ज्ञानी ओग्जी
कुसुन्डा भाषा राम्रोसँग बोल्ने एक्लो मान्छे गुमाउँदा राष्ट्रले क्षतिको महसुस गर्यो त ? इम्बा ज्ञानीमैयाँ।
डकुमेन्ट्री निर्माणमा अभिरुचि राख्ने क्यानेडियन प्राध्यापक फराह नोसले ज्ञानीमैयाँ सेन कुसुन्डाको भाषाप्रेमलाई क्यामेरामा कैद गर्दै थिए। दमको रोगले गल्दै गएकी ज्ञानीमैयाँलाई भाषा चिनाउने मोहले ऊर्जा दिइरहेको थियो। जीवनको अन्तिम अन्तिम घडीमा रहेकी ज्ञानीमैयाँले डकुमेन्ट्री निर्माण अवधिभर बिसन्चो ज्यानको कुनै छनक दिइनन्। केही दिन लगाएर खिचेको उनको भाषिक संघर्षलाई नोसले मेमोरी कार्डमा उतारेर क्यानडा उडे, यता ज्ञानीमैयाँको शरीर माटोमा विलीन भयो। ‘उहाँको जिन्दगीको अन्तिम कुराकानी त्यही बन्यो,’ ज्ञानीमैयाँसँगै कुसुन्डा भाषा जोगाउन लागिपरेका भाषाविद् उदय आलेले भने।
गत वर्ष संसारभर डुलेर विभिन्न भाषाबारे डकुमेन्ट्री बनाउने सुवासिस पनिग्रहीले उनका बारेमा डकुमेन्ट्री छायांकन गरेका थिए। आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको डकुमेन्ट्री धेरै लगानी गरेर गुणात्मक तवरले बनाउन खोजिएको थियो। गत डिसेम्बरमा ज्ञानीमैयाँकै उपस्थितिमा त्यसलाई प्रदर्शन गर्ने योजना पनि थियो। ज्ञानीमैयाँ बिरामी भएपछि प्रदर्शनको ‘डेट’ सर्यो। नयाँ डेट खोज्दा खोज्दै ज्ञानीमैयाँकै ‘डेथ’ भयो।
लोपोन्मुख जाति कुसुन्डा अझ त्यसमा पनि कुसुन्डा भाषा गतिलोसँग बोल्न जान्ने एक मात्र पात्र ज्ञानीमैयाँले ८५ वर्षको उमेरमा संसार त्यागिन्। उनीसँगै कुसुन्डा भाषाले पनि संसार छाडेको छ। उनकी बहिनी कमला कुसुन्डा थोरै थोरै बोल्छिन्, अब उनी पनि कोसँग बोल्ने ?
०००
वनवनै घुमेर जीवन बिताएकी उनले विश्वलाई कुसुन्डा भाषा चिनाएर गइन्, कुसुन्डा भाषाका शब्द शब्दको अर्थ लगाएर गइन्। ‘उहाँ नभएको भए कुसुन्डा भाषाको अध्ययन सम्भव नै हुने थिएन,’ भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भने, ‘कुसुन्डा भाषाका बारेमा जति अनुसन्धान भएको छ ज्ञानीमैयाँलाई नै आधार मानेर भएको छ, अब यसलाई थप गति दिने आधार सकिएको छ।’
अध्यक्ष अवस्थीले कैयौंपटक ज्ञानीमैयाँलाई काठमाडौं बोलाएर ध्वनिको परीक्षण गरेकोसमेत सम्झना गरे। ‘उहाँसँग काम गर्न निकै सजिलो थियो, भाषाका लागि भनेपछि जे पनि मान्नुहुन्थ्यो।’
०००
विसं. १९९१ मा बागलुङतिरको जंगलमा जन्मिएकी ज्ञानीमैयाँँले जंगलको बसाइका क्रममै बाबुआमासँगै कुसुन्डा भाषा सिकिन्। त्यति बेला जंगलमा सबै कुसुन्डा भाषा नै बोल्थे। कुसुन्डाहरू जब अन्य जातिसँग विवाह गरेर जंगलबाट गाउँघरतिर सर्न थाले, बिस्तारै भाषा पनि हराउँदै जान थाल्यो।
ज्ञानीमैयाँको पनि कुसुन्डा जातिभन्दा अन्य जातिकोसँग विवाह भएको थियो तर उनले भाषालाई चटक्कै माया मार्न सकिनन्। बरु उनको भाषालाई माया गर्नै नमान्ने श्रीमान्लाई माया मारिन्। ज्ञानीमैयाँँलाई कुसुन्डा जातिले नै कुसुन्डा भाषा नबोलेको देख्दा उदेक लाग्यो। अनि लागिन्, कुसुन्डा भाषा जोगाउने एक्लो अभियानमा। ‘बोल्ने संग (साथी) पनि चाहियो नि,’ उनी भन्थिन्।
ज्ञानीमैयाँको भाषा जोगाउने अभियानमा सन् २००४ तिर जोडिए भाषाविद् डेभिड इ वाटर। उनले बेलायतबाट नेपाल आएर कुसुन्डा भाषाको व्याकरण तयार पारे। त्यही बेला हो, ज्ञानीमैयाँ पहिलोपटक दाङको उपत्यकापारि उक्लिएको।
‘भाषाको किताब निकाल्ने भन्दा खुसी लागेर गएकी हुँ, एक महिना बसेर सोधेको सबै भनेँ,’ नेपाली भाषा पनि उस्तै राम्रो बोल्ने ज्ञानीमैयाँ सुनाउँथिन्। वाटरले तयार गरेको अनुसन्धानलाई आदिवासी जनजाति प्रतिष्ठानले प्रकाशितसमेत गरिसकेको छ। ज्ञानीमैयाँको मनमा भाषा जोगाउने हुटहुटी उस्तै थियो।
दाङको लमही नगरपालिकाको कुलमोहोरमा पर्ने उनको घरका कोही पनि बोल्दैनथे, कुसुन्डा भाषा। सबैका भाषा बोल्ने मान्छे थिए, तर उनको भाषा बोल्ने उनी एक्ली थिइन्। ‘बोलेको कोही पनि बुझ्दैनथे, त्यही भएर सपनामा बोल्थेँ म त,’ उनी सुनाउँथिन्। उनी कुसुन्डा भाषा बोल्न थालेपछि नातिनातिनाहरू हाँस्न थाल्थे।
ज्ञानीमैयाँसँग कुसुन्डा भाषा बोल्नका लागि उनकी बहिनी पर्ने कमला सेन कुसुन्डा रोल्पाबाट दाङ आइन्। उनी कुसुन्डा भाषा बोल्ने ज्ञानीमैयाँपछि दोस्रो व्यक्ति हुन्। तर पनि उनलाई व्यवस्थित ढंगले कुसुन्डा भाषा बोल्न आउँदैन। उनीहरूसँगै बस्दा भने सधैं कुसुन्डा भाषामा कुरा गर्थे। ‘कुसुन्डा भाषा बोल्न मन लाग्यो भने कमलालाई बोलाउँछु,’ ज्ञानीमैयाँ भन्थिन्। एकपटक कमला र ज्ञानीमैयाँसँगै भएको बेलामा खुबै कुसुन्डा भाषामा गफिएका थिए। ज्ञानीमैयाँको मुजा परेको अनुहारमा खुसीको लाली पोतिएको थियो। कुसुन्डा भाषा बोल्ने संसारको एक्लो प्राणीले अर्को प्राणी भेटेको थियो।
सन् २०१३ मा ज्ञानीमैयाँको जीवनशैली र भाषाबारे आयरल्यान्डका स्वतन्त्र पत्रकार एन्टोनी डफीले ‘द लास्ट ट्रु कुसुन्डा’ वृत्तचित्र बनाए। यसलाई डफीले आफ्नै युट्युब च्यानलमा समेत राखेका छन्। ज्ञानीमैयाँले सुरुआत गरेको भाषा जोगाउने अभियानमा धेरैले सारथिको भूमिका खेले। कुसुन्डा भाषाका धेरै कुरा बाहिर आए पनि, तर बोल्ने भने कोही पनि भएनन्। ‘कुसुन्डाले नै नबोले कसले बोल्छ र ? ’ ज्ञानीमैयाँ सधैं गुनासो गर्थिन्। उनले धेरैलाई कुसुन्डा भाषाबारे सिकाइन् तर बोल्ने कुरामा भने कसैले पनि त्यसलाई अनुसरण गर्न सकेनन्। ‘कुनै पनि भाषिक परिवारसँग नमिल्ने संसारको एक्लो भाषा बोल्ने एक्लो व्यक्ति थिइन् ज्ञानीमैयाँ’, डा. अवस्थी सम्झन्छन्।
उनका बारेमा विदेशीले वृत्तचित्र त बनाए तर विडम्बना नेपाली कसैले पनि बनाउन चाहेन वा सकेन। ‘भाषा आयोगका मान्छेले खिचेर लगेको धेरै भयो, अहिलेसम्म केही पत्तो छैन’, ज्ञानीमैयाँ दुःखेसो पोख्थिन्। हामीले हामीसँग रहेको अमूल्य गहनालाई हाम्रा सन्ततिका लागि राख्न सकेनौं। भोलि कुसुन्डा भाषाका बारेमा केही नयाँ कुरा जान्नुपर्दा विदेशी पत्रकारका युट्युब च्यानल सर्च गर्नुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको छ। ‘खिच्नका लागि जम्मै विदेशी मात्रै आउँछन्, नेपाली कोही पनि आउँदैनन्’, ज्ञानीमैयाँको सधैं गुनासो हुन्थ्यो।
ज्ञानीमैयाँ कुसुन्डाको भाषाप्रेम र संघर्षका बारेमा यो पंक्तिकारले स्थलगत रूपमा लेखेको लेख ‘हामीपछि को बोल्ला यो भाषा ? ’ शीर्षकमा अन्नपूर्ण पोस्ट्को फुर्सदमा आवरण कथाका रूपमा छापिएको थियो। पत्रिका बोकेर उनको घरमा जाँदा उनका आँखा हर्षले रसाएका थिए। ‘पढ्न जान्दिनँ राम्रो लेख्या त होला, फोटो त कति राम्रो रैछ’, उनी खुसी भएकी थिइन्।
फुर्सदमा उक्त स्टोरी छापिएको महिना दिनपछि भाषा आयोगले मासिक तीन हजार रुपैयाँ दिन थालेको पनि उनी सुनाउँथिन्। ‘नयाँ नयाँ मान्छेलाई भाषा सिकाउने भन्छ अनि पैसा दिन्छ’, उनी भन्थिन्। ज्ञानीमैयाँलाई मृत्युपर्यन्त भाषा आयोगले भाषा प्रशिक्षकका रूपमा मासिक वृत्तिसमेत उपलब्ध गराउँदै आएको थियो।
यसैगरी नेपालमा बोलिने विभिन्न मातृभाषाका शब्दार्थसहित छापिने ‘फुर्सद’को ‘शब्दकोश’ स्तम्भ पनि कुसुन्डाबाटै सुरु गर्न यही पंक्तिकारले पाएको थियो।
रोगले गलाउँदै लगेको ज्ञानीमैयाँलाई एउटै कुराले ऊर्जा दिन्थ्यो, त्यो हो भाषा। उनका घरमा पुग्ने पत्रकार र अनुसन्धानकर्ता कसैलाई पनि उनले रित्तो हात फर्काउँदिनथिन्। एकपटक उनको जंगल यात्राबारे स्टोरी तयार गर्न गएको थिएँ। उनी ज्वरो आएर सुतिरहेकी थिइन्। तर पत्रकार आएको भनेपछि सकिनसकी उठिन्। ‘ज्वरो आएर सुतेकी थिएँ, भाषाको कुरा गर्ने मान्छे आयो भनेपछि उठेकी हुँ’, उनी सधैं भाषालाई सम्मान गर्थिन्। कसरी भाषा जोगाउन सकिन्छ भन्ने कुरा सोचेर नै उनको अधिकांश समय बित्ने गथ्र्याे।
ज्ञानीमैयाँले भाषाकै कारण काठमाडौं टेकिन्। जीवन गुजार्ने केही मेलो भेट्टाइन्। उनी भाषा जानेका कारण पाएको यो सुविधाबाट खुसी हुनेभन्दा पनि बोल्ने गरी नै भाषाको विकास गर्नका लागि पहल नहुँदा दुःखी हुन्थिन्। ‘बोल्न थाल्ने गरी नै यसको बारेमा कसैले सोचेनन्’, उनको सदाबहार गुनासो थियो। अहिले पनि यो भाषा सामान्य रूपमा बोल्नसक्ने कमला कुसुन्डाबाहेक कोही पनि छैन।
समयका हिसाबले करिब २० वर्षजति ज्ञानीमैयाँ भाषा जोगाउने अभियानमा लागिन्। तीन वर्षअगाडि एक्लो छोरोको करेन्ट लागेर मृत्यु हुँदाको शोकमा पनि उनले भाषाको क्षेत्रमा काम गर्न छाडिनन्। ‘म मरेँ भने त कसले बोल्ला र मेरो भाषा’, भाषाविद् आले ज्ञानीमैयाँले गरेको गुनासो सुनाउँछन्।
आफ्नो भाषा जोगाउने अभियानमा आफंै ज्ञानीमैयाँ लागे पनि सरकारले कहिल्यै प्राथमिकतामा राख्न नसकेको उनको भनाइ थियो। भाषा आयोगले विभिन्न ठाउँमा गरेको प्रशिक्षणमा सिकाउँदै हिँडेकी ज्ञानीमैयाँ सबै औपचारिक रूपमा मात्रै भएको बताउँथिन्।
‘हामीलाई बोल्नका लागि सधैं गाली गर्नुहुन्थ्यो तर हामीले कहिल्यै पनि ध्यान दिएनांै’, बुहारी आशा पुनले भनिन्। उनले अशक्त हुँदा पनि ज्ञानीमैयाँँले घरमै बालबालिकालाई राखेर भाषा सिकाउने गरेको पनि बताइन्। कुसुन्डा भाषा राम्रोसँग बोल्ने एक्लो मान्छे गुमाउँदा राष्ट्रले क्षतिको महसुस गर्यो त ? इम्बा ज्ञानीमैयाँ।
कुसुन्डा शब्दार्थ :
इम्बा : सम्झनामा।
ओग्जी : संसार छाड्नु, मृत्युवरण गर्नु।
@basantbibas1