साख गुमाएको लिग

साख गुमाएको लिग

पोर्चुगल एवं युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शन ३५ वर्षमा पनि एकनासको छ । अर्जेन्टिना एवं स्पेनिस महारथी बार्सिलोनाका स्टार लियोनल मेसीको खेलले विश्वभरका करोडौं समर्थकलाई लोभ्याउँछ । रोनाल्डो र मेसी प्रतिनिधि मात्र हुन् । यी खेलाडीजस्तै स्टारको पथमा लम्किने फुटबलरको सूची विश्वमा लामो छ । यद्यपि यी खेलाडी त्यत्तिकै स्टार बनेका होइनन् । उनीहरूको स्टारडमपछाडि क्लब लिग फुटबलको ठूलो हात छ । फ्रान्सेली युवा स्ट्राइकर केलियन एमबाप्पे तथा ब्राजिलका नेमार जुनियरले क्लब फुटबलमा गरेको प्रदर्शनको जगमा राष्ट्रिय टोलीले सफलता पाएको यथार्थ हो । युरोपियन र अमेरिकी फुटबल लिगका कारण विश्व फुटबलमा पनि उनीहरूको सदाबहार राज छ । वास्तवमा लिग हरेक देशको फुटबल विकासको मेरुदण्ड हो ।

प्रत्येक देशको फुटबल स्तरलाई त्यहाँ सञ्चालन हुने घरेलु लिगले मापन गर्छ । विश्वकप र ओलम्पिकजस्ता ठूला खेलमा लिग फुटबल राम्रो भएको देश र त्यहाँकै खेलाडीको वर्चस्व रहन्छ । लिगमा सञ्चालन हुने खेलसँगै समर्थक र दर्शकको जमघटले पनि फुटबलको माहोल तताउँछ । त्यससँगै प्रायोजक र दर्शक गेटमनीले क्लब र सिंगो फुटबललाई बलियो बनाएको हुन्छ । युरोप र अमेरिकी देशहरूको सिको गर्दै छिमेकी देश चीन र भारतले फुटबलमा ठूलो लगानी गर्न थालेका छन् । विश्वका अनुभवी र चल्तीका खेलाडीको पछिल्लो गन्तव्य चीन र भारत बनेको छ । नेपालमा भने घरेलु लिग त्यति जम्न सकेको छैन । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)भित्र पदाधिकारीको आपसी लडाइँका कारण लिग फुटबल दिनप्रतिदिन खस्किएको छ ।

लिगले नियमितता नपाउनु अर्को समस्या हो । भूकम्प र एन्फाको आन्तरिक कलहका कारण रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग गत वर्षदेखि पुनः सञ्चालनमा आयो । तर एन्फाले गत वर्ष रेलिगेसन (घटुवा) बिनाको लिग सञ्चालन गर्दा लिगको स्तर खस्किएको थियो । यसपटक पनि एन्फाले एउटा मात्र क्लबलाई रेलिगेसन गर्ने प्रावधान राखेको छ । लिगमा घटुवा र बढुवाको प्रावधानलाई बलियो रूपमा अवलम्बन नगर्दा क्लबहरूले राम्रा र चल्तीका खेलाडी अनुबन्धनमा चासो देखाएका छैनन् । भूकम्पपछि जीर्ण बनेको दशरथ रंगशाला १३औं सागका लागि तयार भयो । दर्शकका लागि व्यवस्थित रंगशाला बने पनि यसपटकको लिगले विगतको जस्तो दर्शक र समर्थकलाई तान्न सकेको छैन । दर्शक नआएपछि एन्फाले दर्शकलाई आकर्षित गर्न ‘लक्की ड्र’मार्फत राष्ट्रि«य टोलीको जर्सी, दुईजना भाग्यमानी दर्शकलाई राष्ट्रिय टोलीसँगै विदेश भ्रमणको अफरलगायत विभिन्न उपहारको व्यवस्था गरेको छ ।

यसअघि मनाङ मस्र्याङ्दी, थ्रीस्टार, आर्मी र पुलिस क्लबबीचको खेल हुँदा दशरथ रंगशालाको प्यारापिट भरिने गथ्र्यो । समर्थकको हुटिङले खेलको माहोल नै छुट्टै हुन्थ्यो । तर यसपटक लिगको छैटौं चरणका खेल सकिँदासम्म दर्शकको उपस्थिति शून्य नै छ । १५ हजार दर्शक क्षमताको दशरथ रंगशालाको प्यारापिट दैनिक सुनसान देखिन्छ । नेपालमा २०११ सालदेखि सहिद स्मारक लिग सञ्चालन हुन थालेको हो । बर्सेनि हुनुपर्ने लिगले अहिलेसम्म ४३ संस्करण मात्र पूरा गरेको छ । विभिन्न बहानामा रोकिँदै आएको लिगको ढाँचामा समेत फेरबदल हुँदै आएको छ । त्यसले लिगको साख र चार्म घटेको मात्र होइन, समर्थकको साथ पनि गुमाएको छ ।

अनुशासनहीन खेलाडी

नेपाली फुटबलले चाहेजस्तो नतिजा ल्याउन नसक्नुको अर्को कारण हो, अनुशासनहीन खेलाडी । लिग फुटबल होस् या राष्ट्रि«य टोलीकै प्रदर्शनका क्रममा । खेलाडीले मैदानमा अनुशासनहीन काम गर्दै आएका छन् । केही वर्षअघि मात्र राष्ट्रि«य टोलीका कप्तानसहित ६ जना खेलाडीमाथि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल मिलेमतो (म्याच फिक्सिङ) गरेको आरोपमा आजीवन प्रतिबन्ध गरिएको घटना ताजै छ । त्यस घटनाबाट अझै नेपाली फुटबलर चनाखो हुन सकेका छैनन् । लिग फुटबलदेखि अन्तर्राष्ट्रिय मैदानमा खेल मिलेमतोको गुन्जायस अझै हट्न सकेको छैन । डेढ महिनाअघि मात्र भुटानमा कुवेतसँग विश्वकप छनोटको खेल खेल्न जानुअघि राष्ट्रि«य टोलीका रोजाइका स्ट्राइकर विमल घर्तीमगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ ठमेल र दरबारमार्गका डिस्को र नाइट क्लब गए । नाइट क्लबमा झगडा गरेर चोटपटक लागेका उनीहरूलाई तत्काल एन्फाले राष्ट्रि«य टोलीबाट बर्खास्त गर्‍यो । त्यसपछि एन्फा अनुशासन समितिले यी खेलाडीलाई जनही ५० हजार रुपैयाँसहित ४५ र ९० दिन प्रतिबन्धको कारबाहीसमेत गर्‍यो ।

पछि एन्फाको अपिल कमिटीले खेलाडीको कारबाहीमा चार हप्ता सहुलियत दिएको थियो । अञ्जन कारबाही भोगेर लिगमा फर्किएका छन् । विमलको कारबाही प्रक्रिया अझै सकिएको छैन । मनाङबाट खेलिरहेका अञ्जन मैदानमा फर्किएकै दिनमा रंगशालामा फेरि अर्को ताण्डव मच्चियो । लिगको उपाधि दाबेदार मनाङ र मछिन्द्रको खेलपछि दुवै टोलीका खेलाडी एकआपसमा झगडामा उत्रिए । क्लबका पदाधिकारीले समेत मैदानमा झगडा गर्दा एन्फाले फेरि दुवै पक्षका ६ जना खेलाडीलाई पाँचदेखि दुई खेलसम्मको प्रतिबन्ध लगायो । झगडामा संलग्न मनाङका एक पदाधिकारीलाई लिगभर प्रतिबन्ध गरिएको छ । दुवै क्लबलाई ५०-५० हजार जरिवाना पनि गरिएको छ । रेफ्रीको निर्णय र हारेपछि एकअर्कोलाई दोषारोपण गर्नमा क्लब र खेलाडी तल्लीन छन् । खेलमा मिलेमतो, मैदानमा झगडा र रेफ्रीको निर्णयमा असन्तुष्टिका घटनाले नेपाली फुटबल थप लज्जित बन्दै गएको छ ।

 बढ्दो लगानी, घट्दो पुरस्कार

एन्फा र क्लबले लिगको लगानी बढाए पनि पुरस्कार भने घट्दै गएको छ । भूकम्पअघि सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेताको पुरस्कार ७५ लाखदेखि एक करोड रुपैयाँसम्म थियो । गत वर्षदेखि एन्फाले लिगको विजेतालाई ५० लाख रुपैयाँ दिन थालेको हो । क्लबको लगानी बढ्ने र पुरस्कार राशि घट्ने क्रमले पनि क्लबहरू राम्रा खेलाडी अनुबन्ध गर्नमा आनाकानी गरिरहेका छन् । लिगमा विदेशी खेलाडीको प्रदर्शन पनि सोचेजस्तो छैन । नेपाली फुटबलका लिजेन्ट एवं एनआरटी क्लबका प्रशिक्षक राजुकाजी शाक्य एन्फाले लिगका लागि पर्याप्त गृहकार्य नगरेकाले समस्या भएको बताउँछन् ।

‘लिगका खेल सुरु भइसक्यो । क्लबहरूले खेलाडी अनुबन्ध गरेकै थिएनन् । क्लबहरू लिग हुन्छ वा हुन्न भन्ने दुविधामै थिए । कम्तीमा तीन महिना अघिदेखि तयारी गर्ने हो भने मैदानमा खेलाडीको प्रदर्शन राम्रो हुन्छ । राम्रो प्रदर्शनले दर्शकलाई आकर्षित गर्ने र फुटबलको माहोल तताउने गर्छ’, शाक्य भन्छन् । लिगमा प्रत्येक क्लबले चारजना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । तीमध्ये एकजना दक्षिण एसियाली (सार्क) देशको खेलाडी अनिवार्य गरिएको छ । लिगमा सहभागी क्बबले यसपटक अफ्रिकी देश ब्राजिल र भारतका खेलाडीलाई टोलीमा राखेका छन् । विभागीय क्लब त्रिभुवन आर्मी, पुलिस र एपीएफलाई विदेशी खेलाडी राख्न पाउने सुविधा छैन ।

लिगमा प्रत्येक क्लबले ८० लाखदेखि डेढ करोड रुपैयाँसम्म लगानी गरेका छन् । एन्फाले ६ करोड ३० लाख रुपैयाँ लगानीमा आयोजना गरेको लिगको विजेता टोलीले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौंले सात लाख र छैटौं स्थानमा रहने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलरक्षक र प्रशिक्षकको हातमा जनही एक लाख ५० हजार रुपैयाँ पर्नेछ । यो विगतको भन्दा कम पुरस्कार हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.