद्धति यही हो ? ’खैलाबैला मच्चियो। अध्यक्ष पुष्पकमल दाहालले कुनै स्रोतबाट सुइँको पाएका आधारमा जवाफ दिए, ‘उहाँहरू राष्ट्रपतिकहाँ जानुभएको हुन सक्छ।’

सदस्य संख्या कम भएपछि केही बेर बैठक स्थगन गर्नुप¥यो। ‘पार्टी बैठक सुरु भएको एक घण्टासम्म अध्यक्षलाई नै जानकारी नदिई नेताहरू उपस्थित नहुनु गम्भीर विषय हो’, आक्रोशित हुँदै दाहालले भने, ‘राष्ट्रपतिले हाम्रो पार्टी बैठक चलिरहेका बेला नै किन बोलाउने ? फेरि राष्ट्रपतिले बोलाउँदैमा पार्टी अध्यक्षलाई जानकारी नदिई नेताहरू किन जाने ? सबै नेता पार्टी अनुशासनमा रहनुपर्छ।’

त्यसपछि सुरु भएको बैठकमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेताहरूका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आत्मालोचना गरे। ‘राष्ट्रपतिले आर्थिक विकास, समृद्धि, अर्थतन्त्र र समाजवादका विषयमा छलफल गर्न हामीलाई शीतल निवास बोलाउनुभएको थियो। यो पूर्वनिर्धारित कार्यक्रम थियो’, परराष्ट्रमन्त्री ज्ञवालीले भनेका थिए, ‘उहाँले लन्च खाएर जान आग्रह गरेपछि पार्टी बैठकमा आउन केही ढिलाइ हुन पुग्यो। पार्टी अध्यक्षलाई ढिलो आउने जानकारी गराउन नसकेकामा क्षमायाचना गर्दछु।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक राजनीतिक जीवनमा हस्तक्षेप गरिरहेको आरोप लागिरहेको छ। यी बेला शनिबार बिहान ११ बजे १२ जनाजति प्रभावशाली नेता पार्टी नेतृत्वलाई जानकारी नगराई शीतल निवास पुगेका हुन्। तिनमा ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेताहरू देव गुरुङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, अर्थमन्त्री युवराज खतिवडालगायत थिए।

विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसद्बाट स्वीकार गर्ने/नगर्ने, सीमा विवादको समाधान कसरी खोज्नेदेखि नेकपाको विधान संशोधनका विषयमा पार्टी बैठकमा चर्काचर्की परिरहेका बेला राष्ट्रपतिबाट बोलावट भएको थियो।

राष्ट्रपतिले नेकपा नेताहरूसँग गरेको लन्च मिटिङका विषयमा जिज्ञासा राख्न राष्ट्रपति कार्यालयका अधिकारीहरूलाई पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। मंसिर ४ गते नेकपा अध्यक्षद्वयको कार्यविभाजनअघि अध्यक्षद्वय केपी ओली र दाहाल बालुवाटारबाटै शीतल निवास पुगेका थिए। पार्टीमा त्यसको आलोचना हुँदै आएको छ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति भण्डारीसँग शनिबार साँझ भेट गरेका छन्। स्रोतका अनुसार उक्त भेट भने ‘नियमित ब्रिफिङ’ थियो। शनिबार दिउँसै राष्ट्रपतिले नवनिर्वाचित सांसद विद्या भट्टराईलाई भेटिन्।

नेकपाले स्थायी समिति बैठक बिहान ११ बजेका लागि बोलाएको थियो। शीतल निवास पुगेका नेताहरू फर्किएपछि मात्र दाहालले स्थायी समिति सदस्यहरूले पाँच दिनमा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा उठाएका प्रश्नहरूबारे जवाफ दिएको एक नेताले बताए। दाहालले स्थायी समिति सदस्यका प्रश्नको जवाफ एक/एक गरेर दिएका थिए। उनले नेपालको क्रान्ति मौलिक भएकाले नयाँ विचार विकास गरेर जानुपर्छ भन्ने ठानी पार्टी एकता भएको बताएका थिए।

‘कम्युनिस्ट आन्दोलन उचाइमा लैजान हामीले दुई पार्टी एकता गरेका हौं। हिजोको कार्यदिशा र कार्यनीति पर्याप्त छैन’, दाहाललाई उद्धृत गर्दै ती नेताले अन्नपूर्णसँग भने, ‘नयाँ ढंगले जानुपर्छ। नयाँ विचारको विकास गर्नुपर्छ र त्यसका निम्ति एकताबद्ध भएर जानुपर्छ भन्ने स्वीकार गरेर हामी यो ठाउँमा आइपुगेका हौं।’ नेपालको जनवादी क्रान्ति कम्युनिस्टको नेतृत्वमा भए पनि यसमा पुँजीपति पार्टी पनि सहभागी रहेकाले रूस र चीनको जस्तो क्रान्ति नेपालमा सम्पन्न नभएको उनको भनाइ थियो

‘हामीले जसरी नेपालमा क्रान्ति सम्पन्न भएको भनेका छौं, यो क्रान्ति रूस, चीन र अन्य देशको जस्तो होइन’, उनले भने, ‘नेपालको आफ्नै मौलिक विशेषतासहित सम्पन्न भएको हो।’ उनले पार्टी महाधिवेशन आइनसकेकाले पार्टीका आधिकारिक राजनीतिक प्रतिवेदनमा उल्लिखित राजनीतिक कार्यदिशाबाहेक अन्य विषयमा बहस खुला नगरिएको बताए।

‘अहिले पार्टीको जुन राजनीतिक प्रतिवेदन र विधान छ, त्योबाहेक अरू विषय छलफलमा लैजान पाइँदैन। महाधिवेशनका लागि विचार खुला भयो भनेर पार्टीले भनेपछि मात्र हामीले आआफ्ना कुरा बहसमा लैजान सक्छौं’, उनले भने, ‘अहिले हामी राष्ट्रिय/अन्तर्राष्ट्रिय सबै शक्ति केन्द्रको केन्द्रबिन्दुमा छौं। सबैले हामीलाई हेरेका छन्, यो बेला हाम्रो प्रथम दायित्व एकताबद्ध भएर जाने, पार्टीका काम पूरा गरेर जाने र पार्टी चलायमान बनाउने नै हुनेछ।’

उनले पार्टीलाई कुखुराजस्तो खोस्रने होइन, चीलजस्तो उडान लिने गरी अगाडि लैजानुपर्ने बताए। भने, ‘हामीले कुखुराले जसरी खोस्रने होइन, चीनले जसरी माथिबाट हेर्नुपर्छ विषयवस्तुलाई। त्यसो गरे मात्र क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सकिन्छ।’

पार्टी सचिवालय विस्तार गर्न, महिलाको प्रतिनिधित्व गराउन, केन्द्रमा पार्टी उपाध्यक्ष राख्दा अन्य कमिटीमा पनि उपाध्यक्ष पद सिर्जना गर्न नेताहरूले राखेका सुझावमा दाहालले अहिले त्यसो गर्न नसकिने जवाफ दिए।

एमसीसीबारे रस्साकस्सी रोकिएन

नेकपा बैठकमा एमसीसीका विषयमा चर्काचर्की जारी छ। नेताहरू भीम रावल, देव गुरुङ, लीलामणि पोखरेललगायत एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिअन्तर्गत आएको भन्दै सदनबाट पारित गर्न नहुने अडानमा छन्। राजनीतिक प्रतिवेदनको जवाफ दिने क्रममा अध्यक्ष दाहालले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत नभएको प्रस्ट भएपछि यसका केही बुँदा परिमार्जन गर्न सकिने बताएका थिए। नेताहरूले भने फ्लोरबाट पारित गर्न नहुने अडान लिएका थिए।

दाहालले एमसीसीबारे जवाफ दिँदै गर्दा नेताहरू भीम रावल, रघुजी पन्त, लीलामणि पोखरेल, नन्दकुमार प्रसाईं, अग्नि सापकोटालगायतले फ्लोरबाट बोलेका थिए। नेता गुरुङले भने यसबारे समय अभाव भएपछि दाहाललाई आफूले लेखेर दिएका छन्। दाहालले एमसीसीबारे एकपटक अमेरिकासँग इन्डो प्यासिफिकसँग सम्बन्धित हो/होइन बुझेर मात्र निर्णय लिने बताएका थिए।

महासचिव विष्णु पौडेलले भने कतिपय नेताले बैठकमा नेतृत्वप्रति गरेको आलोचना आपत्तिजनक भएको भन्दै सरकार र पार्टी नेतृत्वको बचाउ गरेका थिए। ‘सीमा विवाद, एमसीसी र विधानका विषयमा थप नेताहरूको जिज्ञासा आएपछि बैठक आइतबार पुनः छलफल गर्ने गरी स्थगन भएको छ’, स्थायी समिति सदस्य रघुजी पन्तले भने।

सचिवालय विस्तार नहुने

एक नेताका अनुसार महासचिवले बोल्दासम्म नेताहरू अनुपस्थित रहेपछि दाहालले स्थायी समिति बैठक रोकेर प्रश्नको जवाफको तयारीका लागि भन्दै सचिवालय बस्ने निर्णय लिए। झन्डै सवा घण्टा सचिवालय बैठक बस्यो। नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी सचिवालयले ल्याएको विधान संशोधन भने पारित गरेर जाने दाहालको भनाइ थियो। उनले पुस तेस्रो साता केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको पनि बैठकलाई जानकारी गराए। ‘अब १५ दिनपछि केन्द्रीय समिति बैठक बोलाइन्छ। अहिले सचिवालय विस्तार गरेर जान सकिन्न’, उनले भने।

नेताहरूले फ्लोरबाट बोल्न नछोडेपछि अध्यक्ष दाहालले ५ दिन बोल्न दिँदा पनि अझै पुगेको रहेनछ, थप एक दिन छलफल गर्न दिउँला भन्दै बैठक स्थगन गरेका थिए। वरिष्ठ नेता माधवकुमार नेपालले यसअघि सचिवालयले गरेको निर्णय अनुमोदनका लागि राखेको आफ्नो असहमति कायमै रहेको जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.