पामुक चिन्छु भनेर गफ लगाउँदा....
जीवनको उर्वरकाल बोर्डिङ भनिने निजी स्कुलहरूमा पढाएपछि ‘आर्थिक स्थिति सुधार्न’ कतार छिरेका तीर्थ गुरुङ मिर्गौलाको रोग बोकेर आए। मिर्गाैला प्रत्यारोपण गरेपछिका वर्षहरूमा उनले पहिला नै लेख्न खोजेको उपन्यास लेखे- ‘पाठशाला’। मदन पुरस्कार २०७४ को अन्तिम लिस्टमा ‘पाठशाला’ पनि परेपछि उनी साहित्यिक वृत्तमा छाउन पुगे। अर्को पुस्तक निकाल्न नसकिरहेका आफ्नो अवस्थालाई ‘फिप्टिन मिनट्स अफ फेम’ मान्छन्, उनी। अहिले पोखराको अल्फा बोर्डिङ स्कुलमा लाइब्रेरियनका रूपमा कार्यरत गुरुङसँग फुर्सदका लागि गफगाफ :
यहाँलाई फुर्सद कत्तिको हुन्छ ?
- हेर्दा फुर्सदिलो देखिन्छु। फुर्सदमा हुनु भनेको एक किमिमको मानसिक शान्ति पनि हो। तर राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा भइरहने असहिष्णु घटना, पश्चिम एसियामा हुन सक्ने अर्को ठूलो स्केलको युद्धजस्ता कुराहरूले मस्तिष्कमा अनेक प्रदूषण गर्छन्। त्यसैले शरीरलाई फुर्सद छ, मस्तिष्कलाई छैन।
के गर्नुहुन्छ फुर्सदमा ?
- गीत सुन्छु र फिल्म पनि हेर्छु। एउटा किताब निस्किसकेको मान्छेले पढ्छु र लेख्छु भन्नुपर्ने हो तर म ट्विटरमा पनि टाँसिइरहेको हुन्छु। अरूको जस्तो थुप्रै फलोवर भए के गर्दो हुँ ! म यसको दुव्र्यसनी हुनबाट बच्न चाहन्छु।
पछिल्लो पटक पढेको किताब ?
- वेन्डी पर्लम्यानको ‘वी क्रस्ड अ ब्रिज एन्ड इट ट्रेम्बल्ड’ र डाक्टर सन्दुक रुइतको जीवनी।
कस्तो लाग्यो ?
- दुवै मन परे।
किन ?
- पर्लम्यानको पुस्तक सिरियाको मौखिक इतिहास हो। अहिलेको समयमा पनि मध्ययुगीन बर्बरता सिरियामा विद्यमान रहेछ भनेर अचम्म मानेँ। सिरिया जर्ज अर्वेलको १९८४ भन्दा पनि डरलाग्दो रहेछ। अनि अहिलेसम्मकै सुन्दर पुस्तकहरूमध्येको एउटा हो, डाक्टर रुइतको जीवनी। साँचो अर्थमा प्रेरणादायी।
तपाईंको सिरानीमा किताब हुन्छन् ?
- सल्मान रुस्दीको ‘किशोट’, बर्नार्डिन इभारिस्टोको ‘गर्ल, वुमन, अदर’ र दुर्गा सुवेदीको ‘विमान विद्रोह’ छन्।
हातमा भएको किताब ?
- मनोरञ्जन व्यापारीको भर्खर पुस्तक `इन्टरोगेटिङ माई चन्डल लाइफ´ भर्खर पढी सिद्धिएकाले डीएससी पुरस्कारको नोमिनेसनमा परेका सबै किनेँ, त्यसमध्ये स्वाभाविक रूपले विजेता पुस्तक ‘हाफ द नाइट इज गन’ हातमा छ।
थाती राखेको किताब ?
- थुप्रै छन्, त्ससमध्ये अन्ना बर्नस्को ‘मिल्कम्यान’, मार्लोन जेम्सको ‘अ ब्रिफ हिस्टरी अफ सेभेन किलिङ्स’, इसिगुरोको ‘रिमेन्स अफ द डे’ भ्लादिमिर नावाकोभको ‘स्पीक, मेमोरी’ आदि।
धेरै पल्ट पढेको किताब ?
- जे.डी. सालिन्जरको ‘क्याचर इन द राइ’, ‘शिरीषको पूmल’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, शंकर लामिछानेका निबन्धहरू, ‘लक्ष्मी निबन्धसंग्रह’।
पहिलो (बच्चाको) किताब ?
- बच्चामा बाहिरको किताब पढिएन। एकैचोटि १० कक्षामा युधीर थापाहरूसित भेट भयो।
पढ्न मन लागेर नपाएको किताब ?
- अहिले मैले पढ्न चाहेको कुनै किताब सायदै अप्राप्य नहोला। पीडीएफ डाउनलोड गरेर पनि पढ्न सकिन्छ, जुन उचित अभ्यास भने हैन।
कहाँ किन्नुहुन्छ ?
- पोखरेली पाठक र स्रष्टाहरूको जमघट स्थल पोखराको हिमालयन रिडर्स कर्नरमा। लेकसाइडमा गएँ भने मण्डला बुक सप छिर्न मन लाग्छ र एउटा न एउटा पुस्तक किनिहाल्छु। काठमाडौं आउँदा एजुकेसन बुक सेन्टर वा मण्डला बुक प्वाइन्ट नछिरे काठमाडौं आएजस्तै लाग्दैन।
कुन समय धेरै किताब पढ्नुभयो ?
- क्याम्पस पढ्ने बेलातिर कोर्सको किताबभन्दा अरू धेरै पढेँ। पछिल्लो समय अस्वस्थताको कारण जागिर नखाई बस्ने बेला पनि निकै पढेँ।
मन परेको पुस्तकालय ?
- पुस्तकालय त्यति जान्नँ तर पृथ्वीनारायण क्याम्पसको पुस्तकालय सम्झिरहन्छु र अचेलचाहिँ कहिलेकाहीँ पोखरा सार्वजनिक पुस्तकालय पनि प्रवेश गर्छु। म आपंैm पुस्तकालयमा काम गर्ने भएकाले मौकामा पढिहाल्छु।
पुस्तक समीक्षाहरू पढ्नु-लेख्नुहुन्छ ?
- पढ्छु तर धेरैजसो समीक्षाभन्दा पनि पुस्तक परिचय जस्ता हुन्छन् र कति त आग्रहपूर्वक लेखिएभैंm लाग्छन्।
तपाईं आफैं समीक्षा किन लेख्नुहुन्न त ?
- म समीक्षा लेख्न सक्दिनँ, समीक्षकीय चेत छ जस्तो लाग्दैन।
पढ्दै गर्दा मन परेको, नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने, पन्ना दोबार्ने गर्नुहुन्छ कि ?
- गर्दिनँ, म पुस्तकलाई प्रेम गर्छु। त्यस्तो गर्नु भनेको पे्रमिकालाई चिथोर्नु कोपर्नुसरह हो।
प्राय : कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?
- म आफ्नै कोठामा बिहान र राति पढ्छु। पुस्तक साह्रै नै राम्रो छ भने स्कुल आउँदा जाँदा बसमा पनि पढिदिन्छु।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई कुन कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
- उहाँहरूलाई मजस्तोले पुस्तक सिफारिस गर्नु भनेका प्रधानमन्त्रीको जोक्सको अपमान गर्नु हो। तर पनि रमाइलोका लागि भन्नैपर्ने हो भने राष्ट्रपति भण्डारीले कुमार नगरकोटीका पुस्तक पढेर आनन्द लिएको राम्रो। उहाँले आहुति, सरिता तिवारी, खगेन्द्र संग्रौला पढ्नुभयो भने सेरेमोनियल पदप्रति आँखीभौंहरू उचालिन सक्छन्। प्रधानमन्त्रीले धेरै पढिसक्नुभयो होला तर जोन स्टेन्बेकको ‘द ग्रेप्स अफ र्याथ’, ली क्वान युको जीवनी दोहोर्याउन सक्नुहुन्छ। ‘कार्यकारी अध्यक्ष’ पुष्पकमल दाहालले नेल्सन मण्डेलाको ‘लङ वाक टु फ्रिडम’ र सभापति शेरबहादुर देउवाले एंगर म्यानेजमेन्टको कुनै गतिलो पुस्तक पढे देशलाई फाइदा होला। गम्भीर भएर भन्ने हो भने राजनीतिकर्मी सम्पूर्णले इतिहास र अर्थशास्त्रका पुस्तक अध्ययन गर्नैपर्छ। हाम्रा नेता कार्यकर्तामा सेवामोह, ज्ञानमोहभन्दा द्रव्यमोह अधिक भएजस्तो देखिन्छ।
किनेको सबैभन्दा महँगो पुस्तक ?
- महँगी सापेक्षमा हेर्नुपर्छ कि ? म एसएलसी दिएर गाउँमा बसिरहेको बेला ठूल्बालाई ईश्वर बरालको सम्पादनमा निस्केको कथासंग्रह ‘झ्यालबाट’ मगाएर दिएँ। सत्तरी रुपियाँको त्यो किताब कति महँगो भनेर घरमा टीकाटिप्पणी भएको थियो। हालै वाल्टर इस्याक्सनको लियोनार्दो दा भिन्चीको जीवनीलाई निकै महँगो तिरेँ।
बढ्ता होहल्ला भएको औसत पुस्तक ?
- हिजोआज आउने अधिकांश किताबको धेरथोर चर्चा भएकै हो जस्तो लाग्छ। चर्चालायक भएर नै पत्रपत्रिका र सामाजिक सञ्जालमा तिनको होहल्ला हुन्छ तर ती औसतका हुन् वा अब्बल हुन् तिनको मूल्याङ्कन अबका पन्ध्र÷बीस वर्षपछि आउलान्।
कम होहल्ला भएको गज्जबको पुस्तक ?
- आमपाठकझैं म पनि होहल्लाको पछि दगुर्छु, त्यसैले होहल्ला नभईकन कुनै गज्जब पुस्तक हातमा पर्दैनन्।
रोजाइमा कुन विधा ?
- म सबै पढ्न रुचाउँछु तर आख्यान साहित्यलाई प्राथमिकता दिन्छु।
पढिसकेका किताब कसरी व्यवस्थापन गर्नुहुन्छ ?
- राम्रा लागेका किताब राख्ने कोसिस गर्छु, अरूचाहिँ यताउति भइहाल्छ।
किताबमा गाता हाल्नुभो ? अहिले पनि हाल्नुहुन्छ ? प्लास्टिकको कि पत्रिका वा कागजको ?
- सातसम्म गाउँमा पढेको हुँ, पत्रिका पाइन्थेनन्। पेन्सन बुझ्न आउँदा बाबाले ल्याउने भारतीय सैनिक आवाज जस्ता पत्रिका वा कहिलेकाहीँ पाइने सचित्र चीन नामक पत्रिकालाई गाताका रूपमा प्रयोग गरियो। अहिले गाता हाल्दिनँ, प्लास्टिकको अनावश्यक प्रयोग गर्दिनँ।
किताब मनमनै पढ्नुहुन्छ कि सस्वर ?
- मनमनै पढ्छु तर कविताचाहिँ सस्वर पढ्छु।
कुन लेखक भेट्न चाहनुहुन्छ ?
- वास्तवमा मन परेका लेखकलाई त्यसै भेट्न मन लाग्दैन। हिमालको सौन्दर्य ठिक्कको दूरीबाट मात्र राम्रो देखिन्छ, नजिक गएर हेर्दा हिमाल जटिल र कुरूप पनि हुन सक्छ। तर पनि अवसर पाइयो भने म पामुक, कुन्देरा, मुराकामी, कुइट्से र चिमामान्डा ङोजी अडिचीलाई नजिकबाट एक झलक हेर्न चाहन्छु।
मन परेका फिक्सनल पात्रहरू ?
- ‘ग्रेप्स अफ र्याथ’को टम जोड, ‘ब्लाइन्डनेस’को डाक्टरकी श्रीमती, ‘टु किल अ मकिङबर्ड’को एटिकस फिन्च, ‘फादर्स एन्ड सन्स’को बाजारोभ र मेरै ‘पाठशाला’को गगन थापा उर्पm डब्बु।
तपाईंले लेखिरहेको पुस्तक ?
- लौ तपाईंकै पत्रिकामार्पmत पहिलो पटक औपचारिक घोषणा भयो, म एउटा कथासंग्रह तयार पार्दैछु।
लेख्न चाहिरहेको पुस्तक ?
- गुरुङ संस्कार र संस्कृतिलाई ब्याकड्रपमा राखेर एउटा उपन्यास लेख्न चाहिरहेको छु। त्यसको सेटिङ गुरुङहरूको पछिल्लो सभ्यता क्होला सोंथर बनाउने उत्कट चाहना हो तर त्यहाँ पुग्न सकिरहेको छैन।
किताबबारे कुनै एउटा रोचक घटना ?
- कतारमा डङ्किन डुनटमा काम गर्ने बेलामा चार जना इन्जिनियर मकहाँ अक्सर एक्सप्रेसो पिउन आउँथे। एकजनाचाहिँ टर्किस थियो। एक दिन कुरैकुरामा मैले तिम्रो देशको ओह्रान पामुक चिन्छु भनेर गफ लडाएको थिएँ। केही दिनपछि उसले पामुकका चारवटा किताब ‘स्नो’, ‘इस्तान्बुल’, ‘न्यु लाइफ’ र ‘माइ नेम इज रेड’ ल्याएर दियो। म दंग।
कुराकानी : विमल