सुरुङको बाटो हुँदै आमा भेट्न
‘सुरुङको बाटो’मा रोमाञ्चकता धेरै पाएँ। ‘आमाले सक्नुहुन्छ’ले हामीलाई निकै राम्रो शिक्षा दिन्छ।
यसपालिको जाडो बिदामा मैले दुईवटा नेपाली साहित्यिक किताब पढेँ। ती थिए— एउटा उपन्यास र अर्काे कथासंग्रह। दुईवटा किताब पढेपछि मलाई आफ्नो विचार लेख्न मन लाग्यो। मैले आफूलाई लागेको कुरा यहाँ लेखेको छु। सबैभन्दा पहिले परिचय पब्लिकेसनले छापेको ‘सुरुङको बाटो’ उपन्यास पढेँ। यसलाई ब्रजेश अंकलले लेख्नुभएको रहेछ। यो सकिनेबित्तिकै भोलिपल्टै मैले ‘आमाले सक्नुहुन्छ’ भन्ने कथाको किताब पढेँ। सांग्रिला प्रकाशनले छापेको यो किताब आन्विका गिरी अन्टीले लेख्नुभएको रहेछ।
‘सुरुङको बाटो’ एउटा बाल उपन्यास हो। यसमा ११ जना पात्र छन्— कमलकान्त, मधु, ईशान, अभिषेक, अनिशा, जख्खु, जोसेफ, मार्था, बलबहादुर, ओम, सहवीर। यो उपन्यासले कमलकान्तको परिवारको वर्णन गर्छ। यहाँ केटाकेटीहरू (ईशान, अभिषेक, अनिशा) त्यस्तै १३ वर्ष (मेरै उमेर)का हुन्छन् भने अनिशाचाहिँ ११ वर्षकी हुन्छिन्। मुस्ताङको ओम्स होम (ओम अंकलको) होटेलमा ईशानले कुकुर भेट्छ। ईशानले त्यो कुकुरलाई उसको घर नभेटिएपछि आफैंसँग राख्छ। एक दिन उनीहरू मुस्ताङ जाँदै गर्दा उनीहरूले एउटा बन्द कटेज भेट्छन् र सुरुङको बाटोको प्रमुख कहानी त्यहाँबाट सुरु हुन्छ।
यो कथाको प्लट मुस्ताङ हो। कमलकान्त, उनकी पत्नी, मधु, छोरा, ईशान र मधुकी बहिनीका छोराछोरी अभिषेक र अनिशा सधैंभरि विकेन्ड अथवा बिदामा घुम्न जान्छन्। त्यस समयमा उनीहरू मुस्ताङ गएका हुन्छन्। उनीहरूको साथ आएको कुकुरचाहिँ दुई वर्षपहिला मस्ताङमै भेटेको हुन्छ। जब केही कारणवश अभिषेक र अनिशा उनीहरूसँग जान पाएका हुँदैनन्। कमलकान्त एक प्रख्यात लेखक भएकाले त्यस्ता रमणीय ठाउँहरू जस्तै मुस्ताङ घुमिरहन्छन्। उनीहरूलाई त्यस्तो ठाउँ घुमेपछि झनै नयाँ कुरा लेख्न आउँथ्यो।
एक दिन बच्चाहरूलाई त्यहीँ ओम्स होममै छोडेर कमलकान्त र मधु अप्पर मुस्ताङ लोमान्थाङतिर जान्छन्। बाटोमा आउँदै गर्दा देखेको कटेजप्रति ईशानलाई एकदमै जिज्ञासा हुन्छ। त्यही जिज्ञासाले गर्दा उसले त्यस रात त्यही कटेजभित्र पसेको सपना पनि देख्छ। खासमा त्यो कटेजको मालिक केही कारणवश त्यहाँ बस्न नपाउने भएकाले उसले गाउँकै महिलालाई त्यसको हेरविचार गर्न छोडेको हुँदो रहेछ।
जोजेफ भने एउटा अनुभवी चोर हुँदो रहेछ र उसले एउटा चाबी मिस्त्री (सहवीर)लाई फकाएर एउटा थकालीको घरबाट बहुमूल्य मूर्ति चोराउँछ। अनि त्यही मूर्तिको विषयमा सहवीर जेल पुग्छ तर त्यो मूर्ति सहवीरले त्यही कटेजमै छोड्छ। अब बाँकी कुरा किताब पढेपछि मात्र खुल्नेछ। जब ती केटाकेटीहरू त्यो कटेजमा सुरुङमार्फत पुग्छन् अनि घायल सहवीरलाई भेटछन्।
यो उपन्यास मलाई रोमाञ्चक र राम्रो लाग्यो। यसबारे मलाई लागेको एउटा कुरा मात्र छ। यसमा कटेजको धनीको बारेमा खुलाइएको छैन। सायद यही विषय यस किताबको अर्काे भागका लागि बनाइएको होला। यो किताबले केटाकेटीका भावना समेटेको छ र म यस किताबका लेखक ब्रजेश अंकललाई अझै यस्ता किताब लेखिदिनुहुन प्रोत्साहन गर्छु साथै म यस किताबको अर्काे भागको प्रतीक्षामा छु।
अब म ‘आमाले सक्नुहुन्छ’ कथासंग्रहबारे आफ्ना कुरा लेख्छु। यो नेपालको दक्षिणी भाग मधेसको अवस्थामा आधारित भएर लेखिएको छ। यसमा पाँच जना मुख्य पात्र छन्। प्रस्तोता, उसकी आमा, उसको बाबु, भाइ र दाजु। यो किताब ‘सुरुङको बाटो’जस्तो रोमाञ्चक नभए पनि यसले निकै राम्रो शिक्षा दिन्छ। यसमा एउटा पारिवारिक नाटक छ। यहाँ आमा र बाबु तरकारी व्यापारी हुन्छन्। उनीहरू दैनिक तरकारी लिएर सबेरै घरबाट निस्कन्छन्। त्यस्तै यहाँ तिनीहरूकै दिनचर्याको विस्तृत वर्णन छ।
यस पुस्तकको विषयवस्तु सात भागमा विभाजन गरिएको छ। प्रत्येक भाग केही ससाना उपभागमा विभाजित छ। यसमा प्रस्तोता आफ्नो परिवारबाट माइली हुँदी रहिछ। यसमा उसले पहिला दुई दाजुभाइ र आफूबीच आएको विवाद, स्पष्टता र बाबुआमाको दुःखको वर्णन छ। यस शृंखलाको पहिलो भागमा परिवारको आर्थिक स्थितिको वर्णन छ। यसमा दिनहुँजसो तरकारी नबिक्नु, धेरै कमाइ नहुनु, भएको कमाइ पनि हिसाब नजानेर ठगिनु आदि छ। सुरुमै घरको छत आँधीहुरी सँगै आएको वर्षात्ले लिएर जान्छ। अब बूढाबूढी कष्ट गरेर १० हजार रुपैयाँ जम्मा गर्छन् र अझै बचतबाट पैसा निकालेर जस्ताको जोहो गर्छन्।
दोस्रो र तेस्रो भागमा आमाको बचतले गर्दा सजिलो भएको वर्णन छ। जब बूढाबूढीलाई पैसा जम्मा गर्न निकै गाह्रो हुन्छ, तब आमाको बचत काम लाग्छ। त्यस्तै बच्चाहरूले पनि खुत्रुके फुटाएर बाबुआमाको पीडा बुझ्छन् अनि जम्मा भएको पैसा दिन्छन्। यो त मधेसको चलन नै हो कि घरको काम महिलाले मात्र गर्नुपर्छ भन्ने। त्यस्तै जनचेतनाको कमीले गर्दा पनि यस्तो हुन्छ होला। तर त्यहाँ प्रस्तोताको बाबुले घरको सबै काम गरिदिने रहेछन्। घरको, भान्साको कामका साथै उनी छोरीको कपाल बाट्न पनि भ्याउँदा रहेछन्। यहाँ परिवारका सबैले दुःख बुझेका रहेछन् र यो जनचेतनाको अभावचाहिँ प्रस्तोताले आफ्नो विद्यालयले लगेको वनभोजमा महिला मात्र खटिएपछि पनि बुझिन्छ।
चौथो भागमा भने आमा ठगिन्छिन्। उनी खासै पढेकी नभएकाले तरकारी किनबेच गर्दा कहिले थोरैको सामान किनेर धेरै फिर्ता दिन्थिन् भने कहिले थोरै फिर्ता दिन्थिन्। उनी त हिसाबमा गडबड भएकाले पहिला छोराछोरीलाई पनि गाली गर्छिन्। आमाको यस्तो व्यवहारबाट उनीसँग रिसाउँछन् तर पछि उनीहरूले नै हिसाब सिकाउँछन्।
पाँचौं भागमा आमाले तरकारी बेच्दाखेरि एउटा बल भेट्छिन् र त्यहीँबाट घरमा झगडा सुरु हुन्छ। दाजुचाहिँ बल लिएरअगाडि नै घरबाट भाग्ने गर्छ र पछि आमाले एउटा राम्रै जुक्ति लगाएर त्यसको हल गर्छिन्।
छैटौं भाग भने महिलाको महिनावारी र यसको समाधानको वर्णन छ। यसमा प्रस्तोताकी साथी केही दिनदेखि विद्यालय आउँदिनन् अनि प्रस्तोता पत्ता लगाउन आफैं उसको घर पुग्छिन्। यसपछि तराईमा नछुने हुँदा लुकेर बस्ने चलन हुन्छ भन्ने थाहा हुन्छ। यहाँ प्रस्तोता निकै बहादुर छिन्। दाजुसँग फुटबल खेलेर जित्दा पनि अनि सचेतनाको अभावमा पनि प्रस्तोताकी आमाले उनीलाई त्यस्तो कुरीतिबाट जोगाउँछिन्। सातौं अथवा अन्तिम भागमा टीभी अथवा दोकान राख्ने कुरासँग जोडिएको छ। योचााहिँ बुझ्न किताब नै पढ्नुपर्छ।
समग्रमा दुईवटै किताब राम्रा छन्। तर ‘सुरुङको बाटो’मा रोमाञ्चकता धेरै पाएँ। ‘आमाले सक्नुहुन्छ’ले हामीलाई निकै राम्रो शिक्षा दिन्छ। त्यसमा पात्रहरूको नाम र कथाको प्लट खुलाइदिएका भए झनै सुन्दर हुने थियो। ‘सुरुङको बाटो’ सुरुङजस्तै सीधा छ भने आमाले सक्नुहुन्छचाहिँ म घर जाने सिन्धुलीको बाटोजस्तो घुमाउरो छ। अन्तिममा म लेखकज्यूहरूलाई अझै यस्ता राम्रा कृति लेखिदिनुहुन बिन्ती गर्छु र यस्ता कृति कक्षा ५÷६÷७÷८ का भाइबहिनीलाई अझै प्रेरणादायी छ भन्न चाहन्छु।
(कक्षा ९, एसओएस हर्मन माइनर विद्यालय, भक्तपुर)