वीनालाई मिस वालिङको उपाधि
![वीनालाई मिस वालिङको उपाधि](https://annapurnapost.prixacdn.net/media/albums/miss-Bina_20200102031032_eKXRsNIPXi.jpg)
स्याङ्जा : मिस वालिङको उपाधि वीना थापाले जितेकी छन्। पहिलो पटक आयोजित मिस वालिङ प्रतियोगितामा वालिङ नगरपालिका-६ धनुबाँसेकी थापाले उपाधि जितेकी हुन्। वालिङको रेडपिपर पार्टी प्यालेसमा भएको ग्रान्ड फिनालेमा अन्य ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै वीनाले ताज जितेकी हन्।
भ्रमण वर्ष सन् २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यसहित फ्युजन नेपालको आयोजना र स्मार्ट इभेन्टको व्यवस्थापनमा प्रतियोगिता गरिएको हो। उपाधिसँगै २२ वर्षीया थापाले नगद एक लाखसहित मिस गण्डकीमा प्रवेश गर्ने अवसर पाइन्।
निर्णायक अरुण दर्लामीले साधेको पर्यटन प्रवद्र्धनसम्बन्धी प्रश्नको जवाफमा थापाले सुरुआत आफैंबाट गर्नुपर्छ भन्ने उत्तर दिएर मिस वालिङको टाइटल जित्न सफल बनेको आयोजकको भनाइ छ।
प्रतियोगितामा वालिङ— १ की दीपा पुन फस्ट रनरअप र वालिङ— ६ मिर्दीकी लिजन गुरुङ सेकेन्ड रनरअप हुन सफल भए। पुनले मोस्ट ट्यालेन्ट र गुरुङले मोस्ट डिसिपिलिनको उपाधि जिते। उनीहरूले क्रमशः ५५ हजार र ३५ हजार नगद पुरस्कार पाए।
यसैगरी, बेस्ट वाक र बेस्ट फोटोजेनिकमा चाँदनी आलेले, मोस्ट पपुलर अवार्ड सुनिता थापा र बेस्ट पर्फमेन्स विधामा माया दर्लामीलाई अवार्ड दिइएको छ।
उपाधि विजेता, उपविजेता एवं विभिन्न विधाका विजेतालाई वालिङ नगर उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले नगद पुरस्कार प्रदान गरेका थिए। मिस वालिङ टाइटल विजेता थापा मोडलिङ तथा चलचित्रमा आबद्ध छिन्। उनले मगर चलचित्र खुर्पेटोमा अभिनय गरेकी छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)