हामी आमा-छोरीको न्यायिक लडाइँ

हामी आमा-छोरीको न्यायिक लडाइँ

मेरी स्नेहमयी आमा,

मेरो ढोग स्वीकार गर्नुहोला।

मेरो करुण पुकार सुन्न तिमी सशरीर त छैनौ, तर तिम्रो उपस्थिति मैले सधैं महसुस गरेकी छु। कसैले विश्वास गरोस् या नगरोस्, मेरो आत्मा साक्षी छ। तर दुःख भनूँ या सुख भनूँ, मैले तिमीलाई दागबत्ती दिएँ। पोखराको सेती नदीमा तिम्रो भष्म शरीरको खरानी बगाएँ। विवाहित छोरीले दागबत्ती दिन हुन्न भन्ने पुरानो मान्यताविरुद्ध उभिएँ। २०३२ वैशाख १३ गते तिमीलाई मैले आँसु बगाउँदै विसर्जन गरेँ।

तिमी बित्नुभन्दा एक दिनअघि, बेलुकी तिम्रो आँखाबाट आँसु बगेको थियो। त्यो दृश्य सम्झँदा अहिले पनि भक्कानो छोडेर रुन मन लाग्छ। मलाई हेक्का छ, छोरीलाई एक्ली छाडेर जानुपर्ने भएपछि तिमी दुःखी भएकी थियौ। आमा, अहिले पनि त तिमीले बिर्सेकी छैनौ, मलाई पक्का थाहा छ।

आमा, मैले कति सताएँ, मलाई ज्ञान छैन। नौ महिनामा जन्मिनुपर्ने मान्यतालाई तोड्दै म त एघार महिनामा जन्मिएछु। मेरो बुवा बितेको १३ दिनको साँझमा म जन्मेँ रे, होइन ? तिमीले मलाई बताएकी थियौ।

धेरै आफन्तले नाक खुम्च्याए रे।

‘छोरा जन्मेको भए भविष्यमा सहारा त हुन्थ्यो, यिनी त बाबु-टोकुवा छोरी पो जन्मिछ, अभागिनी !’

वरपरका समाजको भनाइले तिमीलाई कति कचेट्यो होला ?

छोराले स्वर्ग पुर्‍याउने, कमाएर खुवाउने संस्कार बोकेको समाजले छोरीलाई आमाको भरोसा नठान्नु स्वाभाविकै हो। यो पुरुषप्रधान समाजले भरिएको देश हो। आमा, तिमीले पनि कहीँ मलाई अलच्छिना त ठानिनौ ? अहँ, म विश्वास गर्न सक्तिनँ। अन्यथा तिमीले मलाई माया-ममताले पोस्ने थिइनौ होला।

हो, अरूबाटै मैले सुनेकी थिएँ— बाबु-टोकुवा भन्ने समाजलाई तिमीले सटीक जवाफ दिएकी थियौ रे।

‘मेरो लोग्ने रक्सीको खोलो बगाएर पिउने बानीले बितेका हुन्, त्यसमा पेटमा हुर्किरहेको अबोध बच्चीको के दोष ? छोरा होस् या छोरी, म जन्मदात्री आमा हुँ। कुनै पनि सन्तान बाबु-टोकुवा वा अलच्छिना हुँदैन।’

तिम्रो जवाफ सुनेर सबैको मुखमा बुझो लागेको थियो रे। हुन त तिमी हिन्दू धर्मावलम्बी संस्कारी महिला थियौ। तर, त्यस बेलादेखि नै तिमी प्रगतिशील विचारधाराकी रहिछौ। म भाग्यमानी रहिछु, तिमीजस्ती आमाबाट जन्मिने अवसर पाएँ।

अट्ठाइस वर्षको उमेरमा विधवा हुनुको दुर्भाग्य त थियो नै, त्यसमा पनि सौतेनी वातावरणमा दुई अबोध बालिकालाई हुर्काउन कम संघर्ष गर्नु परेन होला।

नारी स्वभावतः सहनशील हन्छ नै, यो प्राकृतिक देन हो। त्यसमा पनि आमा हुनुको कमजोरी हुन्छ। कुनै पनि जीवात्मा आफ्नो सन्तानप्रति संवेदनशील हुन्छ नै, यो तथ्य नकार्न सकिँदैन। मध्य जवानीमा तिमीले चाहेकी भए हामी नाबालकलाई त्यागेर नयाँ जीवन अँगाल्न सक्थ्यौ होला, तर तिमीले त्यो बाटो रोजिनौ। नाबालक छोरीहरूको असीम मायाले गर्दा नितान्त एक्लो, संघर्षमय जीवन रोज्यौ। धन्य आमा, तिमी बलिदानको प्रतिरूप हौ।

म झल्झली सम्झन्छु, त्यस बेलाको एउटा लप्सीको घटना। त्यस घटनाको छाप मेरो हृदयमा अहिलेसम्म अंकित छ। त्यस बेला म चार वर्षकी थिएँ कि ? किटेर भन्न सक्तिनँ। हाम्रा सौतेनी दाइहरूसमेत एउटै भान्छामा भात खाइरहेका थियौं। मेरी दिदीले भान्छे बाहुनीलाई भनी, ‘कालो दालमा हालेको लप्सी मलाई पनि दिनुस् बज्यै, दाइलाई दिएको जस्तै।’

साहिँला दाइले एक्कासि झपार्‍यो, ‘हामीले खाएको जस्तै तैंले खान पाउँछस् ? ’ म वाल्ल परेर हेरिरहेँ। दिदी रुन थाली।

भान्छाबाहिर बरन्डामा उभिरहेकी आमा, तिमीलाई सायद असह्य भयो होला। एउटा लप्सीले तिमीभित्र गुम्सिएको सहनशक्तिलाई एक्कासि विस्फोट गरायो।

‘तिमीहरूले खाएको जस्तो मेरी छोरीहरूले किन खान नपाउने ? ’ रिसले तिमी थरथर काम्दै थियौ। त्यस दिनदेखि हाम्रो सँगोलको भान्छा टुक्रियो। साहिँला बुवाले जेठा बुवाकहाँ सो घटना उल्लेख गरेछन्। भोलिपल्टदखि रासन ठेकी हाम्रो भान्सा बेग्लै भएछ।

म नादानलाई के थाहा ? सदाझैं पुरानै भान्छामा भात खान गइछु।

‘किन आएकी माथि, तिमीहरूलाई भात छैन यहाँ।’ सौतेनी दिदीको गालीले म रुँदै आएँ तल। त्यस घटनाको छाप आजसम्म मेरो हृदयबाट मेटिएको छैन। सायद नमरुन्जेल मेटिँदैन होला।

त्यस बखत म सानै थिएँ। जब म हुर्कंदै गएँ, तब बुझ्न थालेँ— ल्याइते र ब्याइते सौतेनीको मामला के रहेछ। मेरा बाबुका चार दाजुभाइलाई खान्दानी भन्दो रहेछ। मध्यम वर्गभन्दा माथिको धनाढ्य भन्नुपर्‍यो। खान्दानी परिवार टुक्रियो खानामा असमानताका कारण। तिमीले खानामा असमानताविरुद्ध विद्रोह गरेकै कारण।

आमा, तिमी कोठाको एक कुनामा बसी रुँदै थियौ। मलाई सम्झना छ, तिम्रो आँखाको आँसु मेरा साना हातले पुछेका थिए। वास्तवमा दूध चुस्न हतार थियो मलाई।

मेरा जेठाबाले हामी तीनका लागि रासन ठेकिदिएछन्। म तिमीलाई मनभित्र गुम्सिएका दुःखका टुक्रा टुक्रा कथा सुनाउन बाध्य पार्थें। म तिम्रो विगत सुन्न तत्पर रहन्थेँ सधैं।

तिमीले आफ्ना छोरीहरूलाई पनि अरू केटाहरूलाई जस्तै पौष्टिक आहार खुवाउन चाहेकी थियौ तर ठेक्काको रासनको भरमा चाहेजस्तो पौष्टिक आहार खुवाउन असमर्थ रह्यौ। यो तिमीले नै सुनाएकी थियौ। तिम्रा प्रत्येक दुःखद क्षणका कथा र शब्द मेरो मस्तिष्कले जम्मा गरिराखेको तिमीले थाहै पाएनौ।

पौष्टिक आहारको अभावले म रुन्चे रोगले ग्रस्त भइछु। खास समस्या र सही तरिका थाहा नपाएरै होला, माघ महिनाको चिसो बिहानै कागले ननाघेको धाराको पानीमा डोकोले छोपी मलाई नुहाइदियौ। त्यही कठ्यांग्रिने गरी जाडो महिनाको चिसो पानीको नुहाइले म अहिलेसम्म चिसो खप्न सक्तिनँ।

पाइलैपिछे ल्याइते र ब्याइते स्तरको भिन्नताले तिमीलाई पछ्याई नै रह्यो, तर तिमी दुःखका आँसु लुकाउनु ज्यादै सिपालु थियौ। तिमीलाई थाहा थियो, तिम्रो आँसु र सुस्केरा कहीँ मेरो अघि बढ्ने प्रयासमा बाधा नबनून्। तिम्रो सुझबुझ सराहनीय थियो, आमा।

मटान तलाको करिब करिब अँध्यारा दुई कोठा हामीलाई बस्न दिइएको थियो। जेठा बाबु र साहिँला बाबुको दयामा पाइएको भागबण्डा थियो त्यो। असमान र अन्यायपूर्ण थियो ल्याइते र ब्याइतेको कानुन र परम्परा। तिमीसँग अन्याय सहनुबाहेक अरू उपाय पनि त थिएन।

म तिम्रो दूध चुस्नलाई रुने कराउने गर्थें। त्यसैले म अबुझलाई एक दिन भर्‍याङको सिरानमा बसी दिदीले सम्झाएकी थिइन्, ‘हेर बहिनी, आमालाई दुःख नदेऊ है। म भात पकाउँछु,, तिमी बाहिर गई तरकारी किनेर ल्याऊ है। आमालाई दुःख दिनुहुन्न बुझ्यौ ? ’

मलाई सम्झाउने वाक्य तथा भर्‍याङको सिरानमा सुम्सुम्याउने नरम हातको स्पर्श अहिलेसम्म मेरो मानसपटलमा सञ्चित छ, आमा। सायद त्यतिखेर म चार वर्षकी थिएँ क्यार।

आमा, तिम्रो दूध चुस्नुजस्तो आनन्द मेरा लागि अरू केही थिएन। दूधको मुन्टोबाट दूध आउँथ्यो वा थिएन, त्यो मलाई थाहा थिएन। छोरी रोएको सुन्नुभन्दा दूध चुसाउनुबाहेक अरू विकल्प पनि त थिएन तिमीसँग। तिम्रो रगतले बनेको दूधले मलाई पोषित गर्‍यौ, त्यसैले आजसम्म ममा रोग निरोधक क्षमता छ भन्ने मलाई विश्वास छ।

पुरानो हिन्दू धर्मको संस्कारमा हुर्केकी भए पनि तिम्रो प्रगतिशील विचारधाराको म कायल छु। तिमी नारी शिक्षाको पक्षपाती थियौ, नारीहरूमाथि हुने अन्यायको विरोधी थियौ। छोरीबेटीहरूलाई शिक्षित बनाइयो भने कसैले अन्याय गर्न सक्दैन भन्ने तिम्रो धारणा प्रमाणित भइसकेको छ। छोरीहरूलाई शिक्षित बनाउनुपर्छ भन्ने तिम्रो अठोट सराहनीय छ।

छोरीहरूलाई विद्यालय पठाउने तिम्रो औकात थिएन। दिदीलाई छिमेकी बाहुन बाजेकहाँ संस्कृत पढाउन पठायौ। दिदी विलक्षण प्रतिभाशाली थिइन्। आठ वर्षकै उमेरमा संस्कृतका श्लोक भट्याउँदा तिमीले खुसीले दिदीलाई अँगालेकी थियौ। दिदीलाई अँगाल्दा मलाई ईष्र्या लागेको थियो क्यारे, त्यसैले मैले दिदीलाई घचेटेकी थिएँ। कस्तो बालसुलभ ईष्र्या है। दिदीको सरल स्वभाव र बुझ्झकी मिजासको बखान गर्दा तिम्रो अनुहार धपक्क बल्थ्यो। त्यही छोरीको मृत्युले तिमीलाई गहिरो चोट लाग्यो, निको नै नहुने घाउ।

दिदी र सौतेनी दाजुको जेठो छोरा एकैपल्ट मेनेन्जाइटिस रोगले ग्रस्त भएका थिए। सौतेनी दाजुले आफ्नो छोराको उपचार डाक्टरबाट गरायो तर मेरी दिदीले कुनै उपचार पाइन। डाक्टर देखाउन आमाले बिन्तीभाउ गरेकी थिइन् र तर वास्तै गरिएन रे, होइन ? दाजुको छोरा अहिलेसम्म जीवित छ, तर मेरी दिदी उपचारबिना यस संसारबाट बिदा भई। तिमीले बारम्बार यो दुःखद घटना मलाई सुनाउँथ्यौ।

दिदीको अमानवीय निधनको कुरा सुन्दा असह्य वेदनाले छटपटाउँछु र मनमा विद्रोह जागेर आउँछ।

‘म नै अभागिनी, मैले मेरी छोरीलाई बचाउन सकिनँ।’ तिमी आपैंm अभागी बन्यौ, आपैंmलाई दोषी ठहर्‍यायौ, किन ? आमा, त्यो भाग्य-अभाग्यको कुरै होइन, अत्याचार थियो, सौता हुनुको दुर्भाग्य। स्त्री र रक्सी मेरो जन्मदाता बाबुको कमजोरीको सजाय हामी आमाछोरीले ब्यहोर्न बाध्य भयौं, कसले बुझ्ने ?

आमा, मेरो पहिलो गुरु तिमी नै थियौ। तिमी आपैंm नेपाली अक्षर पढ्न लेख्न जान्ने हुनाले पाँच वर्षपछि श्रीपञ्चमीको दिन मलाई पहिलो अक्षर पढ्न र लेख्न सिकाएकी थियौ।

आमा, अहिले पनि तिमीलाई मेरो चिन्ता भइरहने रहेछ, त्यसैले समय-समयमा तिमी सपनामा आउँछौ, जब म अत्यन्तै संकटमा हुन्छु। मेरो अहिलेको अवस्था देखेर तिमी अवश्य पनि आश्वस्त भयौ होली। तिमीले तिम्रो एक मात्र छोरीलाई शिक्षित र सचेत बनाई निर्दयी समाजको अगाडि ठाडो शिर गरी उभिन सक्ने बनायौ, सायद ढुंगा र फलामभन्दा नि दह्रो। तिम्रो संंकल्पमा म खरो उत्रन सफल भएँ। यो रातदिनको तिम्रो परि श्रमको फल हो, तिम्रो योगदान हो। तिम्रो संघर्ष र संकल्पको उपज हुँ म। हेरिराखेकी छौ, आमा ?

के सौतेनी नाता भनेको यत्ति साह्रो मानवताहीन हँुदो रहेछ र ? अहिलेसम्म मैले बुझ्न सकेकी छैन। मनमा बाल्यकालका यति धेरै चोट छन् आमा, तिमीले त लुकाई आँसुले पखाल्ने गर्‍यौ, मेरो त आँसु पनि झर्दैन। अब कुनै पनि दुःखद चोटले म विचलित हुँदिनँ, मानौं हृदय नै नभएजस्तो।

म अब तीतो सत्यले भरिएका कथा यहीँ टुंग्याउन चाहन्छु। तिमीले हरपल मलाई तिखार्न कञ्जुस्याइँ गरिनौ। त्यसकै बलमा सम्पत्तिको र छोरीको हकअधिकारको निमित्त मैले बीस वर्षसम्म अदालत धाएँ। जीर्ण आर्थिक अवस्थामा भोकभोकै परीक्षा दिँदै लडाइँ लड्ने क्रममा जति पटक अदालत धाउन परे पनि धाउँछु र छोरीको सम्पत्ति अधिकार लिएरै छोडछु भन्ने प्रतिज्ञा तिम्रोअगाडि गरेकी थिएँ। जब-जब पैmसला हुने दिन आउँथ्यो, तिमी अदृश्य भगवान्सामु हात जोडी प्रार्थना गथ्र्यौ, हो कि होइन ? नढाँटीकन भन त।

हो, बीस वर्षपछि सर्वोच्च अदालतबाट मेरो पक्षमा पैmसला भयो। सायद सुलभ थियो, महँगो भएको थिएन न्याय र विवेक। मैले मुद्दा जितेकै कारण मात्र औंल्याएको होइन, अदालत धाउँदाको अनुभव पनि पोखेकी हुँ। सम्पत्तिमा अधिकारको लडाइँ लड्दा लड्दै थाहा पाएँ— कानुन पढ्नु पनि अत्यावश्यक रहेछ। त्यसैले मैले बीएल पनि पास गरेँ।

आमा, असमान कानुनबाट पीडित अहिलाहरू अहिलेसम्म न्यायका लागि संघर्ष गर्दैछन्। खोइ ती असमान कानुन परिमार्जन भएका ? कतिपय मुलुकी ऐनमा त्यस्ता महल छन् जसमा महिलाका हकअधिकारलाई पुरुषको मुठ्ठीभित्र संकुचित पारिएको छ। गाउँघरका महिला पुर्पुरोमा हात राखेर आफ्नो कर्मको फल भनेर पिल्सिरहेकै छन्। उफ् आमा, तिमीले तीन सय रुपैयाँले घर धानेको देश यही होइन र ? यही देशमा आज धनका लागि नांगो नाच जारी छ। विदेशिएका छन् युवा, कुपोषणले खंग्रिएका छन् गरिबका बालबच्चा। भ्रष्टाचार र अन्यायको जालोबाट कहिले मुक्त हुने हो देश। तिमीलाई बताउन धेरै बाँकी छ, भो नकोट्याऊँ।

एउटा कुराले अझै पनि मलाई घचघच्याइरहन्छ। छोरा वा छोरी जन्मिने शारीरिक प्रक्रियामा के फरक छ ? एक समान होइन र ? शुक्राणुको फरक प्राकृतिक कुरा हो। कसैले छोरा नै जन्माउँछु भनेर दानधर्म गर्दैमा छोरा जन्मिन्छ र ? न छोरी जन्माउँछु भन्दैमा हुन्छ। छोराछोरी जन्मने प्रक्रिया समान नै हो भने छोरीप्रति असमान व्यवहार किन गरिन्छ ? छोराले स्वर्ग पुर्‍याउने धारणा कपोलकल्पित हो। स्वर्ग कहाँ छ, नरक कहाँ छ— धार्मिक ग्रन्थका व्याख्या काल्पनिक छन्, यी तथ्यपरक कदापि छैनन्, म ठोकेर भन्न सक्छु।

आमा, तिमीले छोरा भए हुन्थ्यो भन्ने चाहना राखेकी थियौ भन्ने अनुभव कहिल्यै गरिनँ। धार्मिक ग्रन्थहरू त तिमीले पनि धेरै सुनेकी थियौ, तर तिमी तिनका पाठबाट कसरी अछूतो राख्न सक्यौ ? धन्य हो, तिम्रो निखारिएको विचारधारा। फेरि-फेरि कुराकानी गर्दै गरौंला, अहिले हाम्रो कथाव्यथालाई यहीँ वि श्राम दिएँ है।

तिमीले मेरो अडिग वर्चस्व मानेकी छौ, होइन त ? तिम्रो नातिको छोरा पनातिको परिवारसमेत परिवार विदेशिएका छन्। आफ्mू जन्मेको देशमा जीविकोपार्जन पनि नहुनाले, कुनै राजनीतिक पक्षधरता नभएकाले सुविधा पनि नपाउने हुनाले युवाहरू बाँच्न विदेशिने लहर चलेको तथ्य तिमीलाई अवगत गराउन चाहन्छु। देशबाट न्याय पलायन भएजस्तै युवाहरू पलायन भइरहेकै छन्। आफ्नो देशमा गरिबी भोगिरहेका परिवारहरूलाई सम्झँदै सस्तो श्रम बेचिरहेका छन्। कतिपयले कष्टपूर्ण मृत्युवरण गरिरहेका छन्। के ती युवाको तथ्यांक छ, यो देशका नाइकेहरूसँग ?

धन्दा नमान, म एक्लै स्वतन्त्र रूपमा आपूmखुसी बाँचिरहेकी छ। उकाली लागेको मेरो उमेरले तिम्रो र मेरो भेट्ने बेला क्रमशः नजिकिँदै छ, आमा, पर्खिनू है।

मायालु छोरी,

सत्यभामा

माथेमा नेपालकी प्रथम महिला न्यायाधीश हुन्। आठ दशक पार गरिसक्दा पनि उनी लेखनमा सक्रिय छिन्। उनी मूलतः नेपालभाषामा लेख्छिन्, भाषा अभियन्ता पनि हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.