पूर्वराजदूत शर्माको लण्डनमा निधन

पूर्वराजदूत शर्माको लण्डनमा निधन

लण्डन : बेलायतका लागि पूर्वनेपाली राजदूत मुरारीराज शर्माको लण्डनमा निधन भएको छ ।

बेलायतमै बस्दैआएका ६७ वर्षीय शर्माको मंगलबार बिहान लण्डनको पट्नीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । शर्मालाई हृदयघात भएको आशंका गरिए पनि पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले मृत्युको कारण स्पष्ट भइसकेको छैन ।

‘सधैँजस्तै मंगलबार बिहान पनि उनी मर्निङ वाकबाट फर्किएर ब्रेकफास्ट खाएपछि घरमै बसिरहनुभएको रहेछ,’ शर्माका नातेदार समेत रहेका लण्डनस्थित नेपाली दूतावासका पूर्वकर्मचारी अनिल अधिकारीले भने, ‘बिहान करिब साढे १० बजेको समयमा उहाँ एक्कासी बेहोस हुनुभएछ । त्यसको केहिबेरमै एम्बुलेन्स आइपुग्दा त उहाँको निधन भइसकेको रहेछ ।’

पारिवारिक स्रोतबाट प्राप्त जानकारी अनुसार शर्माको स्वास्थ्यस्थिति सामान्य थियो । कुनै विशेष रोग वा समस्या थिएन । खानपानमा पनि विशेष ध्यान दिन्थे । लण्डनमा श्रीमती लिना शर्माका साथ बस्दै आएका शर्माका दुवै छोरा मेडिकल डाक्टर हुन् । उनीहरु अमेरिकामा बस्छन् । छोराहरु लण्डन फर्किएपछि मात्रै उनको अन्त्येष्टी बेलायतमै गर्ने वा नेपाल लैजाने भन्नेबारे निर्णय गर्ने परिवारको योजना छ ।

शर्माको शव अहिले लण्डनको टुटिंगस्थित सेन्ट जर्ज अस्पतालमा राखिएको छ । सन् २००७ को नेभेम्बरमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले नेपाली राजदूतका रुपमा शर्मालाई बेलायत पठाएको थियो । सन् २००९ मा पुष्पकमल दाहाल प्रधानमन्त्री रहेको सरकारले उनलाई नेपाल फिर्ता बोलायो ।

तर उनीफिर्ता गएनन् । उनले नेपाल फर्किंदा आफ्नो सुरक्षामा खतरा पर्ने कारण देखाउँदै बेलायत सरकार समक्ष शरणार्थीको आवेदन दिएर बेलायतमै बसेका थिए । त्यसयता उनी बेलायतमा पनि लो प्रोफाइलमा बस्दैआएका थिए । सार्वजनिक कार्यक्रममा खासै देखिने गरेका थिएनन् ।

बेलायतमा राजदूत भएर आउनुअघि शर्माले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयको सचिव जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । सन् १९७७ मा सरकारी सेवा प्रवेश गरेर अर्थ, गृह, समान्यप्रशासन लगायत मन्त्रालयमा काम गरेका उनी सन् १९९२ देखि परराष्ट्र सेवामा थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.