५० हजार घरमध्ये ९० प्रतिशत निर्माण सकियो
गोरखा : भारत सरकारको सहयोगमा निर्माण हुने भनिएको भूकम्प पीडितको ५० हजार घरमध्ये ९० प्रतिशत घर निर्माण सम्पन्न भएको छ। गोरखा र नुवाकोटमा निर्माण हुने भनिएको ५० हजार घरमध्ये ४५ हजार एकसय ८८ वटा घर निर्माण सम्पन्न भएको नेपाल आवास पुनर्निर्माण परियोजनाले जनाएको छ। ‘५० हजार घरमध्ये गोरखामा २६ हजार नौ सय १२ र नुवाकोटमा २३ हजार ८८ घरधुरी निर्माण गर्ने योजना हो’, परियोजनाका गोरखा प्रमुख राम सापकोटाले भने, ‘गोरखामा २४ हजार दुई सय ८४ घर निर्माण सम्पन्न भएको छ भने नुवाकोटमा २० हजार नौ सय चार वटा निर्माण भइसकेका छन्।’
भूकम्पपछि आयोजना गरिएको सहयोगदाताको सम्मेलनपछि भारत सरकारले निजी आवास पुनर्निर्माणका लागि १५ अर्ब ८७ करोड सहयोग गरेको थियो। जसमध्ये घर पुनर्निर्माणतर्फ १५ अर्ब र ८७ करोड रुपैयाँ बराबरको प्राविधिक सहयोग गरिरहेको छ। ‘भारत सरकारले गोरखा र नुवाकोटका ५० हजार लाभग्राहीको निजी आवास पुनर्निर्माणका लागि तीन लाख रुपैयाँका दरले १५ अर्ब रुपैयाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सहयोग प्रदान गरेको छ भने ८७ करोड रुपैयाँचाहिँ सोही परियोजनामार्फत प्राविधिक सहयोग गरेको छ’, यूएनडीपीका वरिष्ठ कार्यक्रम अधिकृत केदार ढुंगानाले भने, ‘सन् २०२१ मार्चसम्ममा सम्पन्न गर्ने गरी २०१८ मार्चदेखि सुरु गरिएको भारत सरकारको सहयोग कार्यक्रम १५ महिना बाँकी छँदै ९० प्रतिशत काम सम्पन्न भइसकेको छ।’
परियोजनाले जिम्मा लिएकोमध्ये गोरखामा एक हजार दुईसय ५८ घर निर्माणाधीन छन्। एक हजार दुईसय ४९ जनाको घर निर्माण सुरु भएको छैन।
गोरखाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका, अजिरकोट गाउँपालिका, आरुघाट गाउँपालिका, सिरानचोक गाउँपालिका र सहिदलखन गाउँपालिकाका ४२ वटा वडामा र नुवाकोटको दुई नगरपालिका र आठवटा गाउँपालिकामा भारत सरकारको सहयोगमा भूकम्पपीडितको घर निर्माण भएका हुन्। भूकम्पले भत्किएका घर पुनर्निर्माणका लागि परियोजनाले ४ हजार २ सय ९० जनालाई डकर्मी तालिम दिएर पुनर्निर्माणमा खटाएको छ। उनीहरूमध्ये दुई सय ४० महिलालाई दक्ष डकर्मी बनाएको जनाइएको छ।
‘हामीले सामाजिक सहजीकरण, प्रशासनिक सहजीकरण, प्राविधिक सहजीकरणको काम पनि गरिरहेका छौं’, परियोजनाका जिल्ला संयोजक सापकोटाले भने, ‘किस्ता निकासाका लागि टोल, वडा र पालिकास्तरमा भेला गर्ने, पुनर्निर्माणका लागि समुदाय परिचालन गर्ने, संकटासन्न घरधनीलाई सहयोगार्थ स्थानीय जनशक्ति र सामग्री परिचालन गर्ने, गुनासोको समाधान र त्यसको सुनिश्चितता गर्नेजस्ता काममा सहजीकरण गरेका छौं।’ समयमै घर निरीक्षणका लागि प्राविधिकसँग समन्वय गर्ने, निरीक्षण सकिएका घरधनीको फाराम भर्न सहयोग गर्ने तथा फाइल निश्चित स्थानमा पुगेको सुनिश्चितता गर्ने, जिल्लास्तरीय आयोजना कार्यान्वयन निकायमा थप जनशक्ति राखी किस्ता निकासा प्रक्रियालाई गति दिने, संकटासन्न घरधनीका लागि घुम्ती कोष स्थापनाका लागि गाउँपालिकासँग समन्वय गर्ने, बैंक, जग्गासम्बन्धी समस्या समाधानका लागि सहजीकरण गर्ने काम पनि गरेको उनले बताए।
भारत सरकारद्वारा सञ्चालित परियोजनाले घर निर्माणको योजना बनाउन, बजेट निर्धारण गर्न र सामग्री छनोटका लागि प्राविधिक सहयोग दिने गरेको छ। घरको निःशुल्क नक्सा बनाउन र नक्सा पास प्रक्रियामा सहजीकरण गर्ने, घरधनी र डकर्मीबीच समन्वय गर्ने, घरधनीलाई आवास निर्माण साथी बनाउने, सब इन्जिनियर, र इन्जिनियरमार्फत स्थलगत सुझाव प्रदान गर्ने, समयमै घर निरीक्षणका लागि प्राविधिकसँग समन्वय गर्ने, घर निर्माणको विभिन्न चरणमा स्थलमा गएर इन्जिनियरले निरीक्षण तथा सहयोग गर्ने, घरधनी र डकर्मीलाई क्षमता अभिवृद्धिका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्ने काम पनि गरेको सञ्चार अधिकृत तारा ढकालले बताइन्। प्रधानमन्त्री केपी ओली र भरतीय समकक्षी नरेन्द्र मोदीले इन्धन पाइपलाइन उद्घाटन गर्ने क्रमपछि उनीहरूले यहाँ निर्माणाधीन घरको अवस्थालाई नियालेका थिए। मोदी दिल्ली र ओलीले काठमाडौंबाट भिडियो कन्फरेन्समा उक्त कार्य गरेका थिए। यसको उद्घाटन पनि उनीहरूले यही कन्फरेन्सबाट संयुक्त रूपमा गर्ने भनिएको छ।
प्रतिक्रिया दिनुहोस !