कोरोना भाइरस नियन्त्रण गर्न इरानका १४ प्रान्तका विद्यालय बन्द
तेहरान : इरानमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट ६ जनाको ज्यान गएपछि नियन्त्रणका लागि विद्यालय तथा विश्वविद्यालयहरू बन्द गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। भाइरस संक्रमणबाट शनिबार राती अबेर थप १ जनाको ज्यान गएसँगै १४ प्रान्तका सांस्कृतिक केन्द्रहरू पनि यो साताका लागि बन्द गरिएका छन्।
इरानमा २८ जनामा कोभिड–१९ संक्रमण देखिएको थियो। तिनैमध्येबाट ६ जनाको ज्यान गएको हो या अरू संक्रमितबाट गएको हो भन्ने कुरा भने खुलेको छैन । यसैबीच ती ज्यान गुमाउनेहरू सबै इरानी नागरिक नै भएको विश्वास गरिएको छ। यदि त्यसो हो भने चीनभन्दा बाहिर एकै देशमा कोभिड–१९ का कारण ज्यान गुमाउने संख्या यो उच्च हो ।
गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहानबाट महामारीका रूपमा फैलिएको भाइरसका कारण हालसम्म चीनमा २,४४५ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै ७७,०४१ जनामा संक्रमण पुष्टि भएको छ भने २२,९३६ जना निको भएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ।