चीनबाट नेपाल फर्किएका युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि : के हो कोरोना ?
काठमाडौं : नेपालमै कोरोना भाइरसको संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन् ।
‘चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको छ’, श्रेष्ठले भने । उनको स्वास्थ्य परीक्षणका लागि हङकङ पठाइको थियो । उनी प्रत्यक्ष निगरानीमा रहेको उनले बताए ।
त्यस्तैगरी हङकङबाट आएका अर्का एक व्यक्तिलाई सामान्य अवस्थामा टेकु अस्पतालमा निगरानीमा राखिएको छ ।उनीहरुको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइराखेको छ। अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर बिरामीलाई राखिएको हो।
टेकु अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार उनलाई प्रत्यक्ष निगरानीमा राखेर परीक्षण भइराखेको छ । उनको थप परीक्षणका लागि हङकङ पठाउने तयारी भइराखेको छ । अहिले उनलाई भने कुनै जटिल समस्या नदेखिएको उनले बताए ।
‘विमानस्थलको हेल्थ डेस्कमा उच्च सर्तकता अपनाइको छ । स्वास्थ्यकर्मीको टोली २४ घण्टा खटिने छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यहाँ स्वास्थ्य जाँचका लागि उपकरण जडान गरिएको छ। त्यहाँ चीनबाट आउने व्यक्तिलाई निगरानी बढाइएको छ ।’
पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विमानस्थलको हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाएर उच्च सतर्ककता रहने बताएका छन् । चीनमा फैलिएको कोरना भाइरसका कारण त्यहाँ नयाँ वर्षमा कार्यक्रम नगर्न त्यहाँको सरकारले नागरिकलाई आग्रह गरिसकेको छ। चीनबाट नेपाल आएका विद्यार्थीको स्वास्थ्य परीक्षणका क्रमममा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो।
कहाँ कहाँ छ संक्रमण
चीनमा संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ। जापान, थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा समेत यो फैलिएपछि थप चिन्ता व्यक्त गरिएको हो।विश्वभरका स्वास्थ्यकर्मीले यसको कारण र समाधानका उपायबारे थप चासो देखाएका छन् ।
चीनको हुवानबाट सुरु यो भाइरसबाट अहिलेसम्म ५ सय भन्दा धेरै चिनियाँ प्रभावित छन्।छोटो अवधिमै चीनमा ९ जनाको मृत्यु भएको छ।पछिल्लो समय चीन लगायत छिमेकी मुलुकमा पनि यसबाट बच्न उच्च शतर्कता अपनाइएको छ ।
कोरोना भाइरसका पहिलो बिरामी २०१९ को डिसेम्बर अन्त्यतिर वुहानमा भेटिएका थिए।क्रमशः त्यो फैलँदै गएको हो।वुहानका पर्यटकसँगै यो भाइरस पनि अन्य स्थानमा फैलिएको अन्तर्राष्ट्रिय मिडिया जनाउँछन्।चिनियाँ वैज्ञानिकहरुले बिरामीमा भेटिएका भाइरसको नमुना संकलन गरी अध्ययन गर्दैआएका छन्।अहिलेसम्म यो भाइरसका कारण २५ जनाको मृत्यु भइसकेको छ ।
के हो कारण ?
कोरोना भाइरसको वास्तविक कारक सर्प हुनसक्ने बताइएको छ।चिनियाँ सर्प क्रेएइटबाटै यो भाइरस फैलिएको अनुसन्धानले देखाएको छ।जुन कोब्रा प्रजातिको मानिन्छ।र यस्ता सर्प अति विषालु तथा खतरनाकमध्ये मानिन्छन्।धेरैजसो मध्य र दक्षिणी चीन तथा दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प पाइन्छ ।
के हो कोरोना ?
वैज्ञानिकका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो।जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ।विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सीओभी’ नाम दिएका छन् ।
यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो।जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ।सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ ।
कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ।चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ।अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ।
यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ ।
हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ।यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन।बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
कोरोना भाइरस अमेरिकामा पनि
चीनबाट अमेरिका पुगेका एक अमेरिकी नागरिकमा समेत कोरोना भाइरस देखिएको अमेरिकाले जनाएको छ।चीनको वुहानबाट अमेरिकाको सिएटल पुगेका अमेरिकी नागरिकमा यो भाइरस भेटिएको अमेरिकाले पुष्टि गरेको हो ।
ती नागरिक यही जनवरी १५ मा चीनको वुहानबाट फर्किएका थिए।स्वास्थ्य चेकजाँच गराउँदा उनलाई कोरोना लागेको कुरा विज्ञप्ति मार्फत २० जनवरीमा जानकारी गराइएको हो ।
यससँगै उत्तर कोरिया लगायत अन्य देशले यसबाट बच्न सीमा तथा विमानस्थलमा उच्च शतर्कता अपनाउन थालेका छन् ।
नेपालमा पनि गत सातादेखि उच्च शतर्कता अपनाइएको थियो।।यही कारण विमानस्थलमा रहेको ‘हेल्प डेस्क’लाई कामकाजी बनाइएको थियो।चीनबाट आएका एक नेपाली विद्यार्थीमा यसको लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल सेन्टरमा लगेर जाँच गराइएको हो।यसवाहेक नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकमाथि पनि प्रारम्भिक जाँच थालिएको छ।