दुलारी : मधेसी दलितको दारुण चित्र

दुलारी : मधेसी दलितको दारुण चित्र

नेपाली उपन्यासको जुलुसमा एउटा बलियो आन्दोलनकारी जसरी नै आएको छ, उपन्यास ‘दुलारी’।मुसहर, डोम बस्तीको दर्दनाक पीडा बोकेर लेखक मुना चौधरी दुलारीमार्फत बलियोसँग आएकी छिन्।

दुलारीमा तराईका दलित सुमदाय विशेषतः मुसहर, डोम जातिले बाँचे-भोगेका कुराहरूको यथेष्ट प्रस्तुति छ।लेखक आफैंले खेलेको, हुर्केको र बढेको समाजको चित्र छ, दुलारीमा।त्यहाँ गरिबी छ।धनीको भागमा धनै धन छ।धनीलाई सुखको कुनै हिसाब छैन।गरिबको जीवनमा बिहानदेखि रातिसम्म काम गर्दा पनि कतै सुखको सास फेर्न सक्ने अवस्था छैन।दिनभर खेतमा काम गर्दा पनि पेटभरि खानकै दुःख छ।घरमा एक दाना अन्न पनि नहँुदा कस्तो होला ? मुसहर र डोम जातिको पीडाले रन्थन्याउँछ।

मुनाले अन्तिम पातोमा लेखेकी छिन्- दुलारीको जीवनमा कहिले घाम लाग्छ, कहिले छाया।आफ्नो जीवन चलाउन मात्रै उनीहरू काम गर्थे।रोटी र नुन खान पाए उनीहरू आफ्नो जीवन सार्थक भएको ठान्थे।मुखमा आवाज हुन्थ्यो तर व्यक्त गर्ने साहस हुँदैनथियो।आँखामा सपना हुन्थे तर पूरा गर्ने इच्छा राख्दैनथिए उनीहरू।गुरुजी बिनाको बस कसरी चल्थ्यो र तर उनीहरू आफ्नो जीवनको बस गुरुजी बिना नै कुदाउँथेँ।साँच्चै जीवन चल्न त केही चाहिन्थ्यो, चाहिन्छ र चाहिरहनेछ तर डोम समुदाय आज पनि बिना गुरुजी नै जीवनको गाडी कुदाइरहेको छ।घटना कहाँ, कसरी र के भएर हुन्छ भन्ने थाहा छैन।यति थाहा छ, जीवनको गाडीको काम हिँड्नु हो।

श्रम गर्दा गर्दै आजित हुँदा पनि कहिले पनि सुखले एक गाँस खान नपाउने, गिहतरी (साहु) को लागि पसिना बगाउने र उनीहरूको घरलाई हराभरा बनाउने काममा दिनरात खटिरहने समुदायको जीवनमा आशाका किरणहरू कहाँबाट झुल्कन्छ भन्ने सोच्दासोच्दै उपन्यास सकिन्छ तर आशाको किरण कतै पनि देखिँदैन।कतै कतै दुलारी एकदमै क्रान्तिकारी जस्तो देखिन्छ।आफूलाई छुन खोज्दा चन्दुको मनमा उब्जेको जुन भाव छ त्यसले उपन्यासलाई नयाँ मोड दिन्छ कि भन्ने लाग्छ तर ऊ जति ठूला स्वरमा आवाज निकाल्न चाहान्छे उति नै उसका स्वरहरू दबिएको पाइन्छ।ऊ आफैंलाई सान्त्वना दिन विवश छे।

घरमा एक दाना अन्न पनि नहुँदा कस्तो होला ? मुसहर र डोम जातिको पीडाले रन्थन्याउँछ।

प्रेम, विवाहको एउटा सुनौलो संसार देखेर पनि उसले आफूलाई कन्ट्रोल गरेको र नयाँ र मिठो सपनाको लागि विवाह गर्दा पनि उसको जीवनमा कुनै परिवर्तनका धर्साहरू देखिँदैनन्।के गरिबको झुपडीमा सुखको घाम कहिल्यै लाग्न सक्दैन ? दुलारीको कथा यतै कतै रुमलिएको छ।जब भोकले युद्ध गर्छ पेटमा।त्यो बेलामा कीरा परेको पिठो चालेर नुनसँग पानीमा घोलेर खानु गरिबीको विवशता हो।मृत्युलाई उपहारको संज्ञा दिएर बाँच्नुको नाममा पलपल मरिरहनु झनै कठिन कुरा हो भन्ने लाग्छ।

जन्मदेखि युवा अवस्थाको कथा छ, दुलारीमा।सपनाको खेस्रा, चाहनाको उच्चतम बिन्दु र प्रेमको गहिराइ पनि स्वाभाविक रूपमा आएको पाइन्छ दुलारीमा।दलितको सीप, श्रम र शरीर चल्ने तर उसले छोएको खानेकुरा नचल्ने शासक र शाषित वर्गको विभेदलाई राम्रोसँग दर्शाएको छ यस उपन्यासले।दुलारीले देखेको ‘उपल्लो जाति’को समाज र आफ्नो समाजबीचको तुलनात्मक चित्रण पनि बलियो छ।दुलारीकी माई, बाउ, भाइ चन्दु, गिरहत, गिरहतनी बढ्की माई, शान्ति आदि पात्रहरू मौन विद्रोहमा छन्।गिरहतनीलाई थाहा छ आफ्नो पहिचान गुम्दै गएको कुरा।तर उसले आफ्नी छोरीलाई संस्कार, चलनको नाममा चुप रहन बाध्य बनाएको छ।

देशमा शासन व्यवस्था परिवर्तनका लागि ठूलै क्रान्ति गर्न हिँडेको माओवादीका अगुवा महेश दाइलाई मारिएको छ।त्यसैले पनि खासमा देशमा परिवर्तनका घाम कतै लाग्न नसकेको अनुभूति हुन्छ।दुलारीको भाइ हरायो तर किन र केका लागि ? यकिन छैन।निचोड पाइँदैन।हरायो सकियो।मात्रै आशाले जीवन बाँच्नुपर्छ भन्ने छ उपन्यासमा।

सुरुमा लाग्छ दुलारीले राम्रोसँग पढ्नेछे र उसले बाउ माईले भोगेको जीवनभन्दा फरक तरिकाले जीवनको अध्ययन गर्नेछे।तर त्यसो हुन्न।उसलाई एक त भोकको अगाडि पढ्न मन लाग्दैन भने दोस्रो भाषाले ठूलो भूमिका खेलेको देखिन्छ।त्यसैले पनि हरेक दुःखलाई आत्मसात् गरेको पाइन्छ।र पढाइलाई बीचमै टुंग्याइदिएर आफैंमाथि अन्याय गरेकी छिन् दुलारीले।हुन त पढ्ने वातावरण भएको भए पढ्थिन् होला।उसले संघर्ष गर्न नसकेको देखिन्छ।

उपन्यासमा केही अनौठो कुरा छन्।पढ्नै नआउने मान्छेले चोरेर पनि कसरी पास गर्छे त्यो पनि एसएलसी ? शारीरिक विकासको क्रममा प्रेमलाई मात्रै देखाइयो।शरीर-विकासको अरू पाटालाई पनि उजागर गरिदिएको भए हुने कि भन्ने लाग्यो।कथामा खासै आरोह अवरोह छैन।कथा बगेको छ तर अझै पनि कथाले उठाउनुपर्ने र लेख्नुपर्ने अनगिन्ती कुराहरू उपन्यासमा बाँकी नै छन्।

अन्तिममा उनले कामना गरेकी छिन्- दुर्दशा र दुःख निमिट्यान्न होऊन्।उनीहरूको उत्थान होस्।ती समुदायको आवाज सबैले सुनून।गरिबी र भोकमरीको समस्या समाधान होस्।सकसपूर्ण जीवन सुखको ढोका खोल्ने साँचो बनूनँ।यो उनको मात्रै नभएर सिंगो देश र सत्तामा रहेका मान्छेको कानसम्म पुगोस् र छिट्टै लेखियोस् नयाँ कथा।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.