सुत्केरीलाई ‘माइतीको कोसेली’
गोरखा : अजिरकोट गाउँपालिकाले गर्भवती र सुत्केरीलाई ‘माइतीको कोसेली’ कार्यक्रम सुरु गरेको छ। प्रसूतिअघि नियमित गर्भ जाँच र प्रसूति केन्द्रमा बच्चा जन्माउने दर बढाउने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए।
प्रसूतिपूर्व निर्धारित समयमा चार पटक गर्भजाँच गर्न आउँदा र सुत्केरी गराउन प्रसूति केन्द्रमा आउँदा पोषिलो खाद्यपदार्थ र सरसफाइसम्बन्धी सामग्रीयुक्त झोला दिने कार्यक्रम ल्याइएको अध्यक्ष धितालले बताए।
पहिलो पटक गर्भ जाँच गर्न आउनेलाई एक किलोग्राम चना, एक क्रेट अन्डा, नुहाउने, लुगा धुने साबुन, नङकटले भरिएको पोषिलो झोला वितरण गर्ने गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक ठाकुर भट्टले जानकारी दिए। ‘दोस्रो, तेस्रो र चौथो भेटमा गर्भवतीलाई एक किलोग्राम चना र एक क्रेट अन्डा दिन्छौं’, भट्टले भने, ‘स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउँदाको पाँचौँ भेटमा चाहिँ न्यानो पछ्यौरा, एक लिटर शुद्ध तोरीको तेल, एक किलोग्राम आयोडिनयुक्त नुन, सय ग्राम जुवानो, सय ग्राम मेथी, एक किलोग्राम चना, एक क्रेट अन्डा, नुहाउने, लुगा धुने साबुन दिन्छौं।’ स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई सरकारले दिने गरेअनुसार २ हजार ८ सय रुपैयाँ पनि दिने उनले बताए।
असार १० गते सम्पन्न गाउँपालिकाको बर्खे अधिवेशनमा पारित भएअनुसार कार्यक्रम लागू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवालीले जानकारी दिए। अजिरकोट गाउँपालिकाका पाँच वटै वडास्थित स्वास्थ्य चौकी र बालुवाको प्रसूति केन्द्र गरी ६ ठाउँबाट गर्भवती र सुत्केरीलाई माइतीको कोसेली प्रदान गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष धितालले बताए।
प्रतिक्रिया दिनुहोस !