जति बेला देशको नक्सा हल्लियो
धर्मेन्द्र नेम्बाङसँग त बढीजसो महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको स्ववियु निर्वाचनको झझल्को आउँछ। त्यो पनि २० वर्ष पुग्न लागेछ। धर्मेन्द्रले भनेको एउटा शब्द सम्झिरहन्छु- सेक्रिफाइस। उम्मेदवारीमा हानथाप थियो। म पनि दाबेदार थिएँ। त्यही बेला सेक्रिफाइसको कुरा उठेको थियो। यो त भयो विद्यार्थी राजनीतिको पाटो। हाम्रो अर्को पाटो थियो, साहित्य। म बेसी गजल लेख्थें, कविता कम, धर्मेन्द्र कविता लेख्थे। क्याम्पस मात्र होइन, जिल्लाका साहित्यिक गतिविधिमा कहीं न कहीं जोडिएकै हुन्थ्यो। उनको ‘बोधार्थ चियाको बोट’ कविताचाहिँ खुब याद आइरहन्छ। पछि हवाई पत्रिका प्रकाशनमा पनि जोडियौं। म ‘इसारा’ हवाई मासिकमा आबद्ध भएँ, धर्मेन्द्रजीहरू ‘नूतन पाइला’तिर। ‘नूतन पाइला’मा मुख्य भूमिका नै धर्मेन्द्रको रह्यो कि भन्ने लाग्छ।
उनै धर्मेन्द्रको अगुवाइमा विशेष रंगवाद हुँदै बहुरंगवादको अवधारणा नेपाली साहित्यमा भित्रियो। त्यत्तिकै भित्रिएन मात्रै, एउटा तरंगै ल्याइदियो। यो काव्यिक अभियानमा जोडिएका जो छन् उनीहरू आफूले अगाडि सारेका वादबारे कवितामार्फत बोले। धर्मेन्द्रले उपन्यास पनि ‘खेले’, यो उनकै शब्दमा। कस्तो खेले ? त्यो पढिनँ। उनी साहित्य लेख्छन् होइन, खेल्छन्। आफूलाई लेखक होइन, खेलक ठान्छन्। उनले कहिलेदेखि कविता खेले भन्ने मलाई यकिन छैन। मेरो आकलन तीन दशक त पुग्यो भन्ने हो। उनले विशेष रंगवाद (२०६० साल) बोलेकै १६ वर्ष त भएछ, कविता संग्रह ‘भीरै भीरको रंग’मार्फत। त्यसमा कवि ईश्वर वल्लभले लेखे- ‘आधुनिक कविता परम्परागत विचार तथा यथास्थितिको विसंरचना हो। अग्रगामी यात्राहरूको प्रस्ट र प्रतिबद्ध पदचाप पनि हो। यसै सोच र चिन्तनअनुरूप यहाँ प्रस्तुत धर्मेन्द्रविक्रम नेम्बाङको सिर्जना झन् उत्तरआधुनिक काव्य सिर्जनाको विशेष वर्तमान र विशेष आयामको अपूर्व क्षितिज भएको छ-हो।’
धर्मेन्द्रको नाममा त्यति बेला ‘विक्रम’ झुन्डिएको थियो। राजतन्त्रसँगै ‘वीरविक्रम’ नाममा पनि पनि असन्तुष्टि भयो होला, हटाइदिए। उनै कवि पछिल्लो समय आएर बहुरंगवाद बोलिरहेछन्।
भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्म आफ्नो राजनीतिक नक्सामा पारेपछि यस बेला नेपालको नक्सा हल्लिएको छ। मलाई त नेपालको पुरानो नक्सा देख्यो कि झनक्क रिस उठ्न थालेको छ। प्रश्न छ- नेपालले लिम्पियाधुरासम्म समेटिएको नक्सा किन बनाएन ? त्यो नक्सा प्रयोग गर्न नपाएसम्म झाेंक चलिरहन्छ होला। घिटघिटो नै रहने भयो। हामीले हाम्रो वास्तविक नक्सा प्रयोग गरेकै रहेनछौं। देशको पुरानो नक्साप्रति गर्व गर्नु पनि बेक्कार ! भ्रममा पो रहेछौं। कहिलेकाहीं लाग्छ, मैले आफ्नो कविता कृतिको नाम किन ‘अर्को भ्रम’ राखें ? तनावका बेला बडो नमीठो लागेर आउँछ। उस्तै लाग्छ देशको नक्सा देखेर।
कसैले भने- नारा लेखियो। कसैले भने- वाह कविता। बुझाइ आआफ्नै हो। कसको कुन मनोग्रन्थीले काम गरेको हुन्छ ? के थाहा।
यही बेला धर्मेन्द्र नै किन बोल्नुपर्ने ? उनले नबोलेको भए देशको नक्सा हल्लिँदैनथ्यो कि ! उनले कविता खेले- ‘मैले बोल्दा यो देशको नक्सा हल्लिन्छ ? ’ उनको कविता संग्रह के प्रकाशनमा आएथ्यो, साँच्चै देशको नक्सै हल्लियो। हरेक स्वाभिमानी देशभक्त नेपालीले मनमनै त देशको नक्सा सच्याइसके। तर, सरकारले औपचारिक रूपमा लिम्पियाधुरासम्म समेटेर कहिले नयाँ नक्सा जारी गर्छ ? आमप्रतीक्षाको विषय छ। यसको जस जसले लिए पनि हुन्छ, काम गर्नुपर्यो।
धर्मेन्द्रको कवितामा यस्तो लेखिएको छ-
आँखाको ढकनीमा, क्षितिजमा, परिधिमा
। छु। हेर्छु। छ।
टाँगेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नक्सा
कुद्दै आएको शासकहरू थुप्रिनु
एउटा अतिरिक्ति बैठकजस्तो
आफ्नो शासकीय जीवनको अतीत र भविष्यको लेखाजोखा
लेखाजोखाबाट सर्वेक्षण
दर्शकदीर्घा अथवा कचहरी नाटकमा म थपिएको
म अथवा नयाँ समय
माइन्युट पक्रिनेवाला म
यहाँ म अथवा माइन्युट बुक अथवा टिप्पणीकर्ता (पृष्ठ ९७)
नाटकमा दृश्यको महत्व जति रहन्छ उसरी नै कवितामा धर्मेन्द्रले पृथ्वीनारायण शाह, भीमसेन थापा, राजा राजेन्द्र, जंगबहादुर, बीपी कोइराला, राजा महेन्द्र आदिलाई क्रमश : देखाएका छन्। सबै दृश्यमा कविले टिप्पणी उठाउँछन्। नाटक हेरिरहेको छु कि भन्ने अनुभूति हुन्छ।
(म टिप्पणीमा कराउँछु)
मैले बोलिरहँदा यो देशको नक्सा यसरी नै हल्लिरहन्छ
इतिहासको समीक्षा गर्दा यो देशको भूगोल हल्लिरहन्छ
खज्मजिन्छ सिमाना-सीमाहरू मान्छेको मस्तिस्कमा
बरु खेल्नु कविता एउटा सामूहिक
अनि फेसबुकमा प्रतिक्रिया हेर्नू। (पृष्ठ १०५)
कविता संग्रह प्रकाशनकै छेउछाउ सामाजिक सञ्जालमा यो कविताबारे दुई कोणबाट टिप्पणी भएको थियो। कसैले भने- नारा लेखियो। कसैले भने- वाह कविता। बुझाइ आआफ्नै हो। कसको कुन मनोग्रन्थीले काम गरेको हुन्छ ? के थाहा। कविता संग्रह विमोचनमा वक्ताले भने- ‘यो देशमा पछाडि पारिएका जाति, लिंग, समुदाय, भूगोल वर्षौंपछि बोलेका छन्। उनीहरू बोल्दा मात्रै पनि देशको नक्सा हल्लिएको छ !’ वक्ताले ठट्टा पनि गरे- ‘देशको नक्सा त हावाले पनि हल्लाउँछ। भूगोलै हल्लिनुपर्छ।’
धर्मेन्द्रले संयोग हो कि जानीजानी देशको नक्सा हल्लाए, उनै जानून्। उनको कविताशिल्पदेखि हरेक कुरा मलाई जहिले नौलो लाग्छ। जति संगत गरे पनि उनको केही कुरा पनि थाहा नपाएजस्तो अनुभूत हुन्छ। उनको कविता संग्रहको पछाडिको आवरण पातोमा लेखिएको छ- ‘धर्मेन्द्र नेम्बाङ नेपाली साहित्यमा बहुरंगवादी चिन्तक हुन्। उनको साहित्यलाई पढ्न र बुझ्न नयाँ चेत र दार्शनिक मस्तिष्क चाहिन्छ। कवितामै पनि धेरै नेपाली कविहरू कनेर कविता लेख्छन्, धर्मेन्द्र मात्र यस्ता कवि हुन् उनी हेपेर (सहजै) कविता लेख्छन्।’
कृति विमोचनमा आख्यानकार राजन मुकारुङले यही कुरा उप्काए। कवि वैरागी काइँलाले भने धर्मेन्द्रलाई ‘भाइरस’कै संज्ञा दिए। जता गए पनि कवि उत्पादन गरिहाल्ने ! पौवासारताप होस् कि तिखेदेवल, इलाम होस् कि काठमाडौं। धर्मेन्द्रका कतिपय कविता मलाई हाडे ओखरझैं लाग्छन्। बुझ्नै गाह्रो। पहिलो कविता संग्रहमा केही त्यस्ता सिर्जना थिए। उनले ‘ढुंगा (कि त) भगवानको आत्महत्याको जग्गा’ (२०६२)’ मा प्रयोगवादी कविता राखे। चाम्रो न चाम्रो। त्यसमा कृष्ण गौतमले लेखे- आयामवाद आधुनिक आन्दोलन थियो, रंगवाद उत्तरआधुनिक आन्दोलन। भगवानको आत्महत्याको जग्गाले खोजेको के हो ? उत्तरसंरचनावादी शब्दमा भन्ने हो भने डिकन्स्ट्रक्सन हो, विसंघटन हो, विनिर्माण हो।’
साँच्चै एउटा सिर्जनाको अर्थ सबैले एकैप्रकार बोध गरे भने कवितै के बाँकी रह्यो र ! अर्थहरूको खेल भनेकै यही होला। जसले जे बुझ्यो त्यही ठीक। तर, धर्मेन्द्र अघिल्ला कविता संग्रहको तुलनामा सहज लेखनमा फर्किएको अवश्य हो।
मैले उनलाई प्रश्न गरेको थिएँ- लेखन चाम्रो ठीक रहेछ कि नरम ? ‘मचाहिँ नरम र चाम्रोबीचको सहज लेखनको बाटोमा रहेछु’, उनले भने, ‘कतिपय नयाँ विषय प्रवेश गराउँदै गर्दा अलि बानी परेका मस्तिस्कलाई अलि असहज हुन सक्छ। नयाँ कुरा गर्दा आकलन, आँकडा, गणित, जार्गन नयाँ आउन सक्छन्। त्यसो भएको हुन सक्छ।’ बहुरंगवादको कुरा गरिरहेका बेला उनले ‘हरियो समतावाद’को कुरा मात्रै गरेको भने निको लागेन। उनी यसरी बोल्छन्-
हरियो भनेपछि मरुभूमीकरणलाई चुनौती
सहरीकरणलाई चुनौती
उच्च तापक्रम वृद्धिदरलाई चुनौती
कार्बनडाइअक्साइड मिथेलको उत्पादनलाई चुनौती
धूवाँ, धुलो प्रदूषणलाई चुनौती (पृष्ठ ५४)
भूपी शेरचनका कवितामा पनि यस्तो विरोधाभास देखिन्छ। उनी ‘सहिदहरूको सम्झनामा’ यस्तो लेख्छन्-
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए (घुम्ने मेचमाथि अन्धो मान्छे, पृष्ठ ३३)
‘मेरा साथीहरू’ शीर्षक कवितामा उनी बोल्छन्-
‘मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउन झन् गाह्रो छ।
मरेर सहिद हुनेहरू
जिएर त हेर, जिउन झन् गाह्रो छ !!’ (ऐं पृष्ठ ८८)
भूपीले फरक प्रसंगमा यी दुई कविता लेखे होलान्। कहीं न कहीं विरोधाभास भने छ। यो भयो उहिलेकै कुरा। हामी हाम्रा कुरा खोज्न तम्सिएका मात्रै छौं, पुनर्जागरणकालमा लागेजस्तो। धर्मेन्द्र ‘मुन्धुममा वर्णित धर्मेन्द्रको अन्तिम प्रेमकथा’ शीर्षक कवितामा यसरी बोल्छन्-
ए आङलाङगोवा, माङलाङगोवाहरू हो !
ए येवा, साम्बाहरू हो !
ए चिजीलुङ, तिगेन्जङ निवासी भद्र सज्जनहरू हो !
घाम पनि डुबेर जून उदाइसक्यो है
धर्मेन्द्र पात्रको अधुरो जीवन कहानी बताउने अनुष्ठान यहीं बिसाउने बिन्ती गर्छु है पृष्ठ (६६)
यस्ता कविता पढ्दा लाग्यो मै माङपा (बिजुवा) भइसकें। मै पो ‘रिसिया’ बोलिरहेछु। मुन्दुम बोलिरहेछु। आहा क्या मज्जा ! देशको नक्सा हल्लिने कविता ‘सोल्टिनीको नाउँमा’बाट सुरु हुन्छ। ‘लिम्बुवानको गाउँ’, ‘सेक्मुरी फूल’, ‘हुरीको अतीत’, ‘अल्पमतको नियति’, ‘सेतो खुनको धम्की’, ‘खाम्बोङवाको विद्रोह’, ‘उँधौली यामको कथा’, ‘सृष्टिको पहिलो व्यक्ति मुजिङ्ना खेयोङनाको गीत’, ‘एकदिनको विसर्जन’, ताल्छीखेलबाट एक भूतपूर्व कवि भन्छ’, ‘रंगगत्ताको भान’सहित ३९ वटा कविता यहाँ संग्रहित छन्।
धर्मेन्द्र वादसँग जोडिन्छन्। एउटा निश्चित चिन्तनसँग जोडिन्छन्। साहित्यमा आन्दोलनका रूपमा त्यसको व्याख्या हुन्छ। आन्दोलनका नाममा अनेक प्रयोग भएको पाउँछौं। त्यसले पाठकसँगको दूरी घटाउँदैन त ? उनको तर्क छ, ‘साहित्यमा, जीवनमा, समाजमा, राजनीतिमा आन्दोलन जरुरी छ। नत्र भने मस्तिष्क जमिएर विकासक्रम जमिएर बस्छ। यसलाई तरल बनाइरहन जरुरी छ। त्यो काम हामीले गर्यौं भन्ने लाग्छ। पाठक नयाँ कुरो जान्ने हक राख्छन्। सधंै एउटै पारामा रम्न मान्छेको मन मान्दैन। दिक्क मान्छ र नयाँहरूको खोजी पाठकको मनले गरिरहन्छ। यो कलाको नियमजस्तै हो।’
@raisachit