विश्व स्वास्थ्य संगठनले विशेष विज्ञ टोली चीन पठायो
बेइजिङ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अन्तर्राष्ट्रिय विज्ञ समूह चीनको बेइजि पठाएको छ। चीनबाट फैलिएको कोरोना भाइरसको अनुसन्धानमा सहयोग गर्न संगठनले आइतबार विशेष टोली त्यसतर्फ पठाएको हो।
जनवरीको अन्तिम साता डब्लूएचओका प्रमुख निर्देशक टेड्रोस अधानोम गेब्रीयससले चीनको भ्रमण गरेका थिए। उनले त्यहाँ राष्ट्रिपति सी चिनफिङसँग अन्तर्राष्ट्रिय विज्ञ समूह पठाउने बारे सहमति गरेका थिए। तर यसबारे चीन सरकारको सहमति भने दुई हप्तापछि मात्र भएको हो। चीन सरकारले पनि सहमति गरेसँगै डब्लूएचओका महामारी विशेषज्ञ डा. ब्रुस एलिवार्डको नेतृत्वमा विशेषज्ञ टोली चीन गएको हो।
चीनबाट फैलिएको भाइरस नियन्त्रणका लागि डब्लूएचओले जनवरी ३० मा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो।
गत डिसेम्बरदेखि महामारीको रूपमा फैलिएको भाइरसका कारण चीनमा मात्रै ९०८ जनाले ज्यान गुमाइसकेको समाचार अल्जजिराले लेखेको छ। चीनमा आइतबार मात्रै ९६ जनाको भाइरस संक्रमणका कारण ज्यान गएको हो। हालसम्म विश्वका विभिन्न मुलुकमा भाइरस संक्रमण पुष्टि भए पनि चीनबाहिर फिलिपिन्समा एकजनाले मात्र ज्यान गुमाएको छ।
यस्तै चीनमा मात्र ३७,२८९ भाइरसबाट संक्रमित भएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ। चीनबाहिर अन्य देशमा ३०० जना संक्रमित भएको हालसम्म पुष्टि भएको छ।
चीनको हुबेइ प्रान्तको वुहानबाट फैलिएको भाइरसका कारण चीनका अधिकांश व्यस्त सहर सुनसान बनेका छन्। पछिल्लो दुई हप्तादेखि त्यहाँ उद्योग र विद्यालयहरू पनि बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।