मेरो त लियोसित लभ छ
तिम्रा ती मादक आँखा देखेपछि नै हो, मैले आफू किशोरीबाट तरुनी भएको अनुभूत गरेकी। मेरो मनमा विपरीत लिंगीप्रतिको आकर्षण पनि तिमीसँग आकर्षित भएदेखि नै सुरु भएको हो।
मिति : २०७६ माघ २३
प्रिय लियो,
यो प्रेमपत्रको सुरुआत म पाब्लो नेरुदाको कविताका केही टुक्राबाट गर्न चाहन्छु—
आज राति म आफ्नो सबैभन्दा उदास गीत लेख्न सक्छु,
लेख्न सक्छु कि
रात ताराहरूले भरिएका छन् र टाढा कतै कामिरहेका छन्।
रात हावाको आकाशमा नाच्छ र गाउँछ
त्यसैले म आज राति लेख्न सक्छु, आफ्नो सबैभन्दा उदास गीत।
म उसलाई प्रेम गर्थें र कहिलेकाहीँ उनी पनि मलाई उस्तै प्रेम गर्थिनयस्ता रातहरूमा म उनलाई अँगालोमा बेर्थें
र अनन्त आकाशमुनि म उसलाई निरन्तर चुमिरहन्थेँ।
उनी मलाई प्रेम गर्थिन् र कहिलेकाहीँ म पनि उनलाई प्रेम गर्थें।
रातमा तारा भरिएकै छन् तर उनी मसित छैननयतिमात्र कुरा हो कि टाढा अझै पनि कोही गाइरहेछ।
मेरो मन उनलाई गुमाएर अतृप्त भएको छ।
यो मेरो अन्तिम पीडा नै भए पनि
म चाहन्छु, लेखूँ उनका लागि अन्तिम गीत।
०००
यो कविता मलाई प्रिय छ। त्यसैले त तिमीजस्तै प्रियलाई सुनाउन चाहन्छु। मेरा शब्द तिमीसम्म पुग्दैनन्, मलाई थाहा छ। तर, मैले तिम्रा लागि लेखेका शब्दहरूले मलाई नै आनन्द दिन्छन्। त्यसैले म लेख्दै छु।
म सन्चै छु। आशा छ तिमी सन्चै छौ। तिम्रो कुशलताका लागि म यता एक्लै कुनै अज्ञात ईश्वरसित प्रार्थना गरी बसेकी छु।
हुन त म तिमीसँग रिसाएकी छु नि ! तिमी सुटुक्क नेपाल आयौ। म जन्मेकै गाउँ पुग्यौ। मैले नुहाएकै रापती खोला नजिकैको सौराहामा पाइला टेक्यौ। आउन त आयौ। तर यस्तो बेखबरसँग आयौ, मैले तिमी आएर फर्किसकेपछि मात्र थाहा पाएँ। त्यो दिन म साह्रै उदास भएकी थिएँ। मलाई लाग्यो, मेरो जीवनको सबैभन्दा मायालु मान्छे मसित बोल्दै नबोली सुटुक्क गयो। मलाई तिमीसित रिस पनि उठ्यो। तर, तिमीलाई के थाहा, मेरो त्यो रिसमा कति माया मिसिएको थियो। तिमी बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणका लागि दूत भएर आएका रहेछौ।
अहो ! तिम्रो पर्यावरण मोह मैले अनुभूत गरँे। त्यति बेला नै अनुभूत गरिसकेकी थिएँ, जब तिम्ले, ‘रेभिनेन्ट’ चलचित्रमार्फत सर्वोत्कृष्ट नायकका लागि ओस्कार अवार्ड प्राप्त गर्यौ। त्यो पल पनि त तिमीले पर्यावरणकै महत्वबारे चर्चा गरेका थियौ।
मलाई त लाग्थ्यो, तिमीले ओस्कार त धेरै पहिले नै टाइटानिककै बेला पाउनुपथ्र्यो। जुरीहरूले तिम्रै नाममा सहमति जनाइदिएको भए के जान्थ्यो र ! कम्तीमा तिमी खुसी हुन्थ्यौ र मलाई पनि अपार रमाइलो लाग्थ्यो।
तिमीलाई थाहा छैन होला, नेपाल र भारत एकआपसमा सीमा जोडिएका राष्ट्र हुन् र तर भारत फिल्म निर्माणको मामिलामा नेपालभन्दा सयौं गुना अगाडि छ। यहाँ मैले तिम्लाई सुनाउन चाहेको कुरा के हो भने मैले नेपाली फिल्म हेर्नुअगाडि हिन्दी फिल्म हेरेकी थिएँ। हो, म सानै हुँदा आमाको फरियाको फेर समातेर पर्साको जनज्योतिमा फिल्म हेर्न जान्थँे। उतिबेला हाम्रो परिवारमा फिल्म हेर्नु एउटा चलनजस्तै थियो। सायद समय कटाउन। किनभने फिल्म नै हाम्रो सजिलो मनोरञ्जनको माध्यम थियो।
जब मैले एसएलसी दिएँ, त्यसपछि बिदाका दिनमा भएभरको चक्का र सीडी हेरेर बिताएकी थिएँ। अहिलेजस्तो इन्टरनेटको सहज सुविधा थिएन। डेकमा चक्का या सीडी राखेर फिल्म हेथ्र्यौं। घरमा धेरै हिन्दी फिल्मका चक्का थिए भने केही अंग्रेजी फिल्मका पनि थिए। टाइटानिक त्यही बेला हेरेकी थिएँ। सम्भवत: त्यो फिल्म हेर्दा मेरा वरिपरि आफन्त थिए। तर, म त्यतिखेर आफन्तहरूसित हैन, तिमीसित थिएँ। तिम्रो शरीर, तिम्रो बोलाई सबैले मलाई मन्त्रमुग्ध बनाएका थिए। त्यही बेलादेखि नै त हो तिमीप्रति मेरो आकर्षण बढेको र त्यसपछि नै हो मैले रोमियो जुलियट हेरेकी ! अंग्रेजी पत्रिका ‘हिमालयन टाइम्स’ र ‘काठमान्डु पोस्ट’लगायतमा तिम्रो खबर या तस्बिर छापिँदा म त्यसको कटिङ राख्थेँ। लाग्थ्यो, पत्रिकामा अरू कसैले तिमीलाई नदेखून् र तिमी मेरो स्मृति बनेर मेरो सिरानमुनि सुरक्षित बसिरहूँ।
तिम्रा ती मादक आँखा देखेपछि नै हो, मैले आफू किशोरीबाट तरुनी भएको अनुभूत गरेकी। मेरो मनमा विपरीत लिंगीप्रतिको आकर्षण पनि तिमीसँग आकर्षित भएदेखि नै सुरु भएको हो। एक पटक गाउँकै एउटा केटाले आफ्नो टाउकोमा ‘ज्याक एन्ड रोज’ लेखेको रुमाल बाँधेर हिँड्दै थियो। मैले त्यो केटोमा पनि तिमीलाई देखेँ र लुकीलुकी उसलाई हेरिरहने पो भएँ। ऊ एक दिन तिम्लाई सपनामा देखेको थिएँ नि भन्दै आयो। त्यसपछि मात्रै त्यो केटालाई हेर्न छाडेकी थिएँ। किनभने म अर्काको सपनामा पनि आफूलाई तिमीबाहेक अरूको निकट पार्न चाहन्नथेँ।
तिम्लाई थाहा छ लियो ? तिमी र मबीच धेरै कुरा मिल्छ नि, जस्तो कि, तिमी र म दुवै नोभेम्बरमा जन्मिएका हौं। अंग्रेजी पात्रोअनुसार त तिम्रो र मेरो राशि पनि एउटै हुन्छ। तिमीले पनि अहिलेसम्म विवाह गरेका छैनौ र अहिलेसम्म मेरो पनि छाँटकाँट छैन विवाह गर्ने। अनि तिमी एकभन्दा धेरै युवतीको प्रेममा पर्यौ, म पनि केही त्यस्तै सम्बन्धमा कहिलेकाहीँ अल्झिएँ। तिम्रो बुवा सिर्जनात्मक क्षेत्रमा भएजस्तै मेरो बुवा पनि कविता लेख्नुहुन्थ्यो ! तिमी पनि आफ्नो बुवासँग नबसे पनि धेरै नजिक थियौ। म पनि अध्ययनका क्रममा बुवासित छुट्टिएर काठमाडांै आएँ। तर, म बुवाप्रतिको प्रेम शब्दमा वर्णन गर्न सक्दिनँ।
कलेज पढ्दाताका केटीहरूमाझ आफ्नो सपनाका राजकुमारहरूको चर्चा हुँदा म हत्तपत्त भनिहाल्थेँ, ‘मेरो त लियोनार्दोसित लभ छ।’
केटीहरू हाँस्दै सोध्थे, ‘को लियोनार्दो ? दा भिन्ची ? ’
अनि म शानसँग तिम्रो नाम उच्चारण गर्थें, ‘हलिउडको लियोनार्दो डी क्राप्रियो।’
कतिले चिन्थे। तर, नचिन्ने पनि थुप्रै हुन्थे। म तिम्लाई चिनाउन लागिपर्थें। पछि थाहा पाएँ, तिमी आमाको पेटमा हुँदा तिम्रो आमा लियोलार्दो दा भिन्चीको आर्ट हेर्न गएको बेलामा तिम्ले आमालाई पहिलो पल्ट किक हान्यौ रे। त्यही भएर तिम्रो आमाले तिम्रो नाम पनि लियोलार्दो राखेकी थिइन् रे।
मेरो प्यारा लियो ! मलाई लाग्छ, तिम्रो सुन्दर अनुहार मात्र होइन, तिम्रो अभिनय पनि तिमीजत्तिकै सुन्दर छ। त्यसैले त तिम्ले आफ्नो अभिनयको जादुले ५४ वटा अवार्ड आफ्नो पोल्टामा पारिसक्यौ। कत्ति खुसी लाग्छ मलाई तिम्रो प्रगतिमा !
चन्द्रमा र चकोर, मीरा र कृष्णजस्तै हो निरूपा र लियो, हेरेरै चित्त प्रसन्न हुन्छ।
‘रेभिनेन्ट’मा तिम्ले पाएको दु:ख हेरेर कति कति रोएँ। ‘ब्लड डायमन्ड’मा तिम्लाई लागेको गोली आफैंलाई लागेजस्तो भएर भित्रैदेखि चसक्क दुखेको थियो। अँ ‘क्याच मी इफ यु क्यान’मा तिम्रो बदमासी हर्कत हेर्न नसकेर हत्केलाले आँखा छोपेकी छु। कस्तो लाज पनि नलागेको के तिम्लाई ! कति बदमास छौ हगि तिमी ? तिम्रो बदमासी मन पर्छ मलाई।
तिमी ४५ वर्षको भयौ, यति बेला आफ्नी २१ वर्षीय गर्लफ्रेन्ड क्यामिलासँग रमाइरहेका छौ। १४ फेब्रुअरीका दिन सायद तिमी उनीसँगै हुन्छौ। मलाई तिम्री क्यामिला पनि मन पर्छ। बिल्कुलै ईष्र्या लाग्दैन नि। माया जो गर्छु तिम्लाई। असाध्यै धेरै मन पर्छ तिमी मलाई। त्यसैले तिम्लाई मन पर्ने हरेक कुरा मन पर्छ मलाई पनि।
त्यसैले म तिमीलाई सम्झेर कहिल्यै पनि पाब्लो नेरुदाको जस्तो उदास गीत लेख्नेछैन।
उही तिम्री निरूपा
@nirupadhungana का ‘तिम्रो लोग्ने र म’ कथासंग्रह तथा ‘अभिषेक’ उपन्यास प्रकाशित छन्।