भाग्य चम्किएर एक करोड पाउने भन्दै किशोरी लैजान खोज्ने पक्राउ
गोरखा : नारायणगढ पुग्ने बित्तिकै भाग्य चम्किने र एक करोड रुपैयाँ पाउने प्रलोभन देखाई १७ वर्षकी एक किशोरीलाई गोरखाबाट चितवन लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिरानचोक गाउँपालिका-७ गोहोरेका ७१ वर्षका भीमप्रसाद ढकाल र ३९ वर्षका रामबाबु दूतराजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुले गत शुक्रबार स्थानीय एक किशोरीको शरीर नापजाँच गरी भाग्यमानी भएको र नारायणगढ पुगेपछि भाग्यको फल पाइने भन्दै ललाईफकाई लैजान लागेका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए। गाडी चढ्ने बेला किशोरीले आफू बेचिन लागेको शंका लागी आफन्तलाई खबर गरेको र आफन्तको उजुरीपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको डिएसपी खतिवडाले बताए।
किशोरीको आमाको उजुरी अनुसार ढकाल र दूतराजलाई मानव ओसारपसार तथा बेचबिखन ऐनसम्बन्धी कसुरमा मुद्धा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरेको डिएसपी खतिवडाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !