नानीहरूको उत्साह देखेर रोएँ म
कामको १५ मिनेटको कफी छुट्टीमा पनि मान्छे आफ्नो किताब लिएर घोप्टो परेका छन्। ‘सब-वे’ भनिने भूमिगत रेलमा वा सिटी बसमा यात्रा गर्दा मान्छे आएको-गएको हेर्नुको साटो मान्छेले किताबमा मुन्टो जोतेको देख्दा मलाई सुरुसुरुमा उदेकै लाग्यो। छुट्टी मनाउन निस्केका केटाकेटी अर्धनग्न भएर खोला र तालको बगरमा पल्टेर अरू केहीको वास्ता नगरी किताबमा लागेको देख्दा त म झन् तीनछक्क पर्छु अझै। बिदा मनाउन आएका बेला रामरमितामा लाग्न छोडेर कसरी मन थामेका यिनले ?
०००
पढ्नु भन्नाले स्कुल, कलेज र विश्वविद्यालयका पाठ्यक्रमका किताब पढ्ने कुरालाई बुझिँदैन। पाठ्यक्रमका किताब पढ्नुलाई त ‘पढ्नु’को महत्व र बुझाइमा नै लिइन्न। त्यो त पढ्नु होइन ‘गर्नु’ हो। जस्तै, ‘आई एम डुइङ मास्टर्स इन साइकलोजी, आई एम डुइङ एजुकेसन, वान्ट टु बी अ टिचर’ आदि इत्यादि।
‘अहिले कुन किताब पढ्दै हुनुहुन्छ ? ’ भनेर कसैले सोधे वा चर्चा गरे फलानो पुस्तक भनेर नाम लिन बेरै लाग्दैन मान्छेलाई।
‘डु यु डु फेसबुकिङ ? ’ मैले हाइस्कुलमा ‘ल्यांग्वेज आर्ट’ पढाउने शिक्षकलाई सोधेको थिएँ प्रसंगवश।
‘आई ह्याभ ओपन्ड एन एकाउन्ट, बट बेयर्ली सो अप देयर, आई रिड बुक्स इन्स्टेड, आई लभ बुक्स,’ किताब पढ्ने कुरै नचली भनी एकै सासमा।
म कुरा गर्दैछु क्यानडेली घरपरिवार र समाजको। कफीको कप लिएर पढ्न बस्नु यहाँको दैनिक जीवनशैलीकै एक अमूल्य सम्पदा रहेछ।
पढ्नु यहाँको संस्कृति रहेछ। बाहिरफेर मान्छेले हातमा किताब लिएर पढेको त केही होइन रहेछ। खास पढाइ त घरघरमा, गल्लीगल्लीका सर्वसुलभ निःशुल्क पुस्तकालयमा र देशको आधारशिला तयार पार्दै गरेको स्कुलस्कुलमा हुँदो रहेछ। खास पुस्तक पठनका योजना, कार्यक्रम र बालबालिका लक्षित क्रियाकलाप त त्यहाँ हुने रहेछन्।
यहाँका अभिभावक र बालबालिका निकै पढ्छन्। बालसाहित्यका अन्तर्राष्ट्रिय ‘बेस्ट सेलर’ किताबका सबै पात्र र प्रवृत्तिमा यहाँका स्कुले बालबालिका जानकार छन्। इन्टरनेटको छेलोखेलोका कारण हातहातमा डिभाइसले गर्दा ‘डिजिटल डिस्ट्र्याक्सन’ यति व्याप्त हुँदा नि यहाँका शिक्षक, अभिभावक र केटाकेटीले पठन संस्कृतिलाई धराशयी हुन दिएका छैनन्।
बालबालिकाले कसरी मोबाइल छोडेर किताब पढ्छन् त भन्नुजस्तो भइसक्यो अहिलेको स्थिति। किताबका अक्षर मोबाइलमा आउने कार्टुन वा मुभीजस्तो नाच्ने, कुद्ने, हाँस्ने, रुने, गाउने, उट्पट्याङ गर्ने गर्दैनन्। श्रव्यदृश्य सामग्रीबाहेक केहीमा विश्वास र रुचि नदेखाउने पुस्ता तयार हुँुदै गर्दा काला अक्षरको उत्पादन र उपभोगमै विश्वभर चुनौती खडा भइसकेको पनि छ अहिले। तर बदलिँदो विश्व परिवेशमा र जीवनशैलीमा केलाई कसरी सामना गर्ने, केलाई कसरी व्यवस्थापन गर्ने, केमा कसरी समायोजन गर्ने भन्नेबारे विकसित देशका पब्लिक प्राइभेट सबै अवयवले कम्तीमा १० वर्षपछिको आँकलन गरेर आजैबाट बजेट र बाटो खन्न थालिहाल्दो रहेछ। अनि स्थिति नियन्त्रणबाहिरै जाने गरी केही नि नबिग्रिने रहेछ क्यार।
विद्यालयमा ‘रिडिङ विक’मा प्रहरी, कलाकार, किसान, सिकर्मी, व्यापारी, लेखक, साहित्यकार, अवकाशप्राप्त सैनिकहरू आउँछन्, किताब बोकेर कथा सुनाउने स्वयंसेवा गर्न। यस्तो बेला बालबालिकामा देखिएको उत्साह पाइनसक्नुको हुन्छ।
क्यानडाका स्कुल र पुस्तकालयमा ६-१७ वर्षका बालबालिका लक्षित पुस्तकका रास र बालपुस्तकका विषय र क्षेत्रका सहस्र विविधता देखेर छक्कै परिन्छ। कतिमात्रै किताब छापेका ! कथा, कविता, उपन्यास, चित्रकथा कतिकति। नैतिकता, सामाजिक आचरण, राम्रो खानपानको व्यवहार, जनावर र कितापतंग, अरू देशको चालचलन, ठाउँ र संस्कृतिमा, विज्ञान र प्रकृति प्रेममा, असल मान्छे बन्न सिकाउने सन्देशमा आदि जेमा पनि किताबै किताब छन् बालबालिकाका लागि यहाँ। गन्नु हो भने जम्माजम्मी १५ र २० वाक्य पनि नहुने कुरालाई पनि रंगीन तस्बिर र ‘इलस्ट्रेसन’मा सबैभन्दा धेरै खर्च गरिएका किताब देख्दा पैसा धेर भएको यिनलाई भन्नुजस्तो हुन्छ।
यहाँका पुस्तक प्रकाशकहरू हाम्रातिरका चाउचाउ व्यापारीभन्दा कम धनी पनि हँुदैनन्। ‘कर्पोरेट कम्पिटिसन’को ज्याद्रो अभ्यास भएको मुलुकले गर्दा बालपुस्तक चित्तै बुझाउन नसकिने गरी महँगो पनि हँुदैन। पैसा अरू पुस्तकबाट कमाउने बालसाहित्य स्वअनुदानमा छाप्ने नीति पनि हुन्छ प्रकाशकको। सस्तो छाप्ने, धेरै बेच्ने रणनीति पनि गर्छन् बालसाहित्यका किताबमा प्रकाशकहरू।
प्रत्येक तीन-तीन महिनामा के-के नयाँ बालसाहित्य छापिए भनेर प्रकाशकले सचित्र ब्रोसर बिद्यालयका कोठाकोठामा पुर्याउँछन्। सबै विद्यार्थीले ती सचित्र ब्रोसर घर लिएर जान्छन्, बाउआमासँग सल्लाह गरेर एक दुईदेखि पाँच दस किताबमा चिनो लाएर भोलिपल्ट पैसा र त्यो ब्रोसर फिर्ता लिएर आउँछन्। स्कुलका कर्मचारीले विद्यार्थीको मागबमोजिम अनलाइनमा भुक्तानी गरिदिएपछि प्रकाशकले प्रत्येक विद्यार्थीको पुस्तकको पोको स्कुलमै पठाउँछन्।
यसो गर्दा प्रकाशकले न प्रिन्सिपललाई कुनै कमिसन, कतैको निःशुल्क भ्रमण वा नजराना टक्य्राउनुपर्छ न त शिक्षकलाई कुनै प्रलोभन देखाएर लोभ्याउनु पर्छ। यो स्वतः हुन्छ एउटा संस्कार र व्यवस्थाका रूपमा। सबै स्कुलमा एक साताको पुस्तक मेला गर्न पनि पुगिरहेका हुन्छन् पुस्तक व्यवसायीहरू।
०००
बच्चाहरूले पढ्ने संस्कृति सिक्ने ठूला मान्छेबाटै हो यहाँ पनि। घरमा बाउआमाले, हजुरबा-हजुरआमाले दिदी दाजुले पढेको देखे बच्चाले नि किताब समाउँछ, मोबाइल मात्रै खेलाएको देखे मोबाइल नै माग्छ।
घरमा बाबुआमाले बच्चा तीन वर्षको भएदेखि आठ वर्षको हुन्जेलसम्म बेलुका सुत्ने बेलामा ‘बेडटाइम स्टोरिज’ भनिने किताबबाट कम्तीमा एउटा कथा पढेर सुनाउने दैनिक तालिका फत्ते गर्न खोज्छन्। ‘सुत्ने बेलाका कथा’ सुन्दासुन्दै बच्चा निदाउँछ। सुत्ने बेलाका कथा पढिदिने बाबुआमा वा हजुरबा हजुरआमा नै हुन्छन्।
बच्चाले आफैं किताब पढ्न सक्ने भएपछि पढ्नसक्ने क्षमताको व्यक्तिगत तह निर्धारण गरिएको हुन्छ। — लेभल ए, बी, सी, डी, ई...एच...एम...टी आदि भनेर। किन्डरगार्टेनका बच्चाले लेभल ए—डीसम्मका किताब पढ्न सक्छन्। कक्षा १ का नानीहरूले लेभल ए-केसम्मका किताब पढ्न र दुई सयदेखि चार सयसम्म नयाँ शब्द सिक्न सक्छन्। कक्षा २ का नानीले लेभल इ-पीसम्मका किताब, क्रमशः कक्षा ६ सम्ममा लेभल आर, वाई र जेड पूरा गर्छन्। यो पठनको लेभल एउटा पृष्ठमा आउने शब्दमा कति प्रतिशत शुद्ध पढ्न र तिनको अर्थ बुझ्नसक्ने पाठकको क्षमतामा छ भन्ने आधारमा तोकिएको हुन्छ।
स्कुलमा लेभलैपिच्छेका अनगन्ती किताब उपलब्ध छन्। प्रत्येक दिन स्कुलबाट घर जाने बेलामा ‘घरका लागि किताब’ छान्ने बेला हुन्छ स्कुलमा। बच्चाको झोलामा महिनाभरि पढेको लगत राख्ने एउटा फाइल हुन्छ जसमा पुस्तकको नाम, पढेको समय अवधि बेलुका २० मिनेट वा ३० मिनेट, र जानेको कुरा भर्ने तालिका हुन्छ। महिना मरेपछि अभिभावकले त्यसमा सही गरेर ‘हो मेरो बच्चाले यहाँ भनेबमोजिम पढ्यो’ भनेर प्रमाणित गरेपछि स्कुलमा शिक्षकले नि सही गर्छ। अब शिक्षक पनि खुसी, अभिभावक पनि खुसी भएपछि कक्षाका बालबालिकालाई कुनै अभिभावकले वा स्वयं शिक्षकले नै पनि ‘पपकर्न पार्टी’, ‘कुकिज पार्टी’, ‘पिजा पार्टी’ प्रायोजन गर्दिन्छन्। अनि बालबालिका स्कुलमा मकैका फूल, कुकिज खान पाएर रमाउने वा सुत्दा लाउने पिजामा लाएर स्कुल आउन पाउँदा फुरुंग हुने गर्छन्। फेरि अर्को महिनाको ‘होम रिडिङ’को नयाँ तालिका आउँछ।
बच्चालाई कक्षा ६ सम्म ‘गाइडेड रिडिङ’ अर्थात् किन पढ्ने, पढेको कसरी बुझ्ने, वास्तविक जीवनमा त्यसको तारतम्य कहाँ जोडिन्छ पहिल्याउन, पात्र र परिवेशमाथि प्रश्न गर्न, आफ्नो राय राख्न वा बनाउन, सामग्रीको सारांश के हो बुझ्न भनेर निर्देशित पठन गराइन्छ। बच्चाको दिमागी विकास परिपक्व नहुँदासम्म शिक्षक वा अभिभावकको सक्रिय संलग्नता र दिग्दर्शनबिना बच्चाको पठन अर्थपूर्ण हुँदैन भनेर यस्तो निर्देशित पठन गराइन्छ स्कुलमा यहाँ। घरमा त १० वर्ष काटेपछि बालबालिका आफ्नो रुचिको पुस्तक आफैं पढ्न सक्षम हुन्छन् भन्ने छ।
कक्षामा ‘इन्डिपेन्डेन्ट रिडिङ’, ‘पार्टनर रिडिङ’, ‘रिड अलाउड’को समय हुन्छ दैनिकजसो। पाठ्यक्रमका पुस्तक पढ्ने होइन त्यो बेला त्यहाँ। ‘इन्डिपेन्डेन्ट रिडिङ’मा नानीहरू आफ्नो रुचिको पुस्तक पक्डेर आफैं पढ्छन्। ‘पार्टनर रिडिङ’मा अर्को साथीसँग पढ्छन्।
‘रिड अलाउड’मा शिक्षकले कुनै बालकथा, बालउपन्यास, चित्रकिताब वा अरू कुनै पनि किताब जुन बालबालिकाको सिकाइका लागि उचित छ, छानेर २० मिनेट पढेर सुनाउने हुन्छ। बालउपन्यास छ भने दिनको एक ‘च्याप्टर’को दरले महिना दिन जान्छ। शिक्षकले एकोहोरो पटपट पढेर उडाउने होइन। ‘रिड अलाउड’का पनि विधि छन् पालना गर्नुपर्ने। ‘कनेक्सन’ अर्थात् किताब पढेको सुन्दा आफ्नो दैनिक जीवनको कुनै घटना वा प्रसंगको स्मरण गरायो किताबका कुराले भने विद्यार्थीले हात उठाउँछ र उसले बोल्ने पालो पाउँछ। अनि उसले ‘मैले हिजो घोडा देखेँ, यो कथाको घोडाजस्तै कालो’ भन्छ। शिक्षकले अझै खोतलखातल गरेर कुरा लम्ब्याउँछ र बहसलाई अर्थपूर्ण बनाउँछ। ‘प्रेडिक्सन’ अर्थात् कथामा अब के हुन्छ भन्ने कल्पनाशीलताको कुरा गर्न पाउँछ विद्यार्थीले बीचैमा। विद्यार्थीले हात उठाएपछि शिक्षकले उसलाई समय दिएर उसका कुरा सुन्नुपर्छ। उसका कुरा सुनेपछि अरूलाई ‘तिमीहरू के भन्छौं सहमत, असहमत ? ’ भनेर थप चर्चा हुन्छ। एवं रीतले ‘क्वेस्चन’ अर्थात् किन त्यस्तो भयो, किन यस्तो भएन भन्न पाइन्छ। ‘इन्फर’ अर्थात् कथा र पात्रका काम कुराबाट अर्थको सामान्यीकरण गरेर बोल्न बालबालिकालाई प्रेरित गरिन्छ।
विद्यालयमा ‘रिडिङ विक’ अर्थात् पठन सप्ताह हुन्छ। बर्दीधारी प्रहरी, कलाकार, प्रिन्सिपल, किसान, सिकर्मी, व्यापारी, लेखक, साहित्यकार, अवकाशप्राप्त सेना, शिक्षक आउँछन् किताब बोकेर स्कुलमा बालबालिकालाई कथा सुनाउने स्वयंसेवा गर्न। समुदायका यस्ता मान्छे आएर स्कुलमा बालबालिकासँग घुलमिल हुँदा, अन्तक्र्रिया गर्दा बालबालिकामा देखिएको उत्साह पाइनसक्नुको हुन्छ। आगन्तुकका व्यक्तिगत गुण, शैली र शिष्टता, बालबालिकाप्रति देखाइने मुलायम व्यवहार र उनीहरूका भोगाइ र अनुभवको विविधताले सिर्जित रोमाञ्चक वातावरणले सबैलाई लट्ठ पार्दिन्छ कक्षामा। नानीहरूको यस्तो उत्साह देखेर म धेरैपटक खुसीले रोएको छु।
पुस्तक प्रकाशकहरू एकोहोरो पुस्तक छाप्ने र पैसा कमाउने ध्याउन्नमा मात्रै पनि हुँुदैनन्। बजारको सर्वेक्षणमा, अभिभावक र बालबालिकाको पठन सामग्रीप्रतिको रुचिमा राष्ट्रव्यापी अनुसन्धान गर्न पनि उति नै खर्च गर्छन्।
क्यानडाको एउटा प्रतिष्ठित प्रकाशन कम्पनीले भर्खरै गरेको अनुसन्धानमा ६-१७ वर्षका बालबालिकालाई पुस्तक पढ्न कसले बढी प्रेरित गर्छ भन्ने प्रश्न थियो। पहिलो नम्बरमा अभिभावक र घरका अन्य ठूला मान्छे आयो। दोस्रोमा शिक्षक र तेस्रोमा साथी र समान उमेरका ‘कजन’ नातेदार देखियो।
कस्ता बालसाहित्य पढ्न अभिभावक र बालबालिकाको रुचि होला त भन्ने प्रश्नमा पहिलो नम्बरमा जुन पुस्तक पढेर हाँस्न र रमाइलो गर्न पाइयोस् भन्ने देखियो। दोस्रोमा बालबालिका कहिल्यै नपुगेको ठाउँ र देशका संस्कार, संस्कृति र प्रकृतिबारे पढ्न पाइयोस् भन्ने आयो। तेस्रोमा बच्चालाई सोच्ने र अनुभूति गर्ने क्षमता बढाउने साहित्य वा पुस्तक आयो। चौथोमा मेरो बच्चाले यी यी कुरा सिकून् भन्ने बाउआमाका चाहनाका पुस्तक। पाँचौंमा अरू मान्छेले भोगेका जीवनका अनुभवबारे कल्पना गर्न र बुझ्न सघाउने किताब भने। छैटौंमा बालबालिकालाई केही राम्रो काम गर्न प्रेरित गर्ने पुस्तक, सातौंमा बच्चालाई आफ्नो वास्तविक जीवन र सम्भव संसार बिर्सिएर अर्कै संसारमा उड्न पठाउने पुस्तक। आठौंमा आफैंले देखेभोगेका विषयवस्तुमा आधारित किताब र अन्तिम नवौंमा जेसुकै भए पनि बच्चालाई तान्ने कथा भएको पुस्तक परेको थियो।
देशभरि गरिएको उक्त सर्वेक्षणमा ६-१७ वर्षका बालबालिका भएको एक परिवारमा औसतमा ८० वटा बालसाहित्यका पुस्तक भएको पाइयो। धेरै पढ्नेका घरमा औसत ११८ वटा र अलिक कम पढ्नेका घरमा औसत ६१ वटा बालपुस्तक भएको पाइयो।
प्रविधिको विकाससँगै पुस्तकका रूप पनि फेरिए। अब कागजको किताब, सुन्ने किताब र ‘ई-बुक’ छन् बजारमा। सबै किनेरै पढ्नुपर्ने। एउटा अर्को सर्वेक्षणमा २८ प्रतिशतले सुन्ने किताब छाने भने ५२ प्रतिशतले ई-बुक भने। परम्परागत कागजको किताब रोज्ने सबैभन्दा धेरै ९२ प्रतिशत देखिए।
५१ प्रतिशत बच्चाले ठूला मान्छेले यो पढ, त्यो पढ भनेको भन्दा आफैंले छान्न पाएको किताब नै मेरो प्रिय पुस्तक हो भने र तिनै किताब नै अन्तिम पृष्ठसम्म पढेर सिध्याइने पुस्तकमा परे।
किन र के पढ्ने त भनेर पठनपाठनबारे अभिभावक र बालबालिकालाई पनि सोधिएको थियो।
‘मेरो घरमा बच्चाका किताब र जादुमयी कथाका किताबले भरिएको एउटा किताब राख्ने दराज छ र म मेरी छोरीले किताबसँग बिताएको यस्तो अमूल्य क्षणहरू जीवनभर सम्झिइदेओस् भन्ने चाहन्छु’, तीन वर्षीया छोरीकी आमा, क्युबेक।
‘म मेरो छोरो किताबका पात्रहरूबाट प्रभावित होस्, आफूले जहाँ पुगे नि हासिल गर्नसक्ने उत्कृष्ट सोख वा रुचिको क्षेत्र पहिचान गरोस् भन्ने चाहन्छु। पढ्नुले सिकाइ, खोज र सिर्जनशीलताप्रति प्रेम र लगाव बढाउँछ’, पाँच वर्षीय छोरोकी आमा, सास्कचुन।
‘पढ्नुले कल्पनाशीलतालाई पोषण दिन्छ, हामीलाई अर्कै जीवनमा पुर्याउँछ, कुराहरू बुझ्ने क्षमता बढाउन सघाउँछ र अरूका विचार रायहरू बुझ्ने र मनन गर्न मद्दत गर्छ’, एक वर्षीय छोरोकी आमा, क्युबेक।
‘मेरो बुवा पनि पढ्न खुब रुचाउनुहुन्छ, त्यसैले हामी सँगै पढ्छौं’, नौ वर्षीय बालक, ओन्टारियो।
‘मेरो र मेरो साथीका रुचिहरू एकैखाले छन्। त्यसैले हामी कथा र पात्रबारे धेरै कुरा गर्छौं’, १४ वर्षीय बालिका, अन्टारियो।
‘मलाई पढेर हाँस्न पाइने किताब मन पर्छ’, ६ वर्षीया बालिका, ब्रिटिस कोलम्बिया।
‘मलाई स्वैरकल्पनाका रोमाञ्चक कथाहरू पढ्न मन पर्छ’, १६ वर्षीया बालिका, क्युबेक।
‘किताबले हामीलाई हामीले चाहेर पनि पुग्न नसक्ने ठाउँमा पुर्याएर नयाँ कुरा देखाउँछ, सिकाउँछ, सोच्न वा मनन गर्न नसकिएको कुरामा दिमागलाई काम लगाउँछ र कुराहरू सिकाउँछ। हाम्रो दैनिक जीवनका सोचाइ र गराइभन्दा बाहिर लगेर हामीलाई धेरै कुरामा सक्षम बनाउँछ किताबले’, चार वर्षीय छोरोकी आमा, ओन्टारियो।
बच्चा अभिभावकको सहयोग र संलग्नताबिना आफैं पढ्न हम्मेसी अघि सर्दैन। कुन किताब पढ्ने, किताब कहाँबाट ल्याउने, किताबका कुरा कसरी बुझ्ने, अर्थलाई अनुभव र जीवनसँग जोडेर कसरी केलाउँदै पढ्ने जस्ता समस्या पनि हुन्छन् पढ्नुका। यस्ता कुरामा १० वर्षमुनिका बालबालिकालाई अभिभावक र शिक्षकको सहयोग चाहिन्छ भन्ने छ र त्यसैबमोजिम गरिन्छ यहाँ।
१० वर्षमुनिका बालबालिका एक्लै किताब पढ्नेभन्दा ठूला मान्छेसँग छलफल गरीगरी पढ्न बढी आनन्द लिन्छन् र यस्तो गर्दा उनीहरूमा पठन संस्कृति छिटो र प्रभावकारी ढंगले विकसित हुन्छ भन्ने विश्वास गरिन्छ। १० वर्ष काटेपछि बच्चाले आफू हरेक कुरामा आफैं सक्षम छु भन्ने आत्मनिर्भरतामा गर्व गर्न थाल्छ। ‘म एक्लै पढ्न सक्छु नि, बाबा ममी हजुर जानू आफ्नो काम गर्नू’ भन्न थालिहाल्छ त्यसपछि। चाहेको पनि त्यही हो।
अचेल नेपाली बालसाहित्यको सिर्जनामा उत्साहजनक काम हुन थालेको देखिँदै छ, यता परदेशबाट हेर्दा पनि। युवापुस्ताका लेखक, नाम चलेका लेखक बालकिताब लेख्न जुर्मुराएको देखिँदैछ। प्रकाशकहरू पनि ठूलाबडा, बूढापाकाका ‘खातापिता जिता जिन्दगी’ टाइपका आत्मकथाका ठेली छाप्नेबाहिर सोच्न र बालसाहित्यमा नजर लाउन थालेका जस्तो छ जुन अति नै उत्साह र खुसीको कुरा हो।
हुन त किताबको संख्या मात्रै बढाएर पनि हुँदैन होला। सर्वप्रथम, हाम्रा बालबालिकालाई स्कुले पुस्तकको एकोहोरो रटना नगरीकनै पनि विश्वस्तरको शिक्षा दिन र आर्जन गर्न सकिन्छ भन्ने हुनु पर्यो। अनि पो निस्किन्छ रमाइलोका लागि पढ्ने, आनन्दका लागि पढ्ने, व्यक्तित्व विकासका लागि पढ्ने फुर्सद हाम्रा नानीहरूलाई।
क्यानडाका स्कुलमा कक्षा ६ सम्मका बालबालिकाले पाठ्यक्रमका पुस्तक पढ्नु पर्दैन। शिक्षकलाई सन्दर्भ सामग्रीका रूपमा बनाइएका पाठ्यक्रममा आधारित पुस्तकबाट झिकेर, अरू खोजिमेली गरेर शिक्षकले दिनैपिच्छेका शिक्षण सामग्री बनाउने भएकाले पढाएको कुरा सम्झेर, बाँडिएका दुईचार पाने फोटोकपी पढेर, स्मार्ट बोर्डमा देखाइने भिडियो हेरेर, छलफल, समूहकार्य गरेर, नोट टिपेर, प्रश्न गरेर नै बच्चा जान्ने हुन्छन् र शिक्षकले प्रत्येक खण्डको अन्त्यमा लिने आधिकारिक जाँचमा राम्रो गर्छन्।
त्यसैले यहाँका बच्चाले पढ्ने भनेको पाठ्यक्रमबाहिरका ‘फिक्सन, ननफिक्सन’ किताब नै हो। कक्षा ६ माथि गएपछि भने होमवर्क र प्रोजेक्टवर्क गर्न तोकिएका किताब वा ई किताब स्कुलमा, घरमा अलिअलि गर्दै पढ्नुपर्ने हुन्छ जुन बोलीचालीको बुझाइ र भाषामा पढाइभित्र पर्दैन, गराइभित्र पर्छ।
हाम्रो स्कुले शिक्षा प्रणाली अझै तोकिएको किताब पढाउने र पढ्ने उही परम्परागत पारामै छ। त्यसबाट बाहिर आउन सम्भव नै देखिएको छैन अझै। हाम्रा बालबालिकाले पाठ्यक्रमका अनगिन्ती ‘झोलाभरि’ किताबको रटान नगरी न बाउआमा खुसी हुन्छन्, न नातागोताले पत्याउछन्, न त समाज र सिस्टमले नै स्वीकार गर्छ। त्यसो भएपछि पढ्नु भनेकै जीके रट्नु हो, सामाजिक शिक्षा कण्ठस्थ गर्नु हो, विज्ञान पानी पार्नु हो, गणितमा आँ गर्दा अलंकार पत्तो लाइसक्नु हो। अनि कति बेला पढ्ने हाम्रा नानीहरूले ? कसरी पठन संस्कृतिलाई जीवनशैली बनाउने उनीहरूले ?
‘ए पढ न पढ, कति खेलिरहेको, उफ्रिरहेको, फोन र टीभीमा टाँसिइरहेको ? पढ त लौ एक घण्टा’, हामी सामान्यतः यस्तै अमूर्त चाहना प्रकट गर्छौं ठूलो स्वरमा हाम्रा छोराछोरीको पठनपाठनबारे। पाठ्यक्रमका किताब पढिदिए र राम्रो मार्कसिट घर लिएर आए भने पुग्यो हामीलाई। तर, छोराछोरीले के पढ्ने ? मैले कति बालसाहित्यका पुस्तक किनेर ल्याइदिएको छु ? उसलाई पाठ्यक्रमका किताबबाहेक अरू के पढ्न मन छ ? सोधीखोजी कतिको गरेको छु ? ‘ल तिमीलाई मन परेका पाँचवटा किताब छान’ भनेर हामी कत्तिको पुस्तक पसल र पुस्तक मेलामा प्राथमिकताका साथ जान्छौं हाम्रा बालबालिकालाई लिएर ? यी प्रश्न अभिभावकतिर सोझ्याऊँ अहिलेलाई।
अभिभावक, लेखक, प्रकाशक, शिक्षक, शिक्षाप्रेमी, पत्रकारहरू— सानोबाट सुरु गरौं। थोरै बदल्ने र बदलिने योजनामा काम थालिहालौं आजैबाट, अगाडि उज्यालो आइहाल्छ।
@ghimire_Y