कोभिड १९ : हुबेइमा हिँडडुल गर्न प्रतिबन्ध, १७७२ को मृत्यु
वुहानः कोभिड १९ (कोरोना भाइरस) को केन्द्रबिन्दु हुबेइ प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरिएको छ । आपत् परेको बेलाबाहेक छ करोड मानिसलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । साथै निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ ।
हुबेइ र वुहान भाइरसबाट सबैभन्दा बढी प्रभावित भएका क्षेत्र हुन्। हुबेइका मानिसहरु आपत्कालीन अवस्थामा बाहेक अरु समय निस्किन पाउने छैनन् । साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न प्रत्येक घरबाट एक जनालाई तीनतीन दिनमा बाहिर निस्किन अनुमति दिइनेछ ।
हाउजिङको एक प्रवेशद्वार खुला राखिनेछ । उक्त स्थानमा बस्ने मानिसले आवतजावतमा सुरक्षा निगरानीको व्यवस्था पनि गरिएको छ । औषधि पसल, होटल, खानेकुरा बिक्री हुने पसल र चिकित्सकीय सेवाबाहेक अरु सबै कारोबार बन्द रहनेछन् । अति आवश्यक सामान ओसारपसारमा प्रयोग हुने गाडी गुडाउन पाइनेछ ।
अधिकारीहरूले राजधानी बेइजिङ फर्किने सबै मानिसलाई १४ दिनसम्म क्वारन्टीनमा बस्न आग्रह गरेका छन् । कुनै व्यक्ति बस्न नमानेमा दण्ड भोग्न चेतावनी दिएका छन्।
कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको साथै भाइरसबाट संक्रमित हुनेको संख्या ७० हजार ६ सय ३५ पुगेको चीनीयाँ सीजीटीएनमा उल्लेख गरिएको छ ।