जर्सी अनि जुनी
गत वर्ष रिलिज भएको दक्षिण भारतीय चलचित्र ‘जर्सी’ खेलकुदको पृष्ठभूमिमा निर्माण भएको चलचित्र हो।प्रतिभावान् भएर पनि पटक पटक भारतीय क्रिकेट टोलीमा अटाउन असफल अर्जुन (चलचित्रका मुख्य पात्र) ४० वर्षसम्म पनि आफ्नो त्यो सपना पूरा गर्न लागिपर्छन्।अन्तिममा उनी राष्ट्रिय टोलीमा छनोट त हुन्छन् तर बेला घर्किसकेको हुन्छ।उनले गरेका संघर्ष र सपनालाई आधार बनाएर उनका बारेमा ‘जर्सी’ नामक पुस्तक तयार गरिन्छ।उक्त पुस्तकको नारा हुन्छ, ‘इट्स नेभर टु लेट टु ड्रिम’।
मानिसले ठूलै सपना देख्नुपर्छ।आफूले सपना देखेअनुरूप कर्म गर्दै जाने हो भने ढिलोचाँडो त्यो सपना साकार हुन्छ भन्ने सन्देश जर्सी चलचित्रले दिएको छ।
अब कुरा गरौं, उसु खेलाडी जुनी राईको।इलामको देउमाई नगरपालिकाकी जुनीको सानैदेखिको सपना थियो, खेलाडी बन्ने।उनले विविध कारणले गर्दा सानोमा त्यो सपना पूरा गर्न सकिनन्।कहिले पढाइ अनि कहिले आफन्तको वियोगले गर्दा वर्षौंसम्म उनको सपना सपनामै रहिरह्यो।जुनी ढिलो गरी खेलकुदमा लागिन्।खेलकुदमा ढिलो लागे पनि उनले सानैदेखि देखेको सपना पूरा गर्न सफल भइन्।उनले ‘खेलकुदमा सफलता हासिल गर्न सानै उमेरदेखि खेल्नुपर्छ’ भन्ने मान्यतालाई पनि गलत साबित गरिदिइन्।२८ वर्षीया जुनीले निकै पछि खेलकुदमा लागेर पनि राष्ट्रका लागि ऐतिहासिक सफलता हासिल गर्न सफल भइन्।
प्लस टु सक्काएपछि मात्र खेलकुदमा लागेकी जुनीले गत मंसिरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितिन्।उसुको थाउलो (प्रदर्शन)मा नेपालले चार स्वर्ण जित्दा सान्डा (फाइट)मा भने जुनीले मात्र स्वर्ण जित्न सकिन्।उनीसँगै अन्य चार खेलाडी फाइनलमा पुगे पनि उनीहरूले रजत पदकमै चित्त बुझाए।
सन् २००६ मा श्रीलंकाको कोलम्बोमा आयोजना भएको १०औं सागमा राजकुमार रसाइलीपछि सान्डाको प्रतिस्पर्धामा स्वर्ण जित्ने खेलाडी बनिन्, जुनी।नेपाली महिला खेलाडीमा भने सान्डाबाट स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी उनै भइन्।१३औं सागमा जुनीले महिलातर्फ ५६ केजी तौल समूहमा स्वर्ण जितेकी हुन्।फाइनलमा उनले श्रीलंकाकी मदुमालीलाई पराजित गरिन्।उनले पहिलो चरणमा भारतकी विद्यावती चानुलाई पराजित गरेकी थिइन्।
जुनीको घर इलाम भए पनि उनी पढाइका लागि झापामा बसिन्।जुनीले सानैमा बुवा आमा गुमाउन पुगिन्।बुवाको सवारी दुर्घटनामा निधन भयो भने आमाले ब्रेन ट्युमरका कारण संसार छाडिन्।जुनीसँगै एक भाइ र बहिनीलाई काकाले हुर्काउने र पढाउने काम गरे।काकाको घर झापा भएकाले उनीहरूले आफ्नो जन्मथलो इलाम छाडे।जुनीले झापामै भाइबहिनीसँगै आफ्नो पढाइलाई अगाडि बढाइन्।
सानैमा सवारी दुर्घटनामा बुवा र ब्रेन ट्युमरका कारण आमा गुमाएकी जुनी राईको संघर्ष र सफलता धेरैका लागि प्रेरणादायी छ।
विद्यालय ओहोरदोहोर गर्दा जुनीले बाटोमा मार्सल आर्ट्स खेलेको देखिन्।अरूले खेलेको देख्दा उनलाई पनि मार्सल आर्ट्सले लोभ्याउँथ्यो।तर, काकाले पढाइबाहेक अरू कुरामा ध्यान नदिन सुझाव दिएकाले जुनीले लामो समयसम्म अरूले खेलेको हेरेरै चित्त बुझाइन्।पढाइ राम्रो भएपछि मात्र हरेक क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ भन्दै काकाले उनलाई सुरुमा खेलकुदमा लाग्न दिएनन्।
जुनीले प्लस टु सक्काएपछि अरू साथीसँगै मार्सल आर्ट्स खेल्न थालिन्।उनले सुरुमा फुर्सदको समय सदुपयोगका लागि मार्सल आर्ट्स खेलेकी थिइन्।तर, खेल्दै जाँदा उनले त्यसलाई छाड्न सकिनन् र त्यही खेलबाट आफ्नो भविष्य बनाउन लागिपरिन्।उसुमा थाउलो विधा भए पनि उनले सान्डा नै रोजिन्।अरू साथीभन्दा धेरैपछि मात्र खेल्न थाले पनि उनी खेलमा समर्पित भइन्।धेरै साथीले थाउलो खेल्न सुझाव दिए।जुनीलाई ‘डेन्जरस’ खेल मन पथ्र्यो।त्यही कारण उनले सान्डा नै रोजिन्।
जुनीले १३औं सागमा स्वर्ण जित्ना निकै दुःख गरिन्।उनले धेरै समय एक्लै ट्रेनिङ गरिन्।नेपाल पुलिस क्लबमा आबद्ध जुनी अरू साथी ट्रेनिङ सकाएर घर पुगिसक्दा पनि उनी भने ट्रेनिङमै व्यस्त हुन्थिन्।१३औं सागका लागि दुःख गर्नुका पछाडि धेरै कारण थिए।यसअघि उनले भारतमा आयोजना भएको १२औं साग र इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा नमीठो पराजय बेहोरेकी थिइन्।त्यही पराजय उनको मनमा गडेको थियो।त्यही कारण आफ्नै देशमा आयोजना भएको बृहत् प्रतियोगितामा आफूलाई अब्बल साबित गर्ने धुनमा जुनी थिइन्।
१३औं सागका लागि उनले निकै मेहनत गरिन्।तर, धेरै पटक पूर्वनिर्धारित समयमा साग आयोजना हुन सकेन।२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका पूर्वाधारको समयमै निर्माण सम्पन्न नहुनु र अन्य व्यवस्थापकीय काम पनि हुन नसकेपछि १३औं सागको मिति पटक पटक सरिरह्यो।सागको मिति जति पटक पर धकेलिए पनि जुनीले आफ्नो कर्मलाई भने छाडिनन्।उनले लामो समयसम्म एक्लै ट्रेनिङ गरिन्।अरू साथीले ‘अब साग हुँदैन’ भनेर प्रशिक्षण गर्दैन थिए।तर, जुनीले कहिले पनि प्रशिक्षण छाडिनन्।उनको मेहनत र धैर्यको फल नै मान्नुपर्छ, तेस्रो पटक तय गरिएको मितिमा साग हुने निश्चित भयो।खेलाडीहरू धमाधम बन्द प्रशिक्षणमा बसेर तयारीमा जुटे।
१३औं सागमा स्वर्ण जित्छु भन्ने आत्मविश्वास जुनीलाई पहिलेदेखि नै थियो।सान्डाको प्रतिस्पर्धामा १० जना नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए।१० जनामध्ये पाँच जना खेलाडी फाइनलमा पुगे।सुरुआती चरणमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि फाइनलमा भने उनीहरू पराजित हुन पुगे।फाइनल पुगेका आफ्ना साथीहरू लगातार पराजित हुँदा जुनीलाई पनि भित्रभित्रै डर लागेको थियो।‘यस पटक पनि हारिन्छ कि’ भन्ने डर पनि मनमा पलायो।तर, उनले आफ्नो आत्मविश्वास गुमाइनन्।त्यही आत्मविश्वासकै कारण उनले ऐतिहासिक स्वर्ण पदक जित्न सफल भइन्।‘सागका लागि धेरै मेहनत गरेको थिएँ।स्वर्ण नै जित्छु भन्ने आत्मविश्वास पनि थियो’, उनी भन्छिन्, ‘तर वैदेशिक प्रशिक्षणको कमी हुँदा भने डर पनि लागेको थियो।’
१३औं सागमा स्वर्ण जित्दा उनी निकै भावविह्वल भइन्।खेल सकिएपछि निर्णायकले हात उठाउँदा पनि उनले आफूले ऐतिहासिक पदक जितेको भेउ पाइनन्।जितपछि उनले आफ्नो परिवार र काका चन्द्रबहादुर राईलाई सम्झिएको बताइन्।सागमा स्वर्ण जितेपछि सबैतिरबाट बधाई र सम्मान पाउँदा आगामी दिनमा अझ उत्कृष्ट खेल्ने हौसला मिलेको उनले बताइन्।
जुनीले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएकी छन्।पहिलो सहभागितामा दोस्रो भए पनि त्यसपछि भने उनले राष्ट्रिय स्तरका हरेक प्रतियोगितामा स्वर्ण जित्दै आइरहेकी छन्।स्नातक तहमा अध्ययनरत जुनी खेलकुदमा लाग्दा पढाइ केही बिग्रिए पनि अब खेलकुदसँगै पढाइलाई पनि अगाडि बढाउने अभियानमा छिन्।‘अब खेलकुद र पढाइलाई सँगै बढाउँछु।एउटामा राम्रो गर्दा अर्को बिग्रिने अवस्था आउन दिन्नँ’, जुनी भन्छिन्।
साग सकिएपछि धेरैजसो खेलाडी खुसी मनाउन र सम्मान तथा बधाईमा व्यस्त हुँदा जुनी भने आफ्नो पुरानै कर्ममा फर्किसकेकी छन्।दुई वर्षपछि आयोजना हुने १९औं एसियाली खेलकुद, एसियन च्याम्पियनसिप र वल्र्ड च्याम्पियनसिपजस्ता ठूला प्रतियोगिताका लागि उनले तयारी गरिसकेकी छन्।यसबाहेक राखेप च्याम्पियनसिप, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लगायतमा लागि पनि उनले तयारी गरेकी छन्।‘पदक जितेपछिको बधाई र सम्मानले आगामी दिनमा राम्रो खेल्न प्रोत्साहन र हौसला त बढाउँछ’, जुनी भन्छिन्, ‘लामो समय बधाई र सम्मानमै रमाउँदा आफ्नो दैनिक कर्मलाई भने बिर्संनु हुँदैन।बधाई र सम्मानलाई हौसलाका रूपमा लिएर आगामी अभियानमा लाग्छु।’