नकच्चरो कुइनो
निकै कहलिएका एक लेखकको पुस्तक विमोचन थियो। शुभेच्छुकको सघन उपस्थितिले उनी उसै पुलकित थिए। दर्शकदीर्घाका अधिकांश त उनका ‘फ्यान’ थिए। मन्तव्यका हरेकजसो वाक्य टुंगिँदा तिनले परर ताली बजाइदिए। रचना-गर्भ प्रस्ट्याउने लेखकीय भावुक भनाइमा कतिपयले आँसुसमेत पुछे।
कार्यक्रम नसकिँदै लेखक ठूलो जमातबाट घेरिइसकेका थिए। समूह-समूह जुट्दै ‘ग्रुप फोटो’ का लागि झुत्तिइरहेका थिए। स्वभावतः उनी यसमा मख्ख थिए। महिलै-महिलाको समूह लेखकसँग फोटो खिच्न सर्वप्रथम अघि बढ्यो।
उनी बीचमा ठिङ्ग उभिए। मान्छेपिच्छेका मोबाइलको भारी बोकेको खिच्ने व्यक्तिले पोजिसन दिइसकेको थियो। उनले पनि जिउ तन्काए। सहिद-स्मृत्तिको मौनधारण आकारमा आफूलाई सोझो बनाए। भीडमा निचोरिएलान्जत्तिकै उनी ठेलिएका थिए। चटपटाउने बहानामा उनले हात उठाएर कोटको गोजीमा सरक्क घुसारे। र, विस्तारै अंग्रेजी ‘भी’ आकारमा कुइना परक्क भाँचे। दायाँ-बायाँ टाँस्सिएका महिलाका छातीमा दुवै कुइना लपक्क तेर्सिए।
अर्को समूह आयो। उनको ‘पोजिसन’ बदलिएन। दुवै गोजीबाट दुवै हात निस्किएनन्। धनुष्टंकार कुइना सोझिएनन्। पुरुष ‘फ्यान’ को पालो आयो। हात गलेझैं गोजीबाट सरक्क बाहिरिए। र, लत्रिएर ९० डिग्रीमा निहुरिए।
फेरि केही युवतीले पालैपालो सेल्फी खिच्ने चाहना राखे। जुन कुमतिर युवती हुन्छिन्, त्यतैको हात गोजीमा खुसुक्क छिर्यो। हल्का ज्यान ढल्किएर कुइनो तिनको छाती ताक्दै टुच्च तेर्सियो। एवं रितले फोटो सेसन सकियो।
मुहूर्त भयो पुस्तकमा हस्ताक्षरको। उनी माहुरीको रानोजस्तै ‘फ्यान’ बाट छोपिएका थिए। हस्ताक्षर गराउनेको तँछाडमछाड थियो। किन हो कुन्नि लाम लगाउने परिपाटी थिएन। उनका दायाँ-बायाँ जब महिला÷युवती झुम्मिन्थे, कुइना अस्वाभाविक चलमलाउँथे। हस्ताक्षर गर्दा अलि परसम्म हात सर्ने बहानामा होस् वा आफ्नै कुनै अंग कन्याउने निहुँमा। वा, यस्तै अन्य केही स्वाङमा।
जब महिलाले ‘बधाई’ भन्दै हात बढाउँथे, मिलेका हात उनी हतपति छाड्दैन थिए। बरु समाएरै तिनको शरीर तलदेखि माथिसम्म नियाल्थे। नियालिरहन्थे। असामान्य ढंगले समय लम्बिएपछि असहजतापूर्वक महिला नै फुत्किन्थे।
...शारीरिक यौन दुर्व्यवहारअन्तर्गत कुइना वा पाखुराले महिलाका छाती वा अन्य अंगमा छुने÷छुवाउने र त्यसलाई ‘भूलवश’ देखाउने प्रयास गर्ने प्रवृत्ति धेरैमा पाइएको थियो।
लेखक महोदयको पारा देखेर मलाई दुई दशकभन्दा पहिलाको अर्को घटनाले टाउकामा हिर्कायो। भर्खर-भर्खर कम्प्युटर आएको थियो त्यसबेला। प्रसूतिगृहबाट भर्खर निकालेर ल्याएको शिशुको कोठामा बरु ‘इन्फेक्सन’ को डर हुन्न थियो, कम्प्युटर कक्षमा ‘बाहिरिया भाइरस’ को त्राहिमाम थियो।
कार्पेट बिछ्याएको सुग्घर कोठामा विराजमान हुने शौभाग्य मिल्थ्यो कम्प्युटरलाई। जुत्ता लगाएर पस्न पूर्ण प्रतिबन्ध। काम सकिएपछि छोपेरै राख्नुपर्ने। कार्यालयमा त यस्तो थियो-थियो, सिकाउने संस्थाले समेत त्यसको पालना गरेका थिए।
अद्भूतको जन्तु थियो कम्प्युटर, जसले सबैलाई अचम्मै लठ्याएको थियो। तिनैमध्ये एक थिएँ म पनि। विराटनगरको बीच बजारमा थियो एउटा इन्स्टिच्युट। भर्ना भएँ। हाम्रो समूहमा सातजना केटैकेटा थियौं। छुँदा पनि मयल लाग्लाजस्तो हिफाजतसाथ चलाइँथ्यो हामी। ढोकाबाहिर चरम व्यंग्यात्मक सूचना टाँसिएको थियो, ‘कम्प्युटर कोठामा जुत्ता लगाएर छिर्ने पशु हो।’
पढाउने सर थिए टपुरटुइँया पाराका। सिकाउन शायद नआउने वा नचाहने। हामीलाई टाइप हान्न खटाउँथे र आफू कुर्सीमा ढल्किन्थे।
सातौं दिन जब हाम्रो समूहमा छिरिन् एक युवती, सरको फूर्तिफार्ती र चमकै बदलियो। जान्ने हुँ पाराले त्यस दिन उनले लामै प्रवचन दिए र प्रयोगात्मक प्रशिक्षणतर्फ लागे। लाग्न त लागे तर हामीलाई हेरेनन्।
‘यसलाई माउस भन्छन्। यो हेर्दा मुसो जस्तै-जस्तै छ नि, होइन ? ’ युवतीका हात समाएर माउसमाथि राखिँदिँदै भने, ‘कम्युटर गणेशजी हुन्, यो बाहन हो। यसले जता घुमायो, कम्प्युटर उतै घुम्छ।’
प्रमाणित गर्न उनले माउस चलाएर क्रसर तल-माथि गरे।
‘यसलाई कि-बोर्ड भन्छन्’, उनका दुवै हातमाथि आफ्ना हात राखेर टाइप हान्न सिकाउँदै भने, ‘पहिला अक्षर लेख्न सिकाउने ब्ल्याक बोर्ड थियो। अहिले किबोर्ड। हेर्नुहोस् न कम्प्युटरको कमाल। आखिर बोर्ड त बोर्डै छ !’
एक फन्को उनले हामीतिर पनि आँखा डुलाए। हामी बडो जिज्ञासु भएर हेरिरहेका थियौं। दुइटा कम्प्युटरका माउस र किबोर्ड हामी पालैपालो छोइरहेका थियौं। एउटा सिंगै उनीहरूको कब्जामा थियो।
भोलिपल्ट ‘क्लास’ सुरु भयो। उनी आइपुगिनन्। सरका आँखा भने व्यग्रतापूर्वक केही कुररिरहेका थिए। पन्ध्र मिनेट ढिला उनी ढोकामा देखिइन्। जुत्ता खोल्न झुकेकी उनलाई सरले भने, ‘पर्दैन-पर्दैन। जुत्ता लगाएरै आउनुभए हुन्छ।’
उनले अप्ठ्यारो मानिन्। निहुरिनु कि उठ्नुको अन्योलमा परिन्। हात उँभो सारिदिँदै उनले भने, ‘तपाईंलाई छुट।’
‘जम्मा एक जना महिला हुनुहुन्छ’, उनले हामीतिर हेर्दै कारण सुनाए, ‘प्राथमिकता त दिनै पर्यो नि।’
त्यही ‘प्राथमिकता’ फेरि पढाइमा पनि देखियो। बालखलाई लेख्न सिकाएजस्तै उनी च्याप्प उनका हात समाउँथे। युवती असहज मान्थिन्। सर झन् नियन्त्रणमा राख्थे।
अहिले पनि मलाई झलझली छ- सिकाउने नाममा उनी हात मात्र समाउँदैन थिए, कुइनो चलाउँदै युवतीका छातीमा ठोक्काउन पुग्थे। उनी जति पर सर्थिन्, सर उति पर कुइनो पुर्याउँथे।
पढ्नु ३ महिना थियो। उनी आएको पाँचौं दिन कक्षा सकिएपछि सरले युवतीलाई सोधे, ‘कता बस्नुहुन्छ ? ’
‘कञ्जनबारी’, उनले भनिन्।
‘केमा आउनुहुन्छ ? ’ फेरि सोधे।
‘छिटै हुँदा हिँडेर’, उनले भनिन्, ‘नत्र बसमा।’
‘मेरो इटहरीसम्म जानुछ’, उनले भने, ‘आउनुहोस् न त मोटरसाइकलमा कञ्चनबारी छोडिदिन्छु।’
हामी हिँड्यौं। उनले मोटरसाइकल स्टार्ट गरे। उनी पछाडि बसिन्। हामीलाई उछिन्दै अघि बढ्यो त्यो बाहन।
थाहा छैन, किन हो- भोलिपल्टदेखि ती युवती पढ्न आइनन्।
शंका लाग्छ- शायद सर भनाउँदाले ‘थप दुर्व्यवहार’ गरे।
....
केही वर्ष अघिको अर्को घटना। भक्तपुर-रत्नपार्क बसमा एक युवतीले एउटा केटाई अचानक गालामा चड्काइन्।
बसभरि हल्लीखल्ली भयो।
‘साले तँलाई ? ’ उनी कड्किइन्, ‘सोमत छैन ? ’
भीडमा सँगै उभिएको केटो कुइनो तेस्र्याउँदै उनको छातीमा पुर्याउँदो रहेछ। जति सर्यो, नजानिँदो गरी उति नजिक आउँदो रहेछ। केही पटक त ठेलिदिइछन्। झन् अटेरी हुँदै कुइनो ल्याउँदो रहेछ।
‘लु खा त’, उनले भनिन्, ‘अनि ताजन दिएँ।’
बस रोकियो। बाँकी यात्रुले पनि त्यसलाई पाएसम्म एक-दुई झाप्पु लाए। र, घोक्य्राएर निकालिदिए।
अचम्म लाग्छ। यौनजन्य दूराचारी केटा मान्छेहरू फैलाउने सबै अंगको अधिकत प्रयोग किन गर्छन् ? कुइनाको किन दुरुपयोग गर्छन् ? हातलाई लचिलो बनाउन र बहुउपोगमा सजिलो पार्न शायद प्रकृतिले कुइनाको आविष्कार गर्यो। त्यही भएर यसमा लिंगभेद छैन। अर्थात्, महिला, पुरुष, तेस्रोलिंगी सबैमा कुइना छन्। तर, कुष्ठित पुरुषहरू मात्र किन विपरित लिंगीतिर बंग्याउँछ कुइना ? कुनै महिलाले कुनै पुरुषको कुनै अंगमा घोचेका छन् कुइनो तेस्याउँदै ?
अहँ, छैन।
सन् २०१६ मे १८ मा क्यानडाको संसद्मा एउटा हंगामा भयो। विषय थियो- प्रधानमन्त्री जस्टिन ट्य्रुडेउले महिला सांसद एलेन ब्रोसेउको छातीमा कुइनाले ठोक्काए। त्यसलाई जानजान भएको यौन दुर्व्यवहार भन्दै विपक्षी सांसदहरूले कडा विरोध गरिरहे। प्रधानमन्त्री जस्टिनले दुई दिनमा तीनपटक माफी मागे। र, बल्ल क्षमा पाए। तैपनि यो ‘एल्बोगेट काण्ड’ का रूपमा त्यसयता विश्वभर प्रख्यात छ।
इन्टरनेसनल लेबर अफिस (आईएलओ) ले सन् २००४ मा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारबारे अनुसन्धान गरेको थियो। ‘सेक्सुअल ह्यारेस्मेन्ट एट दि वर्कप्लेस इन नेपाल’ नामक उसको प्रतिवेदनमा पनि त्यस्ता कुदृष्टिवाला पुरुषका कुइनालाई समेत दोषी देखाइएको थियो। शारीरिक यौन दुर्व्यवहारअन्तर्गत कुइना वा पाखुराले महिलाका छाती वा अन्य अंगमा छुने÷छुवाउने र त्यसलाई ‘भूलवश’ देखाउने प्रयास गर्ने प्रवृत्ति धेरैमा पाइएको थियो।
सन् २०१७ को अन्त्यमा ‘टाइम’ म्यागेजिनले ‘वर्षव्यक्ति’ का रूपमा शरीर काटिएको कुइनालाई कभरमा राखेको थियो। महिलाहरू यौन हिंसामा परेका घटनाको ‘मौनता तोड्ने’ बिम्बका रूपमा कुइनो प्रयोग भएको थियो।
केही पुरुषका हकमा भने त्यही कुइनो किन नकच्चरो बनिरहेको छ ?