तल्लो मोदीको उत्पादन फागुनदेखि
कुश्मा : पर्वतमा निर्माणधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनाले फागुन पहिलो सातादेखि उत्पादन थाल्ने भएको छ। गत बैशाखमै उत्पादनका लागि परीक्षण गरिए पनि सुरुङबाट पानी चुहिएपछि रोकिएको थियो। झण्डै १० महिनापछि पुनः परीक्षणसहित नियमित उत्पादन थाल्ने तयारी गरिएको आयोजनाले जनाएको छ।
बैशाखमा टनेलमा देखिएको समस्याका कारण परीक्षण उत्पादन रोकिएको थियो। अब फागुन पहिलो सातादेखि नियमित उत्पादन हुनेगरि मर्मतको काम अन्तिम चरणमा पुर्याइएको आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेले बताए। निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ।
पहिलो चरणमा बैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएको थियो। पहिलो चरणमा मर्मतको काम सकेपछि कात्तिक १० गते परीक्षण गर्दा पनि टनेलमा समस्या देखिएको थियो। आयोजनाका अनुसार अडिट २ को ५ सय मिटर भित्रको टनेलमा पानी चुहिने समस्या देखिएको थियो। कडा चट्टान भएको क्षेत्र मानिए पनि चट्टानमा छिद्र रहेका कारण पानी चुहिने समस्या देखिएको हो। चट्टानमा रहेका छिद्रहरुमा ग्राउन्डिङ गर्ने काम भइरहेको बेलवासेले बताए।
‘अब एक महिनामा मर्मत सकेर परीक्षण उत्पादन थाल्ने लक्ष्य राखेका छौं’, उनले भने। पानी चुहिने समस्या सानो भए पनि मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्डमा पर्ने भएका कारण पनि भविष्यमा कुनै जोखिम नहोस भनेर सुरुङमा कंक्रिटिङ र ग्राउन्डिङ गर्ने काम भएको उनको भनाइ छ।
कुस्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म ४ हजार २ सय मिटर लामो टनेल खनिएको छ। साउथ एसिएन इन्फास्टक्चर लिमिटेडले सुरुङ निर्माणको काम गरेको थियो। पावर हाउसदेखि प्रसारण लाइनमा विद्युत् पठाउने तार छोटो काटिँदा पनि निर्माण कार्यमा ढिलाइ भएको हो।
परादीस्थित पावर हाउस नजिकैबाट मोदीको पारिपट्टी रहेको प्रसारण लाइनको टावरमा पठाउने विद्युत्को तार करिब ७ मिटर नपुग्दा पनि ढिलाइ हुन पुगेको थियो। आयोजनाले तारको दूरी नाप्ने इन्जिनियरको सानो कमजोरीले पनि लामो समय काम रोकिएको थियो।
२०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो। आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरै पटक उत्पादन मिति सारेको थियो। अहिलेसम्म हेडवक्र्स, पावर हाउस, ट्रान्समिसन लाइनलगायत सिभिल र हाइड्रोमेकानिकल सबै काम सम्पन्न भएका छन्। आयोजनाबाट उत्पादित विद्युत् पातीचौर स्थित १३२ केभी सवस्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जोडिने छ।
प्रतिक्रिया दिनुहोस !