टिपरले सहर असुरक्षित

टिपरले सहर असुरक्षित

काठमाडौं : कलंकी अन्डरपास सडक खण्डमा माघ २२ गते मध्यरातमा टिपरको ठक्करले दुई जनाको मृत्यु भयो। प्रदेश २–०३–००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहट गजुराका रोकशकुमार चौधरी र रौतहट कटहरियाका मुन्ना चौधरीको मृत्यु भएको हो। बालाजुबाट आउँदै गरेको टिपरले बल्खुबाट बाफल हिँडेको मोटरसाइकलाई अन्डरपासमा ठक्कर दिएको थियो।

भदौ ८ गते तीनकुनेबाट अफिस सकेर बा३८प २३९३ नम्बरका मोटरसाइकलबाट जोरपाटीतिर लागेका पुछाङ भोटेको टिपरको ठक्करबाट मृत्यु भयो। तीनकुनेबाट गौशाला जाँदै गरेको बा३ख ४३१७ नम्बरको टिपरले सिनामंगलमा उनको मोटरसाइकललाई ठक्कर दियो। मोटरसाइकल कच्याककुचुक भयो, संखुवासभा भोटखोलाका पुछाङ पनि घटनास्थलबाट जिउँदो उठ्न सकेनन्। अन्य दुईवटा मोटरसाइकलमा सवार अन्य चार जनासमेत गम्भीर घाइते भए।

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नलिञ्चोकमा असार ३ गते टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो। बा ४ ख ५६७१ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएका प्रदेश ३–०२–००३ प १२६६ नम्बरको स्कुटर चालक ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भयो। मृतक श्रेष्ठ काभ्रेपलाञ्चोक पाँचखाल नपा ९ घर भई हाल भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोलमा बस्दै आएका थिए।

दुइटै सवारीसाधन भक्तपुरको जगातीबाट काभ्रेतर्फ जाँदै थिए। नलिञ्चोकको उकालो पुग्दा स्कुटरले टिपरसँग ठक्कर खाएको थियो। टिपरको अन्धाधुन्ध गतिले निम्त्याएको सडक दुर्घटना योे पहिलो भने होइन। बितेका ८ वर्षको तथ्यांक हर्ने हो भने प्रत्येक वर्ष टिपर जोडिएका दुर्घटना बढेको बढ्यै छन्। ट्राफिक प्रहरीको तथ्यांकअनुसार ०६९/०७० मा काठमाडौं उपत्यकामा मात्र ६९९ वटा दुर्घटनामा टिपर र टिपरजस्ता ठूला सवारी जोडिएको देखिन्छन्। त्यस्तै ०७०/०७१ मा दुर्घटनाको यो संख्या बढेर ८९२ पुग्यो। ०७१/०७२ मा ९४७ मा वटा सडक दुर्घटनामा टिपर जोडिएको तथ्यांक ट्राफिक प्रहरीसँग छ।

०७२/०७३ मा १ हजार २१० वटा दुर्घटना टिपरका कारण भए। ०७३/०७४ मा यो संख्या बढेर १ हजार ४०० पुग्यो। त्यस्तै ०७४/०७५ मा १ हजार ५८० वटा दुर्घटना यही कारण भए। ०७५/०७६ मा यो संख्या बढेर १ हजार ७९१ पुग्यो। र, ०७६/०७७ को दुई महिनामा १६५ दुर्घटना टिपरले गराएको तथ्यांक ट्राफिक प्रहरीसँग छ।

००००

सानो सडक र गति तीव्रका कारण टिपरबाट हुने दुर्घटना बढेको ट्राफिक इन्जिनियर आशीष गजुरेल बताउँछन्। दुर्घटना कम गर्न सहरी क्षेत्रमा टिपरको अधिकतम गति ३० किमि प्रतिघण्टा कायम गर्नुपर्ने उनको भनाइ छ। ‘दुर्घटना हुने विविध कारणमध्ये तीव्र गति नै प्रमुख कारण हो। दुर्घटना न्यूनीकरण गर्न चालकलाई प्रशिक्षण तथा अध्यापनको आवश्यक छ। होरियारपूर्वक चलाउँदा दुर्घटना हुँदैन।

साना तथा भीडभाड सडकमा तीव्र गतिमा चलाउँदा गाडीलाई सहजै नियन्त्रण गर्न सकिँदैन।’ विकसित मुलुकमा टिपरका लागि राजमार्गमा छुट्टै लेन हुन्छ। नेपालमा त्यो सम्भव छैन। त्यसो भन्दैमा टिपरलाई खुला छोड्न नहुने उनको भनाइ छ। यसका लागि टिपरको मेकानिकमा परिवर्तन गरेर अधिकतम स्पिड ३० किमिमा झार्नुपर्छ। यस्तो गर्न सके मात्र टिपरबाट हुने दुर्घटना न्यूनीकरण गर्न सकिने उनले उपाय सुझाए।

धेरै दुर्घटना निम्त्याएको भन्दै सरकारले राति आठ बजेपछि मात्र काठमाडौं उपत्यकामा टिपरलाई प्रवेशको अनुमति दिएको छ। दिउँसोको तुलनामा रातमा काठमाडौंका सडकमा सवारीको चहलपहल कमै हुन्छ। खुला सडकमा टिपर चालकको गति ७० किमिभन्दा माथि नै हुन्छ। निर्माण सामग्री बोकेका टिपर भारी हुन्छन्। ७० किमिको गतिमा ब्रेक थिच्दा समयमै नरोकिन सक्छ। यसले पनि रातको समयमा स्कुटर, मोटरसाइकललगायत साना सवारी चलाउने असुरक्षित हुने गरेका छन्। त्यसैले टिपरको टक्करबाट स्कुटर र मोटरसाइकलमा सवार हुनेको संख्या धेरै छ।

कतिपय दुर्घटना टिपरको बनावटका कारणसमेत हुने गरेको इन्जिनियर गजुरेल बुझाइ छ। उनका अनुसार टिपरको उचाइ स्वाभाविक भन्दा अग्लो हुने भएकाले सामान्य ठक्करमा पनि मोटरसाइकल तथा स्कुटर सीधै पांग्रामुनि छिर्छन्। ‘टिपर हेबी हुने भएकाले तीव्र गतिमा समाल्न ग्राहो छ,’ उनले भने, ‘टिपर चालकले अगाडिको साना गाडी पनि देख्दैनन्। साना गाडीले टिपरलाई आभरटेक गर्न खोज्दा धेरै दुर्घटना गराएको छ।

सडक दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्र दिउँसो टिपर चलाउन रोक लगाइएको छ। तर पनि टिपरका कारण हुने दुर्घटनामा कमी आएको छैन। दुघर्टना न्यूनीकरण गर्न उपत्यकाभित्र प्रवेश गर्ने टिपर र चालकमाथि निगरानी बढाइएको ट्राफिक प्रवक्ता जीवनकुमार श्रेष्ठ बताउँछन्। उपत्यकामा राति आठ बजेपछि मात्र टिपर प्रवेश गर्न पाउँछन्। उपत्यका छिर्ने दुई प्रमुख नाका साँघा र नागढुंगमा टिपर रोकेर राखिएका हुन्छन्। ‘त्यस्ता टिपर एक लाइनमा राखिएका हुन्छन्’, श्रेष्ठले भने, ‘आठ बजेपछि काठमाडौंको सडक टिपरको कब्जामा भएको भान पर्ने गरेको छ।’ सवारीमा टिपरले बढी दुघर्टना गरेकाले चालकको मासपे, लाइसेन्स तथा कागजात, सीसामाथि सजाइने झल्लरी, फोर्स लाइट बाल्ने, तीव्र गतिलगायत जाँच गरिँदै आएको उनले बताए।

ललितपुर गोदावरीका राजेश मार्फा ९ वर्षदेखि टिपर चलाइरहेका छन्। आफूसँगै सडकमा यात्रा गर्नेलाई हानी पुर्‍याउनु हुँदैन भन्ने सोच राखेर सवारी चलाउँदा दुर्घटना नहुने मार्फा बताउँछन्। कतार र साउँदीमा पनि टिपर चलाइसकेको उनको अनुभव छ। विदेशको तुलनामा नेपालमा सवारी कसुरसम्बन्धी नियम फितलो भएकाले दुघटना धेरै हुने गरेको उनको बुझाइ छ।

‘टिपरको डिजाइन नै छिटो कुदाउँ–कुदाउँ जस्तो लाग्ने छ। युवा बढी उत्साही हुन्छन्’, उनले सुनाए । काठमाडौंमा प्रतिघण्टा ४० किलोमिटरभन्दा माथि हाँक्न नहुनेमा अधिकांशले ५० देखि ७० को गतिमा चलाइरहेको बताउँछन्। आरामदायी क्याबिन र पावर स्टेरिङका कारण चालकले आफूलाई सुरक्षित महसुस गर्ने गरेको अनुभव उनको अनुभव छ । ‘चालकले लापरबाही गरे भने दुर्घटना त हुन्छ, गतिमा नियन्त्रण गर्न सके दुघर्टना कम गर्न सकिन्छ,’ उनले भने । प्रतिघण्टा ४० किमिको गतिमा सहजै रोक्न सकिने भए पनि त्योभन्दा बढी गति भए समस्या हुने उनले बताए ।

मेकानिक्स बसिरुद्दिन अन्सारी (रैना) २० वर्षदेखि टिपर र ट्रक मर्मत गर्दै आएका छन्। टिपर र ट्रकमा समान प्रकृतिको इन्जिन हुन्छ। ट्रकका तुलनामा टिपकरका चालक युवा हुने भएकाले तीव्र गतिमा चलाउन रुचाउँछन्। तीव्र गति नै दुर्घटनाको प्रमुख कारण हो। ‘निर्माण सामग्री बोक्न टिपरको डिजाइन गरिएको हुन्छ। यो गाडी खोला, गाउँ र कच्ची बाटाका लागि बनाइएको हो । धेरै ट्राफिक चाप हुने स्थानमा चलाउने नै होइन’, रैनाले भने, ‘यसमा त्यो प्रकारको सुविधा पनि छैन । यसको साइडमा सेफ्टीगार्ड पनि छैन । मोटरसाइकल, स्कुटी चल्ने भीड उक्त सानो सडकका लागि टिपर हैन।’ विकास निर्माणका काम धेरै सहरमा हुने भएकाले टिपरको विकल्प छैन।

००००

नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका उपाध्यक्ष दिलिप पौडेलका अनुसार सडक दुघर्टना टिपरको कारणले मात्र नहुने बताउँछन्। मोटरसाइकल तथा स्कुटरले गलत साइडबाट ओभरटेक गर्दा नै दुघर्टना धेरै हुने गरेको छ। नेपालमा गुड्ने धेरैजसो टिपरले नजिकका साना सवारी देख्दैनन्। भिजिबिलिटीका कारण दुघर्टना बढेको हो भने सरकारले त्यस्ता गाडीलाई भन्सारबाट रोक्नुपर्छ। टिपरका लागि २४ घण्टाकै रुट परमिट दिइएको हुन्छ। तर, काठमाडौंमा टिपर चलाउन ११ घण्टाको मात्र समय छ। राति ८ बजे काठमाडौं छिरेर बिहान ७ बजे निस्किसक्नुपर्छ। ‘समय सीमाका कारण चालकलाई दबाब हुन्छ। बिहान निस्किन ढिलो गरे अर्को ट्रिप भर्न पाइँदैन। दबाबले गर्दा गाडी तीव्र हाक्नुपर्छ’, पौडेलले भने। साथै, नेपालमा दक्ष चालकको अभाव पनि छ।

‘दक्ष जनशक्ति विदेश पलायन हुने समस्या छ। लाइसेन्स लिएकालाई गाडी हाक्न दिने हो। हेर्दा कलिलै देखिए पनि उनीहङसँग ड्राइभिङ लाइसेन्स हुन्छ’, उनले भने। हेभी गाडी हाक्नलाई दुई वर्षको लाइट गाडी चलाएको अनुभव आवश्यक पर्ने कानुन छ। तर, युवा अवस्थामै चालक हेभी सवारीको लाइसेन्स प्राप्त गरिसकेका हुन्छन्। दक्ष चालकको अभावले गर्दा पनि दुघर्टना हुने गरेको छ। चालकलाई दक्ष बनाउन सरकारले ड्राइभिङ स्कुल सञ्चालन गर्नुपर्ने उनले सुझाए। ‘राम्रो चालकलाई धेरै तलब दिन हामीलाई समस्या छैन’, पौडेलले भने।

राम्रो चालक नपाइने भएकाले कमिसनमा काम लिनुपर्ने बाध्यता छ। एक ट्रिप गर्दा चालकले एक हजारदेखि ११ सय रुपैयाँ पाँउछन्। सम्पूर्ण खर्च कटाएर साउको हातमा औसतमा तीन हजारदेखि ३५ सय रुपैयाँ कमाइ हुन्छ। दैनिक एक ट्रिप पनि गरिए भने बैंकको किस्ता, नवीकरण शुल्क, बिमा, मर्मत सम्भार खर्च धान्न पनि मुस्किल हुने उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.