फक्ताङलुङ त फेरिएछ नि !

फक्ताङलुङ त फेरिएछ नि !

हामी चढेको गाडी गढीडाँडामा रोकियो। खाजा खान होटलमा छिर्‍यौं। भित्तामा लेलेपगाउँको ठूलो फोटो फ्रेममा सजाइएको थियो। फाँटिलो बारीमा महिलाहरूले कोदो टिप्दै गरेको र पृष्ठभूमिमा आधा दर्जन घर फोटोमा देखिन्थ्यो। टिमका दावा लामा बोले, ‘आज बेलुका यहीँ पुगेर कोदोको तोङ्बा तान्ने हो।’

सँगै बसेका सुदीप श्रेष्ठले थपे, ‘धुञ्ज्याङ पनि गर्नुपर्छ।’ एकै दिनमा लेलेप पुग्ने योजनासहित त्यहाँबाट गाडी चढ्यौं। अक्करे भीरबाट अघि बढेको चीन र भारतलाई जोड्ने सडक। ट्र्याक खोलिएको १३ वर्ष भए पनि साँघुरो अनि खाल्डैखाल्डा। बजेट नपरेकाले स्तरोन्नति हुन नसकेको लिङ्खिमका विष्णु लिम्बूले सुनाए। पाँच घण्टा यात्रापछि दिउँसो एक बजे तापेथोक बगर पुगियो। देशकै तेस्रो ठूलो स्थानीय तह फक्ताङलुङ गाउँपालिकाको केन्द्र हो, त्यो।

गाउँलेले व्यक्तिगत प्रयोजनका लागि बनाएका घरमा गाउँपालिका कार्यालय र विषयतग शाखाहरू सञ्चालित थिए। स्थानीय सरकारले काम सुरु गरेको दुई वर्षसम्म पनि स्थानीयवासीले खासै अनुभूत गर्न पाएका रहेनछन्। पसल एउटा मात्रै रहेछ।

हातमा नाम्लो बोकेका एक युवा भेटिए, वीरु लिम्बू। मुरिङ्लाबाट तीन घण्टा हिँडेर चामल लिन आएका रहेछन्। ‘अलिकति भएको पाखो बारीमा लगाएको मकै जेठको असिनाले सखाप पारिहाल्यो, हातखुट्टा चलुन्जेल जसरी नि पेट पालिन्छ, नसकेको दिन जे होला’, लिम्बू पसलेसँग कुरा गर्दै भारी मिलाउँदै थिए। अभाव, दुःख, पीडा, वेदनामा पनि रमाउने बानी परेको थियो।

हामी खाना खाएर बाटो लाग्यौं, तमोरको तीरैतीर समातेर। लेलेप पुग्दा झमक्क भइसकेको थियो। पेम्बाफुटी शेर्पा घर नजिकै अलैंचीको भट्टी लगाउँदै थिइन्। ‘भाउजू पाहुना आयो है’, सुदीप आँगनबाटै बोले। समृद्ध पहाड परियोजनाका उनी यो क्षेत्रमा परिचित थिए। परियोजनामार्फत होमस्टे तालिम र सुधारिएको चुल्हो पनि प्रदान गरेका रहेछन्। सुदीपले तोङ्वा अर्डर गरे। पाँच पटकसम्म पानी थपेर तान्यौं, तोङ्वा। रमाइलो भयो। चाहेजस्तै।

आलु फल्न छोडेपछि फाँट बाँझिएको रहेछ। धेरैले चौंरी गोठ रित्याएछन्।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको बेस क्याम्प हिँडेका थियौं हामी। टोलीमा सुदीप, दावासहित पत्रकार गिरिराज बाँस्कोटा, डा. मंगल यल्मो, अमिन उमेश लावती र समृद्ध पहाडका जितेन लिम्बू थिए। भोलिपल्ट बिहानै ओलाङचुङ्गोला जाने बाटोलाई बायाँ पारेर हिड्यौं। तमोर र घुन्सा नदीले छुट्याउँछ बाटो। तमोरको तीरैतीर गए, गोला। घुन्साको गए, कञ्चनजंघा। लेलेपबाट तमोर तरेपछि पुगिन्छ, सेकाथुम। आधा दर्जन होटल रहको सेकाथुम सो दिनको गन्तव्य थियो। पेमाडेमा शेर्पाको होटलमा छिर्‍यौं। दिदीबहिनीले चलाएका रहेछन् होटल।

शेर्पा समुदायमा प्रायः महिलाले व्यापार–व्यवसाय धान्छन्। पुरुषहरू टे«किङ जाने, गोठ बस्ने अनि घरको व्यवहार महिलाकै काँधमा हुँदो रहेछ। ‘बुवा गोठमा बस्नुहुन्छ, हामी होटल चलाउछौं,’ पेमाडेमाले भनिन्, ‘एक पटकमा ३० जना सम्म सुत्न सक्छन्।’ विदेशी पर्यटक, गाइड र भरिया पनि थिए। दुई ग्रुप कञ्चनजंघा बेस क्याम्प पुगेर फर्किएका। एक ग्रुप जाँदै गरेका।

त्यो टोलीका एक जनासँग नजिकिएँ। उनी रहेछन्, बेस क्याम्प पुगेर फर्किएका गाइड पेम्बा शेर्पा। ‘सातौं पटक भयो कञ्चनजंघा पुगेको,’ पेम्बाले भने, ‘बाटो अप्ठेरो भए पनि ठाउँ नै यति सुन्दर छ, अबको गन्तव्य नै कञ्चनजंघा हो, तर बाटो राम्रो बनाउनुपर्छ।’ यहाँ आउँदा विदेशी औधि खुसी हुने कुरा उनले सुनाए। पेम्बाको कुरा सुनेर म उत्साहित भएँ। कस्तो होला पर्यटक हिँड्ने बाटो खुल्दुली लागिरह्यो रातभरि।

बिहान झुल्के घामसँगै खुल्यो निद्रा। २० मिनेट हिँडेपछि पुगियो, ‘इटहरी’ चोक। एउटा मात्रै घर छ, याङ्गी शेर्पाको। इटहरी नाम कसरी रह्यो उनी पनि अनविज्ञ छिन्। चट्टान कपेर निकालिएको बाटो। छ्यांगै भीर। साँघुरो खोँचमा घुन्सा नदी कराएको मात्र सुनिन्छ। देखिँदैन। जीउ थापेर पाइला चाल्नुपर्ने। थोरै मिस्टेक भए, एकैचोटि खोलामा।

अघिल्लो रात पेम्बाले भनेको कुरा सम्झिएँ। सोचेँ, ‘धन्न आउँछन् कुइरेहरू, ज्यानको बाजी राखेर।’ लामाटार, फेदी हुँदै आम्जिलेजा निस्कियौं दुई बजे। फुपुफुटी शेर्पाको होटलमा खाना खायौं। चार वर्ष भएछ, होटल थालेको। श्रीमान् बितेपछि होटल सुरु गरेको र सिजनको दुई लाख आम्दानी हुने उनले सुनाइन्। त्यो दिन ग्याब्ला पुग्ने योजना थियो। तर, लेकाली पहाडमा हाम्रो पाइला सोचेअनुसार चलेन।

ढांग्याम पुग्दा चार बज्यो। थाकेर ओइलाएको सागजस्तै भएको थियो ज्यान। ग्याब्ला पुग्न तीन घण्टा घना जंगल छिचोल्नुपर्ने थियो। जंगलमा भालु लाग्ने र बेलुका भएपछि भालु आक्रामक हुने भएकाले अघि नबढ्न सुझाव दिए, भरिया विक्रम लिम्बूले। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले सामुदायिक लज सञ्चालन गर्न बनाएको भवन थियो, तीन वर्षदेखि बेवारिसे। तर, हामी बास बस्ने ठाउँ थिएन। ग्याङ्जे शेर्पाको एक्लो घरमा आठ जना अरू पर्यटक र हामी जसोतसो रात कटायौं।

बिहान सुदीपले भालुबाट बच्ने उपाय सिकाए। उपाय थियो, ‘सबैजना खाँदिएर, गीत गाउँदै, हल्ला गर्दै हिँड्ने, अगाडिकोले खुकुरी बोक्ने।’ सोहीअनुसार जंगल पार गर्‍यौं। १० बजे ग्याब्ला निस्कियौं। ‘आहा ! झरना’ मंगलले सबैको ध्यान खिचे। सिंगो घुन्सा नदीले नै झरनाको रूप लिएको। फोटो खिच्यौं। झरनाको। अनि झरनालाई पृष्ठभूमि बनाएर आफ्नो। सुविधासम्पन्न होटल खुल्ने क्रम बढेको सुदीपले सुनाए। अरुण टे«कका छ्वाङ शेर्पाले सात करोड खर्चेर यसै पालादेखि होटल खोलेका रहेछन्। दावाचुङ्दा शेर्पाको होटलमा खाना खान बस्यौं। सात वर्ष ट्रेकिङमा हिँडेर गाउँ फर्किएर होटल थालेको सुनाए, २५ वर्षे तन्नेरीले। ‘यो क्षेत्रमा पर्यटन बुझेको मान्छे कम छ, त्यसैले म गाउँ फिरेको हुँु’, आलुको तरकारी पकाउँदै भन्दै थिए, ‘गाइड तालिम, होटल व्यवस्थापन तालिम लिएको छु, यहाँ युवाको खाँचो छ।’ कस्तो उच्च विचार।

बैशाखमा बिहे गर्ने र दुई मिलेर होटल चलाउने सपना रहेछ, चुङ्दाको। भोटे मुलाको अचार, चौंरीको घिउ र आलुसँग खाना खायौं। तीन घण्टाको हिँडाइपछि समथर फाँट भेटियो। घुन्सालीहरूको चिसो छल्ने र आलु रोप्ने र हिउँदमा गोठ राख्ने ठाउँ ‘फले’। चांैरी गोठसँगै कसिलो सम्बन्ध जोडेका तिब्बती अनुहार।

मानव बस्ती, संस्कृति, धर्म, संस्कार बोकेको फले स्वर्गीय सौन्दर्य बोकेर पनि राज्यको अनुपस्थितिले कता–कता अपूर्णजस्तो लाग्छ। अहिले फलेको परिचय बदलिएको सुनाए, सोनाम शेर्पाले। आलु फल्न छोडेपछि फाँट बाँझिएको रहेछ। पर्यटक बढ्न थालेकाले धेरैले चौंरी गोठ रित्याएछन्।

फलेमा आलु रोप्ने घुन्सालीहरू सिजनमा होटल गर्ने र अरू बेला बाहिर घुम्न जाने चलन बढेछ। भएको विद्यालय पनि विद्यार्थी कम भएको भन्दै बन्द गरिदिएछ, गाउँपालिकाले। ‘राज्यको उपस्थिति भनेकै एउटा स्कुल थियो, त्यही पनि बन्द गरिदिए,’ सोनामले वेदना पोखे। घुन्सा पुग्न एक घण्टा बाँकी थियो। झमक्क साँझ पर्‍यो। मोबाइलको टर्च बाल्यौं। यात्राको चौथो बेलुकी साढे सात बजे टुप्लुक्क टेक्यौं घुन्सा।

वरिपरि बडेमानका पहाड। उपत्यकाजस्तै छ, घुन्सा। तीन हजार चार सय मिटर उचाइमा ३३ घर छन्। अधिकांश पर्यटन व्यवसायमा आबद्ध छन्। ६ वटा व्यावसायिक होटल छन्, बाँकीमा होमस्टे। विगतमा चौंरीपालन गर्ने घुन्सालीहरू पर्यटन क्षेत्रमा लागेका छन्। प्रहरी चौकी, स्वास्थ्य एकाइ र र एउटा विद्यालय छन्।

महिलाहरूले स्याब्रु नाच र धुञ्ज्याङ नाचले स्वागत गरे। शेर्पा संस्कृतिमा आधारित नृत्य। गीत शेर्पा भाषाकै। सारा थकान भुलेर नाच्न थाल्यौं, हातमा हात समाएर। रातको एघार बजेको पत्तै भएन। बिहान मिर्मिरेमै छोड्यो निद्राले। झ्यालबाट बाहिर डुलाएँ आँखा। पश्चिमोत्तरमा रहेको भीमकाय पहाडमा आँखा अडिए। होटल सञ्चालक टासी तेन्जिङलाई सोधेँ पहाडको बारेमा। २०६३ साल असोज ७ गते २४ जना संरक्षणविद् चढेको हेलिकप्टर ठोक्किएको फले पहाड रहेछ, त्यो। घुन्सामा कञ्चनजंघा संरक्षण क्षेत्र समुदायलाई हस्तान्तरण कार्यक्रम सकेर फर्किएको केही मिनेटमै दिवंगत भएका थिए, डा. हर्क गुरुङलगायतका विद्वान्हरू।

खम्बाचेन (४२०० मिटर) थियो, त्यो पाचौं दिनको तन्तव्य। खाना खाएर अघि पाइला अघि बढायौं। गिरिराज र म हमेसा पछाडि पथ्र्यौं। अरू साथीहरू अगाडि पुगेर पर्खन्थे। दावा लामा प्रत्येक पर्खाइमा गीत सुरु गरिहाल्थे। उमेश लावती क्यामरामा कैद गर्थे त्यसलाई। पारिपट्टि पाखामा लहरै सुन्दर झरना। युद्ध जितेझैं चट्टान फोडेर निस्किएका भए पनि झुकेका थिए फलेको वृक्षझैं। ती सुन्दर दृश्यहरूमा आँखाहरू डुलिरहे झिमिक्कै नगरी। बाटामा बाक्लै गरी भेटिए पाङ्पेमा (बेस क्पाम्प) पुगेर फर्किएकाहरू।

खम्वाचेन पुगेपछि लाग्यो यो छुट्टै संसार हो। घुन्सा खोलाले बनाएको हिमाली फाँट तराईको समथर भूभागभन्दा कम लागेन। घाँसे मैदानमा चरिरहेका चौंरी, याकका बथान र तिनका गोठालाहरू। उनीहरूलाई आधुनिकताको कुनै परवाह थिएन। आँखैअगाडि उभिएको थियो कुम्भकर्ण। जता हेर्‍यो त्यतै स्वर्गानुभूति गरेँ मैले। बेलुका भएपछि आकाशमा बादल मडारिन थाल्यो।

भोलिपल्ट बिहान पाँचै बजे उठ्यौं। मौसम रिसाएको थियो। बादलले ड्याम्म छोपेको थियो हामी हिँड्ने बाटो। फुसफुस हिउँ पर्न सुरु गर्‍यो। अघि नबढ्न सुझाए, सनराइज होटलका तेन्जिङ शेर्पाले। गन्तव्य नजिक पुगेपछि मौसम बाधा बन्यो। खुल्ने आशले त्यहीँ बस्यौं दिनभरि। रात बित्यो अहँ खुलेन। तेन्जिङले दुई घण्टा टाढा रहेको कुम्भकर्ण बेस क्याम्प जान सल्लाह दिए।

चार हजार पाँच सय मिटर मात्रै उचाइ भएकाले त्यत्तिको मौसममा खतरा नहुने बताए। तीन घण्टामा पुग्यौं हामी, एक घण्टा ढिलो गरी। शिरमा बादल नाचिरहेको थियो। केही छिनमै बादल हट्यो र अभिवादन गर्‍यो कुम्भकर्णले। १९९३ सालमा किरात धर्मगुरु फाल्गुनन्दले तपस्या गरेको ठाउँ थियो। किरातीहरूको तमोभूमि। जुम्ल्याहात गरेर ‘सेवारो’ भन्यौं कुम्भकर्ण (किरातीहरू फक्ताङलुङ भन्छन्) लाई। फोटो खिच्यौं। ताकेको ठाउँमा नपुगे पनि पुगेकै महसुस गर्‍यौं।

जीवनमा एक पटक कञ्चनजंघाको अगाडि उभिने प्रण गरेको म कुम्भकर्णको अघि उभिएको थिएँ। ‘उ त्योचाहिँ कञ्चनजंघाको शिर हो।’ फक्ताङलुङको बायाँतिरको हिमालको टुप्पो देखाउँदै सँगै गएका पेम्बा शेर्पाले भने। जर्ज ब्रान्डले सन् १९५५ मा पहिलो पाइला राखेको चुचुरो। जर्ज जत्तिकै खुसी हुन अर्को पटक पुनः आउने निधो गर्दै फर्कियौं।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.